Home समाचार समाचार मुक्तिचोकमा सरसफाइ र पुष्परोपण, बोलेनन् मन्त्री !

मुक्तिचोकमा सरसफाइ र पुष्परोपण, बोलेनन् मन्त्री !

झापा ९ मंसीर । मुक्तिचोक । वास्तवमा यो चोक सबैको मुक्तिका लागि अधिकार बोल्ने मुख्य थलोको रुपमा परिचित छ ।
यो चोकमा उभिएर नबोल्ने शायद कमै होलान् । त्यसमा पनि राजनीति गर्ने राजनीतिकर्मीका लागि मुक्तिचोक तीर्थस्थल नै हो भन्दा फरक पर्दैन । २०६२/०६३ को जनआन्दोलनको सफलतापछि जनताले विजय प्राप्त गरेको प्रतिकका रुपमा निर्माण गरिएको हुनाले पनि मुक्तिचोक राजनीतिकर्मीका लागि तीर्थस्थल हो । प्रमुख अतिथि भएर मुक्तिचोकमा उभिएपछि जनतालाई आस्वस्त पार्ने कुनै कुनै भनाइहरु राखेर जाने नेता तथा मन्त्रीको परम्परालाई मंगलबार संघीय सरकारका शहरी विकास मन्त्रीले तोडे ।
वीरता लेडी जेसीजले मुक्तिचोकको स्तम्भ वरीपरी पुष्परोपण कार्यक्रमको प्रमुख अतिथि रहेका संघीय सरकारका शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठ दुर्गा मन्दिरबाट पुष्पको विरुवा आफैं हातमा लिएर मुक्तिचोक पुगे । गमलामा माटो÷पानी लगायतको तयारी आयोजकको कमजोरीका कारण पुष्परोपणको औपचारिकता पूरा गरेका श्रेष्ठले पुष्पको विरुवा रोपी सकेपछि लेडी जेसीजकी अध्यक्ष शुष्मा पौडेलले प्रमुख अतिथिलाई केही कुरा राखिदिन आग्रह गरिन् । अध्यक्ष पौडेलले उपस्थित पत्रकारहरुको समेत चाहनालाई सम्बोधन गर्दै मन्त्रीलाई बोल्न आग्रह गरेकी थिइन् ।
तर, मन्त्री श्रेष्ठले मात्र पुष्परोपण जस्तो पवित्र कार्य गरेकोमा जेसीजलाई धन्यवाद दिए । मन्त्रीले के बोल्छन् भनेर तेर्सिएका क्यामेरा र उपस्थितले मन्त्रीको मन्तव्यबारे मेसो नै पाएनन् । २०६२/०६३ मा जनताले गरेको आन्दोलनका कारण २३७ वर्षे लामो राजतन्त्र फालियो भनेर गर्व गर्ने आन्दोलनमा सक्रियतापूर्वक सहभागिता गरेको तत्कालिन नेकपा एमाले (हाल नेकपा) बाट नेतृत्व गरेका मन्त्री श्रेष्ठले जनताले अधिकार स्थापित गरेको स्मृतिमा निर्माण गरेको स्तम्भमा उभिएर गणतन्त्रको संस्थागत विकास गर्ने क्रममा सरकारको नेतृत्व गरेका मन्त्री किन बोल्न चाहेनन् ?
पछिल्लो समय सत्तासिन पार्टीभित्रैको आन्तरिक शक्ति संघर्ष, जनअभिमत विनानै राजतन्त्रको अन्त्य र गत असोज ११ गतेको मन्त्रिपरिषद बैठकले ‘संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल’ नलेख्ने निर्णय गरेको कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयद्वारा मातहत निकायमा परिपत्रलाई र मुक्तिचोकमा उभिएर मन्त्रीले केही पनि नबोल्नु अर्थपूर्ण रहेको टिप्पणी समेत गरेका थिए ।
मन्त्रीपरिषदको निर्णय कार्यान्वयन नगर्न नेपालको नाममा संघीय लोकतान्त्रिक गणतन्त्र नलेख्ने निर्णय कार्यान्वयन नगर्न संसदको राज्य व्यवस्था तथा सुशासन समितिले सरकारलाई निर्देशन दिएको थियो ।
पूर्व–पश्चिम मुख्य मार्ग, झापाको मुख्य बजार विर्तामोडको मुटुमा रहेको यो चोक अधिकार खोज्नेदेखि अधिकार प्राप्तीको खुशीयाली मनाउने थलो पनि यही हो । त्यही थलोको संरक्षण संवद्र्धन र सुन्दर बनाउने जिम्मेवारी पनि झापाबासीकै जिम्मेवारी भएको भन्दै लेडी जेसीजले मुक्तिचोकलाई सिंगार्ने काम गरेको अध्यक्ष पौडेलले बताइन् ।
२०६२/०६३ को जनआन्दोलनको सफलतापछि जनताले विजय प्राप्त गरेको प्रतिकका रुपमा निर्माण गरिएको मुक्तिचोकको स्तम्भ वरीपरी गमला राख्ने, फुल फुलाउने अनि त्यसको बाहिरतर्फ घेराबारा गरेर त्यसको संरक्षण गर्ने परिकल्पनासहित सोही अनुसारको भौतिक संरचना गरिएपनि परिकल्पना अनुसार निरन्तर संरक्षणमा कमी आउँदा चोकको सौन्दर्यमा प्रश्न उठ्न थालेको छ भने सौन्दर्यका लागि रोपिएका फूलहरु समय समयमा नफेरिंदा उराठ लाग्दा गमला मात्रै रहन पुगेको थियो ।


तिनै उराठ लाग्दा गमलालाई फुलले रङ्ग्याउँदै विर्ता लेडी जेसीजले मंगलबार गमलादेखि माटोसम्म परिवर्तन गरि फूल रोपण गर्दै त्यसको मुख्य रेखदेखको जिम्मेवारी जिल्ला ट्राफिक प्रहरी कार्यालयलाई अध्यक्ष पौडेलले अनुरोध पनि गरिन् । मन्तव्यकै क्रममा उनले भनिन्–‘नगरपालिकाको सहयोगमा एक क्वायल पाइप ट्राफिकलाई हस्तान्तरण गर्छौ, नजिक भएको नाताले तपाईहरुले रेखदेख र पानी हाल्ने जिम्मेवारी लिइदिनुहोला, हामी पनि उपस्थित भएर संरक्षणमा लाग्नेछौं ।’ उनले थपिन्–‘फूल फुले मात्रै आफू फुले जस्तै अनुभव हुन्छ, यो सबै झापाबासीको जिम्मेवारी पनि हो ।’
जेसीज आस्था अनुसार व्यक्तिको नेतृत्व र क्षमताको विकास गर्दै सामाजिक कार्यमा संलग्न हुने अभियान अनुसार वीरता लेडी जेसीजले मंगलबार मुक्तिचोकमा पुष्प रोपण र दुर्घटना न्यूनिकरणमा सहयोग पुर्याउने उद्देश्यले जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रकाश जवेगुलाई ट्राफिक सर्तकता सम्बन्धी सचेतनामुलक नारा लेखिएका बोर्ड प्रदान गरेको छ ।
मन्त्रीसंगै झापा क्षेत्र नं.–२ का संघीय सांसद पवित्रा निरौला खरेल, एलपी साँवा, विमला विक, प्रदेश सांसद बसन्त बानियाँ, पूर्व राष्ट्रिय सभा सदस्य हरिचरण शिवाकोटी, नेकपा झापाका अध्यक्ष चिन्तन पाठक, जिल्ला समन्वय समिति संयोजक सोमनाथ पोर्तेल लगायत नेकपा नेता कार्यकर्ताहरुको उपस्थिति थियो । प्रमुख अतिथिका रुपमा आमन्त्रण गरिएका मन्त्रीसंगै सांसद तथा अन्य विभिन्न ओहदामा रहेका व्यक्तित्वहरु अकस्मात पुग्दा आयोजकमा समेत कसरी कार्यक्रम सञ्चालन अघि बढाउने भन्ने अलमलमा परेको स्पष्ट झल्किन्थ्यो । आयोजक समितिका एक सदस्यले भने उहाँहरु आइदिनु त हाम्रो कार्यक्रमको गहना हो, तर अचानक सबै ठूल्ठूला व्यक्तित्वलाई कसरी व्यवस्थापन गर्ने भन्ने मै अलमलमा पर्यौं । सबैलाई सम्बोधन समेत गर्न सकेनौं ।
सो अवसरमा इलाका प्रहरी कार्यालय विर्तामोडका प्रमुख मुकुन्द रिजाल, विर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराई, जेसीजका पूर्व अध्यक्षहरुका तर्फबाट पार्वता खरेल विमली लगायतले मन्तव्य राखेका थिए । महासचिव संगिता गिरीले सञ्चालन गरेको कार्यक्रममा आस्था वाचन शिला उप्रेती र स्वागत रोजिना पाण्डेले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार समाचार मुक्तिचोकमा सरसफाइ र पुष्परोपण, बोलेनन् मन्त्री !

Most Popular

Recent Comments