Homeविचारनेवार जातिको पहिचान ‘लाखे’

नेवार जातिको पहिचान ‘लाखे’

नेवार समुदायको संस्कृति र पहिचान “लाखे ’ हरेक बर्ष प्रदर्शन हुन्छ । उल्लासका साथ मुलुकका विभिन्न भाग तथा शहरमा छरिएर रहेका नेवार समुदायले आफ्नो संस्कृतिलाई बचाईराख्न भन्दै धेरै बर्षअगाडिदेखि यसलाई निरन्तरता दिइरहेका छन् । नेवार समुदायले आफु बसोबास गरेको स्थान तथा टोलटोलमा लाखे नाच प्रदर्शन गर्दा सबै जातजाति ,समुदाय , बर्ग र उमेर समुहका मानिस यो नाच उतिकै उत्सुकता पुर्वक हेर्दछन् । नेवारहरूको मुल थलो काठमाडौं उपत्यका भए पनि बिस्तारै उपत्यका बाहिर बसोवास गएका नेवारहरूले आफुहरु जता जता बसोवास गए उतै आफुसंगै आफना धर्म संस्कार र रितिरिवाजहरू लिएर गए । जहाँ आफ्नो बसोवास शुरु गरे त्यही बाट निरन्तरता दिन थालें । आफनो भाषा, संस्कार, संस्कृति संरक्षण र सम्बर्धनमा पछिल्लो समय नेवार समुदायले ठुलो मिहिनेत गरिरहेका छन् । आफु बसोबास गरेको क्षेत्र, ठाउँबाट ,चाड पर्वहरू , रितिरिवाजहरू, खाना, लाखे नाच ,गाई जात्रा, लगायतका विविध कार्यक्रमहरु आयोजना गरेर नयाँ पुस्तालाई संस्कार सिकाइरहेका छन् । मौलिक, परम्परा, धार्मिक तथा साँस्कृतिक यो नाचको चलनचल्तीमा कहिलेदेखि र कसरी शुरुवात भयो ?
पहिलो किंवदन्ती अनुसार :


सिमरौनगढबाट तलेजु (कुमारी) काठमाडौं भित्रिँदा कुमारीको अंगरक्षक लाखे पनि आएका थिए। वि.सं. ११५४ तिर राजा नान्यदेवले सिमरौनगढ निर्माण गरेको प्रसंग भाषावंशावलीहरूमा छ। रावणको राज्य लंकाबाट सिमरौनगढ पुगेकी एक राक्षसनी त्यहा“का कुनै एक भारदारसँग प्रेममा परी नान्यदेवको दरबारमा परिचारिका भई काम गर्दै थिई। एक दिन ती दुई प्रेमीको कुराकानी भयो, ‘मलाई लंकादेखि यहा“को दरबारसम्म तान्नु तिम्रो मायाले गर्दा हो। म राक्षसनी हु“, तर खराबी गर्ने चाहिँ होइन।’ भारदार प्रेमीले भन्छन्, ‘उसो भए हाम्रो महाराजको यस वनलाई एउटा सुन्दर नगर बनाउने योजना छ । त्यसमा हामीले सहयोग गर्न सक्छौँ। कुरा त ठीक हो तर मान्छेहरूले हामी लाखेहरूलाई विश्वास गर्दैनन् नि। हामीलाई यो नगर बनाउने जिम्मा दिए एकै रातमा तयार गर्न सक्छौँ।’‘त्यसका लागि के गर्नुपर्ला त ?’ भारदारले राक्षसनीलाई जिज्ञासा राखे। राक्षसनीले भनिन्, ‘रातको समयमा मात्र काम गर्छौं, त्यस समयमा हामीलाई कसैले हेर्नु हु“दैन।’ भारदारले यो कुरा राजामा बिन्ती चढाए। राजाले उत्सुकता साथ नगर बनाउन अनुमति दिए। सोही अनुसार, भारदारका प्रेमिका राक्षसनीले लंकाबाट लाखे बोलाई एकै रातमा ‘सिमरौनगढ’ नगर बनाइदिई । सिमरौनगढबाट तलेजु भवानी पनि रहेकाले लाखेहरू नगर सुरक्षाका लागि त्यहीँ बसे । समय र परिस्थितिवश तलेजुलाई नेपाल (हाल काठमाडौं) भित्र्याएपछि त्यसको सुरक्षासँगै लाखे पनि नेपाल आएका थिए। कुमारी तलेजुकी प्रतीक हुन्। इन्द्रजात्रामा कुष्मारीको जात्रा हुने भएकाले उसका सुरक्षाका लागि लाखे पनि सँगै नचाइने गरिएको किंवदन्ती रहेको छ । वनलाई एउटा सुन्दर नगर बनाउने महाराजको संकल्प भई लाखे पनि उपत्यकामा भित्रिएको इतिहासमा उल्लेख भएको पाइन्छ।
दोस्रो किंवदन्ती अनुसार :
राजा गुणकामदेवले इन्द्रजात्रा सुरु गरे। त्यसैबेलादेखि विभिन्न जात्रा, नाच लगायत लाखेनाच पनि चलाए। उनैका पालामा नेपाल उपत्यकामा पानी नपरी हाहाकार भयो। राजाले देशका तान्त्रिकहरूसँग पानी नपर्नाको कारण सोधे। तान्त्रिकहरूले राजालाई तलेजु देवीलाई नेपालमा ल्याई कुनै प्राणीको भोग दिएमा पानी पर्ने सल्लाह दिए।
तर राजाले सुनेका थिए, ‘तलेजुलाई लाखेलसीं (राक्षसीहरू)ले सुरक्षा गरी राखेका छन्। ल्याउन सजिलो छैन । मानिस त जानै सकिँदैन । जानेजति त्यहीँ मारिन्छ।’ त्यसैले राजाले कुनै जुक्ति लगाएर तलेजुलाई नेपाल ल्याउन तान्त्रिकहरूलाई अह्राए। नेपाली तान्त्रिकहरू तलेजु देवीलाई नेपाल ल्याउन लाखेहरूको डरलाग्दो बस्तीमा पुगे। लाखेलसींहरू मस्त निदाएको मौका पारी आ–आफ्ना जिउमा तोरण राखी तन्त्र शक्ति धारण गरी तलेजु भवानी भएतिर पुगे । तान्त्रिकहरूले नेपालमा प्राकृतिक प्रकोप परेको र तलेजुको उपस्थिति भएमा यो समस्या तुरुन्तै हट्ने भनी बिन्ती गरी विधिवत पूजा गरे। त्यहाँबाट तलेजुको कलश बोकेर नेपाल फर्के। यो कुरा थाहा पाई लाखेहरू पनि पछिपछि नेपालको सिमानासम्म आइपुगे । तान्त्रिकहरूले उनीहरूलाई अलमलाउन विभिन्न जनावरहरू बाटोमा देखा पारिदिए । लाखेहरू खानाको बन्दोबस्त भएकाले नेपालको सिमानामा नै बस्न थाले। तलेजु नेपालमा पुग्नासाथ पानीको समस्या सहजै हट्यो। राजा–प्रजा धेरै खुसी भए र तलेजुलाई खुब मान्न थाले।
एक दिन तलेजुले सपनामा राजालाई भने, ‘मेरो काम सकियो। अब म फर्कन्छु। तर मेरा सहयोगी लाखेहरू नेपालको सिमानामा अलपत्र भइबसेका छन्। उनीहरूलाई नेपालमै राखे नेपालको सहयोग गर्नेछन् ।’ सपनामा भने अनुसार नै तलेजुले लाखेलाई पनि नेपालमा जनमानिस बीचमा घुलमिल गराउन दिए । लाखेहरू पनि नेपालीबीच मिलेर आवश्यक अनुसार सहयोग गर्न थाले । आफ्नो नाचगान पनि देखाई नेपालीहरूको मन जित्न सफल भए । यसै किंवदन्तीको आधारमा नेपालमा लाखेनाच नचाइदै आइरहेको विश्वास गरिन्छ।
तेस्रो किंवदन्ती अनुसार :
काठमाडौंमा एक ज्यापु युवती थिइन । उनी आमाबुवाका साथ खेत जाने गर्थिन्। बाटामा एक लाखे उक्त ज्यापु युवतीको सौन्दर्यबाट मोहित भए । उनीलाई हेर्न सहरभित्रै लुकिछुपी आउन थाले । लाखे ज्यापुको रूपमा खेतमा आई सहयोग गर्ने र उक्त ज्यापु युवतीसित नजिकिन थाले । उनीहरूबिच माया बढ्न थाल्यो । त्यसपछि त लाखे लुकिछिपी ज्यापु युवतीको घरमा सुत्न आउन थाल्यो। छिमेकीले चाल पाई चियो गर्दा मानिसभन्दा फरकको रूप देखे । छिमेकीहरूले राजा कहाँ “सुटुक्क खबर गरे । राजाले सैनिक लगाएर लाखेलाई समाते । राजा कहाँ’ पुगेका लाखेले आफू एक ज्यापु युवतीसितको अघात प्रेममा रहेकाले उसलाई उसैको नजिक राखिदिए, मानवहरूको सहयोगी बनि बस्ने बिन्ती चढाए । राजाले पनि उनको कुरामा विश्वास गरी उनको इच्छाअनुरुप काम गर्न छुट दिए । लाखे खुसीले नाच्न थाले । उसको नाचको आकर्षणले उपत्यकाका नेवारहरू मोहित भए। लाखे नाच्न थालेदेखि उपत्यकामा भूतप्रेतको डर हट्न थाल्यो। त्यसैले उनी लाखे भए पनि दैविक शक्ति भएको मानेर पूजा गर्न थाले र शान्तभैरव मान्न थाले। प्रत्येक वर्षको इन्द्रजात्रामा काठमाडौंको टोलटोलमा लाखे नचाउन थालियो।
रक्षक र देवताका रूपमा पूजा गर्ने चलन :
लाखेलाई रोगमुक्त गराइदिन ठाउँठाउँको रक्षकका रूपमा पनि लिने गरेको पाइन्छ । एकातिर विघ्न गर्ने र अर्कोतिर सम्पन्नताको रक्षकको रूपमा लिदै आएको छ। लाखेका राम्रा–नराम्रा दुइटै गुणलाई जनताले नराम्रोलाई छोडी राम्रो पक्षलाई अनुशरण गर्ने र लाखेलाई देवताका रूपमा पनि पूजा गरी नचाउने परम्परा छ।
मुख्य त दुई प्रकारका लाखे हुन्छन् :
मजिपात लाखे :
मजिपात लाखे काठमाडौं उपत्यकामा बिषेश पर्वमा नचाउने गरिन्छ । विषेश गरी इन्द्रजात्राको बेला नचाउने लाखेलाई मजिपात भन्ने चलन छ । आश्विन चतुर्दशीदेखि आठ दिनसम्म मनाइने इन्द्रजात्रामा कुमारीको रथजात्रा र आकाश भैरव (सव भक्कु), पुलुकिसी, देवी नाच (दीप्याखँ), मजिपा लाखे र महांकाली नाचको विशेष प्रदर्शनी हुन्छ। काठमाडौंमा यी नाच तान्त्रिक विधि–विधानमा आधारित सांस्कृतिक अनुष्ठान अनुसार निश्चित विधि अनुसार गरिन्छ ।
गुणिला लाखे :
काठमाडौं उपत्यका बाहिरी जिल्लाहरूमा नेवार समुदायको बाहुल्यता तथा बसोवास रहेको शहरहरूमा नचाइने लाखेलाई गुणिला भनिन्छ । यो जुनसुकै समयमा नचाउन सकिन्छ । यसलाई नचाउन कुनै निश्चित तान्त्रिक विधि विधान आवश्यकता पर्दैन। र जुनसुकै सम्प्रदायको मानिसहरू सहभागी बन्न सक्दछन् । यद्यपि उपत्यकाका बाहिरी जिल्लाहरूमा गठेमंगल या त नाग पञ्चमीका दिन देखि भिमसेन मन्दिरमा पुजाआजा गरी शुभारम्भ गरिएको लाखे’ कृष्ण जन्माष्टमीको दिन मध्य रात विधिवत् विर्सजन गरिन्छ भने कतैकतै ठाउँ अनुसार फरक पनि हुनसक्छ।
मनोरन्जन तथा बन्धुत्वको भावना अभिबृद्धि :
’लाखे’को धार्मिक र साँस्कृतिक मुल्य मान्यता आफनै छ । शुरुवात ईतिहास र किंवदन्तीले जे जस्तो बताए पनि समग्र समाजमा यसले मानिसलाई मनोरन्जन प्रदान गर्दछ। नेवार समुदायको अग्रजहरू धान रोपी सकेर फुर्सदको समयमा लाखे नाच देखाएर मानिसलाई मनोरञ्जन प्रदान गर्नु यसको मुख्य उद्देश्य रहेको बताउछन् । टोलटोलमा प्रदर्शन भएको लाखे हेरेर सबै उमेर समुह बालक , युवा , बृद्धा मानिसहरू रमाइलो मान्छन् । यस्तै विभिन्न जात जातिका बसोबास रहेको साझा फुलबारी हाम्रो मुलुक । यहाँ सबै जातजातिका आ–आफ्नै मुल्य मान्यता , भाषा, भेषभूषा, धार्मिक, सांस्कृतिक संस्कारहरू छन् । सबैलाई आफ्नो संस्कार, सँस्कृति प्रति प्रेम र सम्मान हुन्छ । एकले अर्कोको धर्म र संस्कारको सम्मान गर्दै सहयोगी बनेर सद्भाव र सम्मानसंगै बन्धुत्वको भावना कायम राख्नुछ । हरेक बर्ष नेवार समुदायले आयोजना गर्ने यो सांस्कृतिक पर्व लाखे सम्पन्न गर्न हाम्रा वरपरका अन्य समुदायबाट महत्वपूर्ण र सहयोगी भुमिका रहन्छ । नेवार मात्र होइन् पछिल्लो समय अन्य समुदायका मानिसहरु लाखे नाचमा सहभागी बन्ने गर्दछन् । यस पर्वले मनोरञ्जन सगै समाजमा सामाजिक सद्भाव , भाईचारा र बन्धुत्वको भावना अभिबृद्धि गर्न सहयोगी भूमिका खेलेको छ। चाडपर्वका बेला साथी भाई संग भेटघाट हुन्छ, भेटघाटले सामिप्यता साथै आत्मियता बढाउँछ। सांस्कृतिक, ऐतिहासिक नाच ’लाखेले ’अन्तत आपसी मेलमिलाप र पारस्परिक सरसहयोग भावना अभिबृद्धि गर्न सघाउ पुर्याउने देखिन्छ ।

spot_img
spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
विचारनेवार जातिको पहिचान ‘लाखे’
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img
spot_img

Most Popular

spot_img
spot_img

Recent Comments

spot_img
spot_img