कालीस्थान २० असोज । देबीको सिद्ध शक्तिपीठ कालिकापीठ कालीस्थानमा सतचण्डी महायज्ञ सञ्चालन भइरहेको छ । शारदीय नवरात्रको अवसर पारेर विगत बर्षहरुमा झैं यसबर्षपनि अर्जुनधारा नगरपालिका वडा नं–९ मा रहेको सिद्ध शक्तिपीठ कालिकापीठमा दुर्गा भगवतीको विशेष पूजा–उपासनासहित सतचण्डी महायज्ञ आयोजना गरिएको हो ।
बडा दशैंको पहिलो दिन वैदिक विधिपूर्वक घटस्थापना गरेर शुरु गरिएको महायज्ञ आगामी बडादशै अन्तरगत नवमीका दिन विधिवत रुपमा समापन गरिने कालिकापीठका अध्यक्ष ज्यो। पं। लक्ष्मीप्रसाद पोखरेलले जानकारी दिनुभयो ।
भगवती दुर्गाका सातसय मन्त्र उल्लेख भएको श्री सप्तसती पाठसँगै वैदिक विधिपूर्वक नवरात्र अन्तरगत प्रथम दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रोदिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौदिन स्कन्धमाता, छैटौ दिन कात्यायनी, सातौं दिन कालरात्री, आठौं दिन महागौरी र नवौं दिन सिद्धिदात्री स्वरुपको पूजा–उपासना शारदीय नवरात्रमा हुने यज्ञाचार्य एवं कालिका संस्कृत विद्यापीठका प्राचार्य आ। रघुनाथ रिजालले जानकारी दिनुभयो ।
प्रतिपदादेखि शुरु भएको महायज्ञमा नवदुर्गाको पूजा गर्दै सप्तशती ९चण्डी० पाठ गरी नव दुर्गा र त्रिशक्ती देवीस्वरुप महाकाली, महालक्ष्मी र महासरस्वतीको विशेष पूजाआजा र आरधना गरिन्छ ।
दुर्गा सप्तसतीका प्रत्येक श्लोक मन्त्रयुक्त रहेको र मार्कण्डेय पुराणको सावर्णि मन्वन्तरको कथा प्रसङ्ग दुर्गा सप्तसतीमा रहेको यज्ञाचार्य रिजालले जानकारी दिनुभयो ।
आसुरी शक्तिको अन्त्य र दैवी शक्तिको विजयोल्लासको पर्वका रुपमा शारदीय नवरात्र एवं बडा दशैं मनाइन्छ । आदि शक्ति दुर्गा देवीको उत्पत्ति एवं महात्म्यको कथा वेदव्यास रचित मार्कण्डेय पुराण र देवीभागवतमा उल्लेख छ । दुर्गादेवीको पूजा–उपासना गर्दा महालक्ष्मीलाई बीचमा राखी दायाँ र बायाँ क्रमशः महाकाली र महासरस्वतीलाई विराजमान गराइन्छ । महालक्ष्मीका पछाडि सरस्वतीका साथ ब्रहृमाको, महालक्ष्मीको दक्षिण भागमा गौरीका साथ शिवजीको र महालक्ष्मीको वायाँ भागमा लक्ष्मीसहित विष्णुको पूजा गरिन्छ ।
देवी माहात्म्यको पाठ मात्रै गर्दा पनि भूत, प्रेत पिशाच आदि नष्ट एवं पूजा अर्चना, स्तुति पाठ, माहात्म्य श्रवण गर्नाले इहलोक–परलोकका लागि सिद्धी एवं मुक्ति प्राप्त हुने जनविश्वास पाइन्छ ।
देवी शक्तिको विशेष पूजा–उपासना भइरहेको कालिका शक्तिपीठको दर्शन एवं पूजनका लागि समुपस्थित भएर पुण्यार्जन गर्नुहुन पनि कालिकापीठका अध्यक्ष पोखरेलले सबैमा आग्रह गर्नुभएको छ ।
कालिकापीठ कालीस्थानमा सतचण्डी महायज्ञ
