बाहुनडाँगी । हात्ती समस्या झेलिरहेका स्थानीय यति धेरै आक्रोशित भएकी, यस्ता भाषण कति सुनियो सुनियो, भाषणले के हुन्छ ? गर्ने कसैले केही होइन् ? जंगली हात्ती समस्या र समाधानको उपाय खोज्ने उद्देश्यले हात्तीमैत्री पदयात्रा शुरु गर्न बाहुनडाँगी पुगेका कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले यस्तै यस्तै आक्रोशको सामना गर्नुपर्यो । न्यून संख्यामा उपस्थित स्थानीयको वर्षौदेखिको आक्रोशलाई साम्य पार्न मुख्यमन्त्रीले निकै समय खर्चनु पर्यो । विगतमा जे जे भएपनि आफू काम गर्नका लागि आएको पटक पटक स्पष्ट पार्दै आश्वस्त पार्न खोजे । तर वर्षौंदेखि नेताबाट ढाँटिएका स्थानीयले त्यसलाई सहजै पत्याउन सक्ने कुरै भएन । सो क्रममा मुख्यमन्त्री कार्कीले पटक पटक आफू पीडितका पीडा बुझ्नकै लागि घर आँगनमै आएको र उपाय खोज्नकै लागि पैदल यात्राको तय गरिएको स्पष्ट पारे । जब मुख्यमन्त्री कार्कीले सबैको बिमाको कुरा गरे तब आक्रोश अलि साम्य भयो । भिडमा कुरा उठ्न थाल्यो जन, धन, बाली र बासको बिमा गरिदिए सहज हुन्छ । आक्रोशित भीड बिमाको कुराले आशातीत देखियो ।

स्थानीयको आक्रोशलाई मुख्यमन्त्री कार्कीले शान्त र सौहार्दपूर्ण तरिकाले आश्वस्त पारे र आफूलाई विश्वास गर्न आग्रह गर्दै समाधानका लागि पहल गर्न आगामी वर्षको बजेटसम्मका योजना सुनाए ।
वर्षौंदेखि बाहुनडाँगीवासीसँग राज्य सत्ता र राजनीतिक दलहरु र तिनका नेताले हात्तीको समस्या समाधान गर्छौं भन्दै वाचा कसम लिखित रुपमै गरेपनि ती सबै कुरा र कागजमै सिमित रहे । गरिएका प्रयासहरु पनि समयक्रमसंगै असफल भए ।
बाहुनडाँगीबासीका पीडा र हात्तीको आतंकको कथा, ब्यथा र पीडाले सत्ता सिंढी चढे । यही देखेका र भोगेका स्थानीयको आक्रोश मुख्यमन्त्री कार्कीमाथि पोखिएको हो ।
जनधनको सुरक्षा र हात्ती नियन्त्रणका लागि राज्यकोषको निकै ठूलो रकम खर्चिसकिएको छ । हात्ती नियन्त्रणका लागि भएका प्रयासहरु बालुवामा पानी झैं बिलाएका छन् ।
मुख्यमन्त्री कार्की फागुन ९ गतेदेखि

सप्ताहव्यापी हात्तीमैत्री पदयात्रामा छन् । बाहुनडाँगीको प्रसादगौंडादेखि शुरु भएको पदयात्रा उदयपुरको बेलसोतमा पुगेर टुङ्गिने छ । यात्रा प्रारम्भ गर्दैगर्दा आक्रोशको सामना गरेका कार्कीलाई स्थानीयले ११ बुदे ज्ञापन पत्र समेत बुझाएका छन् ।
बाहुनडाँगी गाविसका तत्कालीन अध्यक्ष तथा नागरिक समाज बाहुनडाँगीका अध्यक्ष निलकण्ठ तिवारीले मुख्यमन्त्री कार्कीलाई ज्ञापन पत्र बुझाउँदै ज्ञापन बाहुनडाँगीबासीको साझा बिषय पूरा गर्न प्रदेश सरकार र स्यवम मुख्यमन्त्री गम्भीर बन्न आग्रह गरे। हात्ती नियन्त्रणका लागि सीमा क्षेत्रमा लगाइएको सौर्य विद्युतीय तारबार मर्मत, सम्भार र संरक्षणका लागि नियमित बजेटको व्यवस्था गर्नुपर्ने उल्लेख छ ।
त्यस्तै सीमामा लगाइएको तारबार छेउको पहुँच मार्गलाई स्तरोन्नति गर्न बिनियोजित २५ लाख बजेट अपुग भएकाले थप बजेटको व्यवस्था गरिदिन र हात्तीलाई बासस्थानमा फर्काउन स्कर्टिङ भेहिकलको व्यवस्था गरिदिनुपर्ने, हात्ती प्रभावित बस्तीमा चम्किलो बत्तीको व्यवस्था गर्न, हात्तीले नखाने बनस्पति रोप्नका लागि सामुदायिक बनहरुलाई समन्वय गर्न, बाली लगायतको क्षतिपूर्तिका लागि बिमाको पहल गरिदिन, चिया लगायतका बैकल्पिक बालीको प्रवद्र्धन र बजारीकरणको व्यवस्था गरिदिन, सामूहिक खेतीका लागि बजेट व्यवस्था गरिदिन, जनताको तटबन्धन कार्यक्रमलाई निरन्तरता दिन, ऐलानी जग्गामा भएको क्षतिको समेत राहत उपलब्ध गराउन, सौर्य तारबार र हात्तीलाई बासस्थानमा फर्काउन खटिने जनशक्तिलाई पारिश्रमिकको व्यवस्था गर्न, एक्ले हात्तीहरुलाई रेडियो कलर लगाउने र आवश्यक परे स्थानान्तरण गर्ने व्यवस्था मिलाउन र मेचीनगर–४ लाई मानव–हात्ती सहअस्तित्वको असल पाठशालाको रुपमा नमुना गाउँ बनाउन बाहुनडाँगी माग गरेका छन् ।
मागपत्रमा मेचीनगर–४ का वडाध्यक्ष सहित वडा नं। ४ का सबै राजनितिक दलका अध्यक्षहरु, मानव हात्ती द्वन्द व्यवस्थापन तथा वातावरण संरक्षण मञ्चका अध्यक्ष, स्थानीय अगुवा समाजसेवीहरु र आरआरटीका संयोजक लगायतले हस्ताक्षर गरेका छन्।



















