झापा । ६० वर्ष भन्दा कम उमेरका विधवा र अति अशक्त शारीरिक अपाङ्गता भएका अर्थात (ख) वर्गको अपाङ्गगता भएकाहरुले यस अघि पाउँदै आएको सामाजिक सुरक्षा भत्ता तत्कालका लागि रोकिएको छ ।
झापाको झापा गाउँपालिकाले ६० वर्षभन्दा कम उमेरका विधुवा र अति असक्त अपाङ्गता (ख) वर्ग अपाङ्गगता परिचय पत्र)– भएका यसअघि सामाजिक सुरक्षा भत्ता पाउँदै आएका लाभग्राहीलाई चालु आर्थिक वर्षको पहिलो चौमासिक भत्ता उपलब्ध नगराउने निर्णय गरेसंगै माथि उल्लेख भए अनुसारका नागरिकले तत्काल भत्ता नपाउने तथ्य बाहिरिएको हो ।
झापा गाउँपालिकाका एम.आई.एस. अपरेटर रोहित कर्णले एक जानकारी सूचना सार्वजनिक गर्दै गाउँपालिकाभित्रका उक्त लाभग्राहिलाई आर्थिक वर्ष २०७७/०७८ को पहिलो चौमासिक भत्ता उपलब्ध नगराउने जनाएको छ ।
सूचनामा उल्लेख गरिएको छ–‘सामाजिक सुरक्षा ऐन, २०७५ को दफा १५ को खण्ड (ग) मा अन्य कुनै प्रकारले नियमित रुपले पारिश्रमिक, निवृत्तभरण, अवकाश सुविधा एवं अन्य सुविधा पाईरहेको व्यक्तिले सामाजिक सुरक्षा भत्ता नपाउने प्रष्ट व्यवस्था हुँदा विदेशी सरकारबाट नियमित रुपले निवृत्तभरण प्राप्त २०७७/०३/१७ (मा. मन्त्रीस्तर)–बाट निर्णय भएको हुँदा उक्त व्यक्तिहरुको लगत कट्टा गरिदिएको तथा आगामी दिनहरुमा भत्ता नपाउने व्यहोरा जानकारी गराइन्छ ।’
सामाजिक सुरक्षा भत्ता दिने सम्बन्धमा कुनै निर्देशन नआएपनि नविकरण गर्ने निर्देशन आएको विर्तामोड नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश दाहालले जानकारी दिनुभयो ।
२०७७ साउन १६ गते ६० वर्ष उमेर नपुगेका विधवा र (ख) वर्गको अपाङ्गता भएकाहरुलाई भत्ता दिने निर्णय नगरेपनि छुट्टै अभिलेख राखेर सूचना प्रणालीमा नविकरण गर्ने भन्ने निर्देशन जानकारी दिंदै दाहालले भन्नुभयो–‘पहिले नविकरण गर्ने नगर्ने अन्योल थियो, अहिले छुट्टै अभिलेख राखेर नविकरण गर्ने निर्देशन आएको छ, बजेटको व्यवस्था नभएकाले तत्काललाई ६० वर्ष मुनिका विधवा र (ख) वर्गको अपाङ्गता भएकाहरुको भत्ता अन्योलमा छ ।’
६० वर्षभन्दा कम उमेरका विधुवा महिलाले पाउँदै आएको भत्ता कटौतिको निर्णय सच्याउन माग गर्दै सरकारको निर्णयप्रति मानव अधिकारका लागि महिला एकल महिला समूहले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा ध्यानाकर्षण गराएको थियो ।
एकल महिलाले बुझाएको उक्त ध्यानाकर्षण पत्रसंगै मन्त्रालयले चालु आवमा यसअघि दिंदै आएको भत्तालाई निरन्तरता दिन उचित हुने आशयसहितको पत्र गृह मन्त्रालयमा पठाइएको मन्त्रालयका शाखा अधिकृत नेत्रप्रसाद कोइरालाले जानकारी दिनुभयो । कोइरालाले भन्नुभयो–‘हाम्रो मन्त्रालयलाई सम्बोधन गरेर आएको चिठीलाई खाइपाइ आएको भत्तालाई निरन्तरता दिन उचित छ भनेर गृह मन्त्रालयमा सिफारिस गरेका छौं ।’–‘यो काम गृह मन्त्रालयको हो, उहाँहरुले हामीलाई सम्बोधन गरेर बुझाएको पत्र र रायसहित पठाएका छौं ।’
६० वर्षमुनिका विधुवा र ‘ख’ वर्गका अपाङ्गले भत्ता नपाउने
