Homeविचारगुरुसंगको पहिलो भेटः भर्सेली र पेन्टको तादम्यता

गुरुसंगको पहिलो भेटः भर्सेली र पेन्टको तादम्यता

रेजिना गौतम

केही समय अघिदेखि भर्सेली र पेन्टको कुराले छोड्न सकेन । नेपाली समाजमा परम्परागत प्रयोगको चुलो र भर्सेली एकापसमा जोडिएर आउँछन् । तर, यहाँ भने गत माघदेखि भर्सेली र पेन्टले डेरा जमाएको छ ।
अहिलेको पुस्तालाई थाहा नहुन पनि सक्छ–भर्सेली बारे । त्यो बेला पुरुषले भात भान्साको काम खासै नगर्ने हुँदा शायद बुबा दाजुहरुलाई याद नहुन सक्छ । सामान्यतया भर्सेली भन्ने वित्तिकै पुरानो पुस्ताका आमा, दिदी–बहिनीहरुले बुझ्नु हुन्छ । तर, अब त्यो पुस्ता क्रमिक रुपमा घट्दै गएको छ । चुलाहरु आधुनिक बनिसके । त्यसैले पनि ऐनकेन प्रकारेण आधुनिक चुलो चिनेपनि भर्सेली चिन्ने मौका अबका पुस्तालाई हुने छैन । भर्सेलीसंगै देख्न नपाइने अर्को पनि दृश्य छ– आमाहरुले चोलो फुकाएर भात पकाएको । आजभन्दा लगभग दुईदशक अघिसम्म भात पकाउने भान्सेले आफूले लगाएको चोलो फुकाएर छातीमा कपडा (पटुका, मजेत्रो) बेरेर चुलामा पस्नुपथ्र्यो । भात पाकेपछि उक्त भात तातै रहोस् भन्नका खातिर चुलाबाट निकालेर छेवैमा तातो कोइला (भुङग्रो) राखेर भातको भाँडो राख्ने ठाउँ हो भर्सेली । नेपालका पहिलो जगत गुरुसंगको भेटमा उहाँबाट अभिव्यक्त बाक्यले पेन्टलाई भर्सेलीसंग जोड्यो र प्रश्न उठाइरह्यो ।
ढुङ्गा र माटोले बनेको तीनतले घर । वरीपरी पेटी, दुईतिर ढोका । एकातिरको मूल ढोका भनेर चिनिन्थ्यो भने अर्कोतिरको ढोकालाई जस्केलो । जस्केलो र मूल ढोकाबीच केही फरक अवस्य थियो । मूल ढोकाको पल्लादेखि, चौकोष (अर्थात् ढोका अड्याउन प्रयोग गरिने अन्य काठजन्य सबै सामग्री) प्रायः बुट्टादार देखिन्थे । त्यति मात्र होइन जस्केलो र ढोकाबीचको फरक उचाइ र चौडाईमा पनि देखिन्थ्यो । ढोकाको तुलनामा जस्केलो अलि कमसल, सानो, उचाई र चौडाई पनि कम हुन्थ्यो । भित्र मूल थाम । जहाँ प्रायः वास्तुदेवता राखिन्थ्यो रे । मूलथाममा वास्तु राख्ने साझा चलन भने पनि हुन्छ, पहाडको । तराइमा भने वास्तुदेवता पूर्वोत्तरको पिलरमा राख्ने गरिन्छ ।
हाम्रो घरमा वास्तु राखेको मूल थामभन्दा केही अगाडि अलिमाथि चुलो, भर्सेली, चूलो भन्दा तल अगेनु थियो । अगेनु र चुलोको बीच भनौ वा घरको लम्बाई र चौडाई, अनि आलमारी लगायतका सामग्री राखेको ठाउँका आधारमा चुलो र अगेनुको बीचको भाग निर्धारण हुन्थ्यो । चुलो र अगेनु छुट्याउनका लागि सानो माटोको डिल हुन्थ्यो । त्यो साँधको खास अर्थ ब्रतबन्ध र विहे नगरेकाहरुलाई चुलोमा जान रोक लगाउनका लागि लक्ष्मण रेखा थियो । जतिबेला चूलामा भात भान्सा पाकेको हुन्थ्यो त्यो भात भान्साका भाँडा खाली नभएसम्म माथिका दुई कर्म चलेकाले जान पाइदैनथ्यो । अर्को तरिका भनेको ती दुई कर्म चलेकाहरुले भात खाइसकेर निस्केपछि हामी आफैंले पनि पस्कन र खान पाउँथ्यौं । त्यो पछि चुलो लोटाउने, पोत्ने आदि काम गर्नुपर्दथ्यो । साँध मुनि रहेको अगेनुमा भने दुध तताउने, तरकारी पकाउने जस्ता कामहरु हामी गर्न पाउँथ्यौं ।
ऊ बेलाका चलन कति राम्रा थिए वा नराम्रा त्यो ब्याख्या र बिश्लेषण नगरौं । समयक्रमसंगै दैनिकीमा असहज अनुभव भएका थितिहरु छोडिदै गएका छन् । त्यसकारण त्यो त्यति बेलाको आवश्यकता अनुसारको भोगाइ थियो । यद्यपी त्यो परिवेशबाट बाहिर निस्केको दशकौं वितिसक्दा नेपालका प्रथम जगत गुरुद्वारा आफ्नै समिपमा आफैंलाई प्रकट गरेको वाक्यले स्मृतिपटलको कोमामा पुग्न लागेको भर्सेलीलाई सम्झाई दियो ।
२०८१ माघ १७ गतेदेखि २१ गतेसम्म बिर्तामोड–५ मा नवनिर्मित माता गायत्रीको मन्दिरको समुद्घाटन तथा २१ गते प्राण प्रतिष्ठाका लागि वैदिक अनुष्ठान चलिरहेको थियो । १७ गतेदेखि शुरु भएको अनुष्ठानको अवधिभर भिआइपीहरुको उपस्थिति रह्यो । भक्तजनको चाप पनि त्यत्तिकै । आफ्नो बासस्थान नजिकै त्यति ठूलो धार्मिक कार्यमा प्रारम्भदेखि नै उपस्थित हुन असमर्थ रहे–प्राविधिक कारण ।
२० गते अनौठो संयोग जुर्यो । नेपालकै प्रथम जगत गुरुको प्रवचन सुन्ने हुटहुटीका साथ पाँचबजेदेखि नै मन्दिर परिसरमा मानिसहरु जम्मा हुन थालिसकेका थिए । व्यस्त शहरमा जग्गाको मूल्य चर्किएको लामै समय भइसक्यो । यति हुँदाहुँदै पनि कसैले दान दिएको जमिनमा गायत्री मन्दिरको उत्तरपश्चिमतिर पण्डाल निर्माण गरिएको थियो । पण्डालमा भक्तजन थपिने क्रम निरन्तर चलिरहेको थियो । निर्धारित समयभन्दा निकै ढिलो गरी जगत गुरुको आगमन भयो । गुरुका साथमा अरु पनि केही व्यक्तित्वहरु थिए । जसमा सताक्षीधाम गोलोक गोवद्र्धन गौशालाका संरक्षक नन्दकिशोर भारद्वाज, खनाल गुरु, जगत गुरुकै भाषामा युट्युवाचार्य भाग्य न्यौपाने आयोजक समितिका संयोजक रोनक बंशलसहित गुरुका समिपमा थिए ।  जगत गुरुको ब्यग्र प्रतीक्षामा बसेका धेरैले हेरेर चित्त बुझाए भने कत्तिले छोएर आशिर्वाद लिन सके । कार्यक्रम सञ्चालक केशव भट्टराईले आशन ग्रहण गराइसकेपछि माइक्रोफोन गुरुतिर सोझियो । गुरुले आफ्ना शिष्य सखीहरुको फुलबुट्टा भरेरै संक्षिप्तमा चिनारी गराउनु भयो ।
गुरुको प्रवचन सुनियो । उहाँले पश्चिममा निर्माण गर्न लागेको धार्मिकस्थलदेखि स्कूल बनाउने तीब्र इच्छाले सहयोग जुटाउन दौडिएका भारतका एक व्यक्तिलाई गंगा किनारमा बालुवा चाल्ने महिलाले दिएको एकसुकाले निर्माण भएको विद्यालयको वर्णन गरेर धार्मिक कार्यमा मन र धन लगाउन प्रेरित उक्त प्रसङ्ग निकै मार्मिक र रोचक थियो ।
धार्मिक, आध्यात्मिक तथा राजनीतिमा आस्था र विचारकै कारण भीड हुने हो । यहाँ भने धर्म र अध्यात्मले जोडेको भीड थियो । धर्म एउटा अदृश्य लक्ष्मण रेखा पनि हो । मानिस कोहीसंग डराउँछ भने भगवानसँग मात्र डराउँछ । अन्यथा मान्छे यस्तो प्राणी हो जसलाई उसको चाहनाबाहेक कही कसैले पनि रोक्न र छेक्न सक्दैन । यो अपवादबाहेक सर्वमान्य सत्य भन्दा अत्युक्ति हुँदैन । पछिल्लो समय मानिसलाई नैतिकतामा डोहोर्याउने सबैभन्दा दर्विलो हतियार नै धर्म भएको पाइन्छ । अघिपछि जे गरेपनि मन्दिरको घण्टी छोएर शिर निहुराएर ढोकाभित्र छिरेपछि मानिसले त्यस्तै महशुस गर्दो होला भन्ने लाग्छ । यहाँ पनि हिड्दा हिड्दै जगतगुरुका गोडा छोएर आफूलाई पवित्र बनाउनेको भिडले पनि त्यही बताउँथ्यो ।
आयोजकका लागि केही कुरा, आगमनको वातावरण बनाउने प्रशासनका लागि केही कुरा, आफूले गर्दै गरेको ठाउँको पृष्ठभूमिसहितको केही कुरा अनि भारत र नेपालबीचको धार्मिक अन्योन्याश्रित सम्बन्ध, प्रेरक प्रसंङ्ग यस्तै यस्तैमा केन्द्रित थिए गुरुका प्रवचनका विषयवस्तु । सरल शब्द र शैलीमा प्रस्तुत प्रवचन सबै ध्यानपूर्वक सुनिरहेका देखिन्थे ।
जगत गुरुको प्रवचन सुन्नका लागि गएकी म जुन कर्ममा थिए, त्यसका लागि डिभाइसमा तस्विर कैद गर्नु पनि थियो । गुरुको आगमन हुँदा तस्विर कैदका लागि सहजता होस् भन्ने हेतुले अघि नै ठाउँ हेरेर बसेकी थिएँ । (अर्दली) र अन्य अनुयायी तथा गुरुहरुसंगै जगतगुरुको आगमन भयो । गुरुसंगै रहेछन् गोलोक गोवद्र्धन गौशालाका संरक्षक नन्दकिशोर भारद्वाज (टिका दाई) । देखादेख भयो । बोलचाल हुने कुरै भएन । प्रवचनको समय सकियो । गुरुसंगै बाहिर निस्कने क्रममा भारद्वाज गुरुले भन्नुभयो–बाहिर आउ । पछि पछि गएँ । कुनै बेलाका छिमेकी, अहिले त्यस्तै संयोगले भेट भयो र मौका मिल्यो भने खबर आदान–प्रदान हुन्छ । पारिवारिक खोजी खबरी यस्तै यस्तै । शायद यहाँपनि त्यही शिलशिलामा त्यो भिडबाट बाहिर निस्कन भन्नुभएको हुन सक्छ । आज्ञाकारी भएर बाहिर निस्किएँ ।
बसाई पनि नजिकै भएकाले गारो थिएन । झण्डै आठबजेतिर विजुलीले छरेको उज्यालोको साथमा अग्रसेन भवनतर्फ मोडियौं । त्यहाँ जगत गुरुका लागि भोजन र रात्रीकालीन विश्रामको व्यवस्था गरिएको थियो । संगसंगै थिए आयोजक रोनक बंशल र मारवाडी महिला मञ्चका दिदी बहिनीहरु पनि । नेपालगञ्जबाट काठमाडौं, काठमाडौंबाट चन्द्रगढी, चन्द्रगढीबाट बिर्तामोड शायद उमेरका कारण पनि हुनसक्छ–गुरुको अनुहार थकित देखिन्थ्यो ।
गुरुले एकछिन आराम गर्नकै लागि पनि शान्त समय पाउन सक्नु भएन । उहाँसंग भेटघाट गर्नेहरुको टोलीले छोडेन । त्यही टोली भन्दा फरक म पनि जोडिएकी थिएँ–नन्दकिशोर मार्फत । केही महिनाअघि पश्चिम स्टेनमा बाटो काट्ने क्रममा उहाँले हाँकेको सवारीबाट संयोगले बचियो । मुख्य बाटोमा भएको त्यो अत्यास लाग्दो घटना भएपनि बोल्ने मौका थिएन । गाढीले छोएकै थियो भने शायद परिस्थिति बेग्लै बन्थ्यो । त्यो बेला सबै व्यस्तताहरु गौण हुन्थे । भाग्यले त्यो अवस्था आएन ।
गुरु आराम गर्ने कोठामा मारवाडी समुदायका महिलाहरुसंगको मिठो कुराकानी भयो । अनि सम्झनाका लागि फोटा खिच्न त छुट्ने कुरै भएन । पंक्तिकार फोटो खिच्न मरिहत्त गर्ने नभएपनि कहिले काँही बेला मौका हेरेर अघि नसर्ने पनि कुरा भएन । गुरुसंगको पहिलो भेट, त्यसमा पनि अघि प्रवचनकै क्रममा उमेरका कारण अब व्यक्ति हिड्न बोल्न पनि गारो हुने गरेको संकेत गरिसक्नु भएको थियो । खाना खाने बेला भयो । अग्रसेन भवनको निर्माणाधिन माथिल्लो तलामा किचन बनिसकेको रहेनछ । त्यसैले अन्यत्रबाट खाना लगेर भविष्यमा बन्न लागेको किचनमा राखियो । गुरु आराम गर्ने कोठाको बाहिर उभिएर दृश्य नियाल्दै थिएँ । बालसन्तसंगै नन्दकिशोरलाई पनि खाना खान बोलावट भयो । नन्दकिशोरले तिमी पनि हिड, यतै खाना खाएर जाउँ भन्नुभयो । किचनसम्म पुगें । नजिकै घर भएका कारण खाना खाने कुरै थिएन । खाली उहाँको बचन काट्न नसकेर मात्र त्यहाँ पुगेकी थिएँ । त्यही खाना खानका लागि छिरे युट्युवाचार्य र प्यारो भाई टिकाराम बास्तोला ।
यहाँसम्म खाली दृश्यमात्र थियो । तर, जब किचनमा गुरुहरु खाना खान बस्नुभयो त्यो क्रममा जगत गुरुबाट अभिव्यक्त शब्दले अहिले पनि चिमोटिरहेको छ । जुन शब्दले अघि खाना ल्याउनेहरुको दृश्यमात्रै सम्झाएन, हाम्रो समाजमा लवजले कसरी बाँधेको छ ? भन्ने प्रश्न मडारिइरह्यो । त्यतिमात्र होइन, आफू बच्चा हुँदा आमा र हजुरआमाहरुले परम्परागत तरिकाले खाना पकाएको दृश्य सम्झायो । महिला पुरुषबीचमा हुने विभेदलाई गुरुका शब्दले अझ दर्विलो गरी उजागर पनि गरिदियो ।
दिनभरको दौडाईपछि धार्मिक कार्यमा पुगेकी म उहाँहरुको किचनसम्म पुग्छु भन्ने कुनै कल्पनै थिएन । तर, छिमेकी दाजु नन्दकिशोरसंगको भेटले डोर्याएर पुगेकी मलाई अनौठो अनुभव गर्ने अवसर जुर्यो । गुरु धोती फेरेर बस्नु भएको थियो । त्यसै गरी नन्दकिशोर पनि । तर, खान थाल्नु भएको थिएन । पंक्तिकारलाई पनि खाना खाएर जाने अनुरोध भएपनि खाने योजना थिएन । त्यही कारण नन्दकिशोर गुरुलाई म जान्छु भन्नकै खातिर केही दुरी राखेर नजिक पुगे । त्यही बेला जगतगुरुले भन्नुभयो–‘पेन्ट लगाउनेले यहाँ आउने होइन ।’ मन अमिलो भयो बस्न आएकी होइन भन्दै निस्किएँ । गुरुलाई प्रश्न गर्न मन थियो–तपाईले खान लाग्नु भएको खाना ल्याउनेहरु पनि त पेन्ट नै लगाएका थिए ? के त्यो चै पुरुष भएर चल्या हो ?’ प्रश्नको पोको फुकाउन नसकी बाहिरिएँ । अन्यत्रै पकाएको खाना त्यो किचनसम्म पु¥याउनेले पनि भेष्ट र पेन्ट नै लगाएका थिए । उहाँको जस्तो धोती फेरेर ल्याएका थिएनन् । मनभरी प्रश्न उठ्यो त्यसो भए महिलाले पेन्ट लगाउँदा चै परैबाट पनि छुन्छ ? कि महिलाले साडीको सप्कोमै बेरिएर बस्नुपर्छ ? यदि त्यो होइन भने पेन्ट लगाएका दाजुभाइले ल्याएको खाना चल्ने अनि मजस्ता महिलाले पेन्ट लगाएर किचनमा पस्नै नहुने भन्ने हुन्छ र ? आमाको भर्सेली र गुरुको पेन्टमा कत्रो तादात्म्यता ? आमाले भर्सेलीमा भर्सिएको भात कर्म चलेकाले मात्रै छुन पाउने गरी लगाएको बन्देज र पेन्ट लगाएरै ल्याइएको भोजन गर्न तयार गुरुले गरेको मेरो पेन्ट माथिको टिप्पणी ? प्रश्न आज पनि छ ।
थाहा छ तर्कमा गुरुहरु माहिर हुन्छन् । जसरी राजनीतिक गर्नेले गलतलाई पनि सही बनाउन प्रयत्न गर्छन् । यी मेरा अनुभूतिहरु शायद गुरु समक्ष नपुग्ला । पुगेपनि साडीमा बेरिन नचाहने पेन्टवालीको तीतो अनुभवले छुने त कुरै भएन । यद्यपि फेरि पनि प्रश्न गर्छु–‘के महिलाले लगाएको पेन्टले मात्रै छुन्छ दुरी कायम राख्दा पनि ?
पहिलोपटक गुरुसंगको समिपमा पुग्दा प्रस्तुत वाणीले छोएको कुरा प्रस्तुत गर्दा मठाधीसहरुले निश्चय पनि राम्रो मान्नुहुन्न होला । किनकि अधिकांस मठाधीश, पिठाधीसहरुका बोलीलाई वाणी ठानिन्छ । र उहाँहरुले जे भने पनि सही ठानिन्छ । तसर्थ यहाँ पनि अनेक उपमा दिन पनि सक्छन् । त्यसलाई सामना गर्ने शक्ति राखेरै फेरि पनि प्रश्न के भोजन ल्याउनेले लगाएको पेन्ट लैंङ्गिक गोत्र मिलेर स्वीकार्य भएको हो ?
आचार्यहरुले नियमको पालना गर्छौं भन्नुलाई स्वभाविक मानिन्छ । तर आचार र नियमको पालना गरिरहेका गुरुहरुलाई भोजन ब्यवस्थापन र तयार गर्नेहरुले पनि बाहिर पकाएर लगिएको खाना खुवाउनुहुँदैन भन्ने हेक्का चाहिं राख्नुपथ्र्यो होला ! अनि गुरुले पनि परिवेश बुझेर मात्र लवजको आलोचना गर्नु राम्रो हुन्थ्यो भन्ने लाग्छ । अन्यथा गुरु वाणीमा जे अभिव्यक्त गरेपनि शैह््य हुन्छ भन्ने भ्रमबाट मुक्त हुनु नै श्रेयस्कर हुनेछ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
विचारगुरुसंगको पहिलो भेटः भर्सेली र पेन्टको तादम्यता
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img