Home समाचार विकास भन्दा आफ्नै सुविधातर्फ गाउँपालिका, स्थानीयद्वारा व्यापक आलोचना

विकास भन्दा आफ्नै सुविधातर्फ गाउँपालिका, स्थानीयद्वारा व्यापक आलोचना

रोसन भट्टराई

बुद्धशान्ति । जनतालाई प्रत्यक्ष रुपमा विकासको अनुभुति दिलाउन निर्वाचित भएका केहि जनप्रतिनिधीहरु सबैभन्दा पहिले आफ्नै सेवा सुविधा थप्नमा तल्लिन भएका छन् ।
बुद्धशान्ति गाउँपालिकाका केही वडामा अहिले पनि सडक मर्मत भएका छैनन् । केही महिनाअघि सडक मर्मतकै विषयमा वडा नम्बर २ को कार्यालयमा तालाबन्दी समेत गरिएको थियो । वर्षायाममा शान्तिनगरका अधिकांश सडक अवरुद्ध हुन्छन् । यस्तै होक्से, भोटेटार, जयपुर लगायतका भित्री बाटामा अझै ग्राभेल समेत हुन सकेको छैन । विकास निर्माणको यस्तो अवस्थालाई नजर अन्दाज गर्दै बुद्धशान्ति गाउँपालिकाले एउटा गाडी हुँदाहुँदै ६८ लाख बढीको नयाँ गाडी थपेको छ ।
गाउँपालिका अध्यक्षको गाडी हुँदाहुँदै पालिकाले पुनः अर्को विलासी गाडी किन्ने निर्णय पारित गरेको हो । उपाध्यक्ष मीरा भूर्तेलको प्रयोजनका लागि नयाँ एस ११ स्कर्पियो किन्ने निर्णय भएको गाउँपालिका स्रोतले जानकारी दिएको छ । बिर्तामोडको सकुशल टे«ड लिंकबाट खरिद गरिएको सवारी साधनका लागि गाउँसभाबाट ५५ लाख र अध्यक्ष तथा उपाध्यक्ष मातहतमा रहने आन्तरिक कोषबाट १२ लाख थप गरी ६६ लाख ८० हजार रुपैयाँमा गाडी खरिद गर्ने सम्झौता भएको बुझिएको छ ।
जनताको काम गर्नका लागि निर्वाचित जनप्रतिनिधिले जनतासित प्रत्यक्ष सरोकार राख्ने विषय भन्दा पनि आफैंलाई सुविधायुक्त गाडी थप्नेतर्फ बढी चासो दिएको भन्दै स्थानीयस्तरमा व्यापक आलोचना भइरहेका छ ।
उपाध्यक्ष भूर्तेलको प्रयोजनका लागि २ वर्षअघि भाडामा लिएको बुलेरोमा अत्यधिक खर्च आएपछि गाउँपालिकाले आफ्नै गाडी किन्ने निर्णय गरेको बुझिएको छ । उक्त गाडीमा २ वर्षमा २५ लाख रुपैयाँ बढी खर्च आएपछि नयाँ गाडी किन्ने निर्णय गरिएको गाउँपालिकाले जनाएको छ ।


मुलुकका केही गाउँपालिका तथा नगरपालिकाका अध्यक्ष/उपाध्यक्षहरुले गाडी खरिद गर्ने शीर्षकको रकम प्राविधिक क्याम्पस खोल्न तथा एम्बुलेन्स, दमकल खरिद गर्न खर्च गर्ने गरेको उदाहरणीय समाचार बारम्बार आइरहे पनि बुद्धशान्तिमा भने यसको विपरीत भएको देखिएको छ ।
केही जन प्रतिनिधि भने गाडी खरिद प्रक्रिया गाउँपालिका सभाले गरेकोले यसको जिम्मेवारी पनि उसकै भएको बताउँछन् । एउटा गाडी हुँदाहुँदै कार्यपालिकाको बैठकले अर्को गाडी किन्ने निर्णय प्रति जनप्रतिनिधि नै असन्तुष्ट छन् । २ वर्षअघि नै खरिद गरेको भए २५ लाख रकम बचत हुने भन्दै विकास निर्माण, शिक्षा, स्वास्थ्य लगायतमा खर्च गर्नुपर्ने रकम गाडीमा खर्च गर्ने निर्णय प्रति आफूहरूको असन्तुष्टि रहेको केही प्रतिनिधिले बताए । गाउँपालिकाले अझै दमकल समेत किन्न सकेका छैन । आगलागी भइहाले अन्य क्षेत्रबाटे दमकल बोलाउनु पर्ने अवस्था छ । यस्तोमा विलासी गाडी किन्नु बुद्धिमानी हो त ।
यस्तो छ निर्देशिका :
गाडी खरिदका लागि सात वटै प्रदेश सरकारले सार्वजनिक खर्चको मापदण्ड, कार्यविधि र मितव्ययिता सम्बन्धी निर्देशिका २०७५ कार्यान्वयनमा ल्याएका छन् । त्यो निर्देशिकामा सरकारी सवारी साधन खरिद सम्बन्धी प्रक्रिया र मापदण्ड तय गरिएको छ । जसअनुसार, मुख्यमन्त्री वा समानस्तरका पदाधिकारीले रु। १ करोडसम्मको गाडी खरिद गर्न सक्छन् । प्रदेश– १ को निर्देशिकाको ११ नम्बर बुँदामा सभामुख, उपसभामुख, मन्त्री र मन्त्रिस्तर तथा प्रमुख सचिवलाई रु. ७५ लाख, सचिवलाई रु. ६० लाख, महाशाखा प्रमुख र कार्यालय प्रमुखलाई रु.४५ लाखसम्मका गाडी खरिद गर्न सकिने उल्लेख छ ।
तर, अहिलेसम्म स्थानीय तहका जनप्रतिनिधिका लागि सवारी साधन खरिद गर्नेबारे कुनै मापदण्ड छैन । त्यसैको फाइदा उठाएर स्थानीय तहका जनप्रतिनिधिले दमकल र शव वाहन समेत नभएको अवस्थामा आफ्ना लागि मुख्यमन्त्री, प्रदेशमन्त्रीको भन्दा महँगा गाडी किनेका छन् ।
जरुरी छ :
पालिकामा महँगोे गाडी भित्रिएको विषयमा गुनासो आउन थालेपछि यस विषयमा बुझ्दा यातायात व्यवस्था विभागले तराइमा चलाउन यस प्रकारको गाडी ‘अनावश्यक’ रहेको बताएको छ । यातायात व्यवस्था विभागका मेकानिकल इन्जिनियर मोहनप्रसाद भट्टराईले तराईमा ८ सय सीसी क्षमताका गाडी भए काम चल्ने बताएका छन् । उनका अनुसार पहाडमा अलि बढी सीसीको गाडी जरूरी छ । उनका अनुसार जनप्रतिनिधिले अहिले खरिद गरेका महँगा गाडी फजुल हुन् । धेरै सीसीको गाडीमा तेल बढी खपत हुने उनले बताए ।
नागरिकले आफ्नै सेवासुविधाका लागि चुनेर पठाएका जनप्रतिनिधिले नागरिकमाथि विभिन्न नाममा करको भार थोपरेर आलोचना खेपिरहेका छन् । यही सन्दर्भमा सुविधाका लागि बुद्धशान्ति गाउँपालिका जनप्रतिनिधीले पनि लाखौका प्राडो चढ्न थालेपछि यसको चौतर्फी विरोध भइरहेको छ ।
कस्ले चढ्ला त यो गाडी :
बुद्धशान्ति गाउँपालिकाले खरिद गरेको नयाँ गाडी उपाध्यक्ष मीरा भूर्तेलका लागि थियो । तर नेपाल कम्युनिष्ट पार्टी बुद्धशान्तिले सो गाडी नचढ्न उपाध्यक्ष भूर्तेललाई निर्देशन दिएको श्रोतले जनाएको छ ।
उपाध्यक्ष भूर्तेलले नयाँ गाडी नचढ्ने भएपछि सो गाडी अध्यक्ष रमेश कुमार भुजेलले चढ्ने सहमती गाउँपालिका भित्र भएको श्रोतले जनाएको छ । तर नेपाली काँग्रेस बुद्धशान्तिले पनि अध्यक्ष भूजललाई नयाँ सवारी साधन नचढ्न निर्देशन दिए पछि उनी पनि पछि हटेको गाउँपालिका श्रोतले बताएको हो ।
अध्यक्ष तथा उपाध्यक्ष दुबैले नयाँ गाडी चढ्न अभिरुची नदेखाएपछि खरिद गरिएको नयाँ गाडी कस्ले चढ्ने भन्नेमा अन्योल सृजना भएको पाइएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार विकास भन्दा आफ्नै सुविधातर्फ गाउँपालिका, स्थानीयद्वारा व्यापक आलोचना

Most Popular

Recent Comments