Home Featured 2 एकमहिना नवित्दै उक्कियो कालोपत्रे,बजेट सक्न गुणस्तरहीन काम

एकमहिना नवित्दै उक्कियो कालोपत्रे,बजेट सक्न गुणस्तरहीन काम

सुरुङ्गा । कनकाई नगरपालिका वडा नं. ६ र ७ लाई जोड्ने बिजुवानी मार्गमा गरिएको कालोपत्रे एकमहिना नवित्तै खाल्डो परेर पानी जम्न थालेको छ ।
कनकाई नगरपालिकाले एककरोड बढी खर्चेर गरेको कालोपत्रे महिनादिन नबित्दै खाल्डो पर्नुले आवागमनमा असजिलो त भएको छ नै नगरपालिकाले गर्ने विकास निर्माणका कामको गुणस्तरप्रति पनि प्रश्न खडा गरेको छ । नगरपालिकाले बजेट सक्ने हतारोमा असारको अन्तिम सातामा उक्त बाटो कालोपत्रे गरेको स्थानीय बताएका छन् ।
कनकाई नगरपालिकाबाट ठेक्का पाएको भिमेश्वर कन्स्ट्रक्सन विराटनगरले १ करोड २ लाख ७६ हजार २६६ रुपैंयाको लागतमा २०७७ असार १५ गते निर्माण कार्य सम्पन्न गर्ने गरी २०७७ बैशाख ३१ गते कनकाई नगरपालिका र निर्माण कम्पनी बिच २०७७ वैशाख ३१ गतेका दिन सम्झौता भएको योजना बोर्डमा उल्लेख भएको देखिन्छ । लगभग दुई किलोमिटरको कालो पत्रे सडक निर्माणकालागि कनकाई नगर वडा नं. ७ बाट १० लाख, वडा नं.६ बाट २० लाख साथै कनकाई नगरबाट १५ लाख तथा प्रदेश १ को समपुरक बजेटबाट ७० लाख गरी ह्युम पाइप निर्माणसहितको कुल १ करोड १५ लाखको बजेट व्यवस्थापन गरिएको कनकाई ७ का वडाअध्यक्ष लिलाबहादुर कन्दङ्वाले जानकारी दिनुभयो ।
लकडाउनकै समयमा नगरपालिका र निर्माण कम्पनीबीच भएको सम्झौता बन्दका कारण निर्माण ढिलो हुने भएपछि बजेट फ्रिज हुन नदिन हतारमा सडक निर्माणको सम्पन्न गरिएको वडाअध्यक्ष कन्दङ्वाले बताउनु भयो । चार मीटरको चौंडाईमा कालो पत्रे निर्माण कार्य सम्पन्न भएको बिजुवानी मार्गलाई ३२ फिटको चौंडा बाटो बनाउँने गरी ह्युम पाइप जडान गरिएको कनकाई ६ का वडाअध्यक्ष लक्ष्मी ओलीले जानकारी दिनुभयो ।
हाल कायम रहेको २० फिटको बाटोलाई आगामी दिनमा अझै व्यवस्थित बनाएर जाने योजना रहेको वडाअध्यक्ष ओलीको भनाई छ । लगभग दुईकिलो मिटरको कालोपत्रे बिजुवानी मार्गमा राखिएका १७ वटा ह्युम पाइप मध्ये आवश्यक्ता अनुसार वडा नंं.६ अन्तर्गतको सडक खण्डमा थोरै र वडा नं.७ अन्तर्गतको सडक क्षेत्रमा ह्युमपाइपको संख्या धेरै राखिएको छ । ह्युम पाइप व्यवस्थापनका लागि १२ लाख बढीको बजेट खर्च भएको वडाअध्यक्ष ओलीले बताउनु भयो ।
बिजुवानी मार्गको अवस्था कमजोर भएकै कारण एक किलो मिटरको दुरीमा १७ ठाउँमा ह्युम पाइप राखेर व्यवस्थित गर्न खोजीएको भएपनि त्यहाँको माटो नै दल—दल परेका कारण ठूला सवारी साधन हिंड्दा बाटो लच्किने स्थानीय उपभोक्ता टिकेश खनालले बताउनु भयो। यस्तो अवस्थाको बाटोलाई तत्काल कालो पत्रे गर्नका लागि भएको डिजाइन नै गलत रहेको उपभोक्ता खनालको ठहर छ ।
इन्जिनियर, प्राविधिक, निर्माण कम्पनी साथै स्थानीय सरकारले बाटोको बस्तुस्थिती एवम् यसको बिगत र भविष्यको नजरअन्दाज नै नगरी भएको गुणस्तरहिन कामबाट स्थानीयबासी नै चकित भएको बताइएको छ । बिजुवानी मार्ग निर्माणको जम्मेवार पक्ष स्थानीय सरकार भएकाले स्थानीय जनप्रतिनिधीका अगाडी सर्वसाधारण चुपचाप रहेकै कारण निर्माण कार्य फित्तलो भएको उपभोक्ताको ठहर छ । निर्माण सम्पन्न भएको एक महिना पनि नवित्दै भत्किएको बाटोका विषयमा बुझ्न खोज्दा जनप्रतिनिधिबाट दबाब आएको एक स्थानीयले बताएका छन् ।
सडक निर्माण कार्यको सम्झौता योजना बोर्डमा उल्लेख भएअनुसार २०७७ को बैशाख ३१ गते भएपनि असार लागेपछि मात्र ह्युम पाइप राख्ने तत्काल कालो पत्रे गर्ने काम भएका कारण निर्माण कार्य गुणस्तरहीन स्थानीय उपभोक्ता प्रेम शिवाकोटीले बताउनु भयो ।

डेड इन्च पनि कालो पत्रे नभएका कारण १५ दिनमै बाटो फुट्ने, खाल्डो पर्ने हुन थालेको बताउँदै शिवाकोटीले दुःख व्यक्त गर्नुभयो । एक करोड माथिको सरकारी बजेटबाट निर्माण कार्य सम्पन्न भएको बिजुवानी मार्ग अब एक वर्षमा कस्तो होला भन्दै शिवाकोटीले संचारकर्मीसँगै जिज्ञासात्मक प्रश्न राख्नुभयो ।
एक स्थानीय उपभोक्ताका अनुसार प्रारम्भिक चरणमा ह्युम पाइपको काम सम्पन्न भएपछि सडक खण्डको राम्रोसँगले लेबल मिलाएर त्यसपछि सब बेस साथै बेस मिलाउँदै बाटो पेल्नुपर्ने भएपनि निर्माण कम्पनीले त्यसो नगरेको बताए । ती उपभोक्ताका अनुसार प्राइमकोट लगाइसकेपछि केही दिन सडकलाई सुकाएर ट्याककोट हालेपछि मात्र प्रिमिस कार्पेटिङ गर्नु पर्ने थियो । तर निर्माण कम्पनीको गुणस्तरमा भन्दा काम सक्नेतिरमात्र ध्यान जाँदा गुणस्तरको काम नभएको स्थानीयबासी बताउँछन् ।
बिजुवानी मार्गको कालो पत्रेमा देखिएको समस्याका बारेमा फोन मार्फत निर्माण कम्पनीका संचालक कृष्ण गुरुङ्लाई जिज्ञासा राख्दा समय छोटो भएपनि आफूले नम्स अनुसार नै काम सम्पन्न गरेको दावी गर्नुभयो । अन्तिम समयमा पनि सम्बन्धित इन्जिनियरबाट पास भएपछि मात्र काम जिम्मा लगाएको बताउदै सञ्चालक गुरुङले भन्नुभयो–‘निर्माण कार्यका लागि प्राविधिकको डिजाइन र निर्देशन अनुसार नै निर्धारित समयमा काम सम्पन्न गर्न हाम्रो सम्पूर्ण जनशक्ति त्यही खर्चियौं ।’
संचालक गुरुङका अनुसार बिजुवानी मार्गको दीर्घकालिन समाधानका लागि आरसीसी ढलान नै गर्नुपर्छ । उक्त बाटोको बीचभाग अत्यन्तै जोखिम मोल्ने किसिमको भएकाले अहिलेको जस्तो निर्माण कार्यले फेरी पनि समस्या आउँदैन भन्न सकिन्न गुरुङले भन्नुभयो–‘बाटोमा देखिएको समस्याबाट पनि आँफू नभाग्ने र नगरपालिकासँग समन्वय गरेर पुनः व्यवस्थित निर्माण कार्यमा आँफू जुट्न सकिन्छ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

Featured 2 एकमहिना नवित्दै उक्कियो कालोपत्रे,बजेट सक्न गुणस्तरहीन काम

Most Popular

Recent Comments