Home विचार साहित्य र राजनीतिमा वी.पी.को सैद्धान्तिक समानता

साहित्य र राजनीतिमा वी.पी.को सैद्धान्तिक समानता

इन्दु पूर्वेली

विश्व समाजवादी आन्दोलन र विश्व साहित्यमा अग्रणीस्थान राख्न सफल विश्वेश्वरप्रसाद कोइरालाका अधिकांस साहित्य सिर्जनाहरुमा फ्रायडीय मनोवैज्ञानिक प्रभाव पाइन्छ । राजनीतिमा वीपी कोइराला र साहित्यमा विश्वेश्वरप्रसाद कोइरालाको नामले प्रसिद्धि कमाउनुभएका उहाँ विश्व समाजवादी आन्दोलनका जनकका रुपमा स्थापित हुनुहुन्छ । यसरी नै नेपाली साहित्यमा नारी वा पुरुषको यौन मनोवैज्ञानिक पक्षको यथार्थता चरित्र चित्रण गर्दै विश्व साहित्यमा आफ्नो स्थान उच्च राख्न सफल भएको प्रसंगले साहित्य र राजनीति वा अन्य जुनसुकै क्षेत्रमा लाग्नेहरुका लागि उहाँ प्रेरक व्यक्तित्वको रुपमा स्थापित हुनुहुन्छ ।
विक्रम सम्वत १९७१ मा जन्मनुभएका वीपीको पारिवारिक पृष्ठभूमि राजनीतिमय थियो । र नै उहाँको परिवारले नेपालको तत्कालीन शासन व्यवस्थाद्वारा निर्वासनको सजाय भोगीरहँदा प्रजातान्त्रिक आन्दोलनको अगुवाईका लागि उहाँ भारतमै रहेर ‘भारत छोडो’ आन्दोलनमा सहभागी हुँदै नेपालको प्रजातान्त्रिक आन्दोलनका लागि संगठित अभ्यास गर्दै हुनुहुन्थ्यो । समाजवाद र प्रजातान्त्रिक आन्दोलनका लागि नेपाल र भारतमा रहेर संगठित अभ्यास गरिरहँदा विभिन्न समयमा जेलनेल र यातना भोग्नुपरेको समयमा उहाँले राजनीति निरपेक्ष रहेर साहित्यको सिर्जना गर्नुभयो । उहाँका सिर्जनामा तत्कालीन शासन व्यवस्थाबाट जनताले भोग्नु परेका दुःखकष्ट, सामाजिक कुसंस्कारबाट सर्वसाधारणले पाउने सजाय र तिरस्कार, व्यक्तिभित्रका यौन आकांक्षा र आकांक्षा पूरा नहुँदा उत्पन्न हुने कुण्ठाको मनोविज्ञानलाई राम्ररी उतारिएको छ र नै उहाँका कृतिहरु विश्व प्रसिद्ध हुन सफल भएका लाग्छन् ।
नरेन्द्र दाई, सुम्निमा, तीन घुम्ती, मोदीआइन, दोषी चश्मा, वीपी कोइरालाका कथाहरुलगायतका उपन्यास र कथा प्रकाशनका माध्यमबाट विश्व साहित्यमा प्रभाव जमाउन सक्नुले उहाँको सिर्जनात्मक श्रेष्ठता प्रष्ट्याउँछ । यहाँ वीपी (राजनीति)–को नभएर विशेश्वरप्रसाद कोइरालाको चर्चा गर्ने सन्दर्भमा यानेकी उहाँको साहित्यिक व्यक्तित्वको चर्चा गर्न खोजिएको हो । वि.सं. १९८७ मा ‘वहाँ’ नामक कथा लेखेर वीपीको सिर्जनात्मकताको शुरुवात भएको देखिन्छ । भारतमा रहँदा ‘वहा’ँ, ‘आफू जस्तै’, ‘भैया दाइ’, ‘पथिक’ लगायतका हिन्दी कथा मार्फत् साहित्य सिर्जना शुरु गर्नुभएका कोइरालाको पहिलो नेपाली कथा चन्द्रवदन हो । जुन १९९२ मा शारदा पत्रिकामा प्रकाशित भएको थियो ।
नेपाली साहित्यमा १९९२ देखि २००६ सालसम्म उहाँको साहित्यिक लेखनीको प्रारम्भिक काल मानिन्छ । जुन समय उहाँका कथाहरु अधिक मात्रामा लेखिएका छन् र अधिकांसजसो कथाहरुमा रतिरागका प्रसंगहरुलाई रोचक तरिकाले प्रस्तुत गरिएको छ । पात्रहरुको मनोविज्ञान मार्फत मानिसको यौन भावनाको चरित्र चित्रण कथाहरुमा पाइन्छ । यिनकै माध्यममार्फत सामाजिक कुसंस्कार, शासन व्यवस्था जस्ता विषयहरुप्रति तिब्ररुपमा व्यंग्य गरिएको छ र सुधारका लागि सचेत गराइएको छ ।
२००७ सालदेखि २०१७ सालसम्म राजनीतिक आन्दोलनमा व्यस्त रहँनुभएका कारण कोइरालाका सिर्जनाहरु कम देखिन्छन् । नेपालमा राणा शासनको अन्त्यका लागि भएको आन्दोलनको अगुवाई गर्दै जनतालाई मध्यकालीन दासताबाट उन्मुक्त गराउन कोइरालाले प्रजातान्त्रिक आन्दोलनका लागि गर्नुभएको नेतृत्व, २००७ सालमा आन्दोलनले सफलता पाउँदै हाता लागेको प्रजातन्त्र, पहिलो जननिर्वाचित प्रधानमन्त्री हुन सफल हुनुभएको प्रसंग देश र जनताका लागि त्यस समयका उपलब्धि हुन । तर, जनताको चाहना बमोजिम समाजवादी प्रजातान्त्रिक व्यवस्था अनुरुप आमनागरिकहरुलाई स्वतन्त्रताको प्रत्याभुति गराउँदै गरीबी मुक्त गर्ने प्रयास जारी रहेकै सन्दर्भमा सम्भवतः व्यक्तित्व टकरावकै कारण २०१७ सालमा राजा महेन्द्रले प्रजातान्त्रिक व्यवस्थाको अन्त्य गर्दै लादेको पञ्चायती निरंकुशतापछि उहाँ फेरि जेलनेल यातना भोग्न बाध्य हुनुभयो । त्यसपश्चात २०१७–०३९ को अवधिमा जेलमै रहेर पनि एकतन्त्रीय पञ्चायती व्यवस्थाका विरुद्ध नेपाली कांग्रेसलाई संगठित गर्दै साहित्य सिर्जनामा लाग्नुभएका कोइरालाको साहित्य सिर्जनाको उत्तराद्र्ध चरण २०१७–०३९ लाई मानिन्छ । यस अवधिमा उहाँका उपन्यास र कथाहरु प्रकाशित छन् । राजनीतिक उपलब्धीको पाटो पनि अलग्गै छँदैछ ।
चन्द्रवदन कथामा एक सन्तान भएपछि आफ्नो श्रीमान जेल परेको प्रसंग, १९ वर्षीय युवतीले तीन वर्षकी सानी छोरीलाई स्याहार्दै एक्लै बस्नुपरेको अवस्थामा उसमा उत्पन्न यौन भावनाको चर्चा र मनोविज्ञान प्रस्तुत गरिएको छ । जसमा सहायक पात्रको रुपमा जुल्फीवाला (गुण्डा)–को संवेदनशील अंगहरु हेरेर युवतीले आफ्ना संवेदनशील अंगमा हात लगाउँदै यौन चाहना पूरा गर्न खोज्नु र पूरा भएको मनोवैज्ञानिक सन्तुष्टि लिएको मार्मिक विषय कथामा छ ।
यसैगरी तत्कालीन अवस्थामा रहेको बाल र बहुविवाहको प्रसंगलाई लिएर लेखिएको विहा कथामा कटकबहादुर मुख्य पात्रको रुपमा छ । मध्यमवर्गीय र निकै उमेर खाएको कटकबहादुरले चौध वर्षीय हरिमतिसँग बहुविवाह गरेको प्रसंगले कटकबहादुर (म) पात्रको यौन असन्तुष्टीलाई त प्रष्ट्याउँछ नै साथै तत्कालीन अवस्थाको बालविवाह र बहुविवाहको कुसंस्कारलाई पनि व्यंग्य गर्छ । यसैगरी दुई सन्तान र श्रीमती छाडेर सैन्य जागिरमा गएको सिपाहीं कथाले ऊ भित्रको प्रवल यौन मानसिकताको उजागर गर्छ । किनकी श्रीमती हुँदाहुँदै उसले छाउनीमा रखैल राखेको, जुनसुकै युवतीलाई पनि जिस्क्याउँदै अधबैंसे महिला देख्नासाथ ‘सासु’ भनेर सम्बोधन गर्ने र युवतीलाई प्रेम तथा यौन प्रस्ताव राखिहाल्ने उसको मनोविज्ञानको चरम यौन असन्तुष्टिलाइ संकेत गर्छ ।
यसरी नै प्रेम कथामा धनवीर प्रमुख पात्रका रुपमा छ । उसकी श्रीमती एउटी छोरीको जन्मलगत्तै मरेकी छ । छोरीलाई अत्यन्तै माया गर्ने धनवीर युवती अवस्थामा पुगिसकेकी छोरीको यौन समस्याका बारे भने कठोर छ । पढाउन आउने माष्टरसँग नै प्रेम सम्बन्ध हुनसक्ने आशंकामा शिक्षकलाई नै निकालीदिन्छ धनविरले । तर, सम्पन्न परिवारकी युवतीले आफ्नो यौन आकांक्षा पूरा गर्न मध्यरातमा गरीब परिवारको युवकको कोठामा जाने इच्छा प्रकट गर्दै घरसम्म पुग्नु र जीवनमा सम्पत्ति र प्रेम दुबै आवश्यक हुन्छ भन्ने तथ्य महसुश गर्दै युवकको गरीबीलाई घृणा गर्दै फर्कनु, दिनभर आलश्य र संसार नराम्रो देख्ने युवतीले साँझपख आसपासका युवाहरुसँग लसपस गरी शारीरिक आनन्द लिनु र त्यो नै प्रेम हो भन्ने भ्रममा परेको हास्यास्पद कथावस्तुलाई युवतीको मनोविज्ञानको माध्यमबाट यौन चेत र आवश्यकताको बोध गराउन कथा सफल छ ।
त्यसो त दुलहीभित्रको पात्र जगतवीर आफूले साह्रै माया गर्ने श्रीमतीबाट यौनसन्तुष्ट हुन नसक्नु, सालीप्रति आकर्षित भएर एक रात सालीकैमा बस्ने गरी जानु, साँझपख सालीसँग यौनसम्बन्धको प्रस्ताव गरी नजिकै सर्दा आफ्नै श्रीमती हुनु, त्यस समय दुबैले आत्मालोचना गरी भ्रममुक्त भएर जगतवीर र जगतमाया घर फर्किएको प्रसंगले श्रीमान श्रीमतीबीच यौन असन्तुष्टि भए निम्तिने दुर्घटनालाई प्रष्ट्याउँछ ।
कोइरालाका अधिकांस कथाहरुमा यौन मनोविज्ञानको चर्चा कुनै न कुनैरुपमा छ, द्वन्द्वप्रेम, मधेसतिर, होड, श्वेतभैरवी, हरिदत्त, रिक्सा तान्ने, कथालगायतका कथाहरुमा नारी र पुरुषको यौवन अवस्थामा उत्पन्न हुने यौन भावना, आकांक्षा पूरा नहुँदा उत्पन्न कुण्ठा, कुण्ठित अवस्थामा यौन सन्तुष्टि लिन कुनै न कुनै माध्यमको साहारा लिएर पात्रहरुले शारीरिकरुपमा यौन सम्बन्ध नराखी लिएको यौन सन्तुष्टि उहाँका कथाका विशेषता हुन् । कोइरालाका अधिकांस कथाका पात्रहरु कुनै न कुनै रुपमा यौन चाहना परिपूर्ती नभएका छन् । तिनीहरु आफूले मन पराएका युवक(युवतीसँग यौन सम्बन्ध राखेर सन्तुष्टि लिन चाहन्छन् । तर, सामाजिक संस्कार, आ–आफ्नो पारिवारिक जिम्मेवारी र दायित्वबोध आदिका कारण उनीहरु निश्चित सामाजिक बन्धन तोडेर यौन सम्बन्ध राख्ने र यौन विकृतिलाई प्रोत्साहित गर्न भने चाहँदैनन्, सक्दैनन् । उनीहरु नैतिकरुपमा नीतिवान छन् । तरपनि मानसिकरुपमा केही वस्तुको साहारा लिएर वा टाढैबाट पुरुष या स्त्रीका संवेदनशील अंगहरु नियालेर मानसिकरुपमा यौन सन्तुष्टि लिन्छन् ।
त्यसो त कोइरालाका कथाहरुमा तत्कालीन शासन व्यवस्थालाई पनि साच्चै राम्ररी केलाइएको छ । महाराजको सवारी, दोषी चश्मालगायतका कथाहरुमा यस प्रकृतिको कथावस्तु छ । महाराजको सवारी कथाभित्र गाउँमा महाराजको सवारी हुनेभएपछि सडक निर्माण कार्य प्रारम्भ गरिन्छ । ज्यामी र कुल्लीलाई पिटेर चौकिदारले काम लगाउँछ । चौकीदारको यातनाका कारण डर र त्रासकाबीच कुल्ली र ज्यामीले कडा परिश्रम गर्छन् । र, समयमै बाटो खनिसक्छन् । तर, चौकीदारले उनीहरुलाई पैसा दिंदैन । महाराजको सवारी भइरहँदा बाटो खन्ने कार्यमा तल्लीन कुल्ली र ज्यामीले धुलोका कारण महाराजलाई देख्दैनन् । नजिकै आएको देखिसक्दा चौकीदारले बाटो खन्दा उभ्रिएको भन्दै ६० हजार रुपैयाँ बचेको देखाउँछ । राजाले बक्सिस दिंदै चौकिदारलाई कमाण्डिङ कर्नेलको उपाधी दिन्छन् । बचेको रकमले महाराजकै लागि दुईवटा गाडी खरिद गरिन्छन् । यद्यपि मजदुरले भने काम गरेको पैसा पाएका हुँदैनन् । सर्वसाधारणको पसिनामा शामन्तीले शोषण गर्ने तत्कालीन प्रवृत्ति अहिलेकै शासकवर्गमा पनि देखिन्छ । अहिलेको समय सन्दर्भसँग उत्तिकै मेल खाने सो कथाले राजनीतिक शासन व्यवस्थाप्रति तीब्ररुपमा व्यंग्य गर्दै सर्वसाधारण जनताको मानसिक अनुभूतिलाई उजागर गरेको छ ।
दोषी चश्मा भित्रको केशवराजको मानसिक अवस्थाले तत्कालीन समाजको चाकरीतन्त्रको उजागर गर्दै राणाकालीन शासन व्यवस्थामा सर्वसाधारणले भोगेको मानसिक पीडाको यथार्थता प्रस्तुत गर्छन् । जर्सावप्रति सर्वसाधारणले गर्नुपर्ने मानमर्यादा, मानमर्यादा नपुग्ला की भनेर सर्वसाधारणले हरदम त्रसित अवस्थामा बस्नुपर्ने मानसिकताको यथार्थ केशवराजबाट बुझ्न सकिन्छ ।
यसैगरी मेरो कोही शत्रु छैन भन्ने विशवासमा रहेको कृष्ण रायको कथाले सामाजिक यथार्थतालाई प्रष्ट्याउँछ । सबैको झगडामा मध्यस्थता गरेर मिलाउँने सामाजिक कार्यकर्ताको पहिचान बनाएका कृष्ण रायमाथि जब रातको समयमा लाठी प्रहार हुन्छ तब आफैंले पालेको भतिजोदेखि झगडामा मध्यस्थता गरिरहँदा हार स्वीकार्नु परेकाहरुको एक–एक अनुहार उनका सामू आउँछ । उनको मनस्थितिले जो कोही शत्रु हुनसक्ने मनोवैज्ञानिक त्रास र सामाजिक परिवेशको यथार्थ चित्रण प्रस्तुत गर्छ । यसरी कोइरालाका कथाका पात्रहरु आफ्नो मानसिक विशिष्ठता र सोचबाट समग्र समाजको प्रतिनिधित्व गर्छन् र, मानवीय जैविक आवश्यकता मानिने रतिरागका प्रसंगदेखि सामाजिक, सांस्कृतिक परम्पराभित्रका नराम्रा पक्षहरुप्रति व्यंग्य प्रहार गर्दै सुधारका संकेत दिन्छन् । शासन व्यवस्थाप्रति व्यंग्य गर्दै स्वतन्त्रताको अनुभूति दिइनुपर्छ भन्ने माग गर्छन् । तत्कालीन समयमा लेखिएका साहित्य सिर्जनाले उहाँको निधनको तीनदशक बितिसक्दा पनि सामाजिकरुपमा, सांस्कृतिकरुपमा, शासन व्यवस्थागत रुपमा वर्तमान समयलाई पनि परिवर्तनका लागि आह्वान गरिरहेका छन्, लाग्छ गरिरहने छन् ! समाजवादी प्रजातान्त्रिक आन्दोलनका माध्यमबाट होस् वा साहित्यिक सिर्जनाका माध्यमबाट होस, वीपीले समानता र समानन्यायको सिद्धान्तबाट मानवअधिकार, स्वतन्त्रता र गरीवीमुक्त समाजको परिकल्पना गर्नुभएको छ । शासनसत्ताका हिसावले नेपालमा थुप्रै पटक परिवर्तन भए, परिवर्तन हामी भोगिरहेका छौं । प्रजातन्त्र भनियोस् वा लोकतन्त्र । शासकहरुको सत्तालिप्सा, पदलोलुपता, जनताप्रतिको कर्तब्य र दायित्व पूरा गर्नेभन्दा आफू र आफ्नालाई मात्र काखी च्याप्ने प्रवृत्तिले वी.पी.ले कल्पना गरेअनुरुप समान न्याय, मानव अधिकार, स्वतन्त्रता र गरीवीमुक्त समाज अहिले पनि प्राप्त भएको छैन । उहाँको १०६ औं जन्मोत्सव मनाउँदै गर्दा देश, काल, परिस्थिति अनुकुल नेपाली माटोमा उत्पादित राष्ट्रियता, प्रजातन्त्र र समाजवादी सिद्धान्तलाई ब्यवहारमा उतारेर वी.पी.को परिकल्पना पूर्ण गर्न शासनसत्ता संहाल्नेहरुले आफूलाई परिवर्तन गरेर देश र जनताको आवश्यकता परिपुर्तिलाई प्राथमिकतामा राख्नुपर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

विचार साहित्य र राजनीतिमा वी.पी.को सैद्धान्तिक समानता

Most Popular

Recent Comments