बिराटनगर १३ फागुन । जिल्ला प्रहरी कार्यालय संखुवासभा मातहतमा रहेको प्रहरी चौकी टुटे देउराली र जिल्ला प्रहरी कार्यालय तेह्रथुम मातहत रहेको प्रहरी चौकी जिरिखिम्तीको नवनिर्मित कार्यालय भवनको समुद्घाटन् भएको छ ।
चौकीहरुको हाता भित्र आज भएको कार्यक्रमका बिच १ नम्बर प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक अरुण कुमार बि.सी.ले उक्त नवनिर्मित प्रहरी चौकी टुटे देउराली संखुवासभा र प्रहरी चौकी जिरिखिम्ति तेह्रथुमको साढे २ तले भवनहरुको बिधिवत रुपमा उद्घाटन गर्नु भएको हो । नेपाल सरकारबाट विनियोजित २ करोड ६ लाख ३१ हजार ३ सय ३२ रुपैयाँको लागतमा प्रहरी चौकी टुटे देउराली र प्रदेश सरकारबाट बिनियोजित १ करोड २५ लाख ९२ हजार ९४ रुपैयाँको लागतमा भवनको निर्माण कार्य सम्पन्न भएको हो ।
भवनको उद्घाटन कार्यक्रममा बोल्दै प्रहरी नायव महानिरीक्षक बि.सी.ले गाँस÷बासको उचित ब्यवस्था भएसंगै प्रहरी कर्मचारीहरुमा काम गर्ने थप हौसला मिल्ने बताउनु भयो । वहाँले सुन्दर भवनमा बस्ने प्रहरी कर्मचारीहरुले जनमैत्री प्रहरी सेवा प्रदान गर्नेमा आफु बिश्वस्त रहेको बताउँदै कानूनको परिधीमा रही जन चाहना बमोजिमको प्रहरी सेवा प्रदान गर्न प्रहरी कर्मचारीहरुलाई निर्देशन समेत दिनु भयो । कार्यक्रममा प्रमुख अतिथि प्रहरी नायव महानिरीक्षक बि.सी.ले भवन निर्माणमा उल्लेखनिय भुमिका निर्वाह गर्नुहुने ब्यक्तिहरुलाई प्रशंसा पत्रद्वारा सम्मान समेत गर्नु भएको थियो ।
दुई स्थानका नवनिर्मित प्रहरी चौकी भवन समुद्घाटन्

































































































