Home महिला लुज फोरममा स्नेहिलो काख र कटिलो प्रश्न

लुज फोरममा स्नेहिलो काख र कटिलो प्रश्न

रेजिना गौतम

व्यक्तिगत रुपमा म उनलाई चिन्दिन, एउटा पार्टीकी महिला नेतृ र राजनीतिमा महिला आन्दोलनकी अगुवा भनेर चिनेको मात्र हो । उनमा भएको क्षमताबारे पनि सतही जानकारी मात्र हो । सतही जानकारीले कुनै पनि व्यक्तिको भविष्य आंकलन गर्नु न्यायोचित नहोला ! तर, एउटा सार्वजनिक फोरममा उनले देखाएको इमान्दारिता, नेतृत्वप्रतिको विश्वासलाई टुट्न नदिन गरेको प्रतिवद्धता र अर्की नेतृप्रति देखिएका स्नेहिलो भावबाट लेखनी शुरु गर्छु ।
एन.सी. वुमन फोरम लकडाउनले जन्माएको एउटा प्लेट फर्म हो । यो प्लेट फर्ममा खासगरी कांग्रेसको आगामी १४ औं महाधिवेशन, महाधिवेशन पूर्व स्थानीयदेखि सबै तहमा हुने नेतृत्व चयनमा महिला सहभागिता, सहभागितामा पनि कार्यकारी पद र जिम्मेवारी, पार्टी र राज्यको संरचनामा महिलाको अवस्था, महिलाका अवसर र चुनौति लगायतका विषयमा मन्थन हुने गर्दोरहेछ ।
पहिले स्नेहिलो भावकै कुरा गरौं । पाँचौं संविधान दिवसको दिन उक्त फोरमकी आकर्षक थिइन नेपाली कांग्रेसकी नेतृ सुजता कोइराला । कांग्रेसभित्र पनि परिवारबादको सामना गर्दै आएकी कोइराला कांग्रेसका संस्थापक विपीकी भतिजी हुन भने द्वन्द्वमा फसिसकेको मुलुकलाई शान्तिको बाटोमा फर्काउन नेतृत्व गरेका गिरीजाप्रसादकी छोरी । बाबु र बढाउको नाम जोडिनु हाम्रो सामाजिक मनोबृत्ति हो । यद्यपि सुजताको बोल्डपनाले उनीमाथि बाबु र बढाउ जोडिरहनु पर्छ जस्तो लाग्दैन । तर, विपी र जिपीका सन्ततीमाथि बाहिर जे जे भनेपनि अन्तर्यमा सबैको मन पग्लिन्छ नै । अहिलेसम्म त्यही देखिंदै आएको छ । नढाँटी भन्नुपर्दा सुजताले नेपालमा भएका विभिन्न आन्दोलनमा स–शरीर उपस्थिति न्यून छ । त्यस्ता आन्दोलनहरुमा जुत्ता फटाउने र संगठन विस्तारका लागि खुट्टा फुटाउने कांग्रेसभित्र धेरै महिला छन् । सुजताले आन्दोलनहरुमा न जुत्ता फटाइन् न खुट्टा नै फुटाइन् । यी दुवै भूमिकामा खासै नदेखिएकी सुजता पार्टीको १२ औं महाधिवेशनमा खुल्लामा प्रतिष्पर्धा गरिन् र विजेता पनि बनिन् । कांग्रेसभित्रका महिलालाई हौस्याउने यो एउटा उदाहरण हो । जे भएपनि उनले खुल्लातर्फबाट निर्वाचनमा जाने आँट गरिन् ! यो नै ठूलो सन्देस हो । महिलाले आरक्षणमात्र खोज्नु हुन्न, खुल्लामा प्रतिष्पर्धा गरेर सफलता प्राप्त गर्न सकिन्छ त्यसका लागि आँट चाहिन्छ भन्ने कुरा प्रष्ट्याइदिएको छ । १४ महाधिवेशनमा आउँदा पनि उनको सन्देश त्यही छ, आफूमा आत्मविश्वास हुनुका साथै क्षमता र आँट गर्न सक्नुपर्छ । पार्टीभित्र पनि एकता, सहमति र सहकार्य भएमात्रै संविधान कार्यन्वयन गर्न सकिनेमा जोड दिएकी कोइरालाले पार्टीको महाधिवेशन पनि सहमतिबाटै हुनुपर्नेमा उनको जोड थियो ।
यस फोरममा सहभागी कमला पन्तबाहेक कसैलाई पनि महाधिवेशनमा खुल्लाबाट उम्मेद्वार बन्न र गुटमा नलाग्न चेतावनी दिन नसकेका महिलामा भदौ २० को भर्चुवलदेखि मुख खोली दिएको छ । १२ औं महाधिवेशनमै खुल्लामा प्रतिष्पर्धा गरेकी सुजतालाई स्नेहिलो भाव प्रस्तुत गरे–तपाईहरु अघि बढ्नुहोस्, पछि–पछि हामी छौं । हुन् त यसका पछाडि सुजताको व्यक्तिगत स्वभावले पनि काम गरेको हुनुपर्छ । धेरै फुलबुट्टा भरेर चिल्ला र चिप्ला कुरा गर्न नजान्ने सुजतालाई कसैले चित्त् नबुझ्दो कुरा गर्यो भने प्रेसमिट मै पनि उठेर हिड्ने हिम्मत राख्ने व्यक्ति हुन् । शायद महिलाहरुले अरु कुरा भन्नुभन्दा नम्रभावमा सुझाव दिन चाहे ।
एउटै फोरम, एउटै उद्देश्य, समान स्टाटस बोकेका अतिथिहरुबीच प्रश्न, तर्क, लाञ्छना प्रभावका आधारमा लगाइदो रहेछ भन्नेमा दुईमत छैन । शायद जिपीकी सन्तान भएकी भए पन्तले पनि परीक्षा दिनु पर्दैनथ्यो । उनले पनि महिलाहरुको स्नेहिलो भाव पाउँथिन । फेरी मूल्याङ्कनकर्ताको आलोचनायुक्त दयाको सामना गर्नुपर्दैनथ्यो । जसरी कमला पन्तले गर्नुपर्यो ।
उक्त प्लेटफर्ममा भदौको अन्त्यतिर कमला पन्त परीक्षार्थीका रुपमा थिइन् । आयोजकका लागि अतिथि भएपनि उनीमाथि सहभागीले गरेका प्रश्न र उठाएका सवाल सुन्दा लाग्थ्यो उनको परीक्षा लिइदैंछ ।
भर्चुअल बैठकमा विभिन्न जिल्लाबाट सहभागी महिला तथा सज्जनबृन्दले पन्तलाई यति र्याख्र्याख्ती पारे कि अलि सन्काहा नेता हो भने शायद फोरम छोडेर बाहिरिन्थ्यो ! त्यसको उदाहरण केही वर्ष अघि एक राष्ट्रिय टेलिभिजनमा नेपाल सरकारका उपप्रधानमन्त्रीलाई हेरे पुग्छ । उनी बोल्दाबोल्दै संचालकको प्रश्नको सामना गर्न नसकेर उठेर हिंडेका थिए । तर, कमला पन्तले अन्तिमसम्म नेतृत्वमाथि कार्यकर्ताले गरेका आलोचना र प्रश्नको सामना गरिरहिन् । संकुचित मानसिकताबाट गुज्रिएको हाम्रो समाजमा महिलालाई अझै पनि हेयभावले हेरिन्छ । टेकेको धर्ती बिर्सने र आकाशबाट झरेको झैं गर्ने प्रबृतिका नेताहरुका माझ उसदिन कमलाले आफूलाई एक सौम्य र सरल नेताका रुपमा स्थापित गरेको अनुभूति दिलाइन्, उनको ब्यवहार र बोलीबाट । समय आफू अनुकुल नभएका कारण उनले भनेका सबै कुरा सुन्न सकिन । तर जतिबेला सुने त्यतिबेला उनी युद्ध मैदानमा विना हतियार युद्ध गर्न उत्रिएको सिपाहीं झै निरिहताको दृष्टान्त पस्कीसकेकी थिइन । यस्तो अवस्थामा आक्रोशित प्रश्न राख्नु कति सान्दर्भिक थियो ? त्यसपछिको सेसनमा पक्कैपनि महिलाले लेसन पाएको हुनुपर्छ ।
आफूलाई लोकतन्त्रको मसिहा ठान्ने नेपाली कांग्रेस पार्टीभित्र महिलाको अवस्थाबारे खुलस्त पारिन् ।–‘पार्टीभित्र अहिले पनि महिलाको अवस्था दोस्रो दर्जामा छ, पार्टीको नीति तथा एजेण्डमाथि छलफल नै हुँदैन, हामी भोट हाल्ने मात्रै हौं, संविधानले सुनिश्चित गरेको महिला सहभागिता कार्यान्वयनमा आउन सकेको छैन ।’ महिलालाई राजनीतिमा आकर्षित गर्ने कार्यक्रम पनि खासै छैन ।
पार्टीभित्र महिलाले भोग्नुपरेका पीडा, संगठनमा अधिकारका लागि महिलाहरुले गर्नुपर्ने कार्यमै सिमित थियो समिक्षा पनि । छलफल सकियो । सुत्नै लाग्दा म्यासेन्जर कल आयो । कल त्यही भर्चुवलमा सहभागी महिला नेतृको थियो । रिसिभ गरे । –‘ए बैनी ! हिजोको प्रस्तुतिले त बुढीले भोट बटुलिन है बटुलिन् ।’ कस्ता कस्ता मान्छे त कन्भिन्स भएछन्, आज विहानै फोन गरेर, भन्दै थिए ती बुढीलाई भन्दिनु–अधिवेशनमा तिम्रो माला लाएर हिंड्छन् रे’ भोट त सोरपटर पारिन् आमैले । वास्तवमै नेतामा हुने गुण र’ छ ।’
अहिलेसम्म पार्टीको केन्द्रमा प्रतिनिधित्व गर्ने महिलाहरुले १४ औं महाधिवेशनमा खुल्लामा जानुपर्ने र आरक्षित कोटामा नयाँलाई पालो दिनुपर्ने घुमाउरो भाषामा कुरा उठाएपनि हाकाहाकी भन्न सकेका थिएन्न । तर, दुई युवाले पन्तमाथि राखेको ठाडो प्रश्न (‘के अब तपाई खुल्लाबाट उम्मेद्वार बन्नुहुन्छ ? खुल्लाबाट उम्मेद्वार बन्दै गर्दा कुनै गुटका कारण पछाडि हट्नु हुन्न ?, ‘गुट उपगुटको प्रभाव कत्तिको पर्छ, विद्रोह गरेर खुल्लामा उठ्न सक्ने कि नसक्ने ?’)–ले महिलाहरुलाई प्रश्न गर्न उत्साहित बनायो यो सकारात्मक पक्ष थियो । तर, त्यही दिन सवालको जवाफ आएपछि अनावश्यक रुपमा पारिएको र्याख्र्याख्ती र अर्को दिनको समिक्षामा पन्तमाथि व्यक्तिगत रुपमा लगाइएको लाञ्छनाले स्वयम प्रस्तुतकर्ताको प्रस्तुति क्षमता र राजनीतिक प्रतिशोध झल्काएको छ ।
महिलाको फोरममा उपस्थित भएर कटिलो प्रश्नको सहज जवाफले पन्तको गरिमा बढायो । उनले आउँदो महाधिवेशनमा आफु खुल्ला पदमा प्रतिष्पर्धा गर्ने प्रतिवद्धता जनाइन् । यसले प्रश्नकर्ताको मन त जित्यो नै स्वयम महिलाहरुले पनि खुशी व्यक्त गरे ।
गुटमा विभाजित पार्टी राजनीतिका कतिपय महिलाले भन्नुहोला यो कमलाको भक्ति भजन । तर, दाङ जिल्लाका सावित्रा रानाले उठाएको सवालको जिम्मेवारी लिंदै जुन प्रतिवद्धता पन्तले जनाइन त्यो सहज थिएन । महाधिवेशन लक्षित गरी हाल रहेका सदस्यको शतप्रतिशत क्रियाशिल सदस्यता वितरण प्रारम्भिक चरणमा जाँदैछ । ३३ प्रतिशत महिला अनिवार्य भने पनि पार्टी राजनीतिमा १०/१५ देखि २० प्रतिशत भन्दा कुनै पनि राजनीतिक दलमा महिलाको सहभागिता छैन ।
कांग्रेसभित्रको अवस्था पनि यही हो, यही अवस्था झल्काउँदै दाङ जिल्लामा पार्टी कोषाध्यक्ष समेत रहेकी रानाले ३३ प्रतिशत महिलालाई क्रियाशिल दिन पार्टी सभापति सकारात्मक नभएको भन्दै ३३ प्रतिशत कार्यान्वयनका लागि केन्द्रीय महिला नेतृको भूमिकाबारे प्रश्न उठाइन । तर, प्रतिनिधिमुलक रुपमा उठेको सवालमा त्यसको जिम्मेवारी आफूले लिने, तर प्राप्तीका लागि जिल्लैमा लडाई गर्ने र त्यो असंभव भए समय नघर्कि आफूलाई खबर गर्नु भनेर गरेको आग्रहले अधिकतमको मन जित्यो । सहभागिले महिला नेतृहरुमाथि उठाउँदै आएका केही सवालहरु :
– नेताका नजिकका तर, काम गर्न नसक्नेलाई टपक्क टिपेर नेतृत्वमा पुर्याउने गलत कार्यको अन्त्य कसरी गर्ने ?
– पार्टी नेतृत्वको फेवरमा भएन भने पार्टीकै लागि गरेका काममा पनि अनावश्यक हस्तक्षेपलाई कसरी रोक्ने ? हस्तक्षेप गर्न मिल्छ कि मिल्दैन ?
– पार्टी विधानले महिला सम्बन्धि गरेका व्यवस्थाबारे महिला नेतृहरुले समयमै जानकारी किन गराउँदैनन् ?
– पार्टीमा चिनिएका महिला नेतृले प्रत्यक्ष निर्वाचनमा जान इच्छा देखाउँदैनन् ?
– पार्टीमा ३३ प्रतिशत कार्यान्वयनको रणनीति के ?
भनिन्छ–‘कोठाभित्र थुनेर कुट्यो भने विरालो पनि आफैंतिर फर्कन्छ ।’–अधिवेशनमा प्रत्यक्षको उम्मेद्वार बन्ने प्रतिवद्धता जनाइसकेकी कमलालाई पुनः सहभागीले चिनिएका महिलाले सधैं पद ओगटिरहने जस्ता आरोप–प्रत्यारोप समेत लगाए । यो फोरममा यस्ता सवाल उठेको पहिलो पटक रहेछ । महिलाले लगाएको उक्त आरोपको खण्डनमा २०४८ सालदेखि निरन्तर उम्मेद्वार भएका पार्टीका पुरुष नेतृत्वमाथि कसैले पनि प्रश्न उठाउन नसकेको उल्लेख गर्दै महिला नेतृत्वमाथि मात्र त्यस्ता दवाव आउनु दुःखद रहेको भनिरहँदा पन्तको पनि झिनो कमजोरी झल्किएको थियो ।
भर्चुअल भेलाको सन्दर्भ यतिमै सिमित छैन । अतिथिहरुले उठाएका कुरामा समिक्षात्मक छलफल अर्को महत्वपूर्ण पाटो हो । समिक्षामा महिलाको सहभागिता प्रमुख कुरा भएपनि क्षमता र प्रस्तुतिकरण अर्को गम्भिर पाटो हो । व्यक्तिको स्वभाव उसको हाउभाउ र प्रस्तुतिकरणले झल्काउँछ । यस्ता फोरमहरुमा प्रस्तुत गर्ने विषयवस्तु आत्म सन्तुष्टिका लागि नभइ आम मान्छेको हितमा हुनुपर्छ, आलोचना स्वस्थ र सकारात्मक हुनुपर्छ । व्यक्ति केन्द्रित भएर आत्मसम्मान माथि प्रहार गर्नु भनेको पब्लिक फोरमको दुरुपयोग हो । केही महिलाले त्यसैगरी आक्रोस पोखेका कारण यति औल्याउनु स्वभावितक ठान्छु । आगामी दिनमा नेतृत्व गर्न सक्छन् कि सक्दैनन् यो गाउँ टोलमा बसेका महिलाहरुले नियाली रहेका छन् । समिक्षामा केही सिमित महिलाले जसरी पन्त (व्यक्तिगत)–माथि प्रहार गरे निश्चय पनि महिलाहरुका लागि त्यो सुखद पाटो हुन सक्दैन । तर त्यही फोरममा उनको प्रस्तुतिका कारण झण्डा बोकेर हिड्ने गरी प्रभावित भए ती सकारात्मक सोचहरुलाई धन्यवाद दिनैपर्छ ।
फोरममा ससर्ती हेर्ने हो भने कमलालाई भन्दा कटिला प्रश्नहरु सुजतालाई गरिनु सान्दर्भिक हुन्थ्यो किन कि सुजता देशको उपप्रधान मन्त्री भइसकेकी नेतृ हुन् । यो अर्थमा सुजता कमलाभन्दा राजनीतिमा अझ माथि हुन् । जवाफदेहिता उनको अझ बढि हुनुपर्छ । तर जवाफदेहि कति बनाउने भन्ने प्रश्नकर्तामा भर पर्छ ।
लुज फोरमका रुपमा चिनिएको एनसी फोरम फोरमले प्रस्तुतिलाई निखार्न पहल गर्दैछ । गरेको छ यो सबै महिलाका लागि सुखद पाटो हो । त्यही भर्चुअलमा गरिएको प्रस्तुतिकरणको विषय लिएर गरिएको अर्को कार्यक्रमले महिलालाई अझ सचेत र सजग गराएको छ । एनसीले फोरमले बाटो देखाइदिएको छ । हिड्ने आफैंले हो । सहजकर्ता भन्नुभएको छ– कसैलाई व्यक्तिगत रुपमा सुझाव दिनु भनेको उसलाई अझ राम्रो होस् भनेर दिने हो, त्यसैले कसैलाई सुझाव दिनु छ भने अनुमति लिएर दिनुपर्छ । कोही यस्तापनि हुन्छन् जो सुझाव लिनै चाहँदैन उसलाई किन दिने सुझाव ? उठ्न मन नहुनेलाई घसर्न देऊ, उठ्न मन नहुने घुरिरहन्छ, ‘बाल मत्लव ।’
महिलालाई सजगताको यस्तो पाठ सिकाउने सहजकर्ताको नाम लिएर अर्को गल्ती दोहोर्याउन चाहन्न । तर, यसो भन्दैमा सहजकर्ताबाट भएको कमजोरीलाई भने औल्याउनु जरुरी ठानेकी छु । ता कि आगामी दिनमा त्यस्ता कार्य नदोहोरिउन । सर्वगुण सम्पन्न कोही हुँदैन, तर त्यसो भन्दैमा कुनै पनि फोरमहरुमा मुख्य पात्रले बोलेका कुराले दम राख्छ, चाहे जानेर बोलोस् वा नजानेर । यो फोरममा पनि त्यस्तै देखियो ।
एनसी फोरममा उपस्थित भएर पन्तले जुन इमान्दारिता र नेतामा हुनुपर्ने गुण देखाइन् त्यसमा उनी सफल भएको अनुभूत भएर नै झण्डा बोक्न तयार भएको हुनुपर्छ । तर प्रतिवद्धता गरिसकेको विषयमा निरन्तर उही कुरा दोहोर्याएर आक्रमण गर्दा आक्रोश पोखिनु ‘ह्युमन नेचर’ झल्किन्छ । जुन कुरा सहभागी कुनैपनि महिलाको नोटिसमा थिएन् । तर सहजकर्ताले महिलाहरुले नोटिस नै नगरेको कुरालाई औल्याएर नामै तोकेर औंल्याएको कमजोरीले सहजकर्तामा निष्पक्षता नदेखिनु दुःखद पक्ष हो ।
लुज फोरम सबैले सिक्ने र सिकाउने थलो हो । त्यसैले कसैको प्रशंसामात्रै गरे स्नेहिलो काख दिने र कसैलाई कटिलो प्रश्न गरेर परीक्षामा उभ्याउने गरियो भने त्यसबाट कस्तो सन्देश प्रवाह हुन्छ त्यतापनि विचार पुर्याउन जरुरी छ । त्यतिमात्र होइन उक्त फोरममा सहभागी अधिकतम महिला कुनै न कुनै तहको जिम्मेवारीमा रहेर क्रियाशिल छन् जो भोली माथिल्लो तहका नेतामा दरिन आतुर छन् । यो तहका महिला दिदी–बहिनीले पाँडे पाराले मुख छाड्ने भन्दा प्रस्तुतिकरणलाई निखार्नु नै श्रेयस्कर देखिन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

महिला लुज फोरममा स्नेहिलो काख र कटिलो प्रश्न

Most Popular

Recent Comments