Home समाचार अझै टुङ्गो लागेन कक्षा–११ को पाठ्यक्रम, शिक्षक–विद्यार्थी दुवैमा अन्योल

अझै टुङ्गो लागेन कक्षा–११ को पाठ्यक्रम, शिक्षक–विद्यार्थी दुवैमा अन्योल

रेजिना गौतम

झापा । बलभद्र मावि मेचीनगर–११ धाइजनको कक्षा ११ मा अध्ययनरत विष्णु अधिकारीले शैक्षिक सत्रको आधा समय वितिसक्दा पनि पूरा किताब पाउन सकेका छैनन् । पुस्तक अभावमा पढाई असजिलो महसुस गरेका अधिकारी विद्यालयमा शिक्षक शिक्षिकाले शिकाएको आधारमा घरमा अभ्यास गर्दै गरेको बताए । कोरोनाको विसम परिस्थितिका बाबजुद विद्यालयमा गएर कक्षा लिन पाएपनि किताब नपाउँदा भने घरमा अभ्यास गर्न अप्ठ्यारो भएको उनले बताए । बलभद्र मावि धाइजनको कक्षा ११ मा अध्ययनरत उनले भने–‘सर मिसले स्कूलमा सिकाएको आधारमा घरमा रिभिजन गर्छौं, किताव नहुँदा अप्ठ्यारो हुन्छ, किताब पढे जस्तो त हुँदैन ।’ ६ वटा विषय लिएका उनले ४ वटा विषयका पुस्तक किन्न पाएका उनले २ विषयका किताब भने अझै नपाएको बताए ।


सोही विद्यालयमा अध्ययरत विनिता चौधरी कक्षामा पढ्न पाएपनि परीक्षा समयमा हुनेमा भने विश्वस्त हुन सकेकी छैनन् । कोरोना भाइरस जोखिमका बीच विद्यालयमा आएर पढ्न पाएकोमा खुशी लागे पनि नयाँ वा पुरानो कुन किताव अनुसार परीक्षा दिनुपर्ने हो भन्ने टुङ्गो नहुँदा अप्ठ्यारो भएको उनले बताइन् । परीक्षा कहिले हुन्छ भन्ने पनि थाहा छैन उनले भनिन्–‘नयाँ किताव किनेको छ, तर परीक्षा नयाँ अनुसार हुन्छ कि पुरानो बुझ्नै सकेको छैन ।’
सोही विद्यालयमा मावि दरबन्दीकी शिक्षाका तारा शिवाकोटीले पाठ्यक्रममा देखिएको अन्योलताबीच विद्यार्थीलाई पढाईरहेको बताइन् । नयाँ पाठ्यक्रम र पुरानो पाठ्यक्रम कुन लागू हुने हो टुङ्गो लागेको छैन । शैक्षिक सत्र शुरु भएर स्कूल लाग्न थालेपछि पढाउन त पर्यो नै उनले भनिन्–‘पाठ्यक्रम नयाँ वा पुरानो भन्ने निक्र्यौल भएको छैन, तरपनि विद्यालय सञ्चालन हुन थालेपछि अन्योलता बाबजुद पढाउनु बाध्यता हो ।’ पाठ्यक्रम नै निर्धारण नभएको अवस्थामा शिक्षण सहज नभएको बताउँदै उनले भनिन्–‘नयाँ करिकुलम नै लागू हुन्छ भन्ने आशा छ । उनले थपिन्–‘ब्याकरणमा नयाँ र पुरानो मिलाएर पढाउँदैछु, अब नयाँ पाठ्यक्रम नै लागू हुन्छ भन्ने विश्वास छ, किन भने विद्यार्थीले नयाँ पुस्तक किनी सकेका छन्, अब पछाडि फर्कने अवस्था छैन ।’ कक्षा ११ लाई नेपाली ब्याकरण पढाउने उनले थपिन्–‘ब्याकरणमा त्यति धेरै फरक हुँदैन, त्यसमा एकदशक बढीको अध्यापन अनुभवका आधारमा पाठ्यक्रम विनै पढाउँदैछु ।’


पाठ्यक्रममा देखिएको अन्योलताले शिक्षकलाई अध्यापनमा असर पारेको शिक्षक महासंघ नगरसमिति विर्तामोडका अध्यक्ष युवराज कट्टेलले बताए । महेन्द्र रत्न मावि अनारमनीमा अध्यापनरत कट्टेलले कुन कोर्ष अगाडि बढाउँने भन्नेमा अन्योल देखिएको बताउँदै भने–‘कुन कोर्ष अगाडि बढाउने ? नयाँ बढाउ पुरानो लागू होला ! पुरानो बढाउँ नयाँ लागू होला ।’ उनले थपे–‘पाठ्यक्रममा देखिएको अन्योलताले शिक्षकको पनि जोस, जाँगर र उत्साह जुन रुपमा हुनुपर्ने हो त्यसमा समेत कमि आउँछ, दुविधा भएपछि शिक्षक, विद्यार्थी अभिभावक सबै अन्योलमा परेको अवस्था छ ।’ अदालतमा विचाराधिन विषयमा बोल्ने कि नबोल्ने भन्ने अवस्था रहेको बताउँदै कट्टेलले भने–‘अदालती ढिलाईका कारण अन्योल बढेको हो, पाठ्यक्रम निर्धारण गर्नेले पाठ्यक्रमको मूर्त उद्देश्यबारे बुझाउनु पनि जरुरी रहेको बताउँदै उनले थपे–शिक्षा जस्तो विषयमा अदालत र राज्य दुवै जिम्मेवार नभएको जस्तो देखियो ।’ पाठ्यक्रमको विषय लिएर अदालतमा रिट परेपछि शिक्षक महासंघले बालबालिकाको भविष्यसंग जोडिएको शिक्षा जस्तो विषयलाई चाँडो टुङ्गो लगाउन माग समेत गरेको कट्टेलले जानकारी दिए ।


विगतको तुलनामा कक्षा ११ को परीक्षा जेठमा हुनुपर्ने हो, तर यो वर्ष रजिष्ट्रेसन फाराम भर्ने सूचना नै ढिलो आएका कारण जेठमा परीक्षा हुनेमा पनि शंका उत्पन्न भएको जानकारहरु बताउँछन् । पाठ्यक्रमकै टुङ्गो छैन, परीक्षाका बारेमा कसरी अनुमान गर्न सकिन्छ र ? शिक्षण पेशामा संलग्न शिक्षकहरुको साझा भनाई ।
सहज अवस्थामा गत साउनबाट निरन्तर कक्षा सञ्चालन हुनुपर्ने भएपनि कोरोना संक्रमण जोखिमका कारण यो वर्ष असोजको अन्तिमबाट मात्र कक्षा सञ्चालन प्रारम्भ भयो । त्यसमा पनि प्रविधिको माध्यमबाट सञ्चालित जुम कक्षामा शहरी क्षेत्र र पहुँचवालाका नानीहरु सहभागी भएपनि ग्रामिण क्षेत्रका र इन्टरनेटको पहुँचमा नभएकाहरु त्यसमा सहभागी हुन सकेनन् । देशभरका अधिकतम स्कूलहरु मंसीरको दोस्रो हप्तादेखिमात्र शिक्षक विद्यार्थीको भौतिक उपस्थितिमा कक्षा सञ्चालन हुन थालेका हुन् । तर, अझै पनि विद्यालय पूर्ण क्षमतामा सञ्चालन हुन सकेका छैनन् । विद्यार्थी दिन विराएर स्कूल जाने गरेका छन् ।


पाठ्यक्रममा देखिएको अन्योलले शिक्षण सिकाइमा पनि असर पारेको बलभद्र माविका शिक्षक होम ढकालले बताए । नयाँ पाठ्यक्रम लागू भएको उक्त विद्यालयका शिक्षकले आन्तरिक वा अन्तर विद्यालयका शिक्षक शिक्षिकाबीच समन्वय गरेर पढाउँदै आएको बताउँदै उनले भने– नयाँ पाठ्यक्रम अनुसारको पाठ्यपुस्तक समेत पर्याप्त छैन ।’ अहिलेसम्ममा ५० प्रतिशत पढाइ हुनुपर्नेमा सरदर २० देखि २५ प्रतिशतामत्र पढाइरहेको उनले बताए । त्यसो त नयाँ पाठ्यक्रम जीवनोपयोगी हुनुपर्छ भनेर व्यापक रुपमा आवाज उठेपनि पाठ्यपुस्तक र पाठ्यक्रममा त्यो नदेखिएको उनको भनाई छ । जीवनोपयोगी शिक्षाका बारेमा जति माग उठेको थियो नयाँ पाठ्यक्रम हेर्दा त्यति लाभदायी देखिन्न, सामान्यतया कृषि क्षेत्रलाई केही मात्रामा समेटिएको छ ।’ आधारभूत तहदेखि नै जीवनोपयोगी शिक्षा दिन सक्यो भनेमात्र प्रभावकारी हुने उनको सुझाव छ ।


पाठ्यक्रम टुङ्गो लगाउन सर्वोच्चले गरेको ढिलाईसंगै २०७८ साल जेठमा कक्षा ११ को परीक्षा संभव क्षीण बन्दै गएको गोमेन्द्र बहुमुखी क्याम्पसका प्राचार्य डा. रुपक खनालले बताए । पाठ्यक्रम टुङ्गो नलाग्दा काठमाडौंभित्र र बाहिर दुवै पाठ्यक्रम लागू भएका छन् । काठमाडौंका अधिकतम विद्यालयमा पुरानो पाठ्यक्रम अनुसार पठन पाठन हुँदै आएको छ भने झापासहित अन्य विभिन्न जिल्लाका अधिकांस विद्यालयमा नयाँ पाठ्यक्रम अनुसार पढाई हुँदै आएको खनालले जानकारी दिए । समयमै सही सूचना प्राप्त नहुँदा पाठ्यक्रम कार्यान्वयनमै अन्योल भएको बताउँदै खनालले भने–‘शिक्षक र विद्यार्थी दुवैलाई असजिलो भएको छ ।’ सर्वोच्च अदालतले गरेको ढिलाईका कारण जेठमा परीक्षा हुने संभावना कम हुँदै गएको बताउँदै उनले भने–‘तत्काल फैसला हुँदा पनि चार महिनामात्र बाँकी रहन्छ, त्यसमा विदा कटाउँदा सयदिन बाँकी रहन्छ, त्यसमा पनि भैपरी आउने विदा समेत जोड्दा ९० दिन रहन्छ, १०० पूर्णाङ्कको पढाई ९० दिनमा कसरी पूरा हुन्छ ?’ उनले थपे–‘इन्टरनल परीक्षा कहिले लिनु, अनि फाइलन परीक्षा कहिले लिने समय नै देखिन्न ।


पाठ्यपुस्तक निक्र्योलमा देखिएको ढिलाईका कारण शैक्षिक वर्ष नै सार्नुपर्ने अवस्था देखिएको उनले बताए । साथै तत्काल नयाँ पाठ्यक्रम कार्यान्वयनमा ल्याउन केही कठिनाई समेत देखिएको उनको भनाई छ । त्यसो त नयाँ पाठ्यक्रम पनि त्यति उपयोगी नदेखिएको टिप्पणी गर्दै उनले भने–‘जीवनोपयोगी शिक्षा केलाई भन्ने कुरा नै स्पष्ट छैन, हतारमा ल्याएको जस्तो देखिन्छ, विज्ञहरुसंग यथेष्ट सल्लाह नभई ल्याइएको जस्तो छ ।’ उनले थपे–‘त्यसकारण यो शैक्षिक सत्रका लागि पुरानै पाठ्यक्रम लागू गर्दा सहज हुने देखिन्छ ।’
विश्वमा कोरोना भाइरस संक्रमणको पुनः प्रभाव देखिएसंगै परीक्षामा त्यसको प्रभाव कत्तिको पर्ने हो भन्ने चिन्ताव्यक्त गर्दै जेठमा परीक्षा हुने संभावना कम भएको उनले बताए । सर्वोच्चको ढिलाईसंगै शैक्षिक सत्रलाई कि आर्थिक वर्षमा सार्नुपर्ने या त एक शैक्षिक सत्र (ग्याव) रोकेर नयाँ वर्ष पुर्याउनु पर्ने अवस्था देखिएको उनले बताए ।
पाठ्यक्रम सम्बन्धीको रिट सुनुवाईमा पटक पटक समय सार्दै आएको सर्वोच्च अदालतले पुस २७ गतेका लागि सुनुवाई गर्ने म्याद तोकेको छ । यसअघि गत सोमबार (पुस २० गते) तोकिएको पेसी एकहप्ता पछाडि सार्दै पुनः २७ गते पुर्याइएको हो । पटक पटक म्याद सारिएका कारण २७ गतेपनि फैसला हुनेमा सरोकारवालाहरु ढुक्क हुन सकेका छैनन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार अझै टुङ्गो लागेन कक्षा–११ को पाठ्यक्रम, शिक्षक–विद्यार्थी दुवैमा अन्योल

Most Popular

Recent Comments