Home समाचार दृष्टिविहीन युवतीले जन्माएको बेवारिसे बच्चा दिएको सम्बन्धमा कुरा नमिलेपछि...

दृष्टिविहीन युवतीले जन्माएको बेवारिसे बच्चा दिएको सम्बन्धमा कुरा नमिलेपछि…

झापा २ पुस । दृष्टिविहीन युवतीबाट जन्मिएको बच्चा लगेका एक दम्पत्तीले बच्चा फिर्ता गर्ने भएका छन् ।
मेचीनगर नगरपालिकाको घर (माइती) नजिकै डेरा भाडामा बस्दै आएकी दृष्टिविहिन युवतीबाट जन्मिएको कानूनी आधार विनै लगेका दमक–२ का लोकबहादुर कार्की र गीता खड्का कार्कीले बच्चा फिर्ता गर्न तयार भएको आफन्त नेपाल नामक संस्थाका झापा संयोजक मातृका गुरुङले बताए ।
प्रसुती हुन गएकी अविवाहित दृष्टिविहीन युवती बच्चा विना नै कोठामा फर्किएपछि खोजी शुरु भएको थियो । खोजी गर्ने क्रममा नवजात शिशुकी आमाले पैसा लिएर बच्चा अर्कैलाई दिएको बताएपछि अधिकारकर्मीहरुले प्रहरीलाई जानकारी गराएका थिए ।
निकटस्थ स्रोतका अनुसार नवजात शिशुकी दृष्टिविहीन आमाले स्याहार गर्ने मान्छे छैन भन्दै नगद लिएर कार्की दम्पत्तीलाई बताएपनि शिशुकी आमा र उनले लगेकी साथीबीच बच्चा लैजाने सम्पत्तीबाट लिएको रकमबारे कुरा नमिलेपछि घटना सार्वजनिक भएको हो ।
मंसीर २७ गते आम्दा अस्पतालमा सुत्केरी भएकी महिला ७२ घण्टाको अस्पतालको बसाई पछि घर कोठामा फर्किएकी थिइन । बच्चा विना नै घर फर्किएकी ३२ वर्षीया ती युवतीले आफैं रकम लिएर बच्चा दिएको बताएपछि बच्चा विषय अझ रहस्यमय बनेको थियो ।
अधिकारकर्मी र प्रहरीको खोजीपछि बुधबार इलाका प्रहरी कार्यालय दमकमा भएको छलफल पछि कार्की दम्पत्ती बच्चा फिर्ता गर्न सहमत भएको बताइएको छ ।
कोठामा बस्दै गरेकी दृष्टिविहीन महिलालाई गर्भवती बनाउने व्यक्ति समेत फरार रहेपछि अलपत्र अवस्थामा रहेकी ती युवती कोठामा बस्ने साथीको सहारामा दमकस्थित आम्दा अस्पतालमा प्रसुतीका लागि पुगेकी थिइन् ।
उनको कोखबाट साढे ४ किलो तौलको छोरा जन्मिएको अस्पताल प्रशासनले जनाएको छ । शल्यक्रिया गरेर निकालिएको बच्चाको स्याहार गर्ने कोही पनि नभएको बताएपछि कार्की दम्पत्तीले बच्चा लगेको दृष्टी विहिनकी साथी सविता राईले बताइन् ।
दृष्टिविहीन महिलाको वेवारिसे बच्चा जन्मिएको सूचना पाएसंगै अधिकारकर्मीहरुले खोजी गर्दा कार्की दम्पत्तीले कुनै प्रमाण विना नै बच्चा लगेको पाइएको नारी कल्याण समाजका अध्यक्ष प्रेमा भट्टराईले जानकारी दिइन् ।
यता दृष्टिविहीन ती महिलाले दमकमा बस्दै आएका दृष्टिविहीन काइला राईको गर्भ रहेको दावी गर्दै आएकी छन् । दृष्टिविहीन रहेपनि कार्यक्रमहरुमा गीत गाउन आफूहरुसंगै हिड्ने गरेको र सोही क्रममा शारीरिक सम्पर्क भएको ती महिलाको भनाई छ ।
उनले आरोप लगाएका दृष्टिविहनी काइला राईले भने आफूहरु संगै हिडेको स्विकार गरेपनि शारीरिक सम्पर्क भने नभएको बताएका छन् । आफ्नो भाईलाई ती युवतीले मन पराउने गरेको रहस्य खोल्दै उनले भने–‘भाइलाई मन पराउँथिन्, अहिले भाइ यहाँ छैन, त्यसैले मेरो नाम जोडेको हुन सक्छ, म सत्यमा छु, कोभिड–१९ शुरु हुनुभन्दा अघि चैतको पहिलो सातापछि मेरो भेट पनि भएको छैन, अर्कैसंग विहे गरेको छु भन्थिन् ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार दृष्टिविहीन युवतीले जन्माएको बेवारिसे बच्चा दिएको सम्बन्धमा कुरा नमिलेपछि...

Most Popular

Recent Comments