Home शिक्षा झापाका बालबिकास केन्द्रमा सञ्चालन हुने (इसीडी) परियोजनाबारे छलफल

झापाका बालबिकास केन्द्रमा सञ्चालन हुने (इसीडी) परियोजनाबारे छलफल

विर्तामोड । झापाका १५० बालविकास केन्द्रमा नेपालको प्रारम्भिक बालविकास अध्ययन परियोजना (इसीडी) सञ्चालन गरिने भएको छ ।
वल्ड बैक ग्रुपको सहयोगमा, बालबालिकाका क्षेत्रमा काम गर्दै आएको सेता गुराँस राष्ट्रिय बाल विकास सेवामार्फत सञ्चालन हुने परियोजनाबारे विर्तामोडमा आयोजित एक कार्यक्रमका बीच छलफल भएको छ ।
सेता गुराँस राष्ट्रिय बाल विकास सेवाको आयोजना, जिल्ला समन्वय समिति झापाको सहकार्य, सेता गुराँस बाल विकास सेवा झापाको सहकार्यमा विर्तामोडमा आयोजित एक कार्यक्रमका बीच परियोजना सञ्चालन, उद्देश्य र क्रियाकलापबारे छलफल भएको हो ।
जिल्ला समन्वय समितिका प्रमुख सोम पोर्तेलको प्रमुख आतिथ्यता र सेतो गुराँस बाल विकास सेवा झापाका अध्यक्ष कृष्णमाया रिजालको अध्यक्षमा आयोजित छलफलमा झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिना, विर्तामोड नगरपालिकाका, भद्रपुर नगरपालिकासहित विभिन्न नगरपालिका तथा गाउँपालिकाका प्रमुख उपप्रमुख, शिक्षा इकाई झापाका प्रमुख र स्थानीय तहका शिक्षा शाखाका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
कार्यक्रमबारे जानकारी दिंदै सेता गुराँस राष्ट्रिय बाल विकास सेवाका प्रकाश रेग्मीले वल्ड बैक ग्रुपको सहयोग र सरकारको समन्वयमा सेतो गुराँस राष्ट्रिय बाल विकास सेवामार्फत झापाका १५ वटै स्थानीय तहका १५० बालविकास केन्द्रमा परियोजना लागु हुने बताउनु भयो ।
सो अवसरमा एकीकृत प्रारम्भिक बालविकासका लागि संवैधानिक अधिकारको महत्व र नीतिगत व्यवस्थाबारे सेतो गुराँसका शशी विसी र प्रारम्भिक बालविकास स्रोत व्यक्ति भीमा राईले परियोजनाको परिचय, उद्देश्य, औचित्य, लक्षित वर्ग, अपेक्षित उपलब्धि र लक्षित क्षेत्र तथा कार्यक्रमबारे प्रकाश पार्नु भएको थियो भने प्रमुख अतिथि पोर्तेलले प्रारम्भिक बालबिकासका लागि अनुसन्धानात्मक परियोजनामा झापाको प्रतिवद्धतासहितको मन्तव्य राख्नु भएको थियो ।
सो अवसरमा विर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटी, भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठ, बाह्रदशी गाउँपालिकाका प्रमुख खड्ग राजवंशी, जिल्ला शिक्षा इकाईका प्रमुख राजकुमार विश्वकर्मा लगायतले प्रतिवद्धतासहितको शुभकामना मन्तव्य राख्नु भएको थियो ।
परियोजनामार्फत प्रारम्भिक बालविकासको बाल्यावस्था, सर्वाङ्गिण बालविकासका चरण, आमा, घरपरिवार, समाज र राज्यको दायित्व, बालबालिकाको मस्तिष्क विकास शुरु हुने समय, स्वास्थ्य, उत्तरदायित्वपूर्ण स्याहार, सुरक्षित संरक्षणबारे प्रारम्भिक सिकाई, बालबालिकाको मानसिकतामा विकास हुने उमेर नेपालमा बालबालिकाका लागि गरिदै आएको लगानी लगायतका विषयमा कार्यक्रमले फोकस गर्ने बताइएको छ ।
परियोजनाको ८ महिने अवधीमा जिल्लाभर सञ्चालित ७०५ वटा बालबिकास केन्द्र मध्ये १५० वटा बालबिकास केन्द्रका केन्द्र शिक्षकदेखि बालबालिका, तिनीहरुका अभिभावक तथा अन्य सरोकारवालाहरुसंग समेत प्रशिक्षणसहितको समन्वय गर्ने बताइएको छ ।
स्थानीय स्रोत साधनलाई सैद्धान्तिक र व्यवहारिक प्रयोग गरेर अध्ययन अनुसन्धान गरिने कार्यक्रममा आधुनिक प्रविधिको प्रयोग र मन्टेश्वरी सिकाई भने प्रयोग नहुने सहजकर्ता राईले जानकारी दिनुभयो ।
माधवी सिंहले स्वागत गरेको कार्यक्रमको सञ्चालन कौशिला खरेलले गर्नुभएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

शिक्षा झापाका बालबिकास केन्द्रमा सञ्चालन हुने (इसीडी) परियोजनाबारे छलफल

Most Popular

Recent Comments