मेचीनगर २ कात्तिक । झापाको पुरानो फुटबल क्लब धुलाबारीको रोलिङ क्लबले आयोजना गर्ने अन्तर्राष्ट्रिय आमन्त्रण रोलिङ च्यालेन्जकपको तयारी पूरा भएको छ । क्लबका अध्यक्ष नोबेम्बर नेम्वाङका अनुसार खेलमैदान मर्मतको काम सकिएको छ भने मैदान सम्याउने, घाँस उमार्ने लगायतका काम पूरा भएको छ ।
दर्शकका लागि बाँसको अस्थायी प्यारापिट निर्माण र स्टेज निर्माण पनि सकिएको बताइएको छ । यही कात्तिक ३ गतेदेखि १० गतेसम्म धुलाबारी माविको खेल मैदानमा हुने प्रतियोगितामा नेपाल र भारतका आठवटा टिमले सहभागिता जनाउने छन् ।
क्लबका सचिव महेश खड्काले आठौँ संस्करणको प्रतियोगिता भव्य हुने बताउनु भयो । प्रतियोगितामा भारतका मानेभन्ज्याङ फुटबल क्लब दार्जिलिङ र सुकुना युनाइटेड फुटबल क्लब सिलिगुडी सहभागी हुनेछन् ।त्यस्तै, नेपालको रेडहर्स फुटबल क्लब इलाम, मोरङको सम्राट स्पोर्टिङ क्लब, सुनसरीको राष्ट्रिय जागृति फुटबल क्लब, नेपाल पुलिस क्लब विराटनगर, सशस्त्र प्रहरी बल पकली सुनसरी र आयोजक रोलिङ क्लब सहभागी हुनेछन् ।
प्रतियोगिताको विजेताले नगद ३ लाख र उपविजेताले नगद एक लाख ५० हजार, ट्रफी र मेडल पाउने क्लबका अध्यक्ष नेम्वाङले बताउनु भयो । प्रत्येक खेलको प्लेयर अफ द म्याचले ५ हजार रुपैयाँ पाउँदा विधागत पुरस्कार नगद १५ हजार रुपैयाँ पाउने छन् । प्रतियोगिता सम्पन्न गर्न ३५ लाख ३६ हजार रुपैयाँ लाग्ने अनुमान गरिएको छ । प्रतियोगिताको मुख्य प्रायोजक होटल मेची क्राउन रहेको छ ।
आठौँ रोलिङ च्यालेन्जकपको तयारी पूरा



















