Homeमहिलाचारमहिनामा झापा प्रहरीमा ६९ घरेलु हिंसा

चारमहिनामा झापा प्रहरीमा ६९ घरेलु हिंसा

बिर्तामोड २० मंसीर । ‘अझै पनि महिला हिंसाको ग्राफ डर लाग्दो छ । लैंङ्गिक हिंसा भनिएपनि हिंसामा पर्ने अधिकांस महिला नै छन् ।’ झापाका प्रहरी प्रमुख दुर्गाराज रेग्मीले झापामा देखिएको हिंसाबारे बोल्दै भने–‘झापा जस्तो जिल्लामा त हिंसाको अवस्था यस्तो छ भने अन्यत्र कस्तो होला ?’
नेपाल उद्यमशील महिला संघ झापाले लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान अन्तरगत झापाको बिर्तामोडमा आयोजित कार्यक्रममा अभिव्यक्ति यो भनाईबाट हिंसाको प्रकृतिमात्र फेरियो, हिंसामुक्त समाज निर्माणमा तर्फ चरित्र मोडिएन भन्न सकिन्छ ।
प्रहरीका अनुसार हिंसाको हुनुको कारक आर्थिक स्रोतमा महिलाको पहुँच नहुनु नै हो । प्रहरी प्रमुख रेग्मीले कारवाहीको शिलशीलामा देखिएका अड्चनहरुबारे जानकारी दिंदै भने–घर झगडा हुन्छ, कुटपिट हुन्छ पीडितले, आफन्तले वा छिमेकीले फोन गर्छन् गएर समातेर ल्यायो एकदिन एकरात राख्यो, अर्कोदिन पीडित आउँछन् उजुरी हाल्नुस् भन्यो भने होइन सर यसलाई थुनाएर त के गर्नु ? कमाएर ल्याउने नै यै हो, छोराछोरीलाई खान के दिने ?
थुन्न चै नथुनिदिनु होस्, कुट्न चै अब नकुट्ने गरी सम्झाई दिनोस् भन्छन् । अनि बाध्य भएर छोड्नुपर्छ ।’ उनले थपे, ‘यो हुनुको कारण महिलामा आर्थिक पहुँच र अधिकार नहुनु हो ।’ प्रहरी प्रमुखले हिंसाको कारण र कानून कार्यान्वयनका क्रममा देखिएको वास्तविकता उजागर गरिरहँदा झापामा घरेलु हिंसा सम्बन्धी प्रहरीमा पुगेका उजुरीको अवस्थाले दर्शाउँछ ।
झापामा चालु आर्थिक वर्षको चारमहिना अवधीमा मात्रै घरेलु हिंसाका मात्रै ६९ वटा उजुरी दर्ता भएका छन् । जसमध्ये ५४ वटामा मिलापत्र भएको तथ्याङ्कले देखाउँछ ।
तथ्याङ्क अनुसार साउन र कात्तिक महिनामा २०÷२० वटा घरेलु हिंसाका उजुरी दर्ता भएका छन् भने भदौमा सबैभन्दा कम्ती १३ र असोजमा १६ वटा उजुरी दर्ता भएका छन् ।
घरेलु हिंसा हुने कारणहरुमा मादक पदार्थ सेवन (मापसे), कुटपिट र झैझगडा, गरिबीका साथै घरेलु हिंसा घट्नमा मोबायल फोन पनि कारक देखिएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।
घरेलु हिंसाको विगत पाँचवर्ष वर्षमा उल्लेखित विभिन्न कारणबाट ९५५ वटा घरेलु हिंसाका उजुरी दर्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय झापाको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७५÷०७६ मा १५२ घरेलु हिंसाका उजुरी दर्ता भएका छन् भने आव ०७६÷०७७ मा १८१ आव ०७७÷०७८ मा २२०, आव ०७८÷०७९ मा २४७ वटा उजुरी दर्ता भएको देखिन्छ । गतवर्ष भने यी घटनामा कमी आएको तथ्याङ्कले देखाउँछ । आव ०७९÷०८० मा भने १५५ वटामात्र उजुरी दर्ता भएका छन् ।
घरेलु हिंसा अन्तरगत ५ वर्षमा दर्ता भएका कुल ९५५ वटा उजुरी मध्ये अधिकतम अर्थात ७९० वटा मुद्दा सहमतीय आधारमा टुङ्ग्याइएको छ भने सहमती हुन बाँकी ११९ वटा मुद्दा रहँदा ४६ वटा मुद्दा अदालती प्रक्रियामा गएको देखिन्छ ।
प्रहरीका अनुसार यो अवधीमा सबैभन्दा बढी कुटपिट र झैं झगडाका ३३९ वटा उजुरी पर्दा मापसेका ३१८ वटा रहेका छन् भने गरिबीका कारण १६९ र मोवायल फोनका कारण हिंसामा परेको भन्दै १२४ वटा घटना उजुरी दर्ता भएको पाइन्छ ।
देशभरमा
आर्थिक वर्ष २०७९÷०८० मा देशभरमा २० हजार सातसय ५३ जना महिला तथा बालिकामाथि हिंसा भएका उजुरी दर्ता भएका छन् । उजुरीमात्रैलाई आधार मान्दापनि दैनिक औसत ७ जना महिला तथा बालिकामाथि हिंसा हुने गरेको देखिन्छ ।
तथ्याङ्क अनुसार आब ०७८÷०७९ मा २१ हजार चारसय ५१ वटा हिंसामा परेका उजुरी दर्ता भएका थिए भने त्यो भन्दा अघिल्लो वर्ष अर्थात आव ०७७÷७८ मा नेपाल प्रहरीमा १४ हजार दुईसय ३२ वटा उजुरी आएका मध्ये सबैभन्दा धेरै घरेलु हिंसा रहेका थिए ।
हरेक दिन महिलाले व्यक्तिगतदेखि सार्वजनिक क्षेत्रमा आफन्त, नजिकका नातेदार र विश्वाशिला ब्यक्तिहरुबाट नै कुनै न कुनै प्रकारको हिंसाको सामना गरिरहनु परेको छ ।
यी त प्रहरीमा दर्ता हुन आएका घटनाहरु मात्रै हुन । धेरै घटना प्रहरी समक्ष आउनै पाउदैनन् । घरभित्रै, परिवार र आफन्तबाटै ढाकछोप गर्ने र मिलाउने प्रयास हुन्छ, त्यहाँ संभव नभएका घटनामात्रै प्रहरीमा आइपुग्छ । लैंङ्गिक हिंसाका घटनाबारे खोजी, समिक्षा, लेखाजोखा र कारणबारे छलफल भइरहेका बेला प्रहरी प्रमुखले खुलासा गरेको हिंसाको कारणबाट के स्पष्ट हुन्छ भने समाजमा चेतना संगसंगै आर्थिक पहुँच नभएसम्म हिंसा अन्त्य हुन सक्दैन भन्ने स्पष्ट हुन्छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
महिलाचारमहिनामा झापा प्रहरीमा ६९ घरेलु हिंसा
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img