Home समाचार कोरोनाले मृत्यु भएको अन्त्येष्ठी आफन्तबाटै, रिपोर्ट फरक फरक

कोरोनाले मृत्यु भएको अन्त्येष्ठी आफन्तबाटै, रिपोर्ट फरक फरक

विराटनगर । प्रदेशका दुई पीसीआर ल्याबमा गरेको परीक्षणबाट फरक रिपोर्ट आएपछि परिवारले अन्तिम संस्कार गरेका विराटनगरका एक व्यक्तिको कोरोनाबाटै निधन भएको प्रदेश सरकारले पुष्टि गरेको छ ।
मिर्गौला रोगी रहेका विराटनगर १० का ६३ वर्षीय रमेश अग्रवालको शनिबार सुनसरीको धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा निधन भएको थियो ।
स्वास्थ्यमा समस्या देखिएपछि बिहीबार कोशी अस्पताल पुर्याइएका अग्रवालको स्वाब संकलन गरिएको थियो । शुक्रबार दिउँसोसम्म कोरोना रिपोर्ट नआइकनै अग्रवालको स्वास्थ्य अवस्था बिग्रिएपछि आफन्तले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगेकोका थिए । उनको उपचारको क्रममा धरानमै निधन भएको थियो ।
अग्रवालको कोशीको रिपोर्टमा शुक्रबार नै कोरोना पोजेटिभ देखिएको थियो भने धरानले गरेको नमूना स्वाबको रिपोर्टमा नेगेटिभ आएको भन्दै शव आफन्तको जिम्मा लगाएको थियो । विराटनगरमा शनिबार अन्तेष्टि गरिएका उनको मृत्यु कोरोनाकै कारण भएको प्रदेश सरकारले पुष्टि गरेको छ ।
बीपीबाट नेगेटिभ रिपोर्ट आएको आधारमा परिवारले शब जिम्मा लिएर अन्तिम संस्कार गरेकोमा सामाजिक विकास मन्त्रालयले आइतबार उनको मृत्यु कोरोनाबाटै भएको जनाएको छ । मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६ उल्लेख छ । त्यसमा २४ गते मृत्यु भएकाको विवरण समावेश गरिएको जनाइएको छ ।
यता प्रदेश जनस्वास्थ्य प्रयोगशालाका प्रमुख जयवेन्द्र यादवले भने पहिले लिएको रिपोर्ट नै सहि हुने भएकोले उनको मृत्यु कोरोनाबाटै भएको बताउनुभयो । पछिल्लो पटक स्वाब संकलनमा त्रुटी भएको कारण नेगेटिभ आएको हुनसक्ने भन्दै उहाँले पहिले लिएको स्वाबको रिपोर्टलाई नै प्रयोगशालाले मान्यता दिने बताउनुभयो ।
प्रदेश जनस्वास्थ्य प्रयोगशालाका प्रमुख यादव पिसिआर परीक्षणको रिपोर्ट ६५ देखि ७० प्रतिशत मात्र सहि हुने भएकोले यस्तो देखिने बताउहुन्छ । चीनमा पनि पिसिआर रिपोर्ट सतप्रतिशत सही नहुने भन्दै उहाँले स्वाब संकलनमा त्रुटी हुँदा, परीक्षणमा ढिलाई हुँदा र मानवीय त्रुटीले पनि रिपोर्ट फरक पर्नसक्ने जानकारी दिनुभएको छ ।
मृतक अग्रवालको फरक–फरक रिपोर्ट आएपछि केही समय अन्त्येष्टि र शव बुझ्ने क्रममा विवाद भएपनि विराटनगर महानगरले थोरै मलामी उपस्थित गराउने सर्तमा आफन्तलाई अन्त्येष्टि गर्न दिएको जनाएको छ । महानगरले आफन्तको पीसीआर जाँच गर्ने जनाएको छ ।
योसँगै प्रदेश १ मा कोरोनाबाट मृत्यु हुनको संख्या ६ पुगेको छ । मृतक सबै मोरङका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

समाचार कोरोनाले मृत्यु भएको अन्त्येष्ठी आफन्तबाटै, रिपोर्ट फरक फरक

Most Popular

Recent Comments