भक्तपुर । शुक्रबार साँझ भक्तपुरको मध्यपुर थिमि नगरपालिका–६, कुन्डोलमा तीन मृत भेटिएको घटनामा हत्यापछि आत्महत्या गरेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । ३६ वर्षीय सुदिप अधिकारीले श्रीमती र छोराको धारिलो हतियार प्रयोग गरी हत्या गरेर आफूले पनि विष सेवन गरी आत्महत्या गरेको हुनसक्ने प्रहरी उच्च स्रोतले जनाएको छ ।
शुक्रबार साँझ सवा ५ बजे अधिकारीका भाइ सुनीलले प्रहरीलाई खबर गरेपछि भक्तपुर प्रहरी परिसर र महानगरीय अपराध महाशाखाको टोली अपराधस्थलमा पुगेको थियो । त्यसक्रममा सुदिपसहित उनकी श्रीमती ३४ वर्षीया सम्झना र १५ वर्षीय छोरा सुशान्तको शव भेटिएको थियो ।
प्रहरीले त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जका फरेन्सिक विज्ञसहितको टोलीलाई पनि छानविनका लागि घटनास्थलमा बोलाएको थियो । त्यसक्रममा सम्झना र सुशान्तको मृत्यु केही दिन पहिले नै भएको पाइएको छ ।
‘अनुसन्धानमा संलग्न एक अधिकृतका अनुसार पहिलो तलामा सुशान्त र दोस्रोमा सम्झनाको शव भेटिएको थियो । शब भेटिएको भित्तामा रगतको छिर्का देखिएको बताइएको छ’, घटनाबारे ती अधिकृतले भने, ‘फरेन्सिक विज्ञसहितको टोलीबाट जाँचबुझ गर्दा दुवै जनाको टाउकोमा गहिरो चोट देखिएको थियो ।’
अनुसन्धान अधिकृतहरुका अनुसार दुवै जनाको शव सडिसकेको अवस्थामा भेटिएको थियो । त्यसैले कम्तिमा दुई दिनअघि आमा–छोराको हत्या भएको हुनसक्ने देखिएको भएपनि पोष्टमार्टम रिपोर्ट आएपछि मात्र पुष्टि हुने बताइएको छ ।
अन्तिम तलाको ढोका छेउमा मृत अवस्थामा भेटिएका सुदिपको शरीरमा नभएको तर वान्ता गरेको संकेत देखिएको बताइएको छ । स्रोतका अनुसार भान्सामा भात, तरकारी लगायत केही खानेकुरा छन्, जसमा विषको जस्तो गन्ध आएको छ ।
प्रहरीले परीक्षणका लागि खानेकुरालाई पनि प्रयोगशालामा पठाउने तयारी गरेको छ । भ¥याङमा मृत भेटिएको कुकुरको पनि विषकै कारण मृत्यु भएको हुनसक्ने आशंका गरिएको छ ।
प्रहरीका अनुसार एक वर्ष पहिले सुदिपले औषधि पसलमा काम गर्ने गरेका थिए । पछिल्लो समय जागिर नखाएको भन्दै उनी र श्रीमतीबीच झगडा हुने गरेको आफन्तहरुले बताएका छन् भने छोरासँग पनि उनको झगडा हुने गरेको छिमेकीहरुले जनाएका छन् ।
सुतेकै ठाउँमा श्रीमती र छोराको हत्यापछि आत्महत्या !
