Home समाचार सेवा प्रभावित भएको भन्दै मेचीको कोभिड अस्पताल स्थानान्तरण गर्न कांग्रेसको माग

सेवा प्रभावित भएको भन्दै मेचीको कोभिड अस्पताल स्थानान्तरण गर्न कांग्रेसको माग

भद्रपुर १ भदौ । प्रत्यक्ष जनस्वास्थ्य उपचार सेवामा प्रभाव पर्न थालेको भन्दै नेपाली कांग्रेस झापा क्षेत्र नम्बर ३ ले मेची अस्पताल भित्र राखिएको कोभिड– १९ उपचार केन्द्र अन्यत्रै सार्न माग गर्दै प्रधानमन्त्री तथा प्रदेश १ का मुख्यमन्त्रीलाई ज्ञापन पत्र पठाएको छ ।
झापाको एक मात्र ठूलो सरकारी अस्पतालका रूपमा रहेको मेची अस्पताल भित्र कोरोना उपचार केन्द्र राखिएपछि रोग सर्ने त्रासले सर्वसाधारण आउन नसकेपछि उपचारसेवा प्रभावित भएको भन्दै कांग्रेसले कोभिड–१९ को उपचारका लागि अन्यत्र व्यवस्थापन गर्न माग राखेर प्रधानमन्त्री केपी शर्मा ओली तथा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईलाई झापाका प्रमुख जिल्ला अधिकारी मार्फत ज्ञापन पत्र पठाएको हो ।
क्षेत्रीय सभापति गणेश पोखरेलको नेतृत्वमा गएको टोलीले बुझाएको ज्ञापन पत्रमा भनिएको छ —‘विभिन्न रोग लागेर आइपुग्ने विपन्न वर्गको उपचार गर्ने एक मात्र सरकारी अस्पताल भित्र कोरोना उपचार केन्द्र समेत राखिएपछि हजारौं नागरिक कोरोना संक्रमण त्रासका कारण सेवा लिन आउन सकेका छैनन् । एउटै भवन, एउटै प्रवेशद्वार, पुरानो तथा साँघुरो उपचार कक्ष भएको अस्पताल परिसरमा कोभिड–१९ रोगी समेत राखेर उपचार गरिँदा समुदायमा कोरोना फैलन गइ भयावह हुने हुँदा व्यवस्थित उपचार केन्द्र निर्माण गरी अन्यत्रै स्थान्तरण गरेर सर्वसाधारणले अञ्चल अस्पतालमा उपचारका लागि निरढुक्क भइ उपचार लिन आउन सक्ने वातावरण निर्माण गरिदिन माग गरिएको छ ।’

गत बैशाखमा जिल्ला समन्वय समिति, प्रशासन र झापाका राजनीतिक दलको सिरफारिसमा प्रदेश सरकारले मेची अस्पतालको निर्माणाधीन भवनमा कोरोना उपचार अस्पताल र जनस्वास्थ्य कार्यालयको तालिम भवनमा पिसिआर परीक्षण गर्ने प्रयोगशाला बनाउने निर्णय गरेको थियो । तर, सो ठाउँमा भविष्यमा प्रत्यक्ष असर पर्ने भन्दै स्थानीयबासीले अस्पताल परिषरमा प्रयोगशाला र कारोना उपचार बनाउदा जोखिम हुने भन्दै आपत्ति जनाउँदै सरकारी निर्णय बिरूद्ध आन्दोलन समेत गरेका थिए ।
सिमित क्षेत्रमा खुम्चिएको अञ्चल अस्पताल आसपास रक्तसञ्चार सेवा, प्रसुती गृह, पोषण पुनस्थापन केन्द्र, जिल्ला बालकल्याण संरक्षण केन्द्र, एचआइभी उपचार तथा पुनस्थापन केन्द्र, क्षयरोग उपचार तथा पहिचान केन्द्र र अबुद्र्ध रोग पहिचान केन्द्र जस्ता संवेदनशील क्षेत्र ५० मिटर दुरी भित्रै पर्दछन् । यस्तो अवस्थामा अन्य रोगका विरामी उपचार सेवा लिन अस्पताल कसरी आउन सक्छन् ? भन्ने प्रश्न स्थानीय सरोकारवालाले जोडदार उठाएका भए पनि अस्पताल सिफारिस समितिले समेत सिफारिस गरेभन्दा बाहिर गएर प्रदेश १ सरकारको सामाजिक विकास मन्त्रालयले अस्पताल भवन भित्रै कोरोना उपचार केन्द्र निर्माण गर्न निर्देशन दिए पश्चात अन्य रोगी र कोभिड १९ संक्रमित एउटै भवनमा उपचार गर्नुपर्ने बाध्यता रहेको छ ।
स्थानीयले मेची अञ्चल अस्पताललाई कोरोना उपचार अस्पताल बनाउँदा भविष्यमा अन्य सेवा लिनबाट सर्वसाधारण बन्चित हुने अवस्था बन्ने तथा आसपासका स्थानीयमा संक्रमणको त्रास हुने भन्दै आपत्ति प्रकट गरेर विरोधमा उत्रेका थिए । भद्रपुर नगरपालिका वडा नम्बर ८ भित्र मेची अञ्चल अस्पताल रहेको छ । गम्भीर विषय रहेको कोरोना उपचार अस्पताल निर्माण कार्यका बारेमा ८ नम्बर वडा अध्यक्ष गौरव सुब्बा र सिमाना जोडिएको वडा नम्बर ५ का वडाध्यक्ष बन्धु कार्कीले समेत सरोकारवालासँग छलफल नगरी निर्णय भएकोमा आपत्ति प्रकट गरेका छन् । स्थानीयले कलवलगुडी प्रशिक्षण केन्द्र वा अन्य सुरक्षित स्थानमा अस्पताल बनाउनु पर्ने धारणा सार्वजनिक गरेका थिए तर सरकारी पक्षले नागरिकका आवाज सुनुवाइ गरेको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार सेवा प्रभावित भएको भन्दै मेचीको कोभिड अस्पताल स्थानान्तरण गर्न कांग्रेसको माग

Most Popular

Recent Comments