Home बिबिध ‘विर्तामोड उद्योग वाणिज्य संघ निर्वाचन: हामीसँग मिसन छ भिजन छ’–'भटराई'

‘विर्तामोड उद्योग वाणिज्य संघ निर्वाचन: हामीसँग मिसन छ भिजन छ’–’भटराई’

पाँचथरका उद्योगी व्यवसायीहरुको छाता संगठन पाँचथर उद्योग वाणिज्य संघको दुईपटक सम्म नेतृत्व गर्दै हाल हार्डवेयर व्यवसायी संघ झापाको महासचिवको जिम्मेवारीमा रहेका रविन्द्र भट्टराईले फागुन १६ गते सम्पन्न हुन लागिरहेको विर्तामोड उद्योग वाणिज्य संघमा महासचिव पदका लागि मनोनयन दर्ता गरेर चुनावी मैदानमा उत्रिएका छन्। उद्योग व्यवसाय र व्यापार क्षेत्रमा देखिएका समस्या समाधान, व्यवसायिक हकहित र प्रवद्र्धनका पक्षमा आफू सदा लडिरहेको बताउने भट्टराईसंग निर्वाचनका बारेमा गरिएको कुराकानीको संक्षिप्त सार ।
प्रतिष्पर्धा कत्तिको कठिन देख्नुहुन्छ ?
चुनावलाई कम आक्नु त हुँदैन । तर खासै कठिन पनि लागेको छैन ।
कटिलो नहुनुको कारण के ?
संघसंस्थाको निर्वाचनमा होमिदैगर्दा मतदाताले विगतको कार्य अनुभवलाई पनि हेर्छन् र मूल्याङ्कन गर्छन् । म २०५१ सालदेखि ब्यवसायमा प्रवेश गरेको हु । पाँचथरमा रहँदा विभिन्न संघसंस्थामा आबद्ध भई पदीय जिम्मेवारी सफलतापूर्वक संहालेको छु । २०५६ मा नेपाल निर्माण ब्यवसायी संघ पाँचथरको सहसचिव, २०५८ मा महासचिव हुँदै २०५९ देखि २०६५ सालसम्म उद्योग बाणिज्य संघ पाँचथरको महासचिवको जिम्मेवारी संहालीसकेको छु । २०६७ सालमा पाँचथरबाट झापा आएपश्चात २०७० सालबाट उद्योग बाणिज्य संघ विर्तामोडको सदस्य हुँदै अहिले उद्योग सचिवको जिम्मेवारीमा छु । हार्डवेयर ब्यवसायी संघको महासचिवको पनि जिम्मेवारीमा रहँदा मैले सबै ब्यापारी-ब्यवसायीको दुःख कष्ट, सारो, गारो, अफ्ठ्यारो र सजिलो पनि बुझेको छु । उहाँहरुको भावना अनुसार काम गरेको छु । मेरो कार्यअनुभव, क्रियाशिलता र सामाजिक कामको पनि ब्यापारी-ब्यवसायीले सम्मान गर्नुहुन्छ भन्ने विश्वास छ । हाम्रो लोकतान्त्रिक ब्यावसायिक प्यानलका सबै उम्मेद्वारहरु सामाजिक गतिविधिदेखि लिएर उद्योग बाणिज्य संघका गतिविधिमा सक्रिय छौं तसर्थ पनि निर्वाचनको परिणाम हाम्रो पक्षमा आउँछ भन्ने विश्वास छ ।
निर्वाचनको तयारी कसरी भइरहेको छ ?
हामी निर्वाचन परिचालन समितिको योजना अनुरुप नै चुनावी प्रचार–प्रसार गरिरहेका छौं । उद्योगी-ब्यवसायीहरुसँग भेटघाट गर्ने र भोट माग्ने क्रम जारी छ ।
तपाइहरुलाई भोट किन दिने ?
उद्योग बाणिज्य संघ विर्तामोडको इतिहास हेर्ने हो भने २०३८ सालमा स्थापना भएको हो । यस संघको स्थापना, विकास र समृद्धिका लागि हाम्रा अग्रज उद्योगी-ब्यवसायीहरुले पहल गर्नुभयो, म पनि विगत ७ बर्षयता यस संघमा आबद्ध रहेर काम गरिरहेको छु । ब्यावसायिक हित र अधिकारका लागि लडिरहेका छौं, विर्तामोड उद्योग बाणिज्य संघले ब्यावसायिक हितसँगै सामाजिक काममा सक्रिय छौं । अतिथि सदनको निर्माण, बाणिज्य संघको सचिवालय निर्माण, सचिवालयलाई सूचना-प्रविधिमैत्री बनाउनुका साथै भूकम्प, बाढी-पहिरो पीडितलाई राहत लगायतका थुप्रै कामहरु गरेका छौं । ब्यवसायीका हितमा निरन्तर काम गरेका छौं, ब्यवसायीको हित विपरित राज्यले लिएका नीतिको विरुद्ध निरन्तर आवाज उठाउँदै आएका छौं, उठाइरहनेछौं । तसर्थ पनि ब्यवसायीहरुले विश्वास गर्नुहुन्छ भन्ने विश्वास छ ।
ब्यवसायीको ब्यावसायिक प्रवद्र्धनमा प्रविधिको प्रयोग गर्ने के योजना छ ?
हामी निर्वाचित भएपछि एक कार्यकालमा के गर्ने ? भनेर कार्ययोजना नै निर्माण गरेका छौं । कार्ययोजना अनुकुल प्रतिबद्धता पत्रमा पनि धेरै कुराहरु आएका छन् । विर्तामोड उद्योग बाणिज्य संघको सचिवालयलाई ब्यावसायिक सूचना केन्द्रका रुपमा स्थापित गर्ने, स्मार्ट कार्ड वितरण गर्ने, ब्यावसायिक विवरण डिजिटल प्रविधिमा राख्ने, उद्योग ब्यवसायको प्रवद्र्धनका लागि राष्ट्रिय-अन्तर्राष्ट्रिय महोत्सव गर्ने, स्थायी महोत्सव स्थल निर्माण गर्ने, प्यान, भ्याट, खाद्य प्रविधि लगायतका समस्या समाधानका लागि विषयविज्ञ प्रशिक्षकबाट तालिम, प्रशिक्षणको ब्यवस्था गर्ने, बस्तुगत ब्यावसायिक समस्या समाधानका लागि पहल गर्ने, उद्योग बाणिज्य संघका उपल्ला निकाय, स्थानीय/प्रदेश/संघीय सरकारसमेतको सहकार्यमा विर्तामोडलाई देशकै नमूना ब्यवसायिक क्षेत्र बनाउने योजना छ । साथै रात्रीकालीन बजार, होटल–ब्यवसाय सञ्चालन, महिलाहरुलाई उद्यमशीलतातर्फ आकर्षित गर्न विशेष योजना, उद्योगी ब्यवसायीको हितका लागि स्थापना गरिएको राहतकोषको पूँजी बृद्धि लगायतका २९ बुँदे योजना अगाडि सारेका छौं । जो हाम्रो प्यानलको प्रतिबद्धतामा पनि धेरै कुराहरु समेटिएका छन् ।
प्रतिबद्धता पूरा गर्ने आधार चाहिं के छ ?
हामीसँग पर्याप्त आधार छन् । उद्योग बाणिज्य संघको कुनै न कुनै भूमिकामा रहेर उत्तरदायित्व बहन गरिसकेका परिपक्व साथीहरु टीममा हुनुहुन्छ । रहरले आउनेभन्दा अनुभवले खारिएर आएकाहरुको कार्यशैली त्यसैपनि दर्विलो हुने नै छ । हाम्रो प्यानल विजयी भएपश्चात हामी मासिक रुपमा के–के गर्ने भनेर एक कार्यकालभरिका योजनालाई प्रत्येक महिना गर्न सकिने योजनाबारे छलफल गर्छौ, कार्ययोजना बनाउँछौं, मासिक रुपमै कार्यसमीक्षा गर्छौं र योजनाबद्ध तरिकाले अघि बढ्छौं । कोरोनाले प्रभावित भएका ब्यापारी-ब्यवसायीको हित, लघु र मझौला र ठूला उद्योग स्थापना, ब्यापारी-ब्यवसायीको सर्वाङ्गिण हितका लागि हामीसँग मिसन, भिजन र कार्यक्षमता छ । पूर्वी पहाडमा उत्पादित नगदे तथा कृषि बालीको भण्डारण र विक्रीवितरणका लागि संकलन केन्द्र निर्माण, ब्यवस्थित पार्किङ स्थल, अतिथिसदनको समयानुकुल निर्माण विस्तार, श्रमीक, ब्यापारी ब्यवसायीबीचको समस्या समाधानको स्पष्ट मिसन हामीसँग छ । भारत तथा तेस्रो मुलुकबाट आयातीत बस्तुको समेत ट्रान्जिट पोइन्ट विर्तामोड नै भएको र विर्तामोडबाटै पूर्वी पहाडी क्षेत्र, काठमाडौं लगायत नेपालका विभिन्न बजारहरुमा जाने हुँदा विर्तामोडलाई देशभरकै नमूना ब्यावसायिक क्षेत्र बनाउने भिजन हामीसँग छ ।
अन्त्यमा केही भन्नुहुन्छ कि ?
हामी चुनावी प्रतिष्पर्धामा छौं । ब्यवसायीहरुको हितमा हिजो हामीले गरेका कामहरुलाई हेरेर पुनः काम गर्ने अवसर दिनुहुन म सम्पूर्ण ब्यवसायी मतदाताहरुमा हार्दिक अपिल गर्दछु । ब्यवसायीहरुले दिएको विश्वासको मत हामी खेर जान नदिने प्रतिबद्धता ब्यक्त गर्दै लोकतान्त्रिक ब्यावसायिक प्यानललाई अत्यधिक मतका साथ विजयी गराउनुहुन सम्पूर्ण उद्योगी/ब्यवसायी महानुभावहरुमा हार्दिक अपिल गर्दछु ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

बिबिध ‘विर्तामोड उद्योग वाणिज्य संघ निर्वाचन: हामीसँग मिसन छ भिजन छ’–'भटराई'

Most Popular

Recent Comments