झापा १ फागुन । राजतन्त्रको अन्त्य गर्ने र नयाँ जनवादी व्यवस्था कायम गर्ने उद्देश्यसहित नेकपा माओवादीले जनयुद्ध घोषणा गरेको २८ बर्ष भएको छ ।
तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवासँग ४० बुँदे माग राख्दै २०५२ फागुन १ गते सशस्त्र विद्रोहको घोषणा गरेको थियो । माओवादी र सरकारबीचको द्वन्द्वको मारमा सर्वसाधारण परेका थिए । जनताको मुक्तिको नारा दिएर गाउँकेन्द्रित आन्दोलन थालेको माओवादीका कारण थुप्रै नागरिकले विस्थापित हुनुपरेको थियो भने द्वन्द्वकै कारण १७ हजार नागरिकले ज्यान गुमाउनुपरेको थियो ।
२०६३ सालमा तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला र पुष्पकमल दाहाल प्रचण्डले शान्ति सम्झौतामा हस्ताक्षर गरेसँगै सशस्त्र द्वन्द्व समाप्त गरेर नेकपा माओवादी शान्तिपूर्ण राजनीतिमा प्रवेश गरेको थियो । द्वन्द्वका अवधिमा विद्रोही पक्ष र राज्य पक्षबाट बेपत्ता पारिएका कतिपय नागरिकको अवस्था अझै पनि अन्योल छ । शान्ति सम्झौतापछि गठित बेपत्ता छानविन र सत्य निरुपणका लागि बनेको दुई छुट्टाछुट्टै आयोग बनेका थिए । सत्य निरुपण तथा मेलमिलाप आयोगमा यससम्बन्धि ६४ हजार उजुरीहरु दर्ता भएकोमा हालसम्म ४ हजारको मात्रै प्रारम्भिक अनुसन्धानको काम सम्पन्न भएको बताइदै आएको छ ।
२०६३ सालपछि कहिले कांग्रेससँग र कहिले एमालेसँग मिलेर आलोपालो सत्ताको नेतृत्वमा बसिरहेको माओवादीले द्वन्द्वकालका अधुरा कार्य पुरा गरेर द्वन्द्व प्रभावितलाई न्याय दिने कार्यमा भने नेतृत्वदायी भूमिका निर्वाह गर्न सकेको छैन । बरु तिनै द्वन्द्वप्रभावितको मुद्धालाई उठाएर पटक–पटक सत्ताको सिंडी चढिरहेको छ ।
जनयुद्धको २८ औं दिवस मनाइरहँदा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले ‘जनयुद्ध’मा सहभागी सबैलाई एकताबद्ध हुनआह्वान गरेका छन् । यस अवधिमा जनयुद्धमा सक्रिय सहभागी मोहन बैद्य, बाबुराम भट्टराई, नेत्रविक्रम चन्द विप्लव लगायतका नेताहरुले बेग्लै पार्टी खोलिसकेका छन् । प्रचण्डले यी सबै दललाई लक्षित गर्दै सबै पार्टीहरु एकताबद्ध भई आएमा आफूलाई पार्टी नेतृत्वमा बसिराख्ने लोभ नभएको पनि बताएका छन् । उनी नेकपा माओवादीमा स्थापनाकालदेखि हालसम्म अध्यक्षको जिम्मेवारीमा छन् ।
काठमाडौंमा आयोजित माओवादीको विधान सम्मेलनलाई सम्बोधन गर्दै दाहालले तर्क र तथ्यसहित पार्टी नेतृत्वमा दाबी गर्न कोही नेता आएमा नेतृत्व छाड्न तयार रहेको बताएका हुन् ।
‘नयाँ क्रान्तितिर देशलाई लैजाने संकल्प गरेको छु । कोही कामरेडहरू आउनुहुन्छ र तर्कसहित, तथ्यसहित भन्नुहुन्छ भने मलाई फेरि नेतृत्वमा बसिराख्ने कुनै लोभ छैन, यो कुरा पनि म प्रष्ट भन्न चाहन्छु,’ उनले भने, ‘आउनुस्, फेरि यो मोर्चालाई एकताबद्ध गरौं । प्रतिक्रियावादी र प्रतिक्रान्तिकारीले टाउको उठाउन खोजेका छन्, तिनको प्रतिवाद गरौं, सबै एक हौं ।’
पछिल्लो समय विचार मिल्ने पार्टीहरूबीच समाजवादी मोर्चा गठन भएको छ । उनले सोही मोर्चामा जनयुद्धमा सहभागी सबैलाई एकताबद्ध हुन आह्वान गरे । ‘माओवादी जनयुद्धका सहभागी सम्पूर्ण नेता र कार्यकर्ताहरूलाई अब ढिलो नगरी एउटै मोर्चा र केन्द्रमा एकताबद्ध हुन अपील गर्न चाहन्छु । ढिलो नगरौं, जति ढिलो ग¥यो त्यति ठूलो क्षति । राजनीतिक परिवर्तनप्रति त्यति ठूलो घाटा हुनसक्छ,’ उनले भने ।
विगतमा गरेका गल्तीको समीक्षा गर्दै राजनीतिक परिवर्तनको रक्षा गर्न र समाजवादी आन्दोलनमा अगाडि बढ्न पनि एकताबद्ध हुनुपर्ने दाहालको भनाइ थियो ।