काठमाडौं ८ बैशाख । नागरिकहरुको जीवन संकटमा भएका बेला राजनीतिक दल र संवैधानिक परिषद सम्बन्धी विधेयक पारित भएकोप्रति प्रमुख विपक्षी नेपाली कांग्रेसले गम्भिर असहमति ब्यक्त गर्दै फिर्ता लिन माग गरेको छ । सोमबार एक विज्ञप्ति जारी गर्दै कांग्रेस सभापति शेरवहादुर देउवाले राष्ट्रपतिले हतारमा प्रमाणीकरण गरेको जनाएका छन् । मन्त्रीपरिषदको सिफारिसमा सोमबार राष्ट्रपति भण्डारीले केन्द्रीय समितिमा ४० प्रतिशत भए दल फुटाउन सक्ने गरी संशोधन गरिएको राजनीतिक दलसम्बन्धी अध्यादेश र विपक्षी दलका नेताविना नै संवैधानिक परिषद्को बैठक बस्न सक्ने गरी संशोधन गरिएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश प्रमाणीकरण गरेकी हुन् ।
कांग्रेस सभापति देउवाले जारी गरेको विज्ञप्तिमा भनिएको छ–‘यतिबेलाको प्रधान दायित्व भनेको कोरोना र भोकमरीबाट नेपाली जनतालाई जोगाउनु हो । यो घडीमा सत्ताको उन्माद या खेल प्रस्तुत गर्नु भनेको नेपाली इतिहासकै सबैभन्दा दुःखद घटना हो र यो ‘बेमौसमी बाँसुरी’ हो ।’ यस घटनाले जनताका समस्याप्रति सरकार गम्भीर नदेखिएको भन्दै विज्ञप्तिमा जनताको जीवनरक्षामा जिम्मेवार हुन पनि सरकारलाई अपिल गरिएको छ ।
संविधान निर्माण गर्दा राजनीतिक स्थिरता र संवैधानिक नियुक्तिहरूमा साझा स्वामित्वका लागि गरिएका व्यवस्थाहरू सरकारले अध्यादेशमार्फत संशोधन गरेको भन्दै विज्ञप्तिमा अलोकतान्त्रिक विधि, एवं संविधानको मर्म विपरित विधेयक पारित भएकाले तत्काल फिर्ता लिन माग गरिएको छ ।
विधेयक फिर्ता लिन कांग्रेसको माग

































































































