विर्तामोड २७ भदौ । स्थापनाको रजत उत्सव मनाइरहेको सामाजिक संस्था मारवाडी सेवा समिति विर्तामोडको नवनिर्वाचित कार्यसमितिले पदभार ग्रहण गरेको छ ।
अग्रसेन भवनमा बिहीबार बेलुकी आयोजित रजत वर्ष तथा नवौं पदहस्तान्तरण समारोहमा समितिका अध्यक्ष सुरेशकुमार अग्रवाल ‘भद्रपुरे’ले नवनिर्वाचित अध्यक्ष पवन अग्रवाल (खेडिया)–लाई पद हस्तान्तरण गरेका हुन् ।
अध्यक्ष भद्रपुरेकै अध्यक्षतामा सम्पन्न समारोहमा नवनिर्वाचित अध्यक्षसहित कार्यसमितिलाई निर्वाचन समिति संयोजक शिवकुमार अग्रवालले सपथ गराएका थिए ।
नवनिर्वाचित समितिको उपाध्यक्ष राहुल शर्मा, सचिव दिपेन्द्रकुमार अग्रवाल (मित्तल), सहसचिव गौरीशंकर गुप्ता (टिंकु), कोषाध्यक्ष भगवानदास सिंगल, सदस्य प्रविण अग्रवाल, प्रमोद अग्रवाल, यज्ञराज अग्रवाल (विकास), विजय गोयल (बुलबुल), अरुण चौधरी, मांगीलाल अग्रवाल र वेदप्रकाश मित्तल रहेका छन् ।
संयोजक बाबुलाल वंशलले स्वागत र कोषाध्यक्ष मोहनकुमार मित्तलले सञ्चालन गरेको सञ्चालन गरेको समारोहको उद्घाटन प्रमुख अतिथि राष्टिूय मारवाडी परिषदका केन्द्रीय उपाध्यक्ष कैलाशचन्द गोयलले गरेका थिए ।
‘सेवा नै धर्म हो’ भन्ने शास्वत मन्त्रलाई शीरोपर गर्दै क्रियाशील मारवाडी सेवा समिति विर्तामोडले २५ औं रजत उत्सवमा समितिलाई सहयोग पुर्याउने सामाजिक व्यक्तित्व तथा दानवीर जग्गादाता, पूर्व अध्यक्षहरुलाई सम्मान गरिएको थियो भने नवनिर्वाचित समिति, मारवाडी युवा मञ्च, मारवाडी महिला मञ्च, मारवाडी युवती मञ्च, मारवाडी कन्या मञ्चले निवर्तमान अध्यक्ष सुरेशकुमार अग्रवाल ‘भद्रपुरे’लाई सम्मान गरेका थिए ।
विर्तामोडका समाजसेवी जग्गादाता परशुराम ढकाल, सकुन्तलादेवी गोयल, सावित्रीदेवी अग्रवाललाई प्रमुख अतिथि गोयल, प्रदेशसभा सदस्य ओमप्रकाश सरावगी, विर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटीले दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
संस्थाका संस्थापक अध्यक्ष वेदप्रकाश अग्रवाल, पूर्व अध्यक्ष स्व. रतिराम अग्रवाल र स्व. हनुमानदास गोयललाई मरणोपरान्त सम्मान गरियो भने पूर्व अध्यक्षहरु दिनेशकुमार मित्तल, सुरेश वंशल, बाबुलाल अग्रवाल, राजु शर्मा पारिक साथै राष्टिूय मारवाडी महिला संगठनकी केन्द्रीय अध्यक्षमा निर्मला जोशीलाई पनि सम्मान गरिएको थियो ।
सांगीतिक प्रस्तुतिसमेत रहेको समारोहमा समितिले प्रकाशन गरेको रजत स्मारिका पनि विमोचन गरिएको स्मारिका प्रकाशन समितिका सम्पादक गौरीशंकर गुप्ता टिंकुले जानकारी दिए ।
मारवाडी सेवा समितिको पद हस्तान्तरण तथा रजत उत्सव
