कमल सिटौला
बिर्तामोड २५ फागुन । बिर्तामोड नगरपालिका वडा नं. ४ को सहयोग र जनआन्दोलन साप्ताहिकको आयोजनामा प्रस्ताव लेखन सम्बन्धि तालिम सम्पन्न भएको छ ।
इन्दु पूर्वेलीको अध्यक्षता तथा बिर्तामोड नगरपालिका वडा नं.–४ का वडाध्यक्ष कुलप्रसाद संग्रौलाको प्रमुख आतिथ्यतामा सम्पन्न तालिम उद्घाटन कार्यक्रममा प्रमुख अतिथि संग्रौला, अतिथि तथा वडा सदस्य राहुलकुमार शर्मा लगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो ।

तालिमको उद्घाटन सत्रलाई सम्बोधन गर्दै वडाध्यक्ष संग्रौलाले विभिन्न संघ–संस्था, टोल विकास समितिहरुले कुनै पनि कार्यक्रम गर्नका लागि आवश्यक पर्ने प्रस्ताव लेखन सम्बन्धी वडाको कार्यकाल प्रारम्भ हुँदै गर्नुपर्ने आवश्यकता महशुस भएपनि विविध कारणले पछाडि परेको बताउनु भयो । यद्यपी जीवन नै सिकाई भएको बताउँदै तालिमले वडा, नगर तथा अन्य ठाउँमा पनि आवश्यकता अनुसार प्रपोजल पेश गर्न ठूलो सहयोग पुग्ने अपेक्षा व्यक्त गर्दै सिकेका कुरालाई व्यवहारमा प्रयोग गर्न आग्रह गर्नुभयो ।
वडा सदस्य राहुल शर्माले ढिलै भएपनि गहन विषयमा तालिम दिन सकेकोमा खुशी व्यक्त गर्दै आगामी दिनमा वडामा कार्यक्रम माग गर्दा प्रपोजलको फर्मेटमा आउने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रमको औचित्यमाथि अध्यक्ष पूर्वेलीले प्रकाश पार्नुभएको थियो ।
तालिममा वडाभित्र गठित टोल विकास समितिका अध्यक्ष तथा पदाधिकारी/ सदस्यहरूको सहभागिता रहेको थियो ।

तालिममा ठूला ठूला परियोजना/आयोजना तथा स–साना कार्यक्रमहरू प्राप्त गर्नका लागि लेखिने प्रस्ताव (प्रपोजल) का बिषयमा नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले सहजीकरण गर्नुभएको थियो ।
प्रस्ताव लेख्नुपर्ने कारण, प्रस्तावको विषय, (परियोजना/कार्यक्रम/तालिम, अनुसन्धान, योजना) कार्यक्षेत्रको छनौट, समस्याको प्राथमिकीकरण, प्रस्तावको ढाँचा, प्रस्ताव लेखनका मुख्य तत्वहरु, परियोजना विवरण तथा कार्यक्रमको औचित्य पुष्टि, लक्ष्य, उद्देश्य, प्रकृया, चुनौति र समस्या, गतिविधि, आफूसंग भएको मावन संसाधन, बजेट बिनियोजन, अनुगमन र मूल्याङ्कन, उपलब्धीबारे सहजकर्ता लोकराज ढकालले जानकारी दिनुभएको थियो ।
साथै प्रपोजल लेख्ने संस्थाको पृष्ठभूमि, परिचय, कार्यक्षेत्र, लक्ष्य र उद्देश्य, जनशक्ति विवरण, कार्यानुभव, परियोजनको औचित्य, प्रभाव र असर, व्यवहारिक पक्ष, प्रतिवेदनको महत्व लगायतका विषयवस्तुबारे प्रशिक्षण दिनुभएको थियो । प्रभावकारी, व्यवहारिक, विषयवस्तु सुहाउँदो, पारदर्शिता, संस्थाको विश्वसनीयता पुष्टि गर्ने आधारहरुमा ध्यान पुर्याउन सकेमात्रै प्रपोजलले दाताको मन छुन सक्नेतर्फ सजग र सचेत हुन सुझाउनु भयो ।
तालिममा लामो समयको परियोजनाले समुदायमा पार्ने दुरगामी प्रभाव,अवधी, भुक्तानीको तरिका, अनुगमन तथा मूल्याङ्कनदेखि प्रतिवेदन तयार पार्दासम्म ध्यान दिनुपर्ने विषयमा प्रशिक्षण दिइएको थियो ।

विभिन्न टोल विकास समितिका ३३ जना सहभागी तालिमको वडाध्यक्ष संग्रौलाको प्रमुख आतिथ्यता र आयोजक संस्थाका सम्पादक पूर्वेलीको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रममा वडा सचिव नन्दलाल आचार्यले मन्तव्य राख्दै बजेट सिमित हुने तर जनताका आवश्यकता र माग असिमित हुँदा कतिपय आवश्यकता खड्किएका कार्यक्रमहरु पनि समयमै गर्न नसक्ने बाध्यताबारे बुझिदिन आग्रह गर्नुभयो ।
तालिम समापन सत्रमा सहभागीका तर्फबाट बैंक सञ्चालनको अनुभव समेत संगालेका गोकुलप्रसाद अधिकारीले आफूले धेरै प्रपोजल लेखेपनि प्रपोजलको ढाँचामा नभएको कुरा तालिममा बसेपछि मात्रै थाहा पाएको सुनाउनु भयो । गहन विषयको तालिमको समयावधी कम भएको प्रतिक्रिया दिंदै सिकेका कुरालाई व्यवहारमा प्रयोग गर्ने प्रतिवद्धता समेत जनाउनु भयो ।
रेजिना गौतमले तथा सहजीकरण गरेको कार्यक्रममा नेपाल पत्रकार महासंघ झापा शाखाका उपाध्यक्ष शुशिला संग्रौला लगायतको उपस्थिति रहेको थियो ।

































































































