झापा २१ पुस । इलाका प्रहरी कार्यालय विर्तामोडका डि.एस.पी. मोहनकुमार थापाले झापालाई खुल्ला विश्वविद्यालयको संज्ञा दिएका छन् ।
थापाको विदाई तथा सम्मानमा विर्तामोड नगरपालिका वडा नं–१० द्वारा आयोजित कार्यक्रममा बोल्दै झापालाई आफूले खुल्ला विश्व विद्यालयका रुपमा बुझेको बताउनु भयो । उहाँले भन्नुभयो–राम्रो नराम्रो आफू र आफ्नो काम गर्ने शैलीमा पनि भर पर्छ मैले झापालाई ओपन युनिभर्सिसिटीका रुपमा लिएको छु ।

स्थानीयबासीको चाहनालाई बुझेर इमान्दार र पारदर्शी काम गर्न सके झापालीहरु सहयोगी रहेको चर्चा गर्दै उहाँले सेवा प्रवाहमा क्षमताले ठूलो प्रभाव पार्ने धारणा राख्नुभयो । लामो समयदेखि विर्तामोड वडा नंं १० मा प्रहरी विट स्थापनाका लागि गरेको प्रयास सार्थक नभइरहेको बेला विर्तामोड इलाकाको नेतृत्व गर्न आइपुगेका थापाले सो क्षेत्रमा अस्थायी प्रहरी विट स्थापनामा भूमिका खेलेका थिए । थापाको योगदानमा वडामा प्रहरी विट स्थापना गर्न सफल भएको भन्दै वडा कार्यालयले सम्मानसहित विदाई गरेको हो ।
विर्तामोड नगरपालिका वडा नं–१० का वडाध्यक्ष दुर्योधन गुरुङको अध्यक्षतामा सम्पन्न विदाइ कार्यक्रममा टोल समितिका तर्फबाट रुद्र खतिवडा, उत्कृष्ठ सहकारी संस्थाका अध्यक्ष रुकुम गुरुङ, अस्थायी प्रहरी विट सञ्चालन समितिका मनु मुखिया, नेपाली कांग्रेस क्षेत्र नं–३ ख का प्रदेश क्षेत्रीय सभापति नविन विमलीलगायले शुभकामना मन्तब्य राख्दै डि.एस.पी. थापाले सैनिकमा अस्थायी प्रहरी विट स्थापनामा महत्वपूर्ण भूमिका खेलेको भन्दै प्रसंशा गरेका थिए ।
विर्तामोड नगरपालिका कार्यपालिका सदस्य गीता घिमिरेले सञ्चालन गर्नुभएको कार्यक्रममा वडाध्यक्ष गुरुङले सम्मान पत्र प्रदान गर्नुभएको थियो । कार्यक्रममा स्वागत वडा सदस्य अर्जुन सिटौलाले गर्नुभएको थियो ।
लगभग ८ महिने कार्यकाल पूरा गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा सरुवा भएपछि विर्तामोड इलाका अन्तरगतका विभिन्न सामाजिक संघसंस्थाले थापालाई सम्मान गर्दै विदाई गर्ने लहर नै चलेको छ ।

































































































