काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा पठाउने निर्णय गरेको छ । बामदेवलाई राष्ट्रियसभामा मनोनित गर्ने सम्बन्धमा यसअघि पनि पार्टी बैठकले निर्णय गरेको भएपनि प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको निर्णय नमान्ने भनेपछि बामदेवको बाटो छेकिएको थियो । त्यसपछि पार्टीभित्रको आन्तरिक कचिलोले पार्टी नै फुट्ने हो कि भन्ने तहसम्म पुगेको नेकपाका नेताहरु अन्ततः एकै ठाउँमा उभिएका छन् । पार्टीको विवाद समाधानका लागि बामदेवले ६ बुँदे प्रस्ताव अध्यक्षद्वय ओली र दाहाललाई बुझाएका थिए । उनैको प्रस्ताव वरिपरी रहेर पार्टीको विवाद तत्काललाई टरेपछि आज बसेको सचिवालय बैठकले राष्ट्रपतिले मनोनित गर्ने एक राष्ट्रियसभा सदस्यमा मनोनितका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।
नेकपा सचिवालयको आज (विहीबार) सम्पन्न बैठकले राष्ट्रियसभा सदस्यमध्ये राष्ट्रपतिले मनोनित गर्ने खाली एक सिटमा गौतमलाई मनोनयन गर्न सिफारिस गर्ने निर्णय गरेको हो ।
बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभा सदस्यमा मनोनित गर्न गौतमलाई सिफारिस गर्ने निष्कर्षमा सरकार पुगेको जानकारी गराएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । आज विहानसम्म वर्तमान अर्थमन्त्री डा. युवराज खतिवडालाई नै निरन्तरता दिने मनस्थितिमा प्रधानमन्त्री रहेको भनिएपनि मनोनित हुने राष्ट्रियसभा सदस्यमा गौतमलाई नै सिफारिस गर्ने निष्कर्षमा पुगेको प्रधानमन्त्रीले जानकारी गराएपनि खतिवडाका सम्बन्धमा भने केही नभनेको स्रोतले बताएको छ ।
राष्ट्रपतिले मनोनित गर्ने राष्ट्रियसभा सदस्यमा गौतम वा खतिवडा कसलाई सिफारिस गर्ने भन्ने विषयमा नेकपामा विवाद थियो ।
नेकपा सचिवालयको निणर्य : राष्ट्रियसभा सदस्यमा बामदेवलाई पठाउने
