इन्दु पूर्वेली
भूमिका:
तीज नेपाली महिलाहरुको महान पर्व हो । परम्परादेखि अहिलेसम्मको सन्दर्भ हेर्ने हो भने महिलामाथी हुने अन्याय, अत्याचार, हिंसा र विभेदविरुद्ध मिठो सांगीतिक शैलीमा आवाज उठाउने, घरपरिवार भित्रैका असमानतालाई छताछुल्ल पारेर समानताको आवाज उठाउने, समतामूलक समाजको परिकल्पना प्रस्तुत गर्ने, घर–परिवारभित्र महिला–पुरुष समान भएमात्रै समाज र राष्ट्रमा समानता एवं समृद्धि प्राप्त हुनसक्छ भन्ने मनोकांक्षा राखेर महिलामुक्तिका गीत गाउँदै, पीडा भुलेर उमङ्गमा रमाउँने पर्व हो–तीज ।
मुख्यगरी कुशे औंशीका दिन बर्षभरी हुने पितृ एवं देवकर्ममा प्रयोग हुने कुश घर–घरमा भित्र्याएपछि तीजको रौनक शुरु हुने हाम्रो परम्परा हो । तर अहिले हरेक क्षेत्रमा महिलाहरुको सहभागिता बढेसँगै तीज परिस्कृत र परिमार्जित भएको छ । यो संस्कार र संस्कृतिको समायनुकुल परिवर्तन हो, समयको माग पनि हो ।
हरितालिका :
तीज पर्वलाई हरितालिक तीज भन्ने गरिन्छ । भाद्र शुक्ल पक्ष द्वितीयाका दिन मुख्य गरी दुध र ध्यूमा बनेका हविस्यान्न वस्तुको सेवन गरी तृतीयाका दिन निराहार–निर्जल व्रत बस्ने प्रचलन छ । हरितालिकाको शब्दगत बनोट र अर्थ हेर्ने हो भने हरित ं अलि मा का प्रत्यय लागेर हरितालिका शब्द निर्माण भएको पाइन्छ । जसको अर्थ अलि–साथीहरुले हरित–हरण गरेर लगिएकी भन्ने हुन्छ । तीज पर्वको परम्परा कति पुरानो हो भन्ने किटान गर्न सकिदैन । तर हिमालय पर्वत र मेनुकाकी छोरी (भगवान शिवकी अर्धाङ्गिनी ) पार्वतीसँग यसको कथा प्रसङ्ग जोडिन्छ । तीज ब्रतकथामा हिमालय र मेनुकाले धनधान्य र सम्पन्नता प्रदान गर्ने देवता विष्णु भगवानको नित्य पूजा–अर्चना गर्दथे । आफ्ना बाबा–आमाले नित्य पूजा गरेको देखेर पार्वती पनि विष्णु भगवानकै पूजा गर्दथिन् । उनका संगीहरुले इहलोक र परलोकमा भोक्ति र मुक्तिदाता एवं सम्पन्नता दिने देवता शिव हुन्, तत्काल खुशी हुने आसुतोष (तत्काल खुशी हुने) स्वभाव भएका उनै शिव भगवानको पूजा–उपासना गर भने । विष्णुभक्त बुबा–आमागसँगै भगवान शिवको पूजा गर्न नमिल्ने पार्वतीले बताएपछि साथीहरुले हरण गरेर लगिएकी पार्वतीले हिमालय पर्वतको कन्दरामा गएर निर्जल ब्रत बसी शिवको पूजा–उपासना गरिन् । उनको भक्तिभावबाट खुशी भएका शिवजी पार्वतीका अगाडि प्रकट भए र इच्छा अनुसारको फल प्राप्ति होस् भन्ने बरदान दिए भन्ने कथा प्रसङ्ग तीजको ब्रतकथामा पाइन्छ । यही कथा श्री स्वस्थानी व्रतकथामा भने एकमहिनासम्म फलफूल–कन्दमुल मात्रै खाएर बालुवाको शिवलिङ्ग स्थापना गरी पूजा–आरधना गरेपछि पार्वतीले शिवजीलाई प्राप्त गरेको कथा प्रसङ्ग पाइन्छ । त्यसो त कतिपय वैदिक ग्रन्थहरुमा हिमालयपुत्री पार्वतीले इच्छाएको पति प्राप्त गर्ने अभिलासा राखेर भाद्र शुक्ल तृतीयाका दिन निर्जल ब्रत बसी भक्तिभावपूर्ण तरिकाले शिवजीको पूजा गरेको र शिवजीलाई श्रीमानका रुपमा प्राप्त गरेको कथा पनि पाइन्छ । कथा प्रसङ्ग जे भए पनि भाद्र शुक्ल तृतीयाका दिन निराहार ब्रत बसेर भगवान शिव–पार्वतीको पूजा–उपासना गरेमा अखण्ड सौभाग्य प्राप्ति हुने एवं पृथ्वी रहुन्जेल सन्तान रहने पौराणिक कथाप्रसङ्ग एवं जनविश्वास पनि छ ।
दर, ब्रत एवं परम्परा:
तीज पर्व, दर र ब्रत परम्पराको प्रसङ्ग सम्झदा सानै छँदाको स्मरण हुन्छ । हामी स–साना थियौं । दिदीको विवाह १६ बर्ष पुग्दा नपुग्दै भइसकेको थियो । अहिले थाहा पाउँदा कुशे औंशीको एक–दुईदिन अगावै दिदीलाई तीजका लागि माइत ल्याइएको थियो । भाद्र शुक्ल पक्ष द्वितीयाका दिन साँझको खाना खाइसकेपछि दर पकाउ शुरु भयो । गाईको शुद्ध ध्युमा भुटेर रातो बनाइएको चामल दुधमा पकाइएको थियो (जसलाई ढकने भनिन्छ) । पछि थाहा भयो–रातको १२–१ बजेतिर खाइने उक्त खानालाई दर भनिदोरहेछ । दर खाएर केही क्षणको विश्रामपछि उज्यालो भयो । विहानको नित्यकर्म सकेर सबैजना हजुरआमाको घरमा जम्मा भयौं । आज पानी पनि खानु हुँदैन–हजुरआमाले भन्नुभयो । व्रतको नियम र अनुशासनमा हजुरआमा निकै कडा । थुक निल्न समेत हुँदैन भनेपछि हामी स–साना केटाकेटीहरु थुकिरहन्थ्यौं । फेरि हजुरआमाले गरेको आदेश सबैले मान्नैपर्छ भन्ने भाष्य स्थापित थियो । हामी स–साना केटाकेटीदेखि ठूला आमा दिदीहरु सबै व्रतको नियममा बस्नुभएको थियो । बेला–बेला गीत गाउने, रमाइलो गर्ने, घरमा गएका दिदीहरुले आ–आफ्नो घर–परिवेशको गफ चलिरह्यो । लगभग तीन बजेतिर आँगनमा सामुहिक पूजा लगाइयो । पूजा, आरती र केही समयको भजन–कीर्तनपछि हजुरआमाले भन्नुभयो–अब तिमेरु केटाकेटीले पानी फलफुल खाँदा हुन्छ । हामी खुशीले फुरुङ्ग भयौं र पानी खायौं । तर विवाह भइसकेका सबै आमा–दिदीहरु निर्जल नै बसिरहनुभयो । निराहार ब्रतको क्रम चौथीका दिन विहान सूर्योदयसम्म रह्यो । विहान व्रतालुजति सबैले घरको बलेसीमा अगस्ती ऋषिको पूजा गरेर सूर्य भगवान र अगस्ती ऋषिलाई अध्र्य दिएपछि सात्विक भोजन, पानी खानुभयो । पछि थाहा भयो–तीजको मौलिक परम्परा यही रहेछ ।
ब्रत हाम्रो परम्परा हो । तर तीज पर्वमा आएको परिवर्तनसँगै व्रतका निमय र आचारमा पनि केही परिवर्तहरु आएकै छन् । व्रत लिने वा नलिने ब्यक्तिगत स्वतन्त्रताको विषय हो । कति समय लिन सकिन्छ ? भन्ने आ–आफ्नो स्वास्थ्य अवस्था हेरेर निर्णय गर्ने विषय हो । तसर्थ ‘व्रत बस्नैपर्छ र बस्नैपर्दैन’ यी दुवै कुरा अर्काले भनिदिने विषय पनि होइनन् । परम्परा, संस्कार र स्वास्थ्य यी तिनैकुरालाई मध्यनजर राखेर लिइने निर्णय नै समयानुकुल हुनसक्छ ।
अगस्ती पूजा एवं ऋषि पञ्चमी :
हाम्रो परम्परा ऋषि परम्परासँगै सम्बन्धित छ । ऋषि पूजनसँगै शक्तिको प्रतिकका रुपमा अरुन्धती माताको पनि पूजन गरिन्छ । आर्ष परम्परासँग सम्बन्धित प्राचिनताको सम्मान, पूजन र वर्तमानलाई उत्प्रेरणा गर्न सामुहिक ऋषि पूजनले संकेत गरेको छ । भनिन्छ वेदपाठी एवं आचार र नियममा बसेका नैष्ठिक व्राम्हणहरुमा अजेय शक्ति हुन्छ । सोही शक्तिको उपासनाकै लागि गुरुपरम्परा चलेको हुनुपर्छ । त्यही शक्तिको उपासनाका लागि ऋषि पञ्चमीका दिन अरुन्धती मातासहित सप्तऋषिको पूजा गरिन्छ । ऋषिहरुमध्ये पनि सबैभन्दा शक्तिशाली मानिन्छन्– अगस्ती ऋषि (जसले आचमन गर्दा समुद्र सुकेको कथा वैदिक ग्रन्थहरुमा पाइन्छ ) उनै प्रभावशाली र बलशाली ऋषि अगस्तीको शक्तिको पूजा–उपासना चौथीका दिन विहान सूर्योदयसँगै गरेपछि सात्विक भोजन ग्रहण गरिन्छ । चौथीका दिन एकछाक खाना खाएर पञ्चमीका दिन अरुन्धती मातासहित सप्तऋषिहरुको विशेष पूजा–आरधना हुन्छ । पञ्चमीका दिन विहान हेमाद्री संकल्पसहित गहुत, गोबर, अमलाको फेद एवं हात्तीको पाइलाको माटो, दतिवन, दुध, दही, ध्यू आदिले नदी तथा तलाउमा गई गणस्नान गर्ने चलन छ । मुख्यगरी रजश्वला भएका बेला हुने ज्ञातअज्ञात पापकर्महरुको प्रायश्चित्त र ब्रम्हशक्तिको उपासनाका लागि ऋषि पञ्चमीका दिन सप्तऋषि र अरुन्धतीमाताको पूजा गर्ने प्रचलन छ । यो पूजा गर्दा विवाहितले स–दम्पती र अविवाहित महिलाले आमासँगै बसेर पूजा गर्ने गरिन्छ । तीज पर्वका यी कुनै पनि व्रत एवं पूजनकार्यमा वर्णाश्रम ब्यवस्थाको ब्याख्या कथा प्रसङ्गहरुमा पाइदैन । तसर्थ पनि सबै जातजाति, धर्म, वर्ण, लिङ्गले यसलाई साझा पर्वको रुपमा ग्रहण गरेका छन् ।
परिस्कृत तीज र आलोचना :
मानव सभ्यताको इतिहास र परम्परा हेर्ने हो भने महिलाहरु अपहेलित वर्गमै पर्थे । बालविवाह एवं वहुविवाह प्रचलनमा थियो । अध्ययन, सामाजिक गतिविधि, राजनीतिक सहभागिता, सम्पत्तिमा स्वामित्व नभएका महिलाहरुले बच्चै उमेरमा पतिको घरमा जानुपथ्र्यो । पराइघरमा गएपछि जस्तोसुकै ब्यवहार र वातावरण भएपनि स्वीकार गरेर बस्नैपर्ने बाध्यता थियो । त्यो बाध्यतामा बाँधिएका महिलाहरुको घर भने पनि संसार भनेपनि घर–परिवारको सानो घेरामा सिमित थियो । सूचना–सञ्चारबाट बञ्चित त्यससमय माइतीघरको खबर बुझ्न समेत कठिन थियो । विकासले पनि गति नलिएको अवस्थामा खोला–नाला तरेर महिलाहरु एक्लै माइत पुग्ने कल्पनै गर्दैनथे भने घरबाट समेत विदा दिइदैनथ्यो । त्यस्तो समयमा तीजको समय पारेर आफ्ना माइती लिन जाँदा चेलीहरु खुशी हुने र नजाँदा खिन्न भएको प्रसङ्ग पुराना गित–संगीतहरुले उजागर गरेका छन् र यथार्थ पनि त्यही हो ।
विभिन्न चरणमा महिला मुक्तिका लागि भएका आन्दोलन, त्यसबाट प्राप्त उपलब्धीका कारण राजनीतिक, सामाजिक, आर्थिक, प्रशासनिक, संघ–संस्था लगायतका हरेक क्षेत्रमा महिलाहरुको सहभागिता बढेपछि तीज पर्व पनि परिस्कृत भएको छ । गाउँ–टोलमा गठन भएका महिला समूह, कीर्तन मण्डली, सहकारी, गैर सरकारी, सामाजिक संघ–संस्थामा महिला सहभागिता बढेपछि यो पर्व परिस्कृत भएको हो । महिलाहरु आफैंले कमाएको केही रकम छुट्याएर सामाजिक काम गर्दै सामुहिक रुपमा तीज मनाउन थालेका छन् । जसमा पुरुष सदस्यहरुले बजेट ब्यवस्थापनमा सघाएका छन् भने सँगसँगै बसेर चेतनामूलक कार्यक्रम, लैंगिक हिंसा र विभेद विरोधी अभियान, सेवाभावसँगै सामुहिक उपलब्धीमूलक कार्यक्रम गरेर तीज पर्व मनाउन थालेका छन् । जसका कारण पाँचदिन मनाइने तीजको रौनक १५ दिनअगाडिदेखि देखिन थालेको छ । सामुहिक रुपमा मनाइने यो पर्वमा आएको परिवर्तनले विपन्नदेखि सम्पन्न सबै प्रकृतिका महिलाहरुलाई भावनात्मक रुप्मा एक ठाउँमा उभ्याएको छ, आपसी सद्भाव बढाएको छ, आत्मियता साटेको छ र सामाजिक भावना जागृत गराएको छ । यसका नराम्रा पक्ष छैनन् ।
तर संस्कार र संस्कृतिमा आएको समयानुकुल परिवर्तनलाई स्वीकार गर्न नसक्ने मानसिकता बोकेका केही ब्यक्तिहरुले तीजको तीब्र विरोध मात्रै गरेका छैनन् स्वीकार गर्नै नसक्ने प्रकृतिका सांकेतिक आलोचना गरिरहेका छन् ।
बाँदरलाई रातो साडी लगाइदिएर छमछमी नाचेको स्टोरी पोस्ट, मदिराले मातिएकी महिलाले घरको सिंढी चढ्नै नसकेको टिकटक, महिलाहरुले रक्सीको गिलास बोकेर चेस गर्दैगरेको भिडियो, विवाह वा जन्मउत्सवमा भएका पार्टीहरुको तस्विर वा टिकटक आलोचनाका खजाना बनेका छन् । यस्ता आलोचना देख्दा प्रश्न उठ्छ– परिवर्तनलाई स्वीकार गर्नै नसक्ने दरिद्र सोच बोकेका यी र यस्ता ब्यक्तिहरुले घर–परिवारभित्र महिलालाई कस्तो ब्यवहार गर्दाहुन् ? यी र यस्ता आलोचना आफ्नै घर–परिवारभित्र महिलाको सम्मान गर्न नसक्ने, खुशी देख्न नमान्ने, संस्कार र संस्कृतिमा आएको परिवर्तन र यसले ल्याएका सकारात्मक पक्षहरुले विश्लेषण एवं गौरव गर्न नसक्ने नालायकहरुको दरिद्र मानसिकताको उपज मात्रै हुन् भन्दा अत्युक्ति नहोला । हुनत महिलाले जे गरेपनि आलोचना खेप्नुपर्ने पुरातन सोचकै प्रभाव पनि हो–यी र यस्ता आलोचना ।
निष्कर्ष :
तीज पर्वको छुट्टै सांस्कृतिक महत्व छ । यस पर्वमा संस्कार, संस्कृतीको प्रसङ्गमात्रै नभएर महिला मुक्ति, समान अधिकार, सबैप्रति समभाव, समर्पण एवं सम्मानभाव पनि छ । आफ्नो श्रीमानको दीर्घायूको कामना गरेर व्रत बस्दैगर्दा त्यहाँ आफ्नो र परिवारको समग्र समुन्नतीको स्वार्थ पनि जोडिएको छ । काम, क्रोध, लोभ, मोहबाट मुक्त भएर भगवानप्रतिको समर्पणमात्रै होइन, इहलोकदेखि परलोकसम्मको सहजताको शुभभावना र जनविश्वास जोडिएको छ । सातदिनमा एकदिन व्रत बस्नुलाई स्वस्थ रहने उपायका रुपमा विज्ञानले विज्ञानले समेत पुष्टी गरिरहेको छ । भनिन्छ वेदमा नभएको ज्ञान विज्ञानमा समेत छैन । वेदलाई विज्ञानसँग जोड्नसके सहजै समृद्धि हासिल गर्न सम्भव पनि छ । व्रतलाई विज्ञानले पनि प्रोत्साहन गरिरहेका बेला वेद वाणीले चाहिं यसरी ब्याख्या गरेको छ–
व्रतेन दीक्षामाप्नोतिदीक्षमाप्नोति दक्षिणाम् ।
दक्षिणाश्रद्धामाप्नोति श्रद्धया सत्यमाप्यते ।।
अर्थात व्रतको उद्देश्य सत्य प्राप्ति नै हो ।
तीजः परम्परा, परिवर्तन र आलोचना
