धुलाबारी २१ पुस । मेचीनगर नगरपालिकाका निर्वाचित जनप्रतिनिधिले विभिन्न समस्याका कारण सोचेजति काम गर्न नसकेको बताएका छन् । नारी सञ्चार गृह झापाको आयोजना र मेचीनगर नगरपालिकाको सहयोगमा सञ्चालित दुईदिने नेतृत्व विकास तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै वडा सदस्य तथा नगरपरिषद सदस्यहरुले स्थानीय तहको निर्वाचनमा उम्मेद्वार बन्दै गर्दा गति काम गर्न सकिन्छ भन्ने अपेक्षा राखेर संकल्प गरिएको थियो त्यो अनुसार काम गर्न नसकेको बताएका हुन् ।
नारी सञ्चार गृहका अध्यक्ष भीमा शिवाकोटीको अध्यक्षता तथा मेचीनगर नगरपालिकाका उपप्रमुख मिना पोख्रेल उप्रेतीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि उप्रेतीले जति काम भएको छ त्यति प्रचार गर्न नसकेको बताउनु भयो ।
अन्य पालिकाको तुलनामा मेचीनगरमा धेरै काम भएको भएपनि सञ्चारसंगको समन्वय अभावमा भएका धेरै राम्रा कामहरुलाई पनि आम नगरबासीले थाहा पाउने गरी प्रचार प्रशारमा आउन नसकेको बताउँदै बताउनु भयो । कार्यक्रममा बोल्दै उहाँले जनसंख्या, भूगोल र राजश्व संकलनको आधारमा बजेट बिनियोजन गर्नुपर्ने भएपनि मेचीनगरमा समान रुपमा बजेट बिनियोजन हुँदै आएको बताउँदै स्थानीय तहको बजेट बनाउने क्रममा बजेटलाई चारो हुनबाट बचाउनका लागि वडामा बजेट विनियोजन गर्दा केही दायरा दिएको स्पष्ट पार्नुभयो । कर्मचारीहरुका कारण नगरबाट प्रवाह गरिने सेवामा जनताले समस्या भोग्नु परेको वडाप्रतिनिधिहरुको गुनासोबारे स्पष्ट पार्दै उपप्रमुख उप्रेतीले कर्मचारी ट्रयाक बाहिर जान नदिन नगरले ऐन नियम समेत बनाएको र सोही अनुसार काम भइरहेको बताउँदै भन्नुभयो–‘जनप्रतिनिधिले जनताको काम चाँडो होस् भन्ने ध्येय भएपनि सरकारका प्रतिनिधिले कानूनी प्रावधानमा टेकेर काम गर्नुपर्ने भएका कारण समस्या हुँदोरहेछ ।’
कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष एकराज गिरीले वडासदस्यहरुले पद अनुसारको जिम्मेवारी पनि पाएका छन् की संबैधानिक व्यवस्था अनुसार गणपुरक संख्याको रुपमा मात्र महिलाको उपस्थिति रहेको छ भन्ने कुरामा महत्वपूर्ण विषयमा आफ्ना अनुभव स्पष्ट राख्न प्रेरित गर्नुभएको थियो ।
कार्यक्रममा मेचीनगर नगरपालिका वडा नं. १४ का वडाध्यक्ष शंकर पोखरेल, वडा नं. १ का अध्यक्ष रामकुमार राई, सामाजिक संघ संस्थाका प्रतिनिधिहरु राधा कार्की, रेनुका डाँगी, सविता भण्डारी, पनिता ढकाल, विना तामाङ, सुकमाया तामाङ, वडासदस्यहरु सुरेस बुढाथोकी, प्रल्हाद दाहाल, विन्दा प्रसाई, लक्ष्मी तामाङ, तुलसा बराल, निरु परियार, यमकान्त प्याकुरेल, शान्ता दर्जी, रिता थापा, छोटबहादुर राई, कुसुम चौधरी, भुवन शर्मा लगायतले आ आफ्ना धारणा राख्नु भएको थियो ।
नारी संचार गृहकी निवर्तमान अध्यक्ष अम्बिका भण्डारीले सहजीकरण गरेको कार्यक्रममा संस्थापक अध्यक्ष सावित्रा दाहालले संविधानसभा निर्वाचन यता राज्यमा महिलाको सहभागिता समेटिएको तथ्याङ्क प्रस्तुत गर्नुभएको थियो । भूमिका सुब्बाले सञ्चालन गरेको कार्यक्रममा स्वागत तथा औचित्यमाथि रेजिना गौतमले प्रकाश पार्नुभएको थियो ।
`काम धेरै गर्याै प्रचार हुनै सकेन´

































































































