Home समाचार प्रधानमन्त्रीको कदम विरुद्ध कांग्रेसद्वारा देशभर प्रदर्शन

प्रधानमन्त्रीको कदम विरुद्ध कांग्रेसद्वारा देशभर प्रदर्शन

झापा ३ माघ । के.पी. शर्मा ओली नेतृत्वको कम्युनिष्ट सरकारले गरेको संसद विगठनको विरोधमा उत्रिएको नेपाली कांग्रेसले आज देशभरका ७ सय ५३ वटा स्थानीय तहमा विरोध प्रदर्शन र विरोधसभा सम्पन्न गरेको छ ।
नेपाली कांग्रेस केन्द्रीय समितिको पुन १९ गतेको निर्णय/निर्देशन र नेपाली कांग्रेस झापाको गत पुस २१ गते सम्पन्न बैठकको निर्णय बमोजिम आज झापाका पनि १५ वटै स्थानीय तहमा विरोध प्रदर्शन सम्पन्न भएको छ ।
विरोध कार्यक्रम अन्तर्गत झापाको विर्तामोडमा साँझ ५ बजे राँके जुलुस प्रदर्शन गरिएको छ भने बुद्धशान्ति गाउँसमिति बुधबारे बजारमा राँके जुलुस सम्पन्न गरेको बताइएको छ । यसैगरी बाह्रदशी गाउँपालिकाले गाउँपालिका अगाडि सिटी जुलुस सम्पन्न गरेको छ ।
मेचीनगर नगरपालिकाले इटाभटामा, अर्जुनधार नगरपालिकाले कालीस्थान चोकमा, भद्रपुर नगरपालिकाले ज्ञानेचोकमा, कचनकबल गाउँपालिकाले पथरिया बजारमा, कनकाइ नगरपालिकाले सुरुङ्गा बजारमा, शिवसताक्षी नगरपालिकाले झिलझिले बजारमा, झापा गाउँपालिकाले झापा बजारमा, कमल गाउँपालिकाले केर्खा बजारमा, दमक नगरपालिकाले दमक चोकमा, गौरादह नगरपालिकाले गौरादह बजारमा र गौरीगञ्ज गाउँपालिकाले खजुरगाछी बजारमा विरोध प्रदर्शन सम्पन्न गरेको छ ।
अर्जुनधारा नगरपालिका–९ कालीस्थानमा कालोझण्डा सहित आयोजना गरिएको विरोध प्रदर्शनमा बोल्दै कांग्रेस केन्द्रीय सदस्य सरिता प्रसाईले नेकपाले दुईतिहाई मतको अपमान गरेको बताउनुभयो ।
के.पी. ओलीले भनेजस्तो बैशाखमा चुनाव असम्भव रहेको बताउँदै नेता प्रसाईले भन्नुभयो–‘संसद विगठनले लोकतान्त्रिक संविधानमाथि नै प्रश्न उठाएको छ, भइरहेको संविधान फालेर कुन तन्त्र ल्याउन ल्याउने ?’ लोकतान्त्रिक संविधानको संरक्षण कांग्रेसको पहिलो दायित्व भएको उहाँको भनाई थियो ।

Image may contain: 11 people, people standing and outdoor
झापा गाउँपालिकामा आयोजित विरोधसभामा सहभागीहरु


राष्ट्रिय सम्पत्ति हत्याउने र भ्रष्टाचारमा संलग्नलाई लाभको पद दिने प्रवृत्तिले प्रधानमन्त्रीको भ्रष्टाचार मोह प्रष्ट्याएको उल्लेख गर्दै नेता प्रसाईले नेकपाको पार्टी विवाद मिलाउन नसक्दा संसद विगठन गरेर जनतालाई शास्ति दिनु जनमतकै अपमान भएको बताउनुभयो ।
विरोध प्रदर्शनका विशेष अतिथि नेपाली कांग्रेस झापाका सभापति उद्वव थापाले कमिशन र भ्रष्टाचारको रकम वितरणमा कुरा नमिल्दा कम्युनिष्ट पार्टी फुटेको उल्लेख गर्दै पार्टी फुटको परिणाम संसदमा देखाउनै नहुने उल्लेख गर्नुभयो ।
सरस्वती सिटौला, मोहन सुब्बा लगायतले बोल्नुभएको कार्यक्रम नगर सभापति हेमराज खरेलको सभापतित्व र डिल्ली सापकोटाको सञ्चालनमा सम्पन्न भएको थियो ।
यसैबीच नेपाली कांग्रेस दमक नगर समितिले काँकरभिट्टा टु बेइजिङ लेखेको छुकछुके रेलसहित विरोध प्रदर्शन सम्पन्न गरेको छ । रेल ल्याउने बहानामा रेल कार्यालय सञ्चालन र खरिदमा भएको भ्रष्टाचारको सांकेतिक विरोधसहित छुकछुके रेलसहितको विरोध प्रदर्शन गरिएको नगर सभापति रोशन विष्टले जानकारी दिनुभयो ।
नेपाली कांग्रेस झापाका पूर्व सभापति पूर्णानन्द शर्माको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा मेदनी सिटौला, ढुण्डिराज भण्डारी, रेगिना भटराई प्रकाश प्रसाई लगायतले बोल्नुभएको थियो ।
यसैगरी झापाको मेचीनगरमा विरोध प्रदर्शन तथा इटाभटामा कोणसभा सम्पन्न भएको छ । इन्द्र बुढाथोकीको सभापतित्व र नेपाली कांग्रेस झापाका उपसभापति राम कट्टेलको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा उषा गुरुङ, केशवराज पाण्डे, मणि उप्रेती, गोपाल तामाङ, सुरेन्द्र बुढाथोकी, हस्त आङदेम्बे लगायतले बोल्नुभएको थियो ।
यसैगरी झापाको शिवसताक्षीस्थित झिलझिले बजारमा नेपाली कांग्रेस शिवसताक्षी नगर समितिले विरोध प्रदर्शन र कोणसभा सम्पन्न गरेको छ । नेपाली कांग्रेस केन्द्रीय सदस्य सुधिरकुमार शिवाकोटीको प्रमुख आतिथ्य र नगर सभापति पर्शुराम ढुङ्गानाको सभापतित्वमा सम्पन्न कार्यक्रममा भक्ति सिटौला, सन्तोष मेनेङ्बो, देवी दाहाल, शिवकुमारी योङया, विनोद ढकाल लगायतले बोल्नुभएको थियो ।
यसैगरी नेपाली कांग्रेस कनकाई नगर समितिले सुरुङ्गा बजारमा विरोध प्रदर्शन सम्पन्न गरेको छ । नेत्रप्रसाद चिमरियाको सभापतित्व र कांग्रेस केन्द्रीय सदस्य केशवकुमार बुढाथोकीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा देउमान थेवे, गोपाल उप्रेती, दुर्गा प्रसाइ लगायतले बोल्नुभएको थियो ।
यसैगरी नेपाली कांग्रेस झापा गाउँसमितिले झापा बजारमा विरोध प्रर्दशन तथा सभा सम्पन्न गरेको छ । मोतीलाल गणेशको सभापतित्वमा सम्पन्न कार्यक्रममा केन्द्रीय सदस्य केशवकुमार बुढाथोकी, देउमान थेवे, जयनारायण शाह, उत्तम सुवेदी, अञ्जु थपलिया लगायतले बोल्नुभएको थियो । अधिकांश विरोधसभाका बक्ताहरुले प्रधानमन्त्रीको संसद विगठनको कदम असंवैधानिक, अलोकतान्त्रिक भएको बताउँदै संसद विगठनले लोकतान्त्रिक संविधानमाथि नै प्रश्न उठाएको धारणा राखेका थिए । लोकतान्त्रिक संविधानको संरक्षण कांग्रेसको पहिलो दायित्व भएको बक्ताहरुको धारणा थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार प्रधानमन्त्रीको कदम विरुद्ध कांग्रेसद्वारा देशभर प्रदर्शन

Most Popular

Recent Comments