Home समाचार एकमहिनापछि शिवसताक्षीको लकडाउन खुल्यो

एकमहिनापछि शिवसताक्षीको लकडाउन खुल्यो

सतासीधाम । झापाको शिवसताक्षीमा एकमहिनापछि लकडाउन खुलेको छ । शिवसताक्षी नगरपालिकाको शुक्रबार बसेको बोर्ड बैठकले नगरका साप्ताहिक बजार अर्को निर्णय नहुञ्जेल सम्मका लागि बन्द गर्ने निर्णयलाई यथावत राख्दै अन्य स्थायी व्यवसाय भने खुल्ला गर्ने निर्णय गरेको हो ।
शिवसताक्षी नगरको भदौ १ गते बसेको बोर्ड बैठकले शिवसताक्षी नगरमा बिहान ८ बजेदेखि मध्यान्ह १२ बजे सम्ममात्र बजार खुल्ला गर्ने निर्णय गर्दै लकडाउन जारी राखेको थियो । सैलुन, ब्युटी पार्लर र होटल भने पूर्ण बन्द गर्ने निर्णय गरेको थियो ।
नगरका प्रवक्ता नवीन ईजमका अनुसार व्यक्तिगत स्वास्थ्य सुरक्षाका सामग्री प्रयोग गरेर सामाजिक दुरी कायम राखेर व्यापार व्यवसाय सञ्चालन गर्न पाउने निर्णय भएको हो । शिवसताक्षीका सामुदायिक तथा संस्थागत विद्यालयमा विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७७ को पूर्ण पालना गर्दै विद्यार्थी भर्ना खुल्ला गर्ने निर्णय भएको छ । प्रवक्ता ईजमका अनुसार आफूलाई सहज हुने तथा पायक पर्ने विद्यालयमा आफ्ना बालबालिकालाई पठनपाठनमा सहजीकरण गर्न अभिभावकलाई पालिकाले अनुरोध गरेको छ ।
बैठकले राष्ट्रिय परिचय पत्रका लागि फोटो खिचाउने कार्यलाई सुरु गर्ने निर्णय गरेको छ । बोर्ड बैठकले असोज मसान्तसम्मलाई अतिरिक्त शुल्क बिनै कृषि समूह गठन गर्ने र कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ ।
पालिकाको बोर्ड बैठकले असोज २, ३ र ४ गते नगरपालिका, वडा कार्यपालिका र नगरका चोक बजारमा दीप प्रज्वलन गरी संविधान दिवस मनाउने निर्णय गरेको छ ।
वडा नम्बर ५ र वडा नम्बर ९ को वडा कार्यालय भवन निर्माणका लागि बोलपत्र आह्वान गर्ने निर्णय भएको छ । शिवसताक्षीका केही भागमा हात्तीको उपद्रो बढेसँगै नगरपालिकाले हात्ती धपाउने साइरन र टर्चलाइट खरिद गरेर सरोकारवाला निकायलाई प्रदान गर्ने निर्णय भए¬को छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार एकमहिनापछि शिवसताक्षीको लकडाउन खुल्यो

Most Popular

Recent Comments