
झापा २ जेठ । पूर्वराजा ज्ञानेन्द्र शाह आम नागरिकले झैं जिल्ला प्रशासन कार्यालय झापाबाट सवारी पास लिएर काठमाडौं फर्किनु भएको छ । लकडाउन शुरु हुनुभन्दा केही समय अघिदेखि नै झापाको दमकस्थित हिमालय महालक्ष्मी चिया बगानभित्र रहेको दरबारमा बस्दै आउनु भएका पूर्व राजाको शुक्रबार (आज) काठमाडौं फर्कने तयारी थियो । तथापी कोभिड १९ को रोकथामका लागि नेपाल सरकार गृह मन्त्रालयले एक जिल्लाबाट अर्को जिल्ला जाने सवारी पास खारेज गरेपछि पास खारेजीमा पर्नु भएका पूर्व राजा ज्ञानेन्द्रले पुनः आम नागरिक सरह प्रक्रिया पुर्याएर पासको प्रक्रियामा जानु भएको थियो ।
प्रक्रिया अनुसार पूर्वराजा शाह, पूर्वरानी कोमल राज्यलक्ष्मी शाह, उहाँका निजी सचवि र अन्य दुईजनासहित पाँचजनाको विहीबारै पास जारी भएसंगै शुक्रबार विहानै काठमाडौं प्रस्थान गरेको झापाका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले बताउनु भयो ।
पूर्वराजा शाहको तर्फबाट उनको सचिवालयले काठमाडौं जानका लागि विहीवार झापा जिल्ला प्रशासन कार्यालयमा सवारी पासका लागि इमेलबाट निवेदन पठाएको थियो । अन्तरजिल्ला सवारी पासका लागि जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयलमा निवेदन पठाएपछि गृहमन्त्रालयले स्वीकृति प्रदान गरेको प्रजिअ रानाले जानकारी दिनुभयो।

































































































