Homeविचारनारी अस्मितासँग मुख्यमन्त्री : कहाँ छ अनेमसंघ ?

नारी अस्मितासँग मुख्यमन्त्री : कहाँ छ अनेमसंघ ?

इन्दु पूर्वेली

‘आमा दिदी बहिनी हो कति बस्छौ दासी भई, सुखको सँधै प्यासी बनेर’ हामी स–साना छँदा यो गीत खुब गुन्जन्थ्यो । महिलाहरुको उल्लेख्य उपस्थिति राजनीति लगायत कुनै पनि क्षेत्रमा नभएका बेला महिला सहभागिता जुटाउन ऊर्जा भर्ने काम गथ्र्यो उक्त गीतले । कम्युनिष्ट पृष्ठभूमि बोकेका राजनीतिक दलले आफ्ना सभा–समारोह र पार्टीका प्रचार–प्रसारमा उक्त गीत धेरै बजाउँथे । त्यसो त २०४६ साल होस् वा २०६२/०६३ को जनआन्दोलनमा होस्, महिला सहभागिता जुटाउन उक्त गीत निकै प्रभावकारी मानियो ।
पितृसत्तात्मक सोच तथा शैक्षिक र अन्य क्षेत्रमा समान अवसर नपाएका महिलाहरुको कमजोर उपस्थिति एकदशकयता सुधारोन्मुख छ । समावेशी सहभागीता गराउने राज्यको नीतिले संवैधानिक निकाय, राजनीति, प्रशासनिक, सामाजिक, शैक्षिक क्षेत्रमा महिला उपस्थिति बढाएको छ । प्रत्येक राजनीतिक दलमा महिलाहरुको सहभागीता बढाउन भगिनी संगठनको रुपमा महिला संंघ गठन गरेर समानान्तर सांगठनिक अभ्यास पनि भइरहेकै छ । यो सकारात्मक पक्ष भए पनि हरेक क्षेत्रमा महिलाहरु सुरक्षित छन् ? –यो प्रश्न बालिका खड्का काण्डले बल्झाएको छ ।
प्रदेश नं–१ को मुख्यमन्त्रीमा शेरधन राई चयन भएदेखि नै बालिका खड्काले ‘राईले आफूमाथि इमोशनल ब्ल्याकमेल गरेर पटक पटक बलात्कार गरेको’ आरोप लगाइरहेकी छन् । मुख्य पदीय दायित्वमा शेरधन नभएकै कारण यो विषय मुख्यमन्त्री हुनुअघि प्रचारमा नआएको हुनसक्छ ।
लगभग एकसाताअघि नेकपा एमालेको पार्टी कार्यालय (जहाँ अरु नेता, कार्यकर्ता, सुरक्षा संयन्त्र लगायत थुप्रै ब्यक्तिहरु छन) मा बालिका खड्का पागलजस्तो बर्बराउँदै बाहिर निस्किन ‘यो बलात्कारी हो, यसलाई पदमा बसिरहन दिन्छु ? यो मेरो पनि पार्टी हो । भविष्यको प्रधानमन्त्री म पनि हो , ….. को कुपुत्रो, यसले मलाई विवाह गर्छु भनेर पटक–पटक बलात्कार गरेको छ । यो बलात्कारी हो बलात्कारी ।’ अन्य थुप्रै सुन्न नै असहज लाग्ने शब्दबर्षा बालिकाले शेरधनप्रति प्रहार गरिन् । उनको यस्तो बर्बराहट सुन्ने वित्तिकै सुरक्षाकर्मीले जबर्जस्त लछार–पछार पार्दै केही परसम्म पु¥याए । र प्रहरी भेनमा चढाए । त्यो दृश्य खिचिरहेका सञ्चारकर्मी, सुरक्षाकर्मी दुवै उनको गाली खान बाध्य भए ।
बलिकाको उक्त आरोप मिडियामार्फत सार्वजनिक हुनेवित्तिकै एउटा मात्रै प्रमाण पेश गरे आफ्ना श्रीमानलाई आपैm कारबाही गर्ने उद्घोष शेरधनकी श्रीमती जाङ्मु शेर्पाले सामाजिक सञ्जालमार्फत गरिन् । आफ्ना श्रीमानप्रति रक्षात्मक तथा कठोर दुवै हुन सक्ने संकेत गर्दै प्रमाण ल्याउन सामाजिक सञ्जालमार्फत नै बालिकालाई चुनौति समेत दिइन् ।
यहाँ मुद्दा बालिका र जाङ्मुबीचको होइन । प्रदेश नं–१ का समग्र जनताको प्रतिनिधित्व गरेर मुख्य पदीय दायित्वमा बसेका शेरधन राई यो विषयमा किन मौन छन् ? बालिकाको एकोहोरो आरोप र शेरधनको मौनताबीचमा केही रहस्य छ भन्ने बुझ्न कठिन छैन । अनि जाङ्मुले खोज्दै गरेको प्रमाण त्यही रहस्यभित्र छ भन्ने अनुमान पनि गलत हुँदैन शायद ।


बालिका र शेरधन दुवै नेकपा एमालेका कार्यकर्ता हुन् । बर्षौदेखि राजनीतिमा हिडेका उनीहरुको सम्बन्धबारे सँगसँगै राजनीति गर्ने नेता कार्यकर्ता अवश्य पनि अनजान छैनन् । तर बालिका वा शेरधन दुवैको पक्ष वा विपक्षमा एकैजना नदेखिई मौन बस्नु पनि आश्चार्यको विषय हो ।
सहनशिलता, कोमलता, माया–ममता, स्नेह महिलाका प्राकृतिक गुण हु्न् । कसैको मायाप्रेममा छिट्टै पग्लनु, अन्धभक्त भएर विश्वास गर्नु, छिट्टै इमोशनमा आउनु र कोमलता प्रदान गर्नु धेरै महिलाका कमजोरी पनि हुन् शायद । सँधै सँगसँगै हिडेर सहकार्य अर्थात एउटै काम गर्ने मानिसलाई छिट्टै विश्वास गरेको परिणाम धेरै महिलाहरु जीवनभर पछुताउनु परिरहेको हुन्छ । फेरि हाम्रो सामाजिक संरचना, सोच र ब्यवहार पनि समान गल्ती गर्ने महिला र पुरुषमध्ये महिलालाई होच्याउने प्रवृत्तिको छ । महिलालाई सामाजिक बहिष्कारमा पारेर पुरुषलाई सहज वातावरण बनाइदिने पितृसतात्मक सोच महिला र पुरुष दुवैमा छ ।
साँच्चै हिजो सम्झना वि.कको बलात्कारपछि हत्या हुँदै गर्दा पटक–पटक गल्ती गर्ने पुरुषलाई माफी दिएर समाजले नै आपराधिकरणमा प्रोत्साहन गरेको तथ्य बाहिरियो । खोज्दै जाँदा यस्ता अनेकौ घटनाहरु भेटिन्छन्–बलात्कार प्रयासका घटनालाई सामान्य ठानेर आर्थिक प्रलोभन, लेनदेन आदिको आश्वासनमा समाजका गन्यमान्य ब्यक्तिहरुले नै दिएको माफीका कारण पुरुषमा आपराधिक मनोवृत्ति बढ्दै जान्छ, परिणाम– समाजमा थुप्रै महिला र बालबालिकाहरु बलात्कृत भएका छन्, निर्ममतापूर्वक घाँटी निमोठिएका छन् र कुनै एकान्तस्थलमा विभत्स शवहरु फालिएका छन् । कतिपय महिला तथा बालबालिकाले त समाजले आफ्नो कुरा नसुनिदिएकै कारण मृत्युको बाटो रोजेका घटना पनि नपाइएका होइनन् ।
एउटा राजनीति गर्ने ब्यक्ति, जसले आफ्नो सकारात्मक बैयक्तिक छवि, विकासप्रेम, जनगुनासाको सम्बोधन गर्ने सामथ्र्य देखाएमात्रै अघिल्लो सिंढी चढ्न सफल हुन्छ, अन्यथा असफलता हात लाग्छ । यसर्थ जाङमुसँगको विबाहअघि नै बालिकासँगको सम्बन्धलाई शेरधन राईले सुरक्षित अवतरण गरिसक्नु पथ्र्यो । उनले नसकेको अवस्थामा प्रगतिशिल मानिएको एउटा पार्टी र त्यही पार्टीका दुई खम्बाका रुपमा रहेका शेरधन र बालिकाबीचको वास्तविकतालाई बाहिर ल्याएर दोषी भए कारबाही र निर्दोष भए सफाइ दिने कुरामा एमाले आफैले पहल गर्नुपथ्र्यो । तर बालिकाको आवाज अहिले ‘अरण्य रोदन’ सरह भएको छ । साँच्चै यसबेला प्रश्न उठेको छ–हिजो आमा दिदी बहिनी हो ……….प्यासी बनेर’ भन्दै गाउँगाउँका महिलाहरुलाई राजनीतिमा लाग्न उत्प्रेरित गर्ने महिला नेतृहरु कहाँ छन् ? बालिकाले भोग्नुपरेको शारीरिक र मानसिक पीडामा मल्हम लगाउन अर्थात उनको आरोपको अनुसन्धान तथा सहजीकरण गर्न महिलावादी संघसंस्थाहरु किन हिच्किचाइरहेका छन् ? अरुबेला खुलेर महिला अधिकारका विषयमा बहस गर्ने अनेमसंघ यतिबेला कहाँ र कुन अस्तित्वमा छ ? सँगै प्रश्न उठेको छ –बलात्कार अभियोग लागेको ब्यक्ति मुख्य पदमा रहिरहने कानुनी प्रावधान छ ?
साँच्चै शेरधन दोषी छैनन् र बालिकाले एकोहोरो आरोप मात्रै लगाएकी हुन् भने उनको चरित्रहत्या गर्ने अधिकार बालिकालाई छैन । सार्वजनिक पद धारण गरेको र समग्र जनताको नेतृत्व संहालेर बसेको ब्यक्तिमाथिको यो आरोप सही हो वा गलत ? त्यो आम जनचासोको विषय हो । तसर्थ यस विषयको अनुसन्धान गरेर तटस्थ निर्णय दिनु अहिलेको प्रमुख दायित्व हो । साँच्चै शेरधन दोषी छन् भने उनलाई कारबाहीको दायरामा उभ्याउनुपर्छ, होइन बालिकाले उनको चरित्रहत्या गरिरहेकी छन् भने उनलाई पनि कारबाहीको दायरामा उभ्याउनु अहिलेको आवश्यकता हो । दोषी कठघरामा नउभ्भिएसम्म ‘काग कराउँदै गर्छ पिना सुक्दै गर्छ’ भन्ने उखानजस्तै सहज रुपमा यस विषयलाई हेरिनुहुँदैन । यसले आम राजनीतिकर्मीको शिर निहुराउने छ ।

spot_img
spot_img

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

spot_img
spot_img
spot_img
विचारनारी अस्मितासँग मुख्यमन्त्री : कहाँ छ अनेमसंघ ?
spot_img

Most Popular

Recent Comments