Home समाचार रोजगारी, उद्यमशिलता र विकास कांग्रेसको मेरुदण्ड–चौधरी

रोजगारी, उद्यमशिलता र विकास कांग्रेसको मेरुदण्ड–चौधरी

धुलाबारी १२ फागुन । सफल उद्यमी विनोद चौधरीले अनुशासन, कडा परिश्रम, दृढ इच्छाशक्ति र चाहेको कुरा पु¥याउँछु भन्ने संकल्पले ब्यावसायिक सफलता प्राप्त हुने बताउनुभएको छ ।
नेपाली कांग्रेस लगानी, पूर्वाधार, रोजगार समिति, कर्मभूमि समाजको आयोजनामा झापाको धुलाबारीस्थित होटल मेची क्राउनमा आयोजित उद्यमशीलता र वित्तीय साक्षरता सम्बन्धी अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रतिनिधिसभाका सांसद समेत रहनुभएका चौधरीले रोजगारी, उद्यमशीलता र विकासले पार्टीको मेरुदण्ड बलियो बनाउने र राष्ट्र बलियो हुने बताउनुभयो ।
‘२५–३० बर्षअघि नेपाली कांग्रेसले लगानीमैत्री वातावरण नबनाएको भए अहिले यतिका ब्यक्तिहरु उद्यमी बन्ने थिएनन्’–चौधरीले भन्नुभयो–‘त्यतिबेलासम्म स्वास्थ्य, शिक्षा, उद्योगमा निजी लगानी गर्न सक्ने ब्यवस्था नै थिएन, त्यसयता निजी क्षेत्रमा लगानी बढेको छ । ’ सोच, सपना, योजना, स्रोतको पहिचान गरेर तरिकाबद्ध लगानीले उद्यमशिलता बढाउन सहयोग पुग्ने बताउँदै उद्योगी चौधरीले प्रविधिको सहयोगले पनि धेरै युवाहरु उद्यमशिलतातर्फ उन्मुख भएको धारणा राख्नुभयो ।
‘राजनीति पेशा होइन सेवा भन्ने स्पष्ट हुन जरुरी छ’ –चौधरीले भन्नुभयो–‘राजनीतिलाई कमाउने माध्यम बनाएसम्म राजनीतिमा विकृति नै विकृति हुन्छ । नेतृत्वले पार्टीलाई कमाउने माध्यम बनाउनुहुँदैन, कार्यकर्ताले जागिर, चन्दा र रोजगारीका लागि पार्टी सदस्यता लिनुहुँदैन ।’ विचारविनाको राजनीतिको जग बलियो नहुने टिप्पणी गर्दै चौधरीले नेपाली कांग्रेसका प्रत्येक वार्ड कार्यालयलाई गरिखाने कार्यालयको रुपमा स्थापित गर्न आग्रह समेत गर्नुभयो । सरकारको नेतृत्व गर्ने राजनीतिक दलले सर्टिफिकेटको आधारमा सहुलियत ऋणको ब्यवस्था गरेर लगानीमैत्री वातावरण बनाउन पनि आग्रह गर्नुभयो ।
अर्का उद्योगी छत्र गिरीले सरकार फेरिनेवित्तिकै नीति पनि परिवर्तन हुँदा देशमा उद्योग–ब्यवसायमा लगानीमैत्री वातावरण नबनेको बताउँदै जिम्मेवारी र इमान्दारीपूर्वक कार्य गर्नसके सफलता प्राप्त हुने धारणा राख्नुभयो ।
प्याब्सनका पूर्व केन्द्रीय अध्यक्ष उमेश श्रेष्ठले विगतदेखि वर्तमानसम्मको सफलताको कथा बताउँदै शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, बैक, होटल, हाइड्रो प्रोजेक्ट, उद्योग लगायतका क्षेत्रमा गरिएको लगानीले मुनाफा कमाउन सकिने बताउनुभयो । अबको २० बर्षपछि मध्य पहाडी क्षेत्रका जग्गा उपयोग गरेर उद्योगधन्दा चलाउन सकिने बताउँदै नेपालमा विकासको पर्याप्त संभावना रहेको बताउनुभयो । केही नलिइ काठमाडौं पुगेपछि आफूले २ हजारमा घर भाडा लिएर लिटल एन्जल्स स्कुल स्थापना गरेको स्मरण गर्दै उहाँले अहिले विद्यालय, बैंक लगायतका क्षेत्रमा लगानी रहेको बताउनुभयो ।


नेपाली कांग्रेस झापाका सभापति उद्वव थापाले वी.पी. कोइरालाले सहकारी स्थापना सम्बन्धि नीति ल्याउनुभएको स्मरण गर्दै सहकारीले थुप्रै ब्यक्तिको आर्थिक स्तर उकास्न सहयोग पु¥याएको धारणा राख्नुभयो । विचार, ब्यवहार, ब्यवसाय र विकासले मात्रै कांग्रेस कार्यकर्ता हुन सकिने सभापति थापाको भनाइ थियो ।
नेपाली कांग्रेस पाँचथरका सभापति नरेन्द्र केरुङले राजनीतिलाई सेवाका रुपमा लिन राजनीति सँगसँगै उद्यमशिलता आवश्यक रहेको बताउनुभयो ।
राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. गोविन्द पोखरेल र राजु नेपालले गरिखाने अभियान के हो ? कसरी गरिखानसक्ने हुने ? लगायतका विषयमा प्रशिक्षण दिनुभएको कार्यक्रममा ५ लाखदेखि २५ लाखसम्मका परियोजनाहरु यस अभियानमा समेटिने बताउनुभएको थियो ।
गरिखाने अभियानका सदस्य इन्द्र बानियाले गाउँमुखी, कर्ममुखी र जनमुखी अभियानबाट कांग्रेस बलियो हुने बताउँदै अब आर्थिक समृद्धिको मुद्धा लिएर जनतासमक्ष जानुपर्ने धारणा राख्नुभयो ।
हुँदा खाने वर्गले हुने खाने वर्गलाई पनि हुने खाने बनाएपछि मात्रै राष्ट्रिय समृद्धि प्राप्त हुने उहाँको भनाई थियो । राजनीति गर्ने क्रममा नै आफूले पैतृक सम्पत्ति सकेपछि केही गर्नुपर्छ भन्ने सोचका साथ उद्यमशिलतामा लागेको उल्लेख गर्दै उहाँले अहिले विभिन्न उद्योगमा २ सय बढी स्थायी कर्मचारी र एकहजार बढीलाई रोजगारी दिइरहेको उदाहरण प्रस्तुत गर्नुभयो । झापाका उद्योगी, ब्यवसायीहरुको उल्लेख्य उपस्थिति रहेको कार्यक्रममा गरिखाने अभियान अन्तर्गत आगामी असार मसान्तसम्ममा गरिखाने अभियान अन्तर्गत एकहजार परियोजना सञ्चालनको लक्ष रहेको बताइएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार रोजगारी, उद्यमशिलता र विकास कांग्रेसको मेरुदण्ड–चौधरी

Most Popular

Recent Comments