Home समाचार रुद्र गौरी श्री अम्बिका ओली प्रतिष्ठानद्वारा पुरस्कृत प्रतिभा सार्वजनिक

रुद्र गौरी श्री अम्बिका ओली प्रतिष्ठानद्वारा पुरस्कृत प्रतिभा सार्वजनिक

बिर्तामोड । विभिन्न क्षेत्रका व्यक्ति तथा संस्थाको प्रोत्साहनका लागि पुरस्कार वितरण गर्दै आएको रुद्र गौरी श्री अम्बिका ओली प्रतिष्ठान झापाले सन् २०१९ र २०२० का लागि पुरस्कृत प्रतिभा सार्वजनिक गरेको छ ।
झापाको बिर्तामोडमा शनिवार आयोजित पत्रकार भेटघाट कार्यक्रममा कृषि, साहित्य, पत्रकारिता, सामाजिक सेवा र खेल क्षेत्रका उत्कृष्ठ पुरस्कृत प्रतिभा सार्वजनिक गरिएको हो ।
कोरोना भाइरस संक्रमणका कारण स्थगित रहेको सन् २०१९ बाट रुद्रप्रसाद ओली स्मृति राष्ट्रिय कृषि पुरस्कारबाट गोर्खा पालुङटार–७ का राजेन्द्रराज पन्तलाई सम्मान गरिने छ । कृषिको आधुनिकीकरण, व्यवसायिकरण र गाईपालन मार्फत मुलुकलाई आत्मनिर्भर बनाउन योगदान पुर्याएको भन्दै पन्तलाई पुरस्कृत गर्न लागिएको हो । यसै गरी सन् २०२० को कृषि पुरस्कारबाट कफी खेतीको विकास र प्रवद्र्धनमा महत्वपूर्ण योगदान गर्ने पाल्पा मदनपोखरा–७ का ढकेश्वर घिमिरे र काठमाडौं–३१ का प्रचण्डमान श्रेष्ठलाई संयुक्त रुपमा पुरस्कृत गरिने प्रतिष्ठानका अध्यक्ष गंगाप्रसाद ओलीले जानकारी दिनुभयो ।
त्यस्तै असहाय उत्पीडित एवम् असक्त महिला पुरुष र बालबालिकाको सेवामा समर्पित दोलखा तामाकोशी–२ की सृजना कार्कीलाई गौरादेवी ओली स्मृति राष्ट्रिय आदर्श आमा पुरस्कार २०१९ बाट पुरस्कृत गरिने जनाइएको छ । यसैगरी सन् २०२० को सोही पुरस्कारबाट कारागारमा आश्रित तथा सहारा विहीन बालबालिकाको समुन्नतिका लागि कार्यरत झापा अर्जुनधारा–११ की इन्दिरा रानालाई पुरस्कृत गरिने अध्यक्ष ओलीले बताउनु भयो ।
यसैगरी नेपाली भाषा र साहित्य क्षेत्रमा निरन्तर साधनारत झापा भद्रपुर–१० का चुडामणि रेग्मीलाई अम्बिकादेवी ओली स्मृति राष्ट्रिय साहित्य पुरस्कार २०१९ बाट पुरस्कृत गरिने छ भने लामो समयदेखि नेपाली पत्रकारिता क्षेत्रमा सेवारत दाङ घोराहीका दधिराम सुवेदीलाई २०२० को पुरस्कार प्रदान गरिने छ । सबै पुरस्कारको राशी एकलाख एकहजार एकसय ११ रुपैयाँ र सम्मान पत्र रहेको जनाइएको छ ।
त्यसैगरी सन् २०१९ को देवी ओली स्मृति राष्ट्रिय बाल पुरस्कारबाट झापा शिवसताक्षी–५ मंगलबारेका प्रितम आचार्यलाई पुरस्कृत गरिने उक्त पुरस्कार सन् २०२० भने रक्षा किशोरी समूह बुढिगंगा–२ मोरङलाई प्रदान गरिने भएको छ । रक्षा किशोरी समूहले गाउँपालिकामा बाल बिवाह विरुद्धको अभियान सञ्चालन गर्नुका साथै किशोरीहरुलाई विद्यालय भर्ना र निरन्तरताका लागि अभियान सञ्चालन गर्दै आएको छ । पुरस्कारको राशी ५१ हजार एकसय ११ रुपैयाँ रहेको छ ।
उल्लेखित पुरस्कारहरु प्रतिष्ठानले विगत सातवर्षदेखि वितरण गर्दै आएको छ । यो पटक आठौं पटकको पुरस्कार बैशाख १४ गते वितरण गर्ने बताइएको छ ।
त्यसैगरी संस्थाले प्रोत्साहन स्वरुप झापा गाउँपालिका–२ की देविका खड्कालाई नगद २५ हजार रुपैयाँर सम्मान पत्रले सम्मान गर्ने भएको छ । खड्काले तेह्रौं साग खेलकुद प्रतियोगितामा जुडो खेलामा स्वर्ण पदक हात पार्दै राष्ट्रको गौरब बढाएको भन्दै प्रोत्साहन स्वरुप पुरस्कार प्रदान गर्न लागिएको अध्यक्ष ओलीले बताउनु भयो ।
प्रतिष्ठानले आगामी वर्ष वितरण गर्ने गरिने ५ लाख राशीको श्री प्रसाद ओली प्रज्ञान पुरस्कार थपेको छ । नेपालको गरिमा बढाउन योगदान पुर्याउने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यक्ति वा संघ संस्था मध्येबाट उत्कृष्ट छनौट गरी प्रत्येक दुई÷दुई वर्षमा उक्त पुरस्कार वितरण गरिने अध्यक्ष ओलीले जानकारी दिनुभयो ।
त्यसैगरी २०७६ सालमा क्यान्सर रोगबाट दिवंगत भएका बद्री ओलीको स्मृतिमा क्यान्सर वा अन्य त्यस्तै जटिल प्रकृतिका रोग निवारणको खोजीमा लागेका व्यक्ति वा संस्थालाई वितरण गर्ने गरी ५ लाख रुपैयाको पुरस्कार वितरण गर्ने घोषणा गरेको छ ।
त्यस्तै प्रतिष्ठानले लेखनाथ पुस्तकालयमा नगद राशी उपलब्ध गराउँदै आएको श्रीप्रसाद ओली साहित्यिक पुरस्कार २०७७ बाट साहित्यकार कोमलप्रसाद पोखरेल पुरस्कृत भइसक्नु भएको छ ।
प्रतिष्ठानका अध्यक्ष गंगाप्रसाद ओलीको अध्यक्षतामा सम्पन्न पत्रकार सम्मेलनमा स्वागत यज्ञप्रसाद ओलीले गर्नुभएको थियो भने सञ्चालन नारायण न्यौपानेले गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार रुद्र गौरी श्री अम्बिका ओली प्रतिष्ठानद्वारा पुरस्कृत प्रतिभा सार्वजनिक

Most Popular

Recent Comments