बिर्तामोड २० कात्तिक । जेनजी आन्दोलनका नाममा अराजकता मच्चाउनेलाई सरकारले कारवाही गर्नुपर्ने नेकपा एमाले बिर्तामोड नगर कमिटिले माग गरेको छ ।
नगर कमिटीले आज पत्रकार सम्मेलनको आयोजना गर्दै जेनजीले उठाएका भ्रष्टाचार नियन्त्रण हुनुपर्ने, सुशासन कायम हुनुपर्ने माग नेकपा एमालेको पनि भएको उल्लेख गर्दै विना कारण तोडफोड, लुटपाट र आगो लगाउने जस्ता आपधारिक कार्यमा संलग्नलाई सरकारले कारवाही गर्नु धारणा सार्वजनिक गरेको हो ।

एमाले बिर्तामोड नगर कमिटी अध्यक्ष सुवास भट्टराईले आपराधिक क्रियाकलापमा संलग्नको पहिचान पार्टीले गरिसकेको बताउँदै सरकारले कारवाही गरोस् भने पर्खेको बताउनु भयो । उहाँले भन्नुभयो, ‘सबैको पहिचान भइसकेको छ, सरकारले सुरक्षाको प्रत्याभुति नहुँदा सार्वजनिक गर्न नसकिएको हो ।’ सरकारले सुरक्षाको अनुभूति दिनै नसकेको बताउँनु भएको उहाँले भन्नुभयो, ‘नेकपा एमाले केन्द्रदेखि टोलसम्म पार्टीका संरचना भएको पार्टी हो, राजनीतिक दल कमजोर भयो भने दलीय प्रणाली नै कमजोर हुन्छ, आपराधिक कार्यमा संलग्नलाई सरकारले नै कारवाही गरोस् भनेर पर्खेका

हौ, गरेन भने हाम्रो पनि धैर्यताको बाँध फुट्न सक्छ ।’
जेनजी आन्दोलनका नाममा भदौं २४ गते अराजक समूहबाट गरिएको नगर अध्यक्ष भट्टराईसहित नेकपा एमालेका कार्यकर्ता तथा पदको जिम्मेवारीमा रहेका नेकपा एमालेमा सम्वद्धको नीजि घर/गाडीमा भएको आगजनी,तोडफोडको विवरण समेत सार्वजनिक गरेको छ । पार्टीद्वारा सार्वजनिक विवरण अनुसार भदौ २४ गते अध्यक्ष भट्टराई, पूर्व मेयर ध्रुवकुमार शिवाकोटी, कोशी प्रदेश सरकारका मन्त्री एकराज कार्की, बिर्तामोड नगरपालिका मेयर र उपमेयरका घर तोडफोड, वडा नं.–३ का वडाध्यक्षको गाडी

तोडफोड गरेको उल्लेख गरिएको छ । आन्दोलनका क्रममा गरामनी क्याम्पस, शिक्षक हित सहकारी, तत्कालिन नेकपा माओवादीको कार्यालयमा तोडफोड, आगजनी र लुटपाट गरेको उल्लेख गरिएको छ ।
त्यसैगरी सार्वजनिक सम्पत्तीतर्फ भएको भौतिक संरचनाको क्षतिबारे उल्लेख गरेको नगरकमिटीले अन्तरिम सरकारले भौतिक संरचनातर्फको करोडौं रकम कटौती गर्दा योजनाहरु अलपत्र परेको जनाएको छ ।
पत्रकार सम्मेलनमा पार्टीका केन्द्रीय सल्लाहकार हरिचरण शिवाकोटी, केन्द्रीय सदस्य अमृतलाल राजवंशी, पवित्रा महतारा प्रसाई, नगेन्द्र संग्रौला, अम्बिरकुमार लिङ्देन, छवि विश्वकर्मा, गोपाल काफ्ले, पवित्रा पाठक लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा उपाध्यक्ष मदन बुढाथोकीले धन्यवाद ज्ञापन गर्दै एमालेले युवाको भावनालाई समेट्दै आएको प्राथमिकतामा दिएको बताउनु भयो । पार्टी भित्र पनि युवालाई अवसर दिने एमाले पहिलो पार्टी भएको दावी गर्दै केही कमीकमजोरी भएको भए त्यसलाई सच्याउन सकिने बताउनु भयो ।



















