कामको चापका कारण व्यस्त भएपनि पटक–पटकको फोनले कनकाई नगरपालिकाकी उपप्रमुख आशा शर्मा शिवाकोटी कल्प वीमेन इम्पावरबाट भाग्न सकिनन् । आएका कतिपय फोन कार्य व्यस्तताकै कारण ‘रेस्पोन्स’ गर्न सकिनन् । तर, पनि कल्प वीमेनबाट फोन आउन छोडेन । समय समयमा फोन आइरहेपछि व्यस्तताका बाबजुद पनि समय दिन गरेको आग्रहलाई सधैं अस्विकार गर्ने कुरा पनि रहेन । फेरि ‘वीमेन इम्पावर’ भन्ने शब्दले मन पनि छोइरहेको त्यसैले पनि केही समय निकालिन् ।
त्यो समय थियो वीमेन इम्पावर सम्बन्धी संस्थाले निकाल्ने म्यागेजिनका लागि । शिवाकोटीले भनिन् ‘फोन गरिरहने कहिलेकाँही नभ्याएर उठाइन त कहिलेकाँकी कामको बोझले दिक्क लागेर पनि उठाइन ।’ तर, वीमेन इम्पावर भन्ने शब्दले भने छोइरहेको थियो ।’ शिवाकोटीले स्मरण गर्दै भनिन्, ‘म्यागेजिनमा अन्तरवार्ता मागे, म्यागेजिन निस्किएपछि उनीहरुकै आग्रहमा केही थान म्यागेजिन अरुको प्रोत्साहनका लागि खरिद समेत गरे ।’ पटक पटकको फोनमा सोधिएका प्रश्नले भने उनलाई झक्झक्याइरह्यो ।
म्यागेजिन निकाली सकेपछि पनि कल्प वीमेनले आशालाई प्रश्न सोध्न छोडेन । वीमेन अर्थात महिलाले स्थानीय तहमा पाएको जिम्मेवारी, चुनौति, अवसर लगायत प्रश्नको पहाड बढ्यो । प्रश्न देख्दा रामायण जत्तिकै लागेको उनले बताइन् । रामायण जत्तिकै लामो प्रश्नबारे आफूले शुरुमा फर्काएको जवाफबारे आशाले भनिन, ‘मेरो जन्म, बुबा, आमा, जन्मस्थान त्यस्तो सोधेपछि मैले के गरें त्यो कर्मका बारेमा सोधिएन ।’ तर पनि कल्पले आशालाई बोलाइरह्यो । शायद कल्पले आशामा संभावना देख्यो । फलस्वरुप कल्पले गरेको प्रश्नको परिणाम समेत पठायो । फलतः उनी महिला सशक्तीकरणको क्षेत्रमा काम गर्ने ‘कल्प इम्पावर वीमेन नेपाल’ ले संचालन गरेको ‘शी लिड्स आइकन–२०८१’ को उत्कृष्ट २७ मा परेको सूचना गर्यो ।
शी लिड्स आइकन’उत्कृष्ट २७ मा आशा, उत्कृष्ट ३ का लागि भोटिङ जारी उत्कृष्ट २७ मा परेकी आशाले अब उत्कृष्ट ३ का लागि भोटमार्फत प्रतिष्पर्धा गर्नुपर्नेछ । इसेवामार्फत अरुले गरेको भोटका आधारमा कल्प वीमेन इम्पावरले उत्कृष्ट ३ जना छान्ने छ । जसका लागि इसेवामा गएर आफूले चाहेको व्यक्तिलाई चाहे अनुसारको भोट हाल्न सकिन्छ । शी लिड्स आइकनमा भोट हाल्नका लागि आशाको नाम २७ औं नम्बरमा रहेको छ ।
कल्प वीमेनको राजनीतिमा महिला नामक परियोजनाले सञ्चालन गरेको शी लिड्स आइकन २७ मा परेको सूचनासंगै अब भोट माग्ने कल्प वीमेनका तर्फबाट आग्रह गरियो । त्यो बेला पनि आशाले सोचिन निर्वाचन नै होला ! तर, उनले सोचेको भन्दा फरक किसिमले भोट माग्नुपर्ने भएको छ । फरक किसिमले भोट माग्नुपर्ने भएपछि उनीमाथि चिन्ता पनि थपिएको छ । कतै आफूले भोट मागिरहँदा अरुलाई आर्थिक भार त पर्दैन ? उनले भनिन्, ‘पैसा तिरेर भोट गर्नुपर्ने र छ, आर्थिक मन्दी छ, भोट गर्नेको आर्थिक क्षय हुनेरछ । कतिले यति भोट तपाईलाई म गर्छु भन्छन्, त्यही डरले १० भोट मात्रै गर्नु भनेको छु ।
आफूलाई पढाएकी गुरुआमा उत्कृष्ट २७ मा छानिएर उत्कृष्ट ३ का लागि प्रतिष्पर्धा गर्नुपर्ने भएपछि आशाका लागि उनले पढाएका विद्यार्थीहरु साथै सहकर्मीहरु लागेका छन् । शिक्षक पेशाबाट सेवा निवृत्त भएकी आशामा पेशामा रहुञ्जेल इमान्दार र राम्रो शिक्षकको छवि बनाएकी थिइन् । त्यसैले पनि विद्यार्थीहरुलाई गुरुको शिष्यमाथिको आशिर्वाद र लगानीलाई सम्मान गर्ने उचित समय आएको भन्दै उनले पढाएका शिक्षक विद्यार्थीहरु जुटेको विद्यार्थीहरुको भनाई छ । आशाले ज्ञानको ज्योति छरेका विद्यार्थीहरु अहिले शिक्षक नै बनेर उही शिक्षाको उज्यालो छरिरहेका छन् भने कोही सामान्य अवस्थामा छन् त कोही राज्यका उपल्लो तह र देशविदेशमा छरिएका छन् । आशालाई भोट गरेर गुरुदक्षिणा चढाउने उचित समय आएको ती विद्यार्थीहरुको भनाई छ ।
‘हामी रोज्दैछौं हाम्रा प्रतिनिधि’ भन्ने नाराका साथ देशभरका महिला जनप्रतिनिधिहरूको कर्मलाई विश्व सामु परिचित गराउने उद्देश्यले लिइएको आवेदन मध्येबाट उत्कृष्ट २७ छनोट गरिएको हो ।
‘महिला स्वास्थ्य, महिला उद्यमशीलता, न्याय तथा नीति, महिला सशक्तीकरण र जवाफदेहिता’ क्षेत्रमा प्रेरणादायी काम गर्ने महिला जनप्रतिनिधिहरूमा पहिलो चरणको छनौटमा परेका २७ मध्ये उत्कृष्ट ३ जना कार्यक्रमको अन्तिम चरणको छनोटमा पर्ने जनाइएको छ ।
महिला जनप्रतिनिधिलाई सम्मान गर्दै महिला जनप्रतिनिधिको सुकर्मलाई संचार गर्ने कार्यक्रम अन्तर्गत विभिन्न स्थानीय तहका १४० जना महिला जनप्रतिनिधिमध्येबाट २७ जना महिला जनप्रतिनिधिलाई जनमतका लागि छनोट गरिएको कल्प इम्पावर वीमेनले जनाएको छ ।
आइकनका लागि कोशी प्रदेशबाट २४ जना, मधेश प्रदेशबाट १४ जना, बागमती प्रदेशबाट १२ जना, गण्डकी प्रदेशबाट ११ जना, लुम्बिनी प्रदेशबाट ३६ जना , कर्णाली प्रदेशबाट १६ जना र सुदूरपश्चिमबाट १५ जना महिला जनप्रतिनिधिले आवेदन गरेका थिए ।
राजनीतिक क्षेत्रबाट अष्टलक्ष्मी शाक्य, सामाजिक क्षेत्रबाट सरु जोशी र मिडिया क्षेत्रबाट चारु चडड़ाको निर्णायक मण्डलले कोशी प्रदेशबाट ४, मधेश प्रदेशबाट २, बागमती प्रदेशबाट ४, गण्डकी प्रदेशबाट ३, लुम्बिनी प्रदेशबाट ७, कर्णाली प्रदेशबाट ४ र सुदूरपश्चिमबाट ३ जनासहित २७ महिला जनप्रतिनिधिहरुलाई जनमतका लागि छनोट गरेको हो ।
कोशी प्रदेशबाट छनौटमा परेका ४ जनामध्ये झापाको कनकाई नगरपालिकाकी उपप्रमुख आशा शर्मा शिवाकोटी र दमक नगरपालिकाकी उपप्रमुख रेगीना भट्टराई प्रसाईँ उत्कृष्ठ २७ मा छनौट भएका हुन् । २७ बाट उत्कृष्ट ३ जना अन्तिम तीनको छनोट मंसिरसम्ममा हुने संस्थाले जनाएको छ । नेपाली महिलाहरुले भोग्दै आएका तमाम विभेद, दमन, अपहेलना र अमानवियता समेतलाई सामना गर्दै राजनैतिक क्षेत्रमा नेतृत्वदायी भुमिकामा पुग्न सफल जनप्रतिनिधि महिलाहरु आइकनको प्रतिस्पर्धामा छनौट भएको बताइएको छ ।
पेशामा हुँदा राजनीति गर्नु हुन्न भन्ने कुरालाई शीरमा राखेर प्राध्यापन पेशामा रहेसम्म आशाले विचारमात्र राखिन् तर राजनीति गरिनन् । उनलाई जहिले पनि स्कूल, कलेज छोडेर मिटिङ, बैठकमा जानु जस्तो शैक्षिक भ्रष्टाचार अरु केही हुन सक्दैन लाग्थ्यो रे । उनले भनिन् ‘त्यो बेला एउटा कक्षा छोड्नुपनि शैक्षिक क्षेत्रमा हुने ठूलो भ्रष्टाचार हो, कैयौ बालबालिकाको भविष्य जोडिएको विषय हो, यस्तै लागि रह्यो, ड्रेस लगाएर राजनीतिक संगठनका मिटिङ बैठकमा गइन ।’
पेशाप्रति प्रतिबद्ध उनले अवकाशपछिको जीवन राजनीतितिर मोड्दै जनप्रतिनिधि बन्न सफल भइन् ।
शी लिड्स आइकन २०८१ को उत्कृष्ट २७ मा कोशी प्रदेशबाट झापाका शर्मा र भट्टराईका साथै मोरङको उर्लावारी नगरपालिकाकी उपप्रमुख मीनाकुमारी खतिवडा पौडेल र तेह्रथुमस्थित मेन्छ्यायेम गाउँपालिकाकी उपाध्यक्ष गीतादेवी तिम्सिना गौतम रहेका छन् ।