भद्रपुर २३ पुस । झापाको भद्रपुर नगरपालिकाभित्र प्रथम उपमेयर कप वडा स्तरीय महिला भलिबल, मेयरकप , सडक दौड लगायतका विभिन्न खेलकुद प्रतियोगिताहरु सञ्चालनको तयारी पुरा भएको छ ।
नगरपालिकामा शुक्रबार आयोजित पत्रकार सम्मेलन मार्फत प्रतियोगिताको तयारी पुरा भएको नगरपालिका नगर खेलकुद विकास अधिकृत प्रेम भुजेलले जानकारी दिनुभयो ।
यही पुस २५ गते देखि शुरु हुने प्रथम उपमेयर कप वडास्तरीय भलिवल, प्रथम मेयर कप दौड, दोस्रो मेयरकप कबड्डी प्रतियोगिता लगायतका सबै विदाका प्रतियोगिताको तयारीको सबै कामहरु पुरा गरिएको उहाँको भनाई छ ।
नगरपालिका भित्रका १० वटै वडाबाट खेलाडीहरुको सहभागिता रहने खेलमा पुरुष र महिला खेलाडीहरुको छुट्टाछुट्टै दौड प्रतियोगिता हुनेछ । प्रतियागितामा पुरुषतर्फको खेल बिहान ८ बजे देखि भद्रपुर १ को हिमाली चौक हुदै नगरपालिका भवनसम्मको १० किलो मिटर दुरी निर्धारण गरिएको छ । यसैगरी महिला तर्फ देउनीया खोलादेखि नगरपालिका भवनसम्मको ५ किलोमटिरको दुरी तय गरिएको बताइएको छ ।
यस अगाडी विभिन्न खेलकुदका गतिविधि गर्दै आएको नगरपालिकाले मेची रंगशालामा वडा स्तरीय महिला भलिवल र कबड्डी प्रतियोगिता सञ्चालन गर्ने जनाएछ । खेलकुदका विभिन्न विदामा प्रथम, द्धितिय, तृतीय र सान्त्वनासम्मलाई नगद पुरस्कारको व्यवस्था गरेको बताइएको छ ।
नगर प्रमुख जीवनकुमार श्रेष्ठ, उपप्रमुख चन्द्रमाया श्रेष्ठ, प्रमुख प्रशासकीय अधिकृत टेककुमार रेग्मी, लगायतका प्रशिक्षकहरुको उपस्थिती रहेको थियो । समिति संयोजक श्याकुमार राउतको अध्यक्षतामा सम्पन्न सम्मेलनमा प्रशिक्षकहरु रतीया राजबंशी, बुद्धिमान् श्रेष्ठ, खोमाकुमारी दाहाल लगायतले खेलका सिद्धान्त र नियमहरुका बारेमा प्रकाश पार्नु भएको थियो ।
सो अबसरमा सिटीजन लाईफ इन्स्योरेन्सका प्रबन्धक विपीन राईले १५० वटा जर्सी समेत उपलब्ध गराउनु भएको थियो । प्रतियोगिता सञ्चालन गर्न साढे ५ लाख भन्दा माथिको रकम विनियोजन गरिएको नगर खेलकुद विकास समितिले जनाएको छ ।
भद्रपुरमा वडास्तरिय खेलकुद प्रतियोगिताको तयारी पूरा

































































































