Home समाचार आकासियो खानेतेलको मूल्य, कृत्रिम अभावको आशंका

आकासियो खानेतेलको मूल्य, कृत्रिम अभावको आशंका

रेजिना गौतम
झापा ।
४ महिना अघि एकहजार छसय ५० मा खरिद गरेको सेलो तेलको कार्टुनलाई दुईहजार दुईसय मूल्य सुनेपछि अर्जुनधारा नगरपालिका वडा नं.–६ मा भाडामा बस्दै आएकी पवित्रा नेपाली अलमल्ल परेर फर्किन ।
तेलको मूल्य बढेको छ भन्ने अलिअलि हल्ला सुनेकी उनले अनुमान गरेर केही बढी नै पैसा बोकेर गएकी थिइन रे । उनले भनिन्–‘भाउ बढेको छ भनेको सुनेर यत्तिले त आउँछ होला भनेर एकहजार आठसय ५० रुपैयाँ बोकेर गएकी एकैचोटी दुईहजार दुईसय भनेको सुन्दा एकछिन त होसै हराए जस्तो भयो ।’
दैनिक भान्सामा प्रयोग हुने तेलको मूल्य बृद्धिले विक्रेता आफैंलाई पनि अचम्मित पारेको छ । व्यापार गरेपनि अप्रत्यासित मूल्यबृद्धि हुनुको कारणबारेउनीहरु आफैं पनि जानकार छैनन । विर्तामोडस्थित बुधबारे हटिया नजिकै किराना पसल सञ्चालक प्रेम खनालले भने–‘दाम सुनेर फर्केर जान्छन्, सबैतिर एउटै भएपछि किन्नु त परिहाल्छ भरेभोली फर्केर आउँछन् ।’ तेलमा बढेको मूल्यबारे बताउँदै उनले भने–‘दुई महिना अघिसम्म एकसय ७० मा बेचेको तेल प्रतिलिटर अहिले दुईसय ४० पुगेको छ, उपभोक्ताले कसरी धान्नु ?’
उपभोक्ताको दैनिक भान्सामा प्रयोग हुने तेल मूल्य धान्नै नसक्नु भएको अर्का उपभोक्ता ध्रुव खनालले बताए । मूल्य बृद्धि नियन्त्रण कसले गर्ने ? उपभोक्ता ध्रुव खनालले भने–‘देशमा सरकार नभएको जस्तो भएको छ । नियम कानून लागू नहुने देशमा के हुन्छ ? प्रधानमन्त्रीलाई मान्छे हसाउँदै ठिक्का छ, जनताको पीर, मर्का, समस्या कसले हेर्ने ? खनालले थपे–‘उपभोक्ताको भान्सादेखि बालबालिकाको पढाईसम्म महंगिएको छ ।’
कोरोना संक्रमणले दैनिकी धान्न सकस परिरहेका बेला तेलमा बढेको मूल्यले ढाड सेकिएको उपभोक्ताको गुनासो छ भने मूल्य बढेर आएपछि बढी मूल्यमा विक्री गर्नु आफूहरुको बाध्यता रहेको व्यापारीहरुको भनाई छ ।
विगत डेढमहिना अघिसम्म एकहजार सातसयमा पाइने सेलो सनफ्लावर तेलको मूल्य अहिले प्रति कार्टुन होलसेल दुईहजार दुईसय ५० पर्न थालेको व्यापारी भक्ति खरेलले बताए ।


पूर्व–पश्चिम राजमार्गको काँकडभिट्टा सडक छेउमा महालक्ष्मी किराना पसलका सञ्चालक खरेलले होलसेमै महंगो भएको बताए । मूल्यबृद्धिको कारणबारे जानकारी नभएको बताउँदै उनले भने–‘किन बढेको हो थाहा छैन, होलसेलबाटै बढेर आएको छ ।’
खरेलका अनुसार पछिल्लो समय हरियो मटरको पनि मूल्य त्यत्तिकै बढेको छ । एक/डेढ महिना अघि प्रतिकेजी ९० रुपैयामा पाइने हरियो मटर अहिले एकसय ३० रुपैयाँ पुगेको छ ।
दुईमहिना अघि एकहजार आठसयमा पाइने घैला तोरी तेलको मूल्य अहिले दुईहजार तीनसय सम्म पुगेको विर्तामोडका होलसेल तथा रिटेल व्यापारी मोहन अधिकारीले बताए । उनका अनुसार प्रतिकार्टनु दुईमहिना अघि एकहजार छसय ५० मा पाइने अमृत तेल अहिले दुईहजार दुईसय पुगेको छ । उनले भने–‘यति धेरै दाम बढेको त अहिलेसम्म थाहै थिएन् ।’
बजार भाउँ यसरी आकासिनुको कारण अन्तराष्ट्रिय व्यापारमा हुने चलखेल, सरकार जनताप्रति जवाफदेही हुन नसक्नु रहेको अधिकारीको भनाई छ । उनले भने–‘नेपालको व्यापार ठूला व्यापारीको हातमा छ, अन्तराष्ट्रिय बजारमा हुने चलखेलले बजारभाउमा प्रभाव पार्छ ।’
मूल्यबृद्धि नियन्त्रण नहुनुमा शक्ति सन्तुलनको खेलले असर पारेको राष्ट्रिय उपभोक्ता मञ्च झापाका अध्यक्ष मदनगोपाल सुब्बाले बताए । सबै मानिस उपभोक्ता पनि भएको बताउँदै उनले भने–‘चर्को मूल्यभारलाई सबैले व्यहोरिरहेकै अवस्था हो, नियन्त्रणका लागि उद्योग वाणिज्य संघ, स्थानीय सरकारका जनप्रतिनिधिलाई झक्झक्याइरहेका छौं, तर उहाँहरुले के कारणले गर्न सक्नु भएको छैन, भन्न सकिएन, हामी अधिकारवादी संस्थाले झक्झक्याउने हो, कारवाही गर्ने होइन ।’
बजार अनुगमनको अधिकतम अधिकार स्थानीय तहलाई दिएकोले संघीय सरकारका निकायले कम चासो देखाएको बताउँदै उनले भने–‘जिल्ला प्रशासनले समन्वयात्मक ढंगले काम अघि बढाए केही मात्रामा मूल्यबृद्धि नियन्त्रण हुन्छ ।’
विगतका वर्षहरुमा दिपावलीपछि तेलको मूल्य घट्ने गरेको भएपनि यो वर्ष दिपावली पछि झन मूल्य बढेको व्यापारीहरुको भनाई छ । ठूला व्यापारीले बजारमा कृत्रिम अभाव सिर्जना गरेर मुल्यबृद्धि गर्ने गरेको स्रोतको दावी छ । अहिले तेलको मूल्य बढ्नुपर्ने कुनै कारण नभएपनि सरकार कमजोर भएका बेला कृत्रिम अभाव सिर्जना गरेर व्यापारीले विगतमा पनि मूल्यबृद्धि गर्ने गरेको–नाम नखोल्ने शर्तमा एक व्यापारीले भने ।
नेपालको खानेतेल भारत गइरहेको बताइन्छ । ठूला व्यापारीको मिलेमतोमा तेल भारततर्फ तस्करी भइरहेको हुनसक्ने साना व्यापारीको अनुमान छ । नेपालको नाकाबाट भारततर्फ तेलको तस्करीले भारुमा कारोवार हुने हुँदा नेपाली व्यापारीलाई फाइदा हुने भन्दै उनीहरुले तस्करीको अनुमान गरेका हुन् ।
अधिकांश स्वदेशी तेल उत्पादकले भटमास र सूर्यमुखीको कच्चा तेल आयात गरी प्रशोधन गर्छन् ।
मूल्यबृद्धिबारे गुनासो आए बजार अनुगमन गर्ने तथा उजुरी आए प्रमाणका आधारमा कानूनी कारवाही गर्ने झापाका प्रमुख जिल्ला अधिकारीले श्रवणकुमार तिमिल्सिनाले बताए । ‘विषयगत कार्यालयहरुमार्फत अनुगमन भइरहेको बताउँदै उनले भने–‘मूल्य बृद्धिबारे गुनासो र उजुरी आएको खण्डमा प्रमाणका आधारमा कारवाही गर्छौं ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार आकासियो खानेतेलको मूल्य, कृत्रिम अभावको आशंका

Most Popular

Recent Comments