रेजिना गौतम
बुधबारे । खेतमा धान पाकेर पहेलपुर छ । भित्र्याएपछि पनि वर्षदिन भरी जोगाएर खान पाइन्छ कि पाईदैन भन्ने झन ठूलो चिन्ता छ । झापाका हात्ती प्रभावित क्षेत्रका स्थानीयलाई । त्यस्तै चिन्तामा छिन् ८० बर्षीय विष्णुमाया न्यौपाने । प्राकृतिक प्रकोपको भन्दा जंगली जनावरले धान नष्ट गरिदिने हो कि ! भन्ने चिन्ता हो ।
अढाई विगाहामा लगाएको धान सर्लक्क भित्र्याउन सके झण्डै डेढसय मन हुने बताउँदै भनिन्–के टुङ्गो हुन्छ र ? कतिबेला हात्ती आउँछन् र सकिदिन्छन् पत्तो हुँदैन ।’ उनले थपिन्–‘यसपाली आजसम्म त राम्रो छ नी तर काटेर कुन्यु लगाइसकेपछि पनि हात्ती आएभने राख्दैनन् ।’ ‘ अनि घरमा ल्याएपछि पनि बर्षदिन खान पाइन्छ कि पाइदैन हात्तीले आँटे भने घरै भत्काएर भित्रैको खान्छन् विष्णुमायाले भनिन् ।
झापाको बुद्धशान्ति, बाहुनडाँगी, भद्रपुर, जलथल, बिर्तामोडको ७/८ नं. वडा लगायतका ठाउँका स्थानीय भोगिरहेका छन् । हात्तीले उपद्रो गर्न लाग्यो भने घरमा भित्र्याएको अन्न पनि सुरक्षित हुन नसक्ने बुद्धशान्ति–३ कै युवराज दुलाल बताउँछन् । ढिकुटीमा राखेको धान दुईपटक सम्म हात्तीले भत्काएर खाएको बताउँदै दुुलालले भने–‘घरभित्र थन्क्याइयो भनेर पनि ढुक्क हुन सकिंदैन, उ याँ (काठले बनाएको धान राख्ने ढिकुटी देखाउँदै) राखेको धान दुईपटक भयो भत्काएको ।’
गाउँमा हात्ती आएपछि युवाहरु हात्ती धपाउन निस्कन्छन् । साँझ पर्दा भाग बसेको भात थालमै छोडेर निस्किएका छोराहरु घर नफर्केसम्म घरमा रहेका अन्य सदस्यहरुको निन्द्रा पर्दैन । त्यसको पीडा अझ बढी बाबुआमामा पर्छ ।
विष्णुमायाले भनिन्–‘हात्ती आएपछि छोराहरु हात्ती खेद्न जान्छन्, फर्केर नआएसम्म निन्द्रा लाग्दैन ।’
खानसम्म नपाई साँझमा घरबाट निस्किएका छोराहरु कसरी, कतिबेला घर फर्कलान् भन्ने चिन्ताले उनको निन्द्रा मात्रै बिथोलिंदैन, मुखमा हालेको गाँस पनि निल्नु न ओकल्नु हुन्छ रे ।
बुद्धशान्तिकै पर्शुराम आचार्यलाई २०४५ सालमा जंगल बचाउँदा र अहिले हात्तीको आक्रमण हेर्दा उबेला गल्ती गरिएछ भन्ने महसुस भएको बताए । अन्तराष्ट्रिय गहनाका रुपमा रहेको हात्तीको संरक्षण गर्नुपर्ने भएपनि अहिले दैनिक जसो पाइने दुःखले आफूलाई गल्ती महसुस भएको बताए । उनले भने, ‘४५ सालमा यो जंगल जोगाउन ठूलो कसरत गरियो त्यो नगरेको भए अहिले मागुरमाडी बन शायद हुने थिएन, त्यहाँसम्म गाउँ गाउँ हुँदा हामीलाई कम्तिमा सहारा त हुन्थ्यो ।’
त्यही पीडा खेपीरहेकी छन् बिर्तामोड नगरपालिका वडा नं.–७ की दुर्गा बराल पनि । हात्ती आएपछि गाउँमा हल्ला हुन्छ, हल्ला भए घर घरबाट मान्छे निस्कन्छन्, कहिले मध्यरातमा पल्लो ठाउँबाट हात्ती आयो है भन्दै हल्ला आएपछि निस्किएर हिडेपछि कति बेला घर फर्किन्छन्, कस्तो अवस्थामा फर्किन्छन्, भन्ने पीर लाग्छ ।’
झापामा मानव हात्ती द्वन्द्व शुरु भएको लामो समय वितिसकेको छ । हात्तीदेखि मान्छे डराउने, मान्छेदेखि हात्ती डराउने भएपनि मानिसले हात्ती धपाउनका लागि अपनाएका तौर तरिकालाई सहज नमानेको हात्तीले मान्छेलाई आक्रमण गरेको पाइन्छ भने हात्ती नियन्त्रणका लागि मान्छेले अपनाएका विभिन्न खाले पासोमा पर्दा हात्तीको पनि क्षती हुँदै आएको छ । झापामा आर्थिक वर्ष शुरु भएपछिको यो अवधीमा २ वटा हात्तीले ज्यान गुमाएका छन् ।
लगभग चार दशकअघि जङ्गल मासेर मानव बस्ती विस्तार हुँदा झापाको उत्तरी गाउँ बाहुनडाँगीमा जङ्गली हात्तीको उपद्रो सुरु भए मानिन्छ । त्यसयता विस्तारित मानव–हात्ती द्वन्द्व दक्षिणको कचनकबल र पश्चिमको दमकसम्म फैलिइसकेको छ । मानवीय र धनमाल क्षतिको ग्राफ पनि उकालिँदै गएको छ ।
वन डिभिजन कार्यालयका अनुसार अहिले जिल्लाको गौरादह बाहेक १४ पालिकामा मानव–हात्ती द्वन्द्वको समस्या छ ।
मेचीनगर, हल्दिबारी, भद्रपुर, कनकाई, अर्जुनधारा, बुद्धशान्ति र सताक्षीधाममा साथै दमकसम्म पनि पुग्ने गरेको बताइएको छ ।
सरकारले डिभिजन बन कार्यालय झापाबाट घाइते, मृत्यु, अन्नबाली र चौपायाको क्षतिवापत १२ वर्षको अवधीमा सातकरोड १६ लाख २७ हजार सातसय १९ रुपैयाँ राहत वितरण गरिसकेको छ । यद्यपी हात्तीको उपद्रो, क्षति र राहतबारे पीडितले असन्तुष्टि जनाउँदै राहत भन्दा दीर्घकालीन व्यवस्थापनको व्यवस्था गर्न माग गरेका छन् ।
२०३६ सालदेखि नै हात्तीको समस्याबारे नियाल्दै आएका सिताराम बास्तोलाले समूहमा आउने हात्तीले धेरै ठूलो क्षति नगर्ने र धपाउँदा जाने गरेको देखेका थिए रे । तर, अहिले जब्बर भएजस्तो लागेको बताए । बास्तोलाले भने–‘उ बेला यस्तो थिएन, हात्ती धपाएपछि भाग्थे ।’ समूहमा आएका हात्ती समूहमै जान्थे ।’
राहतमा सातकरोड १६ लाख बढी
जंगली हात्तीको आक्रमणबाट ज्यान गए वा धनजनको क्षति भएमा नागरिकलाई १२ वर्षको अवधीमा सरकारले सातकरोड १६ लाख बढी रुपैया वितरण गरेको छ । झापामा हात्तीको आक्रमणबाट १२ वर्षमा ज्यान गुमाएका ५४ जनालाई राहत स्वरुप दुई करोड ८३ लाख ५० हजार वितरण गरेको जनाएको छ । त्यस्तै ४१ लाख ६४ हजार सातसय ७८ रुपैयाँ वितरण गरेको तथ्याङ्कमा उल्लेख छ । अन्नबाली तथा चौपाया क्षतिवापत सरकारी कोषबाट राहत स्वरुप ३ करोड ९१ लाख १२ हजार नौसय ४१ रुपैयाँ पीडितलाई उपलब्ध गराएको जनाएको छ ।
यद्यपी सरकारले दिएको राहतले राहत महसुस गराउन नसकेको जनाएका छन् । समयमा र क्षति अनुसारको राहत पाउन नसकेको गुनासो छ । दुईपटक सम्म हात्तीले ढिकुटी नै भत्काएर थन्क्याएको धान नष्ट गर्नुका साथै काठले बनेको ढिकुटीको क्षति विवरण संकलन गरेपनि राहत नपाएको बुद्धशान्ति–३ का युवराज दुलालले गुनासो गरे ।
आफू अन्जानमै सो ठाउँमा बस्न आइपुगेको बताउँदै भने–‘अन्जानमै यहाँ आइपुगियो हात्ती हिड्ने बाटो नै र छ । क्षतिको तुलनामा राहत नगन्य हुने बताउँदै हात्ती नियन्त्रणका लागि दीर्घकालीन समाधान हाम्रो माग हो ।’ जनतालाई हात्तीबाट जोगाउन स्थानीय सहकारले पनि केही नगरेको आरोप लगाउँदै भने–‘उज्यालोसम्म दिन सकेको छैन, राहत भन्दा पनि दीर्घकालीन समाधान खोज्नुपर्छ ।’
रैथाने हात्ती २४ भन्दा बढी रहेको अनुमान
आठवर्षमा रैथाने हात्तीको सख्या उल्लेख्य बढेको छ । २०७२ साततिर १३ वटा रैथाने हात्तीको रहेका झापाका जंगलमा अहिले २४ भन्दा बढी नै रहेको जिल्ला बन कार्यालयकी सूचना अधिकारी अञ्जना पुरीले जानकारी दिइन् । पुरीले भनिन्–‘केही वर्षअघि गरिएको खोजी र तथ्याङ्क अनुसार १३ वटा रैथाने हात्ती थिए अहिले त बढेर २४÷२५ वटा पुगेको अनुमान छ ।’
नेपालतिर अन्नबाली पाक्ने बेलामा भारतबाट लस्कर लागेर आउने हात्ती आउने गरेका थिए । ती हात्तीलाई स्थानीयले ‘भारतीय हात्ती’ भनेर चिन्थे । हात्तीले साह्रै नै दुःख दिन थालेपछि सबैभन्दा प्रभावकारी नियन्त्रणको प्रयास स्वरुप विसं २०७२ मा बाहुनडाँगीस्थित हात्ती छिर्ने मेची नदीको १८ किलोमिटर तटमा विद्युतीय तारबार निर्माण भयो ।
तारबारले केही समय हात्ती प्रवेश रोकिएपछि त्यसैको प्रभावकारिता आंकलन गर्दै हात्तीले अत्याधिक दुःख दिने क्षेत्रको पहिचान गरी कचनकवलदेखि बाहुनडाँगीसम्म १५२ किलोमिटर तारबार (हात्ती करिडोर) गर्ने योजना अघि सारियो । तर, योजनामा परेको क्षेत्रमा ढिलो गरी किस्ता किस्तामा तारबार हुँदा त्यसको प्रभावकारिता निस्क्रिय झै देखिन्छ ।
पछिल्लो समय रैथाने हात्तीले बढी दुःख दिने गरेको मानव हात्ती द्वन्द्व न्यूनिकरण समिति बुद्धशान्तिका संयोजक समेत रहेका सिताराम बास्तोलाले बताए । समूहमा आउने हात्ती आउँछन्, जान्छन्, तर जो यही बर्षौदेखि रहेका छन् तिनीहरुको उपद्रो बढी भयो उनले थपे–‘धपाउँदा पनि भाग्दैनन्, उल्टै फर्किन्छन् ।’
सातवर्षसम्म समूहमा हात्ती आउने क्रम ठप्प रहेपनि २०७९ मा भने दुई/तीनपटक समूहमै भारतीय हात्ती नेपाल प्रवेश गरे । समूहमा आउने हात्तीको भन्दा समूह छुटेर रहेका हात्तीको उपद्रो बढी देखिएको जानकारहरु बताउँछन् ।
समूह छुटेर बसेको हात्तीले स्थानीय रहन-सहन, हावापानी र वातावरणमा भिजिसकेको हुनाले बाहिर निस्कन सहज भएको जानकारहरुको बताउँछन् ।
एउटा क्षेत्रमा एकैपटक काम कम्प्लिड नहुँदा छुटेका ठाउँबाट हात्ती गाउँ पस्ने गरेको राष्ट्रिय प्रकृति संरक्षण कोष कोशीका प्रमुख बीरेन्द्र गौतमले बताए ।
हात्तीको आक्रमणबाट विगत १२ वर्षमा ५४ जनाले हात्ती आक्रमणमा परी ज्यान गुमाएको जिल्ला बन कार्यालयको तथ्याङ्कमा उल्लेख छ । आर्थिक वर्ष २०६८/०६९ देखि ०७९/०८० को १२ वर्षे समयावधिमा ५४ जना मानिसको मृत्यु हुँदा सोही अवधिमा १७ वटा हात्ती मरेको तथ्याङ्कले देखाउँछ ।
५७ किलोमिटर मात्रै तारबार,चारआली क्षेत्रमा समस्या
हात्ती नियन्त्रणका लागि बाहुनडाँगीदेखि कचनकवलसम्मको १५२ किलोमिटर सोलार तारबार गर्ने भन्दै योजना अगाडि सारिएको छ । योजना अनुसार ३७ प्रतिशत काम भएको राष्ट्रिय प्रकृति संरक्षण कोष कोशी संरक्षण केन्द्रका प्रमुख विरेन्द्र गौतमले जानकारी दिए । उनका अनुसार जलथलतर्फबाट ४२ किलोमिटर र बाहुनडाँगीतिर १५ किलोमिटर गरी ५७ किलोमिटरमा तारबार भएको छ ।
यो पटक लगभग ५ देखि ६ किलोमिटर तारबारका लागि बजेट बिनियोजन भएको गौतमले जानकारी दिए । तारबार बनाउनका लागि प्रतिकिलोमिटर १८ देखि २२ लाखसम्म लगानी हुने गौतमले जानकारी दिए । ठाउँ अनुसारलागतमा फरक परेको हो ।
तारबार निर्माण भएका क्षेत्रमा पनि हात्तीको उपद्रो नरोकिएको स्थानीयको गुनासो आइरहँदा गौतमले भने–‘एकैवर्ष कम्प्लिड हुने गरी निर्माण कार्य हुन नसक्दा खाली ठाउँबाट हात्ती गाउँ पसेर दुःख दिने गरेको छ ।’ उनले थपे, ‘जसको लविङ पुग्छ त्यतैतिर बजेट पुग्ने र निर्माण हुने गरेको छ ।’
कचनकवलबाट चारआलीसम्म तारबार गर्न सहज भएपनि त्यसभन्दा माथि तारबार गर्न सहज नभएको गौतमको भनाई छ । बाहुनडाँगी, पाँचपोखरी, मागुरमाडी हुँदै आदर्श सामुदायिक बन क्षेत्रमा तारबार निर्माण सहज भएपनि त्यसयता चारआलीसम्म बस्ती भएका कारण समस्या हुने जिल्ला वन कार्यालय झापाकी सूचना अधिकारी अञ्जना पुरीको भनाई छ ।
यद्यपी बाहुनडाँगीदेखि पाँचपोखरीसम्मको ३५ किलोमिटरको डिपिआर समेत भइसकेको कोषका प्रमुख गौतमले जानकारी दिए ।

































































































