बिहान सबेरै हिड्नु छ भनेपछि त्यसै त्यसै मनमा एकप्रकारको औडाहा हुनु स्वाभाविकै हो । त्यसमा पनि हिउँदको महिना । त्यसैपनि उज्यालो ढिलो नै हुन्छ । त्यो मध्ये पनि पुसको मध्यतिर । विहान ६ बजेतिर मात्रै झिसमिस उज्यालो देखिन्छ । अझ तराईभेगमा हिउँदको महिनामा लाग्ने हुस्सेले उज्यालोलाई पनि छेकेझै लाग्छ । पुसको १३ गते विहान सदाको भन्दा झण्डै अढाई घण्टा पहिले नै उठे । पेटमा अलि सन्चो नभएजस्तो अनुभूतिसंगै सदा झैं ज्वानो र अमला हालेर थोरै पानी पकाए । नित्यकर्म त छँदैथियो । मोवायलमा आँखा पुगे । पौने ४ बजिसकेको रहेछ । ४ बजे बसस्टेनमा पुग्नुपर्ने । सार्वजनिक यातायातमा लामो दुरीको यात्रामा सहभागी हुनुछ भने प्रायः पानी नपिउने आफ्नै बानी छ । यद्यपी स्वास्थ्यका कारण पकाएको पानीमा चिसो पानी थपें र घटघटघट पिएर बिर्तामोडको पश्चिम बसस्टेनतर्फ लागे । यात्रा भोजपुरसम्मको थियो । कहिले नपुगेको ठाउँ । बसबाट कहाँ ओर्लिने भन्ने पनि स्पष्ट थिइन । तैपनि सहजता यो थियो कि गौतम बन्धु समाज झापाका अध्यक्ष नीतिरमण (हजुरबा) संगै हुनुहुन्थ्यो ।
ठाउँबारे म जस्तै अन्जान अरु दुईजना पनि त्यहीं थपिए । मलाई देख्ने वित्तिकै मान्छे त हाम्रै रछन् भन्दै भित्र पसेका महेन्द्र दाईको कुरा सक्किन नपाउँदै शारदाको प्रश्न तेर्सियो, एै तँ काँ हिँडेकी ? बसले गति लियो । सोधीखोजीकै क्रममा थाहा भयो गन्तव्य एउटै रहेछ । तर,उनीहरु लेगुवा भन्दै थिए, हामी जरायोटार । दमक पुग्दा उही यात्रामा सहभागी अरु पाँचजना थपिए । स्पष्ट नहुँदा उत्रिने ठाउँका बारेमा तर्क आ–आफ्नै थिए । कसैले फुस्रे भने कसैले बन्चरे डाँडा भने, गन्तव्य नजिकिंदै जाँदा बसमा थपिएका र दिवंगत डिल्लीप्रसादलाई चिन्नेहरुले जइने चौतारो पनि भने ।
यात्राको दुरी छोटिंदै थियो । सोही क्रममा लेगुवा बजारबाट तिवारी भञ्ज्याङ जाने भन्दै बसमा एक युवा चढे । हामी उत्रिने ठाउँ पत्ता लगाउने क्रममा उनले पनि थाहा पाए, र भने–‘बाहुनकोमा जाने ? हजुरबा र महेन्द्र दाईले हतार हतार हो जवाफ फर्काए । राई अनुहारका उनले उत्रिने ठाउँ म देखाइदिन्छु भनेपछि हामी पनि ढुक्क भयौं । घुम्तीहरु पार गर्दै बसले दौडिरहँदा म भने पहाडका दृष्यहरु आँखाले भ्याएसम्म नियाल्दै रहे । ठूल्ठूला बर र पिपलका बोट, चौतारो, जन्मस्थल ताप्लेजुङको सम्झना ह्दयभरी मडारिरह्यो । सल्लैसल्लाले ढाकेको उराठिलो पाखाको छेउमा एक्कासी बस रोकियो । अघिका युवाले भने यही उत्रिनु । त्यहाँ न चौतारो थियो, न डाँडामा पुगियो ? बीचको ठाउँ के हो ? पत्तै नपाएका हामीलाई बसका कन्टेक्टरले रमाइलो पारामा भने–‘खनेको बाटो जानुनी, फेरि उधैउधै जानु होला र ! उनले भनेको उँधोतिर भने सल्लेभिर थियो । सल्लाका पात र सिम्टा पनि झरेका । मान्छे हिड्न सक्ने देखिंदैन थियो ।
सल्लाघारी बनभित्र खनेको बाटो । बिस्तारै अघि बढ्यौं । बाटो सजिलै थियो । एक/एकजनाबाट शुरु भएको यात्रामा थपिंदै थपिंदै नौजना भइसकेका थियौं । छिटो छिटो हिड्नेलाई भात खौरेमा हिंडेजस्तो के हो पारा भन्दै शारदा आफ्नै जीवन साथीलाई जिस्काउँदै गर्थी । हामी जाँदैगर्दा बाटामा फर्कदै गरेको झापाकै दुईवटा टोलीसंग भेट भयो । फर्कँदै गरेको पेशागत र संगठनात्मक निकटता भएको एउटा टोली खासै बोल्न रुचाएन । सामान्य औपचारिकता पूरा गर्दै अघि बढ्यौं। अलि तल पुग्दा अर्को टोलीसंग भेट भयो । एकैछिनको भेटमा पेशागत कामका शिलशिलामा थाहा पाइराख्नुपर्ने महत्वपूर्ण कागज देखाए । आफन्त गुमाउनु परेको पीडा र पीडितका दृष्टिमा चिकित्सकको लापरवाही पुष्टि हुने डकुमेन्ट थियो त्यो । आफन्त वियोगको आलो घाउ बोकेर भानु दाई सहकर्मीका पिताजीको बियोगमा दुःख बाँडेर फर्कदै थिए । मसंगको टोलीका सबै निकै पर पुगिसकेका थिए । यद्यपी गोपाल दाईले देखाइदिएको छोटो तर अप्ठ्यारो बाटो समाउँदा दुई पाइलाले भएपनि टोली भन्दा पहिले नै डिल्लीप्रसादको दशगात्र कर्म भइरहेको स्थान अरुण गाउँपालिका वडा नं. ६ पाउलीस्थित घर टेकियो ।
संस्कार अनुसार दशगात्र कर्ममा बसेका श्रीमती, छोराबुहारी र छोरीहरु गरुड सुन्न बसेका थिए । बीचमा युवा उमेरका गुरुजीले गरुड पाठ गर्दै थिए । एकप्रकारको सन्नाटा थियो । पाठ सकियो कथा बाँकी नै थियो । ससुराको काममा बसेकी बहिनी निर्मलालाई छुस्स भेटेपछि शारदाहरु हतारिएर हिडें । म भने प्रेस सेन्टर झापाको टोलीको समवेदना दिने क्रम चलिरहेकोले त्यतैतिर अल्मलिए ।
शारदाहरु बिहान भेट्ने वित्तिकै भन्दै थिए–त्यहाँ त बस्ने कुनै उपाय नै छैन रे, बसाई हुँदैन । पारिवारिक रुपमा सबैसंग चिनजान नभएपनि बन्धुत्वका हिसाबले म घरमा पुगेकी थिए । समय व्यवस्थापन गर्न सक्दा र सवारीको सहज उपलब्ध हुने भए दशौंदिनको गहुँत ग्रहण गर्नुपर्ने थियो । तर, त्यो संभव थिएन । योे बेला मसंग मात्र दुईवटा विकल्प थियो–(राजेन्द्र दाईका काका) फणिन्द्रसंगै लेगुवा जाने पुग्ने आँट गर्ने ? वा त्यही बस्ने । राजमार्गमा निस्किएपनि यातायातको साधन भेट्ने संभावना नदेखेपछि अघि उत्रेको ठाउँमा बिहान पुग्नु नै सहज ठहर्याउँदै त्यही बस्ने निर्णय गरें । गरुडको कथा श्रवण गरियो । यो बेलासम्ममा चिसो निकै बढिसकेको थियो । जुन घरबाट आँखाले देखिने ठाउँसम्ममा एउटा मात्रै घर देखिन्थ्यो । आसपासमा गएर बस्न सक्ने संभावना पनि थिएन । तर, पनि मेरो निर्णयले शायद राजेन्द्र दाई र धनु भाउजुलाई असजिलो महशुस भएछ क्यार ! संयोग जुर्यो वा उहाँहरुले नै जुराउनु भयो अन्जानैमा लेगुवासम्म पुग्ने वातावरण बन्यो ।
आमालाई एकपटक बोलाएँ र हतारिंदै आँगनका डिलबाट बारीका कान्ला नाघ्दै लेगुवासम्मका लागि लम्किए । तल बारीका पाटामा दुईजना भाईहरु एक एकवटा मोटरसाइकलमा पर्खिराखेका थिए । दिनेश भाईले भन्नुभयो बाटो अप्ठ्यारो छ, लडाउदिन । तर, नडराइ बस्नु ल ।’ पहाडमै जन्मेर हुर्केकी म । पहाडबारे केही न केही जानकार नै थिए । सहजीकरण गर्दै भाईलाई भने–झापाबाट आएपनि मैले पहाड राम्ररी बुझेकी छु ।
हेर्दा रुखो देखिने पाखो बारी झैं लाग्ने । तर, त्यही पुग्दा बोटमा रसिला सुन्तला, बारीका पाटा पनि ठूलै । कोदो टिपीसकेर नरुवा कतै काटेका त कतै बाँकी नै । डाले घाँसका बोटहरु । तीन नबज्दै साँझ परेझैं चिसो सिरेसो । लेक भनौ वा अउल छुट्याउनै गारो । दिदी भाई गफ गर्दै खनेर निकालेको सल्लेभिरको बाटोमा मोटरसाइकलको सहारामा लेगुवातिर अघि बढ्यौं । मलाई सुरक्षित मशसुस गराउँदै कालोपत्रेसम्म ल्याउन भाईलाई कति सकस भयो थाहा छैन । तर, मैले भने पटक्कै असजिलो र अप्ठ्यारो महसुस गरिन् । किनकी पाउलीलाई बुझ्ने यो मेरा लागि निकै राम्रो मौका थियो । मन त्यतैतिर भुल्यो ।
पाखो खनेर भएपनि बाटो पुर्याइएको, विजुली, पानी, इन्टरनेटको सुविधासमेत पुगेको । यो देख्दा मलाई विकास पुगेको महसुस भएपनि पाउलीले पाउलीले पाउ लगाइदिएकाहरु भने दिनदिनै विरानो हुँदै गएका रहेछन् । पाउलीलाई एकपछि अर्कोले छोड्दै हिड्दै गर्ने क्रममा स्व. डिल्लीप्रसादका चार भाई छोराले पनि मधेशतिर पाइला बढाइसकेका रहेछन् । त्यही कारण अन्तिम अवस्थामा न पिताले पुत्र देखे न पुत्रले पिताको अन्तिम श्वास नै भेटे । पुस्तौंदेखि पाउलीमा बसोबास गरेको गौतम परिवारको पाउलीबाट पखेटा लागिसकेको बुझ्दा पहाड रित्तिकै गएको महशुस भयो ।
पहाडको ठाउँ विकास त पुगेको जस्तो लाग्यो तर पनि बस्ती त उजाड किन ? मेरो प्रश्नमा भाइले भने–‘ठाउँ अनुसार विकास भएकै छ । तर यहाँको समस्या स्वास्थ्य, शिक्षा र उत्पादित सामग्रीको बजार छैन । विद्यालय टाढा छन् । गाउँ नै यति पातलो छ विद्यार्थी थोरै हुन्छन् माथि डाँडामा सामुदायिक स्कूल छ । एउटा स्कूलमा ६०/७०/१०० जना विद्यार्थी होलान् । सामुदायिक विद्यालयमा बालबालिका कम भएपछि नीजि स्कूल खोल्ने कुरा पनि भएन । आपत पर्दा अस्पताल कहाँ जाने ठाउँ छैन, कृषि काम गर्दा हुन्थ्यो होला बजार खै ?
ठाउँ परिवेशबारे कुरा हुँदाहुँदै राजमार्गमा निस्कियौं । आउने जानेलाई लिन र पुर्याउनु पर्ने नौदिनदेखिको दैनिकी नै भने झैं भइसकेको रहेछ दिनेश भाईको । दिनमै ३/४ पटकसम्म । आज त भर्खर एकपटक मात्रै भएको रहेछ । बीचबाटामा छोड्न पनि कठिन । ओरालो लाग्यौं । केही तल झर्दा दुई/अढाई घण्टा अगाडि नै हिड्नु भएको फणिन्द्र काका र कार्की अनि विराटनगरबाट जानुभएका भान्जा दाई । नीतिरमण बा र मलाई मोटरसाइकलमा लिएर आउने दुईभाईहरु दिनेश र गणेश नैतिक जिम्मेवारीको घेरामा पर्नुभयो । म भएको मोटरसाईकलमा कार्की थपिनु भयो । ट्राफिकले दुःख दिन्छ कि ! डराउँदै डराउँदै अघि बढ्ने क्रममा उभोबाट एउटा सेतो रंगको गाडी आयो । अगाडि कतिजना अटिन्थ्यो थाहा छैन पछाडि भने डाला भएको सरकारी गाडी । गणेश भाईले कसो कसो गरेर रोकेछन् । हामी त्यसमा चढ्यौं । उनीहरु अघि बाटामा भेटिएका काका र भान्जा दाई लिन गए । तर त्यो सरकारी गाडीको डालाको यात्रा लगभग ५०० मिटर भन्दा लामो हुन सकेन । पाँचथर जिल्ला समन्वय समितिका संयोजक सवार उक्त सरकारी गाढीलाई जरायोटारमा बसेको ट्राफिकले रोक्यो । सवारी चालकले बुझाउने निकै प्रयास गरे । तर,उनको जोर चलेन । समन्वय समितिका संयोजकले मुखै खोलेनन् । हामी उत्रियौं । गाढी अगाडि बढ्न लाग्दा संयोजकले मलाई भने मिलाउनु है ।
यहाँदेखि गणेशको मोटरसाइकलमा यात्राले निरन्तरता पायो । गणेशसंग पनि उही कुरा दोहोरियो । विकास र पाउलीको बस्ती उजाडिनुको कारण । अघि पाउलीबाट कालोपत्रेसम्म निस्कने बाटो केही वर्ष अघि आफ्नै लगानीमा आफैंले खनाएका रहेछन् । उनकै मुखबाट उक्त कुरा सुन्न पाउँदा गर्वबोध भयो । गणेशको उक्त कामको अनुकरण अरु गाउँकाले पनि गर्दा धेरै ठाउँमा बाटो पुगेको सुनाए । त्यतिमात्र होइन पहाडमा भ्रष्टाचार खासै नहुने कुरा सुन्दा खुशी लागेर आयो । त्यही ठाउँमा हुर्की बढेर सामुदायिक विद्यालयको प्रधानअध्यापकको जिम्मेवारी समेत सम्हालेका उनी अहिले सुनसरीको हरिनगरा गाउँपालिकाको शिक्षा शाखा प्रमुखको जिम्मेवारीमा रहेछन् । एकदिनको अनेक अनुभवका साथ लेगुवास्थित दिलिप गौतमको घरमा बिश्राम लिन आइपुग्यौं । नजिकै अरुण खोला सुसाइरहेको लेगुवा बजार । भोजपुर र संखुवासभाको गन्तव्य छुट्टिने बिन्दु बनेर बसेको । खोलाको चिसोको कारण होला शायद निकै चिसो अनुभव भयो । भोलीपल्ट विहान बाहिर हेर्दा तराईको जस्तै हुस्से थियो । लेगुवा बजारमा संखुवासभा जाने बाटोतिर दिलिपको घर । घरैमा ठूलो एग्रोभेट सञ्चालन गरेका रहेछन् । दिलिप गायत्रा र सानी छोरीमात्र लेगुवामा । छोरोलाई मधेशतिरै पठाइसकेका पढाइका लागि । त्यतिमात्र होइन । मोरङमा घरै बनाइसकेका । यो सब सुन्दा लाग्यो उनीहरु व्यवसायका लागि मात्रै लेगुवामा बसेका हुन् । गणेशले अघि बाटो र पाउलीकाबारेमा जानकारी दिने क्रममै भनिसकेका थिए–‘अब हाम्रो पनि एकवर्ष मात्र हो त्यहाँ बस्ने । त्यसपछि त गाउँ नै खाली हुने देखिन्छ ।’ दिनभर खाना खाने अनुकुल मिलेको थिएन् । बुहारी गायत्रीले पकाएको तातो खाना पछि विस्तारामा पल्टिए । यो पल्टाईमा अघि डिल्लीप्रसादकी पत्नी (आमा)ले संग भएको कुराकानी अनि दिनेश र गणेशले भनेका कुरा, अनि ससुराको दुःखमा बसेकी साली भेट्न गएका महेन्द्र दाईको हतारो र यात्राका स्मरणीय क्षण मनमा खेल्दा खेल्दै कतिबेला निदाएछु पत्तै भएन ।