
झापा ६ बैशाख । लकडाउनका कारण दैनिक हरियो तरकारीको अभाव झेल्दै आएको विर्तामोडस्थित परोकार अनुसन्धान केन्द्रद्वारा सञ्चालित बृद्धाश्रममा आश्रित बृद्धबृद्धाहरुका लागि एवीसी नेपाल झापाले हरियो तरकारीको व्यवस्था गरिदिएको छ ।
कोरोना भाइरस संक्रमण जोखिम नियन्त्रणका लागि सरकारले आह््वान गरेको लकडाउनका कारण बजारमा सहज रुपमा खरिद गर्न नपाएपछि बृद्धबृद्धालाई दैनिक हरियो तरकारी खुवाउन समस्या भएको समाचार बाहिरिएसंगै एवीसीले विभिन्न किसिमका हरियो तरकारी बृद्धाआश्रममा पुर्याइदिएको एवीसी नेपाल झापाकी अध्यक्ष कञ्चना ढकाल सिटौलाले जानकारी दिनुभयो ।
बृद्धाश्रममा खाद्यान्नका लागि चामल भएपनि किनेर धेरै दिन राख्न पनि नमिल्ने र तरकारी कतिबेला आउँछ भन्ने टुङ्गो नभएका कारण हरियो तरकारीको अभाव भएको बृद्धाश्रमका अध्यक्ष विक्रम मादेनले बताउनु भएको थियो ।
एकहप्ताका लागि आलु, सिमी, भिण्डी, बन्दा, टमाटर, सागसहितको हरियो तरकारी बृद्धाश्रममा हस्तान्तरण गरेको उमा शिवाकोटीले जानकारी दिनुभयो । एबीसी नेपालको उक्त कार्यमा व्यवसायी कविता पोखरेलले पनि सहभागिता जनाएको बताइको छ । हरियो तरकारी एकैपटक धेरै लगिदिंदा विग्रने समस्याका कारण तत्काल खान मिल्ने र छिटो नविग्रने प्रकृतिका तरकारी पुर्याइदिएको संगीता रौनियारले बताउनु भयो ।
तरकारी हस्तान्तरणका क्रममा बृद्धाश्रमका व्यवस्थापक बद्री भट्टराईले एबीसीको सहयोगले केही दिनका लागि तरकारीको समस्या टरेपनि चिनीको भने अभाव रहेको बताउनु भएको एबीसी झापाका सचिव देविका बस्नेतले जानकारी दिनुभयो । सो अवसरमा संगीता रौनियारको पनि उपस्थिति रहेको थियो ।
लकडाउनसंगै बृद्धाश्रममा हरियो तरकारीको अभाव सम्बन्धी समाचार यसअघि जनआन्दोलन डटकमले प्रकाशन गरेको थियो । आश्रममा हाल ३४ जना बृद्धबृद्धा आश्रित रहेको बताइएको छ ।

































































































