बिर्तामोड । पछिल्लो समय जधन्य प्रकृतिका अपराध बढ्दै गएको पाइएको छ । मानव अधिकार वर्ष पुस्तक २०२६ का लागि अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले सूचीकरण गरेका मावन अधिकार हनन सम्बन्धि झापामा भएका घटनाहरुको प्रकृति हेर्दा जधन्य प्रकृतिका अपराध बलात्कार, हत्या, बेचविखन, घटना सूचीकृत हुनुले मानिसमा आपराधिक मनोबृत्ति बढ्दै गएको स्पष्ट हुन्छ ।
समाजमा हुने विभिन्न खालका अपराधमध्ये कल्पनै गर्न नसकिने प्रकृतिका अपराध आफ्नै घर परिवारबाटै हुने गरेको तथ्य खुलेको छ ।
सार्वजनिक तथ्याङ्क अनुसार झापामा सन् २०२५ मा गिरफ्तार, कुटपिट, अधिकार हनन्, बिनास, घाइते, जातीय भेदभाव, यौन दुब्र्यवहार, बेचविखन, बलात्कार प्रयास जस्ता अपराधका घटना भएका छन् ।
इन्सेकले १० डिसेम्बर २०२५ मा सार्वजनिक गरेको तथ्याङ्क अनुसार झापामा दुईजनाको परिवारका सदस्यबाट हत्या भएकोछ ।
यो अवधीमा १९ जना बलात्कृत भएका छन् भने २ जनामाथि बलात्कार प्रयास र ५ जनामाथि यौन दुव्र्यवहार भएको तथ्याङ्क सार्वजनिक भएको छ ।
१ जनवरी २०२५ देखि ९ डिसेम्बरसम्मको तथ्याङ्क अनुसार झापामा मानव अधिकार उल्लंघन र ज्यादतीका गरी ७१ जना पीडित भएका छन् ।
यो अवधिमा १६ जनाको राज्य पक्षबाट मानव अधिकार हनन् भएका छन् भने अन्य पक्षबाट ५७ जना पीडित भएका छन् ।
त्यसैगरी ६ जना महिला बेचविखनमा पर्दा एकजना बालिका बेचविखनमा परेकी छन् ।
सार्वजनिक तथ्याङ्क अनुसार सातजनालाई राज्यले गिरफ्तार गरेको छ भने एक÷एक जना महिला र पुरुषमाथि कुटपिट भएको छ । यो वर्ष २५ जना बालबालिकाको अधिकार हनन हुँदा १८ जना महिलापनि आफ्नो अधिकारबाट बञ्चित भएका छन् ।
यसैगरी तीनजना व्यक्तिको जेलमा मृत्यु हुँदा हिरासतमा पनि एकजनाले ज्यान गुमाएका छन् भने चारजना घाइते हुँदा ३ जनाको राज्य पक्षबाट हत्या भएको उल्लेख गरिएको छ ।
गत भदौ २३ र २४ गते जेन–जी प्रदर्शनका क्रममा राज्य पक्षले चलाएको गोली लागेर तीनजनाको मृत्यु भएको बार्षिक प्रतिवेदनमा उल्लेख छ । यो अवधिमा जातीय विभेदको एउटा घटना भएको पाइएको छ ।
अघिल्लो वर्ष झापामा राज्य पक्षबाट २ महिला १० पुरुष र गैह्रराज्य पक्षबाट ११७ जना महिला र १० जना पुरुष पीडित भएको इन्सेक झापा प्रतिनिधि नरेश खातीले जनाएका छन् ।
संख्यात्मक रुपमा सन् २०२४ को सोही अवधीमा भन्दा २०२५ मा मानव अधिकारका हननका घटनामा कमी देखिएपनि जधन्य प्रकृतिका हिंसा बढ्नुले समाज कतातिर जाँदैछ भन्ने प्रश्न समेत उब्जाएको छ ।
हत्या, बलात्कारसहित मानव अधिकार हननका ७१ घटना



















