Home महिला घर बाहिरको संसार बनले देखायो

घर बाहिरको संसार बनले देखायो

संगिता थापा

सानैदेखि वन जंगलको नजिकै हुर्किन पाएर मात्रै होइन, घर छेउकै वन भित्र लुकामारी खेल्दै बाल्यकाल बिताएका कारण पनि मेरा लागि वन जंगल कहिल्यै नयाँ भएन । तर जब वन भित्रका विषयमा भेला, छलफल हुन्थे त्यो भने बिल्कुलै नयाँ थियो । शायद म हुर्किदै गरेको समाजको संरचना नै त्यस्तै भएर होला यस्ता सामाजिक अभियानहरुमा छोरी मान्छेलाई खासै सोधी खोजी पनि गरिदैंन थ्यो ।
बढ्दो उमेरसंगै मलाई आफैंसंगका अन्य साथी भन्दा अलि बढी नै जिज्ञासु बनाएछ क्यार । अहिले सम्झँदा त्यस्तो लाग्छ । बिवाहपछि मेरो माइती र बैबाहिक घर नजिकै भएकाले विवाह पछि पनि मैले पुरानै वातावरणमा रमाउन पाएँ । वन जंगल घाँस दाउराबाट पर जानु परेन । मेरो श्रीमान पनि स्थानीय मागुरमाडी सामुदायिक वन समूह बिट नं. १ मा क्रियाशिल हुनुहुन्थ्यो । त्यसैले गर्दा होला मलाई वन समूहमा भए गरेका गतिविधिबारे जानकारी हुन्थ्यो तर त्यसमा प्रत्यक्ष सहभागि गराइन्थेन ।
वन समितिका पत्रहरु घरमा आउँथे तर श्रीमानको नाममा आउने भएकाले त्यसमा मेरो सहभागिता थिएन । जसको नाममा पत्र आउँछ उही जानुपर्छ भन्ने थियो त्यसैले पनि वन समूहका गतिविधि मेरा लागि किनारामा उभिएर चिहाउने बाहेक केही थिएन ।
२०५२ सालमा स्थापना भएको हाम्रो मागुरमाडी सामुदायिक वन उपभोक्ता समूह बिट नं.– १ मा साधारणसभा हुन्थ्यो घरमा पत्र आउथ्यो फेरिपनि उही जसको नाममा पत्र आउछ उसैले जानुपर्छ अरुले जानु हुदैन भन्ने लाग्थ्यो । छिटो–छिटो खाना दिएर आफ्नो घरको पुरुष सदस्यलाई पठाउने काम हुन्थ्यो भेला सकेर घर आएपछि के भयो भेलामा भनेर सोध्यो भने खासै जवाफ आउँदैन थियो ।

सामुदायिक वन उपभोक्ता महासंघ नेपालले २०६० फाल्गुन ३ गते देखि २०६० चैत्र १० गते सम्म प्याक्टिकल सहित ४५ दिन सामुदायिक वन उपभोक्ता समूहका महिला सदस्यहरु सहभागि हुने तालिममा हाम्रो क्षेत्रबाट प्रतिनिधि पठाउनु पर्ने भएछ । त्यो बेला शायद अलि बढी चासो राख्ने र सहभागिका लागि मागेको योग्यता पनि भएर होला उक्त तालिममा मलाई पठाउने निर्णय भएछ ।
पछि थाहा पाउँदा झापा जिल्लाको कन्काई नगरपालिकाको प्रजापति सा.व मा आयोजना भएको उक्त कार्यक्रम ‘सामुदायिक वन प्रक्रियागत गठन एवं विधान र वन कार्ययोजना निर्माण तथा परिमार्जनका लागी समूह गठन सहजीकरण सिप विकास तालिम’ रहेछ । उक्त तालिममा देश भरिका ६० जना भन्दा बढी सहभागि रहेका थिए । उक्त कार्यक्रममा झापाबाट सहभागि हुने सन्दर्भमा तत्कालिन मागुरमाडी रेपो महासंघबाट एसएलसी पास गरेको महिला पठाउने भाग परेको रहेछ र मलाई मागुरमाडी रेपो महासंघले तालिममा पठाउने निर्णय गरेछ । तत्कालिन रेपो महासंघको अध्यक्ष छविलाल गौतम मेरो घरमा आएर तालिममा जानुपर्छ तिमी सक्छौ हामीले निर्णय गर्यौं भन्नुभयो । त्यो वेला सानो काखको नानी अर्को कुरा आजसम्म घर छोडेर काँही पनि नगएको अवस्था जाने कि नजाने भन्ने विषयमा घरमा राम्रै चर्चा भयो । अन्ततः जाने निष्कर्षमा पुग्यो । मेरो घरबाट लगभग ३० कि.मी दुरीमा रहेको दुर्गापुर भन्ने ठाउँमा म एक्लै जान सकिन र हाम्रो सामुदायिक वनको कोषाध्यक्ष दिदी गंगा संग्रौलाले मलाइ पुरयाइदिनु भयो र भन्नुभयो–‘अब तिमी यहि बस्नु राम्ररी तालिम लिएर घर आउनु है ’ भन्दै फर्किनु भयो । त्यो बेलाको याद आउछ । मेरो गहभरि आँसु भयो कसरी त्यहाँ बस्ने होला ? कोहि चिनेको छैन, ४५ दिन कसरी बिताउने होला ? एकदिन विताउन मलाई धेरै मुस्किल भएको थियो । विस्तारै साथीहरुसंगको चिनजान र घुलमिलले ४५ दिन बितेको थाहै भएन । उक्त ४५ दिनको सहजिकरण गर्नु हुने आदरणीय गुरुहरु गणेश कार्की, नवराज दाहाल, विना श्रेष्ठ , सोम शर्मा जसले वन अभियानको र सामुदायिक वनको बारेमा जानकारी गराउनु भएको थियो त्यो तालिम वनको सिकाई मात्र बनेन मेरो लागी–‘घर बाहिरको संसार देखाउने र मेरो व्यक्तिगत क्षमताको विकास गराउदै सामुदायिक वनमा नेतृत्व गर्ने वातावरण समेत बनायो ।
तालिम पश्चात सा.व.मा मेरो सिकाईलाई आधार मान्दै मलाई अगुवाई गर्दै थुप्रै राम्रा कामहरु शुरुवात गर्न थाल्नु भयो । झापा, सुनसरी र मोरङ्गमा आफनो सिकाईलाई बाँड्न पुगे । सिक्ने सिकाउने क्रमलाई मैले आफुलाई कहिले रोकिन । सामुदायिक वन महासंघ नेपालको नै आयोजनामा २०६२ सालको मंसिर ३० देखि पौष ९ गते सम्म भक्तपुर जिल्लामा प्रशिक्षक प्रशिक्षण (TOT) तालिमले अझ ममा निखारता ल्यायो । तालिम चलाउने सिपको विकाससंगै काममा उर्जा मिल्न थाल्यो । वनमा सहजिकरण गर्ने मात्र नभई सा.व को प्रचार प्रसारको लागी झापाबाट प्रकासित विभिन्न पत्र पत्रिकामा लेख रचना प्रकाशन गर्न थालें । वनमा महिला सहभागिको आवश्यकता थियो तर वनमा महिलालाई नेतृत्व दिन चाहँदैन थिए । त्यसैलाई मध्ये नजर गरेर महिला सहभागिताको कुरा र सामुदायिक वनको महत्वलाई उजागर गर्ने उद्देश्यले झापाबाट प्रकाशित हुने दैनिक पत्रिकामा सामुदायिक वन र महिला सहभागिता भन्ने शिर्षक, वनमा महिला सहभागिता, संविधानसभामा महिला सहभागिता, नयाँ नेपाल र महिला अधिकारका कुरा, सामुदायिक वनका चुनौतिहरु, सरकार तस्करको बुइँमा झुपडीका वन उपभोक्ता मारमा, जलवायु परिवर्तनको बहस र वनको योगदान, सामुदायिक वनमा सवैको नजर जस्ता दर्जनौ लेख प्रकाशन भए । जुन लेखहरु अहिले पनि मसंग सुरक्षित छन । जसबाट सा.वको सवालको बारेमा केहि हदसम्म जानकारी गराउन सफल भए, निरन्तरता जारी छ ।


सामुदायिक वनको अभियानमा लामो समय सहजकर्ताको रुपमा झापाको सवै सा.वमा काम गर्ने अवसर पाउनुका साथै सामुदायिक वनको सुशासन, सा.व.को रणनीतिक योजना बनाउने क्रममा नेपालको थुप्रै जिल्लामा सहजीकरण गर्ने मौका मिल्यो । २०६५ असोज ६ मा झापा जिल्लाको चौथो जिल्ला महाधिवेशनबाट सर्व सम्मत जिल्ला उपाध्यक्षमा निर्वाचित भइ काम गर्ने अवसर पाए सा.व अभियानमा लामो समय काम गरे पछि २०६८ पौष १५ गते काठमाडांैमा सामुदायिक वन सहजकर्ता व्यवसाय तह २ को सीप परिक्षणमा भाग लिई (CTVT) वाट उत्र्तिण भए । २०६९ सालको पाँचौ जिल्ला अधिवेशनवाट उपाध्यक्षमा नै पुनःनिर्वाचित भए । सोहि अनुरुप काम गर्ने क्रममा सा.व उपभोक्ता महासंघ ,नेपालको पाचौं राष्ट्रिय महाधिवेशन (२०७१ जेष्ठ २२) र पुन: छैटौ राष्ट्रिय महाधिवेशन (२०७५ असोज) मा सम्पन्न महाधिवेशनबाट पुन राष्ट्रिय कार्यसमिति सदस्यमा निर्वाचित भई जिम्मेवारी अनुसारको भूमिका निर्वाह गरिरहेको छु । सामुदायिक वन अभियानको अभियान्ताको यात्रा चलिरहेकै छ ।
पछिल्ला केही बर्ष मैले सामुदायिक मेलमिलापको क्षेत्रमा काम गर्ने मौका पाएको छु । यसले मेरो परिचय अझ फराकिलो भएको महशुस भएको छ । यसको श्रेय पनि सामुदायिक वन महासंघलाई नै जान्छ । सामुदायिक वन महासंघमा बसेर मैले गरेको काम देखेर नै प्राकृतिक स्रोत द्वन्द रुपान्तरण केन्द्र नेपाल नामक संस्था जसमा पनि सामुदायिक वन अभियानकै ब्यक्तित्वहरुकै नेतृत्व रहेको छ । उक्त संस्थासंग आबद्ध भई जल,जमिन र जंगलसंग जोडिएका बषौं पुराना बिवादलाई सकरात्मक रुपान्तरण गरी दीगो समाधान दिने प्रयासमा क्रियाशील छु ।
आजसम्म मैले आफुलाई जति परिवर्तन गर्न सकें त्यसको सबै श्रेय सामुदायिक वन अभियान नै हो । यदि म सामुदायिक वन समुहमा आबद्ध नभएको भए मलाई आएको पहिलो तालिमको अवसरमा मैले आफुलाई तयार नगरेको थियो भने म आज सायद घरधन्दा भन्दा बाहिर आउन सक्ने थिइन होला । आजभन्दा १७ वर्ष अघि घरबाट ४० किलोमिटरको दुरीमा जान साथी चाहिने म अहिले देशमात्र होइन बैदेशिक अवसर आए पनि एक्लै जान सक्ने अवस्था भएको छु । हाल आधा दर्जन भन्दा बढि संघ–सस्थाको अध्यक्ष पदमा रहि काम गरिरहेको छु भने पारिवारिक रुपमा पनि मलाई काम गर्ने राम्रो वातावरण बन्दै गएको छ ।
पहिलो पटक घर बाहिर निस्कने अवस्थामा राम्रै छलफल चलेको मेरो घरमा अहिले म दैनिक कहाँ र कतिवटा कार्यक्रममा सहभागि हुन्छु भन्ने हेक्कासम्म राखिदैंन । यसरी हेर्दा मेरो कामप्रति मेरो परिवारको पूर्ण बिश्वास र साथ छ ।
सामाजिक अभियानमा संलग्न पारिवारको दर्बिलो साथ आवश्यक छ । जुन मैले पाएको छु । मेरो यो अभियानमा श्रीमान गोबिन्द थापा साथै दुई सन्तान सोनिया र रोनिकको उत्तिकै साथ छ । श्रीमान र सन्तानले आफू बाहिर हिड्दा घर सम्हाल्नुका साथै भने रात बिरात हिड्दा होस वा कतै जाँदा साथ दिएका छन ।
अहिले स्थानिय तहदेखि संघीय नेतृत्वमा धेरै महिला वा पुरुषहरु वन अभियानबाट नेतृत्व गरेका ब्यक्तिहरु पुगेका छन् । सामुदायिक वनले महिला नेतृत्व विकासको लागी ठुलो योगदान गरेको छ । लैंगिक समानता, लोकतान्त्रिक, समावेशी र संघीयताको अभ्यास सामुदायिक वनले विगत लामो समयदेखि गरेको हुनाले सामुदायिक वन यसको लागी रोल मोडल बनेको छ । मेरो सामाजिक अभियानको खुडकिलो आधारशिला सामुदायिक वन नै भन्दा मलाई गर्व महशुस हुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

महिला घर बाहिरको संसार बनले देखायो

Most Popular

Recent Comments