झापा १७ माघ । प्रदेश एकका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले पुरुषको तुलनामा महिलाको नेतृत्व बढी सफल हुने बताउनु भएको छ ।
महिला उद्यमी संघ नेपाल झापाको आयोजनामा विर्तामोडमा भएको एकदिने खाना महोत्सवमा प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै मन्त्री कार्कीले महिलाले नेतृत्व गरेका संघसंस्थाहरू र महिलाले शुरू गरेका उद्यम व्यवसाय सदा अब्बल सफल देखिएको प्रसंग उल्लेख गर्दै यस्तो बताउनु भएको हो ।

महिला उद्यमीले उत्पादन गरेको सयपत्री फुललाइ सुरक्षित रूपमा राख्नका लागि सिड हाउस बनाउने प्रस्ताव ल्याए प्रदेश सरकारकोतर्फबाट तत्कालै सिड हाउस निर्माणको कार्य अघि बढाउने आश्वासन दिनुभयो ।
त्यस्तै झापामा मेला महोत्सवका लागि सुविधासम्पन्न हल बनाउनका लागि जमिनको खोजी गर्न झापाका व्यापारी–व्यवसायी समक्ष आग्रह गर्नु भएको छ ।

महिला उद्यमी संघ नेपाल झापाका अध्यक्ष नैनकला भट्टराईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि कार्की, प्रदेश नं–१ का उद्योग वाणिाज्य संघका अध्यक्ष टिकाराज ढकाल, महिला उद्यमी संघ नेपाल इलामका शुशिला सापकोटा लगायतले शुभकामना मन्तव्य राखेको कार्यक्रमको औचित्यमाथि प्रकाश पारेको कार्यक्रमको सञ्चालन युनिता दवाडीले गर्नु भएको थियो ।

खाना महोत्सवमा कोदोको सेलरोटी, ढिडो, गुन्द्रुकको अचार, तरुल, सिस्नोको सुप, अचार लगायत परम्परागत खानाका परिकार राखिएको थियो भने खाँडीको कपडा, ढाका कपडा, बाँसबाट बनाइएका विभिन्न सामग्री, मह, अचार, कोदो, फापरको पिठो, टिमुर, तीलको छोपलगायतका झापाका महिला उद्यमीले उत्पादन गरेका स्थानीय सामग्रीहरुको स्टल समेत प्रदर्शनमा राखिएको थियो ।