Home शिक्षा गोमेन्द्रका संस्थापक भन्छन्–‘कलेजमा हिरो भएर बस्ने सपना अधुरो'

गोमेन्द्रका संस्थापक भन्छन्–‘कलेजमा हिरो भएर बस्ने सपना अधुरो’

२०१६ सालमै एसएलसी पास गरेर जागिरमा लागेका उनले ३१ वर्ष सातमहिनाको समय सरकारी जागिरमा विताए । जागिरे जीवनमा पनि उनले आफ्नो पढाईलाई निरन्तरता दिए । सरकारी जागिर, कहिले यता कहिले उता सरुवाका कारण आफ्नो सोच अनुसार अघि बढ्न नसकेपनि पढ्न भने छाडेनन् । ‘विद्या धनम सर्व धनम् प्रधानम्’ विद्या नै सबैभन्दा ठूलो धन हो भन्ने कुरालाई राम्रैसँग बुझेका उनी अर्थात गणेशप्रसाद खनालले जस्तोसुकै परिस्थि
तिमा पनि आफ्नो पढाईलाई निरन्तरता दिइराखे । फलस्वरुप २०२४ सालमा आइ.ए, ०३२ सालमा वि.ए. र ०३८ सालमा एम.ए.सम्मको अध्ययन पूरा गरे ।
१९९८ असार १ गते जयनारायण र हरिप्रिया खनालका कोखबाट इलामको साखेजुङ्गमा सामान्य परिवारमा जन्मिएका गणेशप्रसाद खनाल झापामा कम्प्युटर शिक्षा भित्र्याउने पहिलो व्यक्ति हुन् । एस.एल.सी.पछि घरायसी समस्याका कारण रोजगारीका लागि जागिरे जीवनमा प्रवेश गरेका खनालले ‘शिक्षादान महादान’ भन्ने कुरालाई ‘रिटायर्ड लाइफ’ पछि पनि पुरा गरेरै छाडे ।


रसिया (रुस) मा हाइड्रो इलेक्ट्रोनिक्स इन्जिनियर अध्ययनका लागि छानिएका खनालको सपना २०१७ पौष १ गते मुलुकमा घटेको राजनीतिक घटनाले सबै चकनाचुर भएको बताए । जननिर्वाचित संसद भंग गरेर तत्कालीन राजा महेन्द्रले प्रजातन्त्रमाथि ‘कू’ गरेका थिए–पौष १ गते । बद्लिदो राजनीतिक परिवेशपछि बाहिरी मुलुकमा गएर प्राविधिक शिक्षा अध्ययन गर्ने उनको सपनामा पूर्णविराम लाग्यो । उक्त योजना टुटेपछि तत्कालीन सांसद केवी भट्टराईले काठमाडौं हिंड जागिर खानुपर्छ, एउटा तालिम पनि हुँदैछ, खानपनि त्यही दिन्छ भनेपछि भागेर काठमाडौं हिंडे रे उनी । उनले भने–‘खानै पनि दुःख दुःखै थियो, तालिम पनि हुन्छ, खान पनि दिन्छ भनेपछि भागेर हिड्यौं ।’ काठमाडौं पुगेर खनाल काका–भतिज (रामप्रसाद खनाल र गणेश खनाल)–ले सहकारी सब इन्सपेक्टरको तालिम गरे । तालिमका लागि सहयोग गरेका थिए तत्कालीन सहकारी विभागका बलराम प्याकुरेलले  ।
पहिलोपटक भारतको सिलगुढीबाट रेल चढेर भारतको रक्सौल हुँदै नेपालको अमलेखगञ्ज पुगे गणेश र उनका काका रामप्रसाद खनाल) । अमलेखगञ्जबाट जनसेवा नामक बसमा चढे काठमाडौं जानलाई । पहिलोपटक भागेर काठमाडौं जाँदाको याद अझै ताजै छ उनको स्मरणमा । उनले भने–‘त्यतिञ्जेल रेल देखेको थिएन, केवी भट्टराइले लौं हिड भने, सिलगुढीमा पुगेपछि हामीलाई रेल चढाएर उनी यता ज्यामिरगढीतिर लागे आफ्नै कामतमा, हामी रेल चढेर गयौं, अमलेखगञ्जबाट बसमा चढेका त्रिभूवन राजपथको बाटो कस्तो थियो ! बस ठेल्दै ठेल्दै काठमाडौं पुग्यौं ।’
काठमाडौं पुगेपछि खनालद्वयलाई सांसद भट्टराईले जागिरमा लगाइदे भन्दै प्रेमराज आङ्देम्बेको जिम्मा लगाए । आङदेम्वेले पनि गणेशलाई रसियामै पढ्न पठाउन जोड गरेका थिए । तर उक्त प्रयास नमिलेपछि खनालको रसिया पढ्न जाने सपना सदाका लागि टुङ्गिएको थियो । उनले भने–‘प्रेमराजले पनि प्रयास गरेका थिए, उनकै के हालत भयो, मलाई गरेनन् भनेर के भन्नु ?’
रसिया अध्ययनको सपना टुट्यो, थालेको तालिम पनि सकिएपछि खनाल डब्लु एचओको अर्गनाइजेसनमा पुगे । त्यतिबेला उक्त अर्गनाइजेसनले हेल्थ असिष्टेन्ट उत्पादन गथ्र्यो । त्यसका लागि उनी पनि छानिएका थिए । तर त्यो तालिम पनि लिन पाएनन् उनले । ‘आमा विरामी भएको खबरले यतै आउनु पर्यो’–उनले भने ।
काठमाडौंको झोंसेमा बसेका थिए । सहकारीका एसिष्टेन रजिष्टार बालगोपाल अधिकारी जागिरको नियुक्ति पत्र लिएर कोठैमा पुगेपछि ग्राम विकासमा सब इन्सपेक्टरको नियुक्ति लिएर इलामको फिक्कल फर्किए उनी । त्यतिबेला जागिरबाट पाइने तलबबारे सुनाउँदै उनले भने–‘अचम्म मान्नु हुन्छ होला, जम्मा तलब १२० रुपैयाँ थियो ।’ ग्राम विकासबाट सरुवा भएर भूमिसुधारमा पुगे । पढ्ने रहर हुँदाहुँदै जागिरे भएका खनालले २०२४ सालमा आइ.ए. पास गरेको बताए । सरकारी जागिर सरुवाको क्रम निरन्तर चलिरह्यो । जागिरकै शिलशिलामा भक्तपुर पुगेका खनालको पढ्ने रहर उत्तिकै थियो । बाहिर गएर पढ्ने उनको तीब्र इच्छालाई बुझेका भूमिसुधार कार्यालय झापाका हाकिम नारायण ढकालले तत्कालीन दरबारका सचिव रञ्जनराज खनालसम्म कुरा र मान्छे दुवै पु¥याएपनि पार नलागेको खनाल सम्झन्छन् । विदेशमा गएर पढ्ने प्रयास असफल भएपछि भक्तपुरमा जागिरमै थिए उनी । त्यही बेला स्नातक पढ्न आग्रह गर्दै बासुदेव जोशी पुगे उनीसमक्ष । पहिलोपटक स्नातक कक्षा चलाउन लागेका रहेछन् उनले भने–‘त्यो बेला १९ जना विद्यार्थी भएछन्, २० जना पुग्दामात्रै स्नातक तह स्वीकृति पाउँने प्रावधान रहेछ, मैले २०३० सालमा भक्तपुर कलेजमा पढाई शुरु गरें र ३२ सालमा भक्तपुरबाट स्नातक गरे ।’
उही जागिरकै शिलशिलामा खनाल विराटनगरमा आइपुगेका थिए । त्यहीबेला विराटनगरमा एमएको पढाई शुरु हुँदै थियो । पहिलोपटक अर्थशास्त्र (इकोनमिक्स)–को पढाइ शुरु हुने भएपछि फेरि ध्रुवनारायण कायस्थले खनाललाई एमएको पढाईमा डो¥याए । अर्थशास्त्र आफूलाई पनि मन पर्ने विषय भएकोले जागिर संगसंगै स्नात्तकोत्तर कलेजमा पढ्न थालेको उनले बताए । भूमिसुधारमा अनिवार्य बचततर्फको जिम्मेवारी पाएका खनालको जिम्मेवारी अलि कडा पनि थियो । त्यसमा खनालको आफ्नै स्वभाव पनि जोडिएपछि उनले पढाईलाई भन्दा जिम्मेवारीलाई ठूलो ठाने । ‘भूमिसुधारले राम्रो रोल भनेर राखेको थियो’ उनले भने–‘फेरि मेरो एउटा काम थालेपछि त्यसलाई पार लगाएर मात्र छोड्ने बानीका कारण पनि पढाइलाई भन्दा जागिरको जिम्मेवारी पूरा गर्न लागे, पढाइ लम्बियो ३८ सालमा त्रिभूवन युनिभर्सिटीबाटै एम.ए. गरें ।’


२०४८ सालमा संसद सचिवालयमा कार्यरत खनाललाई एकदिन गिरिजाप्रसाद कोइरालाले अब नयाँ युवाहरु ल्याउनुपर्छ तिमीहरुलाई अब छुट्टी भन्दा खनाललाई विश्वास लागेन रे । ०४८ सालमा सरकारले कर्मचारीको सेवा अवधी नियमावली संशोधन गर्दै ३० वर्षे सेवा हद लागू गरेको थियो । कोइरालाको भनाईमा विश्वास नलागेपछि भोलीपल्ट गएर खनालले सोधे रे । उनले भने–‘त्यही नियमावली अनुसार ३१ वर्ष ७ महिनापछि सरकारी जागिरबाट अवकास भयो ।’ जागिरबाट अवकाश पाउँदा उनी ५१ बर्षका थिए ।
जागिरबाट अवकास पाइसक्दा पनि खनालको शिक्षाप्रतिको मोह घटेको थिएन । त्यसैले ‘शिक्षादान महादान’ भन्ने नारालाई आत्मसात गर्दै शिक्षातर्फको पाइला चाले । शिक्षामा आफूलाई बाटो देखाउने श्रेय काका दातारामलाई दिन्छन् उनी । दाताराम पनि शिक्षा क्षेत्रमा अग्रणी ब्यक्तित्व हुन् । ‘हामी दुईजना (दाताराम र म) बीचमा विर्तामोडमा प्राविधिक शिक्षालय खोल्ने सल्लाह भयो–उनले भने । प्राविधिक शिक्षालयकै खोजीमा उनी सिटिइभिटीमा पुगे । तर, प्राविधिक शिक्षालय खोल्ने लक्ष्यका साथ सिटिइभिटीमा पुगेका खनाललाई त्यहाँको व्यवस्था पटक्कै मन परेन रे । उनले भने–‘प्राविधिक शिक्षालय आवश्यक हो तर, सिटिइभिटीको प्रक्रिया झण्झटिलो ।’ सिटिइभिटीमा चित्त नबुझेपछि उनी उच्च माध्यमिक शिक्षा परिषद पुगे । जहाँ एउटा फर्म भरेर आए । उक्त फर्मले निजी शैक्षिक संस्था सञ्चालनको मात्र होइन कम्प्युटर शिक्षाको ढोका खोल्ने माध्यम पनि बन्यो । त्यतिमात्र होइन झापामा निजी क्षेत्रबाट उच्चमावि सञ्चालन गर्ने पहिलो विद्यालय पनि यही हो ।
विद्यालय सञ्चालनका लागि भरिएको फर्मको आधारमा उच्चमाध्यमिक विद्यालय परिषदका संवन्धन शाखाका प्रमुख ढालबहादुर खड्काको नेतृत्वमा उच्च शिक्षा परिषदबाट अध्ययनका लागि टोली आयो । भौतिक संरचना निर्माण लगायतको अध्ययनपश्चात ढालबहादुरले कक्षा ११÷१२ को स्वीकृति दिने विश्वास दिलाए । त्यसका लागि ४ लाख धरौटी राख्नुपर्ने भयो । विद्यालय बनाउने ठाउँ भएपनि धरौटीका लागि आफूसंग सामथ्र्य नभएको उनले बताए । आफूले आधामात्र रकम निकाल्न सक्ने कुरा दर्शाएपछि त्यही टोलीले निकास दिएको स्मरण गर्दै खनालले भने–‘दुई लाख भन्दामाथि निकाल्न सक्ने अवस्था थिएन, धरौटी राख्न सक्दिन भने, उनले कति सक्नुहुन्छ ? भने मैले २ लाख मात्रै भनेपछि उनले भने ए ! त्यति भए भइहाल्छ भन्दै आइडिया सुनाए, त्यही २ लाख पहिले मुद्धतीमा राख्ने अनि ऋणका रुपमा निकाल्ने र पु¥याउने ।’
हजुरआमा गोमा र हजुरबुबा इन्द्र खनालका नामबाट गणेश खनालले स्थापना गरेको गोमेन्द्र महाविद्यालयले २०५३ साउन १ गतेबाट सञ्चालन स्वीकृति आयो । प्रारम्भमा वाणिज्य र मानविकी संकायमा अध्यापन शुरु गरेको विद्यालय विस्तार हुने क्रम अझै जारी छ । अहिले क्याम्पस र स्कूल छुट्टाछुट्टै छन् । उक्त महाविद्यालयमा हाल स्नातक तह अन्तरगत विविए, विसिए तहका शिक्षा अध्यापन हुँदै आएको छ  भने गोमेन्द्र विर्ता मोडल माध्यमिक विद्यालय पनि सञ्चालनमा छ । खनालले सिर्जना गरेका यी दुवै शैक्षिक संस्थामा हाल ६० जना बढीले रोजगारी पाएका छन् । विद्यार्थीको आकर्षण उल्लेख्य छ ।
केही वर्ष पहिले स्वास्थ्यमा आएको गम्भीर समस्याका कारण यी दुवै शैक्षिक संस्थाको जिम्मेवारी गणेश खनालले आफ्ना उत्तराधिकारीलाई सुम्पिइसकेका छन् । उनका तीन छोरामध्ये जेष्ठ सुपुत्र दिपक–कमला खनाल अष्ट्रेलियाको सिड्नी शहरमा किङ्स्टन कलेज सञ्चालन गरिरहेका छन् । माइला डा.रुपक–सरस्वती (सरु) खनाल गोमेन्द्र कलेज सञ्चालन तथा ब्यवस्थापनको जिम्मेवारी संहालिरहेका छन् भने कान्छा उत्तम–गीता खनाल स्कुल सञ्चालन गरिरहेका छन् ।


साखेजुङमा मोहन शम्शेरको पालामा खोलिएको मोहनोदय स्कूलमा धुलौटो खेलेका खनालले हिड्दा–हिड्दै साथीहरुले भनेको सुन्दा–सुन्दै सिक्ने गरेको बताए । आफूले पढ्दा र पढाउँदाको शैक्षिक अवस्था विल्कुल फरक रहेको बताउँदै उनले भने–‘त्यो बेला ठूलो वर्णमाला पढ्दा नै धेरै हुन्थ्यो, अहिले सालिन्दा नयाँ किताब लिएर पढ्ने अवस्था छ ।’ शिक्षाको सबैभन्दा महत्वपूर्ण मानिएको पाठ्यक्रम र परीक्षा प्रणालीमा सुधार नहुँदा समयानुसार शिक्षाको गुणस्तर पनि बृद्धि हुन नसकेकोप्रति खनालको दुखेसो छ । १ सय पूर्णाङ्कको परीक्षामा ३२ ल्याउँदा पास हुने परीक्षा प्रणालीले विद्यार्थीलाई विद्वता हासिल गर्न नभई चोरेर भएपनि पास हुनुपर्ने कुरामा प्रेरित गरेको उनको धारणा छ । अहिलेको परीक्षा प्रणाली भन्दा गुरुकुलीन शिक्षा व्यवहारिक लघुसिद्धान्तकौमुदी पढाईको तरिका राम्रो भएको बताउँदै उनले भने–‘पाठ्यक्रममा ज्ञान प्राप्त गर्ने, अनुशासनका कुरा र राष्ट्रको आवश्यकता अनुसार विद्यार्थीले पढ्नै पर्ने कुरा छैनन्, २०१६ साल यता जति सुधार हुनुपर्ने हो त्यो हुनै सकेन ।’ पास हुनका लागि पढिएको शिक्षाले स्वयम व्यक्ति र देशलाई केही दिन नसक्ने उनले बताए । ‘ग्रयाजुएट गरेकालाई के सोध्ने केही त आउँदैन पास हुनका लागि पढ्छ भने त्यसले के जान्दछ, तसर्थ पास हुनका लागि भन्दा पनि ज्ञान प्राप्त गर्न विद्वताका लागि पढ्नुपर्छ ।’ वेवास्ताका कारण ध्यान नगएको गुरुकूलको शिक्षण विधि र परीक्षा प्रणाली राम्रो रहेको उनको भनाई छ । १०० पुर्णाङ्क राखेर पढाइने पाठ्यक्रम र परीक्षा प्रणालीबाट पास भएपनि शिक्षक भएर विद्यार्थीका अगाडि पढाउन उभिदा मात्रै आफूले लिएको शिक्षा कति कमजोर रहेर भन्ने थाहा पाएको स्मरण गर्दै उनले भने–‘म इकोनोमिक्स र पपुलेसन पढाउँथे । कलेजमा पढाउँदा थाहा भयो इकोनोमिक्स त मैले पढेकै रहेनछु, पास मात्रै गरेको रहेछु । कम्तीमा ३/४ घण्टाको पूर्वाभ्यासपछि मात्रै म पढाउन सक्थें । पूर्वाभ्यासका लागि रातभर खट्नुपथ्र्यो ।’ पास मात्रै हुने शिक्षाभन्दा विद्वता हासिल गर्न उत्प्रेरित गर्ने शिक्षा आवश्यक रहेको उनको भनाई छ ।
‘राष्ट्र, जनता र समाजप्रति उत्तरदायी जनशक्ति उत्पादनका लागि अनुशासन र नैतिकतासम्बन्धि छुट्टै पाठ्यक्रम आवश्यक छ’–खनालले भने–‘अनुशासित र नैतिकवान जनशक्ति तयार गर्न किताव नै चाहिन्छ ।’ शिक्षाको कुरा गरिरहँदा भातृभाषा (नेपाली)–को महत्व घटाउने काम जानि÷नजानी सबैबाट भएको उनको भनाई छ । नेपाली र अंग्रेजी दुवै भाषा आवश्यक भएपनि मातृ भाषालाई अवमूल्यन गरेर आडम्बरी शिक्षाका पछिमात्र दौडनुनहुने खनालको तर्क छ । अंग्रेजी लगायत अन्य विदेशी भाषालाई आडम्बरी भाषाको संज्ञा दिए–‘एम.ए. गरेका छन् । तर अड्डा अदालत सरकारी कार्यालयमा जाँदा प्रयोग हुने आफ्नो भाषा लेख्न आउँदैन, उनले थपे–‘ अरुलाई नै लगाउनु पर्छ, मदर टङ नआउने अरु चै आउने कस्तो आडम्बरी शिक्षाका पछि लागेका छौं ।’ मातृ (नेपाली) भाषा शिक्षणलाई अगाडि बढाउन अत्यावश्यक रहेको उनले बताए ।
२०३२ सालमा जापानमा गएका बेला कम्प्युटरको प्रयोग र कोर्षका रुपमा पढाई भएको देखेपछि उनलाइ लज्जा बोध भयो रे । नेपालमा पनि यो शिक्षा चलाउन सके हुन्थ्यो भन्ने सोच पलायो उनमा । त्यसैले जापानबाट फर्कंदा काठमाडौं झर्नेवित्तिकै त्यसैको खोजीमा लागे रे उनी । त्यसअघि सोर्स लगाएर भएपनि सिटिइभिटीबाट इलेक्ट्रिसिटी र सिभिल सबओभर सियरको अनुमति लिएर २/३ वर्ष कक्षा सञ्चालन गरेर प्राविधिक शिक्षालय सञ्चालनको अनुभव बटुलेका थिए उनले । खोज्दै जाँदा उच्च शिक्षा परिषदको पाठ्यक्रम हेर्ने मौका पाएका उनले त्यहाँ एउटा कम्प्युटर विषय भएको थाहा पाएका थिए रे । त्यसैका आधारमा उच्च माध्यमिक शिक्षा परिषदमा कम्प्युटर शिक्षाको स्वीकृति माग्न जाँदा कक्षा सञ्चालन गर्ने कुरा नै नपत्याएको प्रसङ्ग सम्झदै उनले भने–‘कसरी चलाउनु हुन्छ, यो सम्भव छैन ।’ जसोतसो परिषदलाई विश्वासमा लिएर स्विकृति लिएको खनालले सुनाए ।
प्राविधिक शिक्षालय सञ्चालनको बाटो त खुल्यो तर शिक्षक पाउनै गारो थियो यो २०५६ सालको कुरा हो । कम्प्युटर शिक्षक खोज्न उनी भारतको सिलीगढीतर्फ लागे । पश्चिमबंगालको बागडुग्रास्थित उत्तरबंग विश्वविद्यालयमा पढेका विद्यार्थीले ११/१२ मा पढाउन सक्ने क्षमता हुन्छ भन्ने विश्वासमा रहेका खनालले सोही अनुसार सौरभ दत्तलाई शिक्षक ल्याएर कक्षा शुरु गरेको सुनाए ।
क्रमिक रुपमा पढाईको तह थपिने क्रम निरन्तर जारी नै रह्यो । कक्षा ११ मा कम्प्युटर शिक्षा शुरु भएपछि २०५६ मा वि.सि.ए र २०६२ मा वि.वि.एको कक्षा पनि शुरु गर्ने सोच अनुसार अघि बढे । तर सबैभन्दा बढी विसिए शिक्षक पाउन कठिन भएको अनुभव सुनाए उनले । नेपालमा २०५६ सालतिर विसिएको शिक्षक पाउने संभावना नदेखेपछि भारततर्फ लागे उनी । ‘पहिले वास्तै गरेन, शायद यिनीहरु हाम्रै भाँडा मोल्ने त हुन नी यस्ताले के पढाउँछ भने जस्तो मान्यो, तर पटकपटक गएपछि मात्रै किन आएको भनेर सोध्यो’– खनालले भने–‘ मेरो कुरा राख्दा त्यस्तो पढेकाहरु यहाँ बस्दै बस्दैनन्, दिल्ली, मुम्बई गइहाल्छन्, जलपाइगुढीमा एउटा छ होला त्यहाँ जानु ।’ उही बंगालीको सहयोगमा विसिए शिक्षक भेट्टाएको अनुभव सुनाए उनले । त्यतिबेला मासिक भारु ४० हजार र आवास दिने शर्तमा जलपाईगुढीबाट विसिएको शिक्षक भित्र्याए विर्तामोडमा ।


अहिले कोरोना संक्रमणले विश्व अर्थतन्त्र खस्कदै गएको छ । अर्थतन्त्र ध्वस्त भएसंगै बेरोजगारी बढ्दो छ । रोजगारदाताले कामदार कटौतीलाई तिब्र बनाएका छन् । कोरोनाले सबैलाई अत्याएको बेला यसलाई अवसरका रुपमा लिनुपर्ने खनालको तर्क छ । उमेरले ८० औं बसन्तमा हिड्दै गरेका उनी आफ्नो कार्यकालको अन्तिम कामस्वरुप कृषि उत्पादनको गुरुयोजना अन्तरगत पूर्वाधार तयारीमा लागेका छन् उनी । पितृप्रशादका रुपमा झापाकै दहीझोडामा रहेको ३ विगाहा जमिनमा व्यवसायिक बाख्रा, कुखुरा, बट्टाई, मौरी पालन गर्ने योजना छ उनको । सो योजनाको प्रारम्भिक चरण शुरु भएको उनले सुनाए । घाँस लगाउने तयारी शुरु भइसकेको उनले बताए । प्राकृतिक सम्पदा सम्पन्न नेपालमा सरकारले रोजगारी र बजारको व्यवस्था गरेर उत्पादनमा लगाउने हो भने कुनै पनि नेपालीले पसिना बगाउन विदेशमा जानु नपर्ने तर्क राख्दै खनालले भने–‘संभावना प्रशस्तै छ, कृषि (जडीबुटी, अदुवा, अम्रिसो, अलैंची, कफी लगायत अन्य कृषि, पशुपंक्षीजन्य वस्तुको उत्पादन बढाएर निर्यात गर्नसक्ने क्षमता छ, तर त्यसको व्यवस्थापकीय जिम्मेवारी सरकारले गर्नुपर्छ ।’
महाकवी लक्ष्मीप्रसाद देवकोटाको ‘उद्देश्य के लिनु उडी छुनुचन्द्र एक’ भन्ने मन्त्रलाई आत्मसात गरेर सधैं अघि बढेको उनीे बताउछन् । त्यतिमात्र होइन आफूले शिक्षा दिएका शिष्यलाई बनारसमा पढेर आएका भानुभक्तको एउटा घाँसी पात्र नभएको भए र ढुङ्गामा सुतेकामात्र भए रामायण नजन्मिने उदाहरण दिंदै सधैं केही गर्न प्रेरित गर्ने गरेको उनी सुनाउँछन् ।
आठ दशकको विगत र वर्तमान खोतल्ने क्रममा अनेकौं दुःख व्यहोरेका खनाल अहिले विर्तामोडका सिमित धनाढ्यमध्ये एकमा गनिन्छन्  । तर साँखेजुङमा रहँदा निकै कमजोर आर्थिक अवस्था रहेका गणेश खनालका बुवा जयनारायण (मुक्तिनाथ) खनाल जजमानी गर्नुहुन्थ्यो । आर्थिक दुरावस्थाकै कारण जन्मथलोमा जग्गा जमिन जोड्न नसकेका खनाल परिवारले २०१८ सालतिरै झापाको भाङबारीमा केही जग्गा जोडेका थिए रे । सोही जग्गा झापा झर्ने डोरोबाटो बनेपनि भाङवारीमा धेरै समय रहन सकेनन् । ०१८ सालमा आएको बाढीबाट आत्तिएका उनीहरु सुरक्षित बसोबासको खोजीमा दहीझोडामा पुगे । २०२१ सालदेखि भने सपरिवारको बसाई झापा नै बन्यो ।
सुदृढ अहिलेको आर्थिक अवस्थाका पछाडि इमान्दारिता, लगनशिलता र निष्ठा नै रहेको खनालको भनाई छ । सरकारी कर्मचारीलाई भोका स्याल भन्ने गरेको बताउँदै उनले भने–‘मैले घुस खाइन, कुखुरा चोरेर नखाने स्यालहरु पनि छन्, सत्यमा बसेर काम गर्दा इश्वर र प्रकृतिले पनि हेर्दारहेछन् ।’ त्यसो त ८५ हजारमा किनेको ३ विगाहा जग्गा प्रतिकठ्ठा आठलाखका दरले विक्री गरेको सुनाउँदै भने–‘त्यसैबाट हो यो सम्पत्ति जोडिएको ।’ जीवनका अधिक समय शिक्षा क्षेत्रकै चिन्तनमा विताएका खनालको सपना भने अझै पूरा भएको छैन रे । ‘तिनै भाइ छोराले मास्टर्स गरुन्, बुहारी पनि पढेकै ल्याउँला । अनि धेरै विषयको अध्ययन एकै ठाउँ गराउने कलेज खोलौला र आफू हिरो भएर बसौंला भन्ने थियो’–उनले भने–‘आधा पूरा भयो, आधा भएन ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

शिक्षा गोमेन्द्रका संस्थापक भन्छन्–‘कलेजमा हिरो भएर बस्ने सपना अधुरो'

Most Popular

Recent Comments