बिर्तामोड १० फागुन । महिला उद्यमी संघ नेपाल झापामा स्थापना भएको नवौं वर्षमा आइपुग्दा सचिवालय स्थापना गर्न सफल भएको छ । महिलाहरुलाई उद्यमी बन्न उत्प्रेरित गर्दै आएको संघले शनिबार सचिवालयको समुद्घाटन गरेको हो ।
बिर्तामोड १ स्थित पुरानो कञ्चनजंघा रोडमा स्थापना गरिएको संस्थाको सचिवालयको शनिबार आयोजित एक कार्यक्रमका बीच बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले उद्घाटन गर्नु भयो ।
संस्थाकी अध्यक्ष सर्मिला अधिकारीको अध्यक्षता तथा नगर उपप्रमुख संग्रौलाको प्रमुख आतिथ्यमा सम्पन्न सचिवालय उद्घाटन कार्यक्रममा बोल्दै उपप्रमुख संग्रौलाले आफूले उत्पादन गरेका सामग्रीको ब्राण्डिङ र बजारीकरणमा जोड दिनुभयो ।

कार्यक्रममा बोल्दै संग्रौलाले सामग्री उत्पादनसंगै त्यसको प्रवद्र्धन र बजारीकरणका लागि उपभोक्ताको मन खिच्ने प्रकृतिका विज्ञापनका शैली अपनाउन सुझाव समेत दिनुभयो । उहाँले भन्नुभयो, ‘उत्पादित सामग्रीको प्रवद्र्धनका लागि प्याकेजिङ्ग, ब्राण्डिङ राम्रो बनाउनुका साथै विश्वसनीय विज्ञापनको ठूलो भूमिका हुन्छ, ती तरिकाहरु अपनाउनु पर्यो ।’
कार्यक्रममा महिला उद्यमी संघ नेपालकी संस्थापक अध्यक्ष गोमा भट्टराई, नारी सञ्चार गृह झापाकी अध्यक्ष रेजिना गौतम लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

संस्थाकी सचिव पुनम् अधिकारीले सञ्चालन गरेको कार्यक्रमको औचित्यमाथि पूर्व अध्यक्ष नैनकला भट्टराईले प्रकाश पार्नुभएको थियो भने स्वागत उपाध्यक्ष दिपा खरेलले गर्नुभएको थियो ।



















