रेजिना गौतम
बिर्तामोड । ‘नपाउँ त भनेको नि एउटा छोरा चाहिन्छ भन्छन्, मलाई त फेरी जन्माउने इच्छा छैन, तर के गर्नु ? बुढोले पनि मलाई एउटा छोरा चाहिन्छ भन्छ, आमा–बुबाले पनि त्यसै भन्छन्’–३ सन्तानकी आमा झापाको विर्तामोड नगरपालिका निवासी रविनाले थपिन्–‘छोरा छोरा भन्दा भन्दै ३ वटा भइसक्यो, अझै छोरा खोज्दा कति जन्माउनु पर्ने हो थाहा छैन ।’
ज्याला मजदुरी गरेर खाने सविनाले १ छोरी जन्मेपछि बच्चा जन्माउने इच्छा आफूमा नरहेपनि श्रीमान् र आफन्तको करकापका कारण जन्माउनु परेको बताउँदै सविनाले भनिन्–‘मलाई एउटा छोरा चाहिन्छ भन्छ बुढाले माइतको आमा–बुबाले पनि भन्छन् अब एउटा चै पाउ त्यो पनि छोरी नै भएछ भने अनि बन्द गर्नु ।’ धेरै छोराछोरी भए लगाउन खुवाउन पनि सकिंदैन भन्दा श्रीमान्ले भनेको कुरा सुनाउँदै उनले भनिन्–‘म आफैं पाल्छु ।’ ओइलेनी जग्गामा बसेका उनीहरुको टाउको ओत्याउने घरमात्र छ । १८ वर्षमा विहे गरेकी २५ वर्षीया सविना गाउँघरमै ज्याला मजदुरी गर्छिन भने उनका श्रीमान् साइटको काम गर्छन् ।
सविनाको गाउँमा अधिकतमको बाल बिवाह भएको छ । स्कूल पढ्दा पढ्दै धेरैले आफैं भागी विवाह गरेका छन् । तिनै मध्येकी एक हुन् रिता । १४ वर्षमा विहे गरेकी उनी अहिले २४ वर्षकी भइन् । २४ वर्षको उमेरमा ४ सन्तानकी आमा बनेकी रिताका १ छोरा र १ छोरी साथमा छन् भने दुई सन्तानले नस्वर चोला बदलिसकेका छन् । अरुले देख्दा शारीरिक रुपमा कमजोर देखिएपनि आफूलाई त्यस्तो अनुभव नभएको उनले बताइन् । चार सन्तानकी आमा रितालाई भने परिवार नियोजन गर्न श्रीमान्को सहमति भएको बताउने उनी आफैं अल्मलिएकी छन् । स्थायी बन्ध्याकरण गर्ने सम्बन्धमा मौन बसेकी उनले ३ महिने सुई प्रयोग गर्दै आएको बताइन् । उनले भनिन्–‘तीन महिने सुई हान्थे, तीन महिना यता त्यो पनि छैन ।’
नानी पाउँदा पाउँदै ज्यान सुकिसक्यो, अब मरिन्छ भन्ने पनि थाहा हुन छोड्यो बिर्तामोड नगरपालिकामै बसोबास गर्ने जसमतीको व्यथा हो यो । १५ वर्षमा विहे गरेकी उनी अहिले ४० वर्ष पुगिन रे । ४० वर्षको उमेरमा ९ पटक गर्भवती भएको उनले बताइन् । अहिले सातवटा छोराछोरी साथमा रहेको बताउँदै उनले भनिन्–‘सात वटा छँदैछन्, धेरै अघि एउटा फ्याकेको, भर्खर अर्को फ्याके त्यो सहित त १० वटा हुन्छ, आठवटा त जन्मेकै हुन्, ठूलो छोरा दुर्घटना भएर मर्यो ।’ उनीसंग अहिले ५ छोरा र २ छोरी छन् ।
श्रीमान्लाई धेरै छोराछोरी नजन्माउँ भन्दा नमानेको सुनाउँदै मनमतीले भनिन्–‘मेरो छोराछोरी म पाल्छु, मलाई पुगेकै छैन, तैंले भनेर हुन्छ ? भनेर गाली गर्छ सम्झाउँदा मान्दैन, भनेको नमानेपछि झगडा गर्नुभन्दा मैले पनि लु नि त भनेर पाइदेको नी ।’ सार्वजनिक बाटाको जमिनमा बसोबास गर्दै आएका उनीहरुको बासको टुङ्गो छैन । बाटोले उठाएका दिन कहाँ गएर बस्ने भन्ने थाहा छैन । वरीपरी पुरानो टिनको बेरा, छानो समेत उस्तै टिनको घरमा गुजारा चलाउँदै आएकी जसमतीले छोराछोरीलाई अघाउने गरी खान दिन समेत नसकेको बताउँदै भनिन्–‘आज छ भोली छैन, मागेर ल्यायो उनीहरुलाई नै पुग्दैन, आफू त कति खानु ? उनेरु नै झगडा गर्न थाल्छन् ।’ बच्चा जन्माउँदा जन्माउँदै आफ्नो शरीर पनि जीर्ण भएको बताउने जसमतीले भनिन्–‘धेर पाएर जिउ लाग्दैन, ज्यानै सुकिसक्यो ।’
पहिले थाहा नभए पनि थाहा भएपछि बच्चा जन्माउन रोकौं भन्दा श्रीमान्ले भनेको स्मरण गर्दै उनले भनिन्–‘मेरो माइती इन्डिया हो, बाबु आमा कोही छैनन्, रक्सी खाएर आउँछ, घमण्डी छ, भन्दा लाग्दैन, सम्झिदैन, कुनै दिन मानेन भने तेरो के काम तँलाई यतिका लागि ल्याएको हो, मान्दैनस् भने तँ……. गइहाल ।’
शारीरिक रुपमा एकदर्मै कमजोर भएको देखेपछि श्रीमान्ले पनि अब चै रोक्ने भन्न थालेको सुनाउँदै उनले भनिन्–‘अब रोक्ने भन्न थालेको छ, मैले त पहिले नै भनेको, पाल्न सक्दिन भन्न थालेको छ, हिजो अस्ति एउटा फालेको ।’
सात सन्तानकी आमा मालती मुसहर अहिले ३७ वर्षकी भइन् । १५÷१६ वर्षकी हुँदा विहे गरेकी उनी २०४१ सालमा जन्मिएकी रे । ६ छोरी र १ छोराकी आमा उनी अहिलेसम्म भगवानको कृपाले केही नभएको बताइन् । ज्यालादारीबाट दैनिकी धान्दै आएको बताउने उनले भनिन्–‘जन्मेपछि आफैं हुर्किदा रछन् ।’ १४ देखि १६ वर्षमै विहे गरेका बस्तीमा किशोरीहरु छन् । किशोरावस्थामै विहे गरेर बालबच्चा जन्माएका उनीहरु मध्ये भविष्यमा आउने स्वास्थ्य जटिलताबारे थाहै छैन । १६ वर्षमा बिहे गरेकी अञ्जुले १८ वर्षमा पहिलो सन्तान जन्माइन् । दुई छोरी जन्मेपछि नै प्रजनन् प्रक्रिया रोक्न पहल गरेकी उनीलाई पनि छोराको खोजीमा अर्को सन्तान जन्माउने दवाव आयो । श्रीमान सहित पारिवारिक दवाव खेप्न नसकेर तेस्रो पटक गर्भवती भएको उनले सुनाइन् । उनले भनिन्–‘तेस्रो पटक पनि छोरी नै जन्मिएपछि अप्रेसन नै गरें ।’ प्रसुती हुनका लागि अस्पतालमा पुगेकी उनको त्यही शल्यक्रियाबाट बच्चा निकाल्दा संगसंगै अप्रेसन गरेको बताइन् ।
आफूले परिवार नियोजन गरेसंगै भाउजु र भाउजुलाई पनि धेरै बच्चा नजन्माउन गरेको आग्रह उनीहरुले नमानेको बताउने अञ्जुले भनिन्–‘कत्ति भनेको दाजु भाउजु नै मान्दैनन्, दुई छोरी र १ छोरा भएपछि नै पुगेको थियो, दाजु घमण्डी छ, तिमेरले खानदिनु पर्छ, पाल्नुपर्छ भन्छ ।’
त्यसो त साइनोले जसमतीकी जेठानी पर्ने मञ्जुले उनका देवर र देउरानीलाई पनि धेरै बच्चा नजन्माउन गरेको आग्रह नसुकेको बताउँदै भनिन्–‘हुन त मेरै देवर, देउरानी हो, देवरले भनेको सुन्दै सुन्दैन । के गर्नु र !
दुईमात्र सन्तान ईश्वरको बरदान भन्ने नारा चलेको धेरै भयो । सोही नाराका कारण हो वा चेतनास्तरको बृद्धिका कारण र विभिन्न प्रजनन स्वास्थ्य रोक्ने सामग्रीको सहज उपलब्धताका कारण हो । अन्य जाती÷समुदायमा जन्मदर घटेको छ । एक वा दुई भन्दा बढी सन्तान भएमा उनीहरुको उचित स्याहार–सुसार, शिक्षा–दिक्षाको सही प्रबन्ध गर्न सकिंदैनकी भनेर डराएको अवस्था पनि छ । तर, मुसहर बस्तीमा एकाधबाहेक अरुलाई यसबारे कुनै प्रवाह नै छैन । परिवार नियोजन गर्यो भने शारीरिक रुपमा कमजोर हुन्छन् भन्ने बुझाईबाट माथि उठ्न सकेका छैनन । विहान बेलुका छाक टार्ने समस्या झेलिरहेका उनीहरुलाई सन्तान जन्मिएपछि जसरी पनि हुर्कन्छ भन्ने मात्र छ । बाहिरबाट हेर्दा बालबालिकाको सरसफाई टिठ लाग्दो देखिएपनि उनीहरु त्यसलाई खासै वास्ता गर्दैनन् ।
मुसहर जातीमा त्यसको प्रभाव पुग्न सकेको पाइदैन । तराईका मुसहर जातिलाई राज्यले दलितभित्र सूचीकरण गरेको छ । सूचीकरणको २० औं नम्बरमा रहेको मुसहर जाति सरकारी अस्पतालमा स्वास्थ्य सेवा अथवा परिवार नियोजन सम्बन्धी सेवा लिन पुग्छन् कि पुग्दैनन् भन्ने तथ्याङ्क कहिंपनि पाइदैन ।