Home साहित्य साहित्यस्रष्टा भुवनराज शिवाकोटी ‘चौघरे’ र छरिएका पाइला भित्र छिर्दा

साहित्यस्रष्टा भुवनराज शिवाकोटी ‘चौघरे’ र छरिएका पाइला भित्र छिर्दा

नुरज भट्टराई

पूर्वप्रसङ्ग
करीब पाँच दिन (साउन ३१ गते शनिवारको ) अगाडिको सन्दर्भ हो यो । कवि एवं गजलस्रष्टा अरुण अनुराग सरको निम्तोलाई स्वीकार गरी सङ्क्रमणलाई ध्यानमा राख्दै म काँडाघारीबाट लोकन्थली उत्रिएँ त्यहीबाट सरले हामी आज केही ठाउँ डुल्नुपर्छ भनेपछि म राजी भएँ। हामी पशुपतिनाथ, योगी नरहरिनाथको पुस्तकालय, उनले साधना गरेको स्थान, लगायत बूढानिलकण्ठसमेतको दर्शन गरेर फर्कने क्रममा एकजना जुझारू साहित्य स्रष्टासँग परिचय हुने सौभाग्य जुर्यो उही अनुराग सरमार्फत । उहाँले परिचय गराउँने उद्देश्य लिएर नै मलाई बोलाउँनु भएको रहेछ , भरे मात्र थाहा भयो । मेरो खुशीको सीमा नै रहेन । हुन पनि गाउँमै भएपनि साहित्यसङ्गीत कलासंस्कृतिको जगेर्ना गर्नुपर्छ भनेर सकेजति प्रयास गरिरहेको व्यक्ति म एकजना स्थापित स्रष्टा भेटदा नरमाउँने त कुरै भएन। त्यसमा पनि सुदूरपूर्वी जिल्ला इलामको मोफसलमा बसेर सृजनशील कर्ममा रमाउन चाहने सिकारू व्यक्ति र कालिञ्चोक नगरपालिका–८, सुनखानी, दोलखामा जन्मेर हाल काठमाडौं नै बसेर साहित्यको सेवा गरिरहेका साहित्य स्रष्टासँगको भेट भूगोलको हिसाबले पनि नविन र नौलो किसिमको थियो।
भुवन शिवाकोटी नागरिक परिचय र भुवनराज शिवाकोटी ‘चौघरे’ साहित्यिक परिचयसहितको घनीभूत परिचयको क्रममा उहाँको विभिन्न विधाको कृतिहरूमध्ये त्यसवेला उपलब्ध भएको तर सार्वजनिक हुन बाँकी रहेकोू छरिएका पाइला ूनामक हाइकुसङ्ग्रहको पुस्तक जुन भदौ ८ गते अनलाइन मार्फत सार्वजनिक गरिने जानकारी गराउँदै चुल्हो निम्तिसहित सृजनशील सद्भावस्वरूप मलाई हस्तान्तरण गर्नुभएको थियो। साहित्यमा महाकाव्य र नाटकबाहेक कविताको लघुत्तम रूपदेखि लघुरूप र कथा, निबन्ध, प्रबन्ध, संस्मरण साथै जीवनी साहित्य आदि विधाहरूमा आफ्नो लेख्य र कथ्य समीक्षात्मक उपस्थिति प्रयास जनाइसकेको मेरो कलम र इच्छाशक्तिको भावनालाई अरुण सरले थप मलजलसहितको परिचय गराउनु भएकोले स्रष्टा शिवाकोटीले मलाई त्यो कार्य पनि हस्तान्तरण गर्नुभएको थियो । उही हाइकुसङ्ग्रहको बारेमा त्यसैको प्रमाण हुन् यी शब्दहरू ।
साहित्य स्रष्टा भुवनराज शिवाकोटी ‘चौघरे’का साहित्यिक परिचय र ‘छरिएका पाइला’ का बाहिरी संरचना पक्ष
छोराको नागरिकतामा बाबुको नाम जोडिएर आए झैँ कृतिसमीक्षामा कृतित्व भन्दा अगाडि सन्दर्भ र व्यक्तित्व स्वाभाविक नै हो । यसैलाई प्रष्ट पार्न खोजिरहेको छु–मातापिताद्वय डम्बरकुमारी शिवाकोटी र खड्गप्रसाद शिवाकोटीका पुत्ररत्नको रूपमा दोलखा जिल्लाको कालिञ्चोक न. पा. सुनखानी गाउँमा वि सं २०३३ सालमा जन्मेका स्रष्टा हाल काठमाडौंमा नै बसेर साहित्यसेवा गरिरहेका छन्। भुवनराज शिवाकोटी एउटा कित्ताका दुई सृजनशील शोपानउन्मुख व्यक्तित्व रहेछन्। उनका दुई पाटामध्ये एउटा सङ्गीत र अर्को साहित्य पर्दछन्। सङ्गीत अन्तर्गत शब्दरचना, लयविधान र गायन पर्दछ र यसैको त्रिकोणात्मक मूल सम्बन्धको मूल खाँबो पनि रहेछन् । साहित्य अन्तर्गत सबै विधामा प्रायः कलम चलेको देखियो र उनको अरू सृजनाहरू पनि पढ्दा हालसम्म खण्डकाव्य र महाकाव्य बाहेक । कविता अन्तर्गत गद्य कवितामा बढी लगानी रहेको देखिन्छ साथै अरू विधामा भन्दा कवितामा शसक्त ऊर्जा भर्न सफल पनि देखिन्छन् भने कवितामा पनि गद्य कवितामा जति ऊर्जाशील छन् त्यति नै अरूमा कम भेटिन्छन् । हुन त कविताको ऐतिहासिकता खोज्ने हो भने हामी गीतमै पुग्नुपर्ने हुन्छ ।
कविताको लघुत्तम रूप मुक्तक, लघु रूप फुटकर कविता र गजल लगायत आयातीत विधा हाईकुमा समेत सशक्त कलम चलाएका छन्। साहित्यमा वर्तमान समयको विकृति÷विसङ्गति, न्याय सम्पादन, अन्याय अत्याचार, बलत्कार र घुसखोरी जस्ता विषयवस्तुलाई समावेश गरी उक्त घटनाहरूलाई निरुत्साहित गर्दै देशभक्तिमूलक रचनाहरूको सृजना गरेका छन्। भने सङ्गीतको पाटाबाट पनि देशको गौरबलाई माथि उठाउँन आफ्नै शब्द, स्वर र सङ्गीतमा करीब तीन दर्जन गीतका म्युजिक भिडियोहरू श्रोता दर्शकहरू माझ सार्वजनिक गराइसकेका छन्। साहित्य र सङ्गीतका गरी र सालका हिसाबले विसं २०६७ देखि हालसम्म करीब दर्जन (९–१२) भन्दा बढी कविता सङ्ग्रह र साङ्गीतिक कृतिहरू प्रकाशित गरी सार्वजनिक गरिसक्नु भएको छ त्यसैगरी दर्जनभन्दा बढी प्रकाशोन्मुख अवस्थामा पनि रहेको देखिन्छ। करीब दशवटा विभिन्न साहित्यिक संघसंस्थाबाट सम्मानित, अभिनन्दित एवं पुरस्कृत भइसकेका स्रष्टा शिवाकोटी करीब आधा दर्जन साहित्य र सङ्गीतका संघसंस्थाका संस्थापक र आजीवन सदस्यको पदमा संलग्न वा आवद्ध भई अनवरत सेवासमेत गरिरहेको पाइन्छ ।
उपर्युक्त कृति छरिएका पाइला हाइकु सङ्ग्रहको बाहिरी आवरण र संरचना हेर्दा आवरण निक्कै आकर्षक देखिन्छ मतलब आवरण पनि कृतिको पूर्वपरिचय हो । यसको रङ्गीय दृष्टि त्यत्ति उज्यालो देखिन्न तर गुणात्मकता चाहिँ अब्बल देखिन्छ । बाहिर एउटी नारीको पिठ्युँमा बीचमा सलक्क परेको केशराशी कम्मर भन्दा तलको भागमा राखिएको दुई आँखाको बीचमा नाकको समानान्तर हुँदै पुछार पुग्दा पिरामिडको विपरीत आकारमा गाडिएको छ । त्यसको ठीक माथि नारीको टाउकोमाथि छरिएका पाइला ठूला अक्षरमा लेखिएको छ। त्यसको ठीक तल स्रष्टाको नाम लेखिएको छ। विपरीत पाटामा स्रष्टा परिचय र सम्मान तथा आवद्धता राखिएको छ । यसले कृतिभित्रको रचनाहरूको प्रतिनिधित्व गरेको पाइन्छ भने पाइला ले हाइकु र आवरण चित्रले आफ्नो स्थायी अस्तित्वसहितको सृजना भन्ने भाव देखाउन खोजिएको हो भन्ने मेरो व्यक्तिगत बुझाइ हो । साहित्यकार पुष्कर लोहनीको भूमिका, लेखकीय मन्तव्य र प्रकाशकको भनाइ हुँदै पृष्ठ संख्या एकबाट हाइकु शुरु भएको छ र करीब ३३ पानाको दुवै पाटामा एक पानामा दुई लाइन र यसमा करीब बीस थान गरी दुई पाटामा जम्मा चालीस थान हाइकु अँटाई करीब १३१४ थान हाइकु आफ्नै गतिमा हुँइकिरहेको भेटिन्छ। हाइकुको मात्र फैलाहटले ६६ पृष्ठ देखाउँछ भने बाँकी आठ पाना वा १६ पृष्ठलाई संंंकेत दिइएको छैन ।
छरिएका पाइला को गुदी खोतल्दा
नेपाली सृजना र नेपाली भाषाको अत्यन्तै गहिरो र नजिकको सम्बन्ध छ जसले हामीलाई सृजनशील हुन सिकायो फरक फरक विधामा दख्खल राख्न सक्ने बनायो त्यसैले नेपाली भाषाको अहिलेसम्मको पुराना अभिलेखहरूमध्ये विक्रमको चौधौँ शताब्दीको शुरुको अवधि जुन अशोक चल्लको प्रशासनिक ताम्रपत्र, हुम्लाको रेलिङ गुम्बामा रहेको थियो र १३१२ मा कपिएको । करीब हजार वर्षभन्दा पहिलेदेखिको नेपाली भाषाको विकास हाल आएर नेपाली कविताको काल विभाजनको प्राथमिक काल (१८२६–१९४०) को पनि उत्तरप्राथमिक कालको सेरोफेरोमा कवि सुवानन्द दासद्वारा लेखिएको पृथ्वीनारायण सम्बन्धी कविता नै हालसम्मको झ्याङ्गिएको कवितात्मक रूप मानिन्छ । हालसम्म करीब २५२ वर्ष फड्को मारिसकेको छ । यही विशाल र सम्भ्रान्त सृजनशील छहारीमुनि साहित्यका सबै विधा र आयातीत विधासमेत हामी नै हौँ र हामीले गर्व गर्नुपर्छ। हाम्रै गोत्रमा आइसकेको हाइकु एक सशक्त विधा भइसकेको छ नेपाली साहित्यको फाँटमा । थोरैमा धेरैको सम्भावना भएको यो विधा आजकल निक्कै लोकप्रिय पनि बनेको छ । एउटा जापानीज संरचना नेपालमा साहित्यकार शंकर लामिछाने हुँदै भित्रियो भने पनि हुन्छ योगदानको हिसाबले । त्यही बीऊ ५्७्५ को संरचनामा हुर्किँदै गयो र अहिले छ्यापछ्याप्ति भएको हो । हुन त जापानीज हाइकुहरू अक्षरात्मक हुन्छन् वर्ण हुदैनन् पनि भन्ने गरिन्छ तैपनि ५्७्५ कै संरचनामा यता लेखिन्छन् र अनिवार्य रूपमा प्रकृति वा ॠतुको वर्णनसँगै जीवनजगत् बोल्न सक्नु हाइकुको धर्म मानिन्छ। उपर्युक्त कृति छरिएका पाइलालाई सतही अध्ययन गर्दा संरचनाका हिसाबले, भावका हिसाबले, विषयवस्तुको हिसाबले, रस अलङ्कारको हिसाबले, बिम्ब प्रतीकको हिसाबले, बक्रोक्ति र व्यञ्जना आदिको हिसाबले हेर्न सकिन्छ तर सबै संभव नभएपनि समग्र हिसाबमा हेर्ने प्रयत्न गरेको छु।
कुनै पनि रचनाको कुरा गर्दा पहिले स्वरूप वा संरचना आउने गर्दछ । त्यसमा पनि विधागत हिसाबले पहिचान र भाव पक्ष प्रमुख रहन्छ । फुटकर कवितामा केन्द्रीय भाव प्रबल रहने हुँदा कविताको समकक्षी आयातीत विधा भएपनि हाइकुलाई संरचनागत हिसाबले खासै फरक पर्दैन । बाह्य संरचना ५्७्५ हुने र विषेश गरी मुक्तलय हुने भएकोले सबैले यसमा इच्छाशक्ति हुनेहरूले लेखेका छन् । हेर्दा सूक्ति जस्तो पनि अनुभूति गर्न सकिन्छ । थोरैमा धेरैको संभावना रहन्छ । विशेषत आलङ्कारिक हुनुपर्छ भन्ने तर्क रहन्छ मेरो । सैद्धान्तिक हिसाबले प्रकृतिवर्णन र ॠतुवर्णनसँगै जीवन र जगतको अनिवार्य प्रश्तुती भनिएपनि कला कलाको लागि वा कलाको लागि विचार पक्ष भन्ने कुरा ठूलो हो । तर यो हाइकु सङ्ग्रहमा विचार र कला दुवै भेटिन्छ। खोज्नेले खोज्न चाह्यो भने सबैमा खोज्ने हो अगाडि र पछाडि मात्र यसको अन्त्य होइन । हाइकु संख्याको हिसाबले कला पक्ष कम छ तर अस्तित्व पूर्ण छ । बाँकी विचार विचारको लागि मात्र पर्याप्त भएपनि अभिधेय अर्थमा ठीक छ । यो अहिलेको सन्दर्भमा ठीकै पनि हो किनकि रीसको बेला कसैले वेद पढ्दैन । जसले जे पोख्छ परेको वेला गाउँकै भूत काम लगाएको हो । विपदमा छिटो जानकारी गराउँदा कसैले सम्मान श्रॄङ्गार पहिरिरहँदैन।
कलापक्षमा आन्तरिक संरचना प्रतीकात्मकता र बिम्बात्मकता पनि भेटिन्छन् नै त्यस्तो रूखो भेटिन्न । स्रष्टा शिवाकोटीको हाइकु कुनै स्कृप्ट तयार नगरी लेखिएको हो भन्ने कुराको प्रमाण १३१४ थान हाइकु पढ्दा थाहा हुन्छ मात्रै होइन लेखक यादृच्छिक हुनुपर्छ भन्ने कुरा पनि प्रमाणित गरिदिएकाले म उहाँलाई सम्मान गर्न चाहन्छु। वर्तमान समय नै सूचना प्रवाहमूलक भएको छ र सृजनात्मक सूचना वा साहित्यको विधागत क्षेत्र पनि सरल बन्न थालेको छ । यस अर्थमा साहित्य नै एउटा भद्र र शालीन सूचना हो भन्ने लाग्छ। सबैलाई सूचना गरेर म कवि हुँ भन्नु र कविहरूको बीचमा सबैले कवित्व देख्नु महान लाग्छ। वास्तवमा भुवनराज त्यहाँ नेर मात्र भेटिन्छन्।
विषयवस्तुको हिसाबले सिवाकोटीका हाइकुहरू विचार पक्ष धेरै र युगीन चेतना कम भेटिन्छन् जसमा कलाका लागि कला भन्ने सन्दर्भ जोडिन्छ। उनको समसामयिक विषयवस्तुले यौटा पहाडी श्रृङ्खला नै खडा गरेको छभन्दा पनि फरक नपर्ला यो आजको आवश्यकता पनि हो । प्रकृति र ॠतु भनेकै सैद्धान्तिक पक्ष जो युगीनतातिर दौडिएका छन् यसको बारे बोल्नै परेन कम छन् कलात्मक छन् , प्रतीकात्मक र बिम्बात्मक छन् । समाजका विकृति विसङ्गति, अन्याय अत्याचार, भ्रष्टाचार घुसखोरी आदिमा व्यङ्ग्यधर्मिता प्रशस्तै भेटिन्छन् ।
यसैक्रममा अविधेय अर्थको बिचारमूलक केही प्रेमील हाइकुको उदाहरण हेर्न सकिन्छ।


बन्द कोठामा
भिजेछ त सिरानी
शीत नझरी ।। ७२२ ।।

नसमाउन
यो घाउ अधरको
चहर्याउँछ ।। १०४१ ।।

तिमी सहारा
जीवनको घुम्तिमा
सुख र दुःख ।।९०२।।

तिम्रो आँखामा
खुशी पोखिएदेखि
छैन अँध्यारो ।।१३०२।।
प्रतीकात्मक र व्यञ्जनालाई पनि हेर्न सकिन्छ राजनैतिक विसंङ्गतिमाथिको
भेँडा जनता
स्याल जस्तै नेतृत्व
ब्वाँसो निर्णय ।।५७६।।

देशको झण्डा
हल्लाउँदै पखेटा
आयो हुँचिल ।।५७१।।

उस्तै देखियो
दलीय राजनीति
काटेको आलु ।।४९६।।

नेता गाउँछन्
नाच्छन् नागरिक
रत्यौली देश।।४९६।।

गरीबीको पक्ष र रुढीवादी परम्पराको विरुद्धको मात्र १्१ उदाहरण हेरौँ
धनीको भोज
गरीब अगेनुमा
गिट्ठा भ्यागुर ।।३९१।।
अन्धविश्वास
कालीको मन्दिरमा
मानव वली ।।४८३।।
त्यस्तै मानव सम्वेदनाहरूको अन्तर्ज्वाला पनि त्यत्तिकै पाइन्छ ।
नतातेपनि
हृदयको तलाउ
उम्लिरहन्छ ।।२८४।।
चिसो दिलमा
सल्केको छैन आगो
पोल्छ मात्र पो ।।२८५।।
नयाँवर्ष र नयाँ शिक्षा सन्दर्भमा भाषामोह , राष्ट्र र राष्ट्रियताका केही उदाहरण हेरौँ ।
भाषा नेपाली
अग्रेजी नयाँ वर्ष
शुभकामना ।।१९२।।

खै त नेपाली
अङ्ग्रेजी होर्डिङ बोर्ड
मारियो भाषा ।।१९३।।

देश नेपाल
धेरै छन् नयाँ वर्ष
खै नयाँ दिन ।।१९५।।

नयाँ शिक्षामा
अङ्ग्रेजी विद्यालय
हरायो भाषा ।।२०१।।

प्रतीकात्मक, बिम्बात्मक र प्रकृतिको प्रयोग हेरौँ केही ।
जून हेरेर
भूल्न कोशिस गरेँ
तिम्रो मुहार ।।९५।।

जलेको छाती
सिमलको ओछ्यान
तात्दैन मन ।।१२१।।

गङ्गा जलमा
डुबेर निस्कदैमा
हुँदैन धर्म ।।१२३।।

ढुङ्गाको काप
पिपल उम्रिएर
प्रेम फूलेछ ।।१५०।।
वास्तवमा मैले उदाहरणस्वरूप मात्र प्रश्तुत गरेको हुँ यहाँ भित्र यति फराकिलो आकाश छ जहाँ जता उडेर पनि र जे चाहे पनि सतहमा ल्याउन सकिन्छ मात्र अध्ययन र इच्छाशक्तिको केही आवश्यकता भने अवश्य पर्छ। भावनाको आकाश र विचारको सागर अनन्त र प्रशस्तै भेटिन्छ यो सङ्ग्रहमा । विचार र विश्लेषण सबैको आ–आफ्नै हुनेगर्छ र हुनुपनि पर्छ । मैले खोतल्न नसकेको कुरा अरू कसैले बढी नै रौँचिरा पनि गर्लान् । त्यो भन्दा अतिशयोक्ति वा अतिरञ्जना पनि गर्न सकेको हुँला आफूले । यद्यपि जो कोहीले पनि समीक्षात्मक धर्म निर्वाह गर्दा भेटिने सत्य र वैयक्तिक भावावेश सबैमा थोरै धेरै रहेकै हुन्छ भन्ने लागेको छ । यो कृतिको सन्दर्भमा मैले मीमांसाको रूपमा मात्र प्रस्तुत गरेको छु। एक जना सिद्धहस्त साहित्यस्रष्टा भुवनराज शिवाकोटीको हाइकु संग्रहमा आफ्नो पाठकीय दृष्टिकोण प्रस्तुत गरेर डुबुल्की मार्ने अवसर प्राप्त भयो । यो मेरो लागि सौभाग्य सम्झेको छु । यो हाइकुसंग्रह सैद्धान्तिक रूपमा , व्यावहारिक रूपमा पनि सफल देखेको छु । पाठकीय आँखामा पनि सुन्दर फूल भएकै कारण सबै सृजनशील मनहरूमा सजिन सफल बन्लान् ।
अबका दिनमा यो भूमण्डलीकरणको समयमा थोरैमा धेरै अँटाउँने क्षमताको सृजना लेख्न आवश्यक देखिन्छ नै र यस्ता किसिमका सरल शब्दहरू भएका र वर्तमान समयको विषयवस्तुमाथि विचार पक्ष सबल भएका भुवनराज शिवाकोटी ‘चौघरे’द्वारा सिर्जित हाइकुसङ्ग्रह ‘छरिएका पाइला’ नामक पुस्तक खोजीखोजी एक पटक सबै अग्रज र अनुज सृजनशील व्यक्तित्वहरूले पढ्न आवश्यक ठानेको छु किनकि सृजना जन्माउँनु र बुझ्नु पुरस्कार र आर्थिक पाटो मात्र होइन यो त स्वर्गीय आनन्दको साथै अमर सन्तान वा आफ्नै अमरत्व सृजनाको मूल आधार पनि हो । जीवनमा आफूलाई सत्य निष्ठा , राष्ट्र र राष्ट्रियताको आफू बन्न प्रेरित गर्छ त्यो नै म र मभित्रको आफ्नोपन हो ।
अन्त्यमा जे देखेँ त्यही लेख्ने कोशिस गरेँ । दोलखाका साहित्यस्रष्टा भुवनराज शिवाकोटी ‘चौघरे’ कृत पुस्तक हाइकु संग्रह ‘छरिएका पाइला’ भित्रका कोमल फूलजस्ता सृजनशील डोबहरूसँग पाइलैपिच्छे यात्रा संवादको प्रयास गरेँ। कतै ती डोबहरूले चित्त दुखाएभने पनि अज्ञानता सम्झेर क्षमा दिनुहुनेछ भन्दै संसारभरि राज गर्ने अर्थमा अग्रज स्रष्टा ‘भुवनराज’ शिवाकोटीको साहित्यिक यात्रा यसरी नै अनवरत रूपमा अघि बढिरहोस् । जय साहित्य ।
इलाम, हाल :– काँडाघारी काठमाडौं

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

साहित्य साहित्यस्रष्टा भुवनराज शिवाकोटी ‘चौघरे’ र छरिएका पाइला भित्र छिर्दा

Most Popular

खुकुरी प्रहारबाट श्रीमती ठहरै, एक घाइते

दमक ८ मंसीर । परपुरुषसंग लागेको शंका गरी झापा दमक नगरपालिका वडा नंं–१ का एक व्यक्तिले आफ्नै श्रीमतिको खुकुरी प्रहार गर्दा श्रीमतीको...

मेची–महाकाली बुहारीद्वारा अधिकारीलाई उपचार सहयोग

झापा ७ मंसीर । मेची–महाकाली बुहारी संयुक्त आवाज केन्द्रीय समिती र झापा जिल्ला समितिको सक्रियतामा झापा धुलाबारीकि शान्ता अधिकारीलाई आर्थिक सहयोग...

जेसीज सप्ताहः एकैदिन तीनवटा कार्यक्रम

भद्रपुर ६ मंसिर । जेसीज सप्ताहको सन्दर्भ पारेर भद्रपुर जेसीजले छुट्टा छुट्टै ३ वटा कार्यक्रमहरु सम्पन्न गरेको छ ।मंसिर ४ गतेबाट...

साना मझौला व्यवसायी बचत तथा ऋण सहकारीको दशौं साधारणसभा सम्पन्न

विर्तामोड ६ मंसीर । साना मझौला व्यवसायी बचत तथा ऋण सहकारी संस्थाले विभिन्न चरण पार गर्दै दशौं बार्षिक साधारणसभा शनिवार सम्पन्न...

Recent Comments