Homeसमाचारनेतृत्व हस्तान्तरण हुन नसके विभाजनबाटै भएपनि नेतृत्व लिन कांग्रेस कार्यकर्ताको दबाब

नेतृत्व हस्तान्तरण हुन नसके विभाजनबाटै भएपनि नेतृत्व लिन कांग्रेस कार्यकर्ताको दबाब

धुलावारी ७ असोज । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले बदलिनेले नेतृत्व गर्ने र बदलिन नचाहने बढारिने बताएका छन् । गृहनगर धुलाबारीमा आज आयोजित ‘जेन्जी आन्दोलनमा जीवन गुमाएकप्रति श्रद्धाञ्जली एवम् अबको राजनीति र अबको नेपाल’ विषयक अन्तरक्रियामा बोल्दै महामन्त्री शर्माले भने, ‘अहिलेको माग र जनभावना अनुसार नै कांग्रेसको नेतृत्व बदलिन्छ, त्यसको बाधक बन्ने बढारिन्छन् ।’
एउटाले आन्दोलन गर्ने र अर्कोले अवसर लिने कुरा असान्दर्भिक भएको तर्क गर्नु भएको शर्माले सरकारमा जेनजी पुस्ताको प्रतिनिधित्व हुनु पर्नेमा जोड दिए । सरकारमा जेन्जी पुस्ताको प्रतिनिधित्व हुनुपर्छ, त्यो अनिवार्य सर्त हो’ शर्माले भने, ‘प्रधानमन्त्री सुशीला कार्कीजी जेन्जी पुस्तालाई प्रतिनिधित्व गराएर सरकारलाई छिटो पूर्णता दिनुस् ।’ सरकारमा जेन्जी पुस्ताको प्रतिनिधित्व नभए युवाले गरेको अभुतपूर्व आन्दोलन र बलिदानको उपेक्षा हुने उनको भनाई थियो।
काँकडभिट्टामा निर्माणाधीन खेल मैदानको नामाकरण जेन्जी आन्दोलन स्मरण रंगशाला राखिने उद्घोष गर्दै शर्माले मुलुकको पूर्वीनाका काँकडभिट्टामा सहादत जेन्जी युवाको स्मारक निर्माण गरिने बताए। ‘मुलुकको पूर्वीद्वारमा जेनजी युवा सहिदको स्मारकसहित रंगशाला निर्माण गरेर देशविदेशमा नयाँ सन्देश दिइनेछ’– शर्माले भने।
पार्टीमा संसद पुनस्थापना हुनुपर्ने मत पनि रहेको उल्लेख गर्दै आफूहरू नयाँ म्यान्डेटको पक्षमा दह्रोसँग उभिएको र निर्वाचनको विकल्प नभएको शर्माले स्पष्ट पार्दै भने, ‘पार्टीमा संसद पुनस्थापना हुनुपर्छ भन्ने मत पनि छ, तर २०७९ को म्यान्डेटको औचित्य समाप्त भइसक्यो नयाँ निर्वाचन नै अबको निर्विकल्प समाधान हो ।’ संसद पुनस्थापनामा आफ्नो कहिल्यै समर्थन नहुने बताउँदै महामन्त्री शर्माले माग एउटा र मुड अर्को नबनाउन नेतृत्व र अन्य दलका नेतालाई आग्रहसमेत गरे।
आन्दोलनको शक्ति हाइज्याक र मुद्दा अपहरित हुने सम्भावना प्रति सचेत रहन जेन्जी पुस्तालाई आव्हान गरेका शर्माले आन्दोलनकारी युवा शक्तिलाई विश्वासमा लिन नसके देशमा द्वन्द्व बढ्ने औल्याए। ‘युवा आन्दोलनको शक्ति हाइज्याक गर्ने र मुद्दा अपहरित गर्ने प्रयास भएका छन्, यो द्वन्द्व बढाउने योजना हो’ उनले भने ‘राष्ट्रपति, प्रधानमन्त्री र मन्त्रीहरुलाई शुभकामना छ, जेन्जीको निर्दोष भावना माथि दोष लगाउने कर्म कहिँ कटैबाट हुनुहुँदैन, यो बेला जेन्जी पुस्ता चनाखो बन्नैपर्छ ।’
अनमोल जीवनको ह्रदयविदारक अन्त्य, काख रित्तिएको घटनाले मन जलिरहेको उल्लेख गर्नुभएको शर्माले यस्तो घटना रोक्न नसकेकोमा क्षमा माग्दै भने, ‘म मन्त्री थिइनँ, दोषी छैन भनेर मैले पन्छिन मिल्दैन, आत्मालोचित छु, दोषीलाई कारबाही हुनैपर्छ ।’ दमन गर्ने र अबोध बालबालिकामाथि गोली हान्न आदेश दिनेलाई तत्काल कारबाही गर्न सरकारसँग माग गरे । शर्माले तोडफोड र आगजनीलाई कहिल्यै स्वीकार्न नसकिने पनि स्पष्ट पारे ।
महामन्त्री शर्माले मंसिरमा महाधिवेशन गर्ने वा निकासका लागि विशेष महाधिवेशन भन्ने विषयमा पार्टी वैठकले उपयुक्त निर्णय गर्ने विश्वास व्यक्त गरे । जेन्जी पुस्ताको जुलुसमा जानेलाई क्रियाशील सदस्यता दिन सुझाव दिएका उनले तोडफोड र आगजनीमा सम्लग्न कांग्रेस कार्यकर्तालाई भविष्यमा पनि अयोग्य हुने गरेर पार्टीबाट निस्कासन गर्न निर्देशन दिए ।
केन्द्रदेखि चिया पसलसम्म नै सुधारको खाँचो औल्याएका महामन्त्री शर्माले संसद भवन, सिंहदरबार, सर्बोच्च अदालत जलेको अगाडि आफ्नो घर जल्नुलाई आफूले सामान्य रुपमा लिएको बताए । आफू संसदमा बेदाग गएको र अढाई वर्षमा नै फर्केपनि बेदाग फर्किएको उनको दावी थियो । कहिल्यै लाभको पदमा नबसेको र आफूले भ्रष्टाचार नगरेको जिकिर गर्दै उनले धुलाबारीको घर बनाएको पैसा कहाँबाट आयो भनेर खोज्न धुलाबारीमोडमा रहेको कृषि विकास बैक जान र बुझ्न आग्रह पनि गरे।
युवा र पार्टीका विभिन्न तहमा रहेका २६ जनाले मत राखको कार्यक्रममा कांग्रेस झापा १ का सभापति इन्द्र बुढाथोकी, सचिव राजन भट्टराईले भदौ २३ गते पछिको क्षेत्रको अवस्था र अन्तरक्रियाको औचित्य प्रष्ट्याएका थिए । सहभागीले महाधिवेशन, विषेश महाधिवेशनबाट नेतृत्व हस्तान्तरण हुन सक्ने अवस्था नभए पार्टी विभाजन गरेरै भएपनि महामन्त्रीद्वय शर्मा र गगन थापालाई नेतृत्व लिन दबाब दिएका थिए ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
समाचारनेतृत्व हस्तान्तरण हुन नसके विभाजनबाटै भएपनि नेतृत्व लिन कांग्रेस कार्यकर्ताको दबाब
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img