Home मनोरञ्जन फर्केर हेर्दा जन्मस्थान र लाखेजात्रा

फर्केर हेर्दा जन्मस्थान र लाखेजात्रा

रेजिना गौतम

जुन ठाउँ जुन माटोमा जन्मियो, हुर्कियो र कखरा सिकियो, त्यो ठाउँकोे यादले आजपनि उत्तिकै मनमा डेरा जमाएको छ । परिस्थितिले कोल्टे फेर्दा बाध्यताले टाढिनुपरेको जन्मस्थानको याद हरेक चाडपर्व (अर्थात स्थान विशेषका) मेला÷जात्रा आउने वित्तिकै बढ्छ । अनि मन जन्मस्थानतिरै तानिन्छ । अनि चरी बनी उडेर जाउँ र एकपटक त्यहाँको प्रकृतिसंग लुकामारी खेल्दै जात्रा र मेला, पर्वहरूलाइ सुटुक्क चिहाएर आउन मन लाग्छ । तर, मन लागेजति सबै कुरा गर्न कहाँ पाइन्छ र जीवनमा ?
चाँदीको घेरा बनएर कञ्चनजंघा हिमालको प्राकृतिक सौन्दर्यले भरिपूर्ण त्यो सुन्दर ठाउँको छुट्टै मोह छ, प्यार छ, अनि माया र ममता । पुछारमा तमोर नदीको सुसेली, शिरमा सुकेटार र शिरमा पाथीभरा र छातिमा सुकेटार । पाथीभरामाताको भक्तिगान र आशिर्वाद लिएर बीचमा जगमगाएको फुङ्लिङ बजार, छेवैमा सल्ला सुसाउँदै गरेको आवाज र चिसो चिसो वातारण न गर्मी न जाडो हुने सदावहार वातावरण अवर्णित झैं लाग्छ ।
हो आज त्यही अवर्णित ताप्लेजुङको फुङ्लिङ बजारको यादले मनमा डेरा जमाएको छ । आजको सन्दर्भ जोडिरहँदा यसको महत्व र विशेषता बेग्लै छ । हो त्यही समयसन्दर्भले सल्बलाएको मनका तरेलीहरुलाई शब्दको मालामा उन्ने प्रयत्नमा छु । त्यतिबेला खासगरी नेवार समुदायको पर्वका रुपमा मनाइने लाखेजात्रामा अधिकतम लिम्बू, गुरुङ तथा अन्य जातजाति सहभागी हुन्थे । सदरमुकामबाट टाढाटाढा रहेका युवा/युवती तथा तरुण/तन्नेरीहरु छिटोछिटो खेति सकेर लाखेजात्रामा जाने खर्चको जोहो गर्थे । थोरै खेतिपाती भएकाहरु आफ्नो सकेर जात्रा खर्च जुटाउन धेरै खेति हुनेकहाँ मेलापात जान्थे भने धेरै खेति हुनेहरु छिटो सकेकालाई संगै जात्रा जानुपर्छ काम सकौं हैं भन्थे । एकघण्टादेखि एक/दुईदिनसम्मको बाटो धाएर बास बस्दै जात्रा आउनुपर्ने बाध्यता सदरमुकामभन्दा टाढाकालाई थियो । कतै पातल (जंगल)को बाटो बाघ–भालु लाग्ने डर हुन्थ्यो भने कतै पहिरोको पनि डर त्यत्तिकै हुनेहुँदा मेला भर्न भरसक सबै संगै हुल बाँधिएरै आउँथे ।


त्यतिबेला बासका लागि होटल त्यति धेरै थिएनन् । भएका सामान्य होटलले जिल्लाभरबाट जात्राका लागि आएकाहरुको भार थेग्न सक्ने सामथ्र्य पनि शायद फुङलिङ बजारसंग थिएन । त्यसैले होला दुईदिनको बाटो लगाएर जात्रामा आउनेहरु भए आफन्त, आफन्त नभए साथीसंगीका नातेदार कहाँ गएर बस्थे । अहिलेको चालचलनमा होद भने होम स्टेमा बस्थे । तीज नजिकिएसँगै (जनैप्रर्णिमादेखि श्रीकृष्ण जन्माष्टमीसम्म लाग्ने र साउन शुक्ल द्वितिया र कृष्णजन्माष्टीमा देखाइने लाखेजात्रामा आउनेहरु कतिले फर्किदा चेलीबेटी माइत लिएर जान्थे त नभ्याउनेहरुका लागि जात्रामा आउँदा गाउँ/घर, छरछिमेकमा अलि राम्रो चिज के छ कोशेलीका रुपमा लिएर आउँथे । ‘माइती गाउको कुकुर आएपनि माइती नै हुन्छ’ भन्ने नेपाली ऊखान छ । साच्चै चेलीबेटीहरु राम्ररी सम्मान गरेरै खुवाउँथे अनि बसाउँथे माइती गाउँका आफन्तलाई । आउनेहरु पनि चेलीबेटी, भान्जाभान्जी सबैलाई आफ्नै झैं माया गर्थे । यसले आफन्तहरुमा आत्मीयताको विजारोपण भएको अनुभव हुन्थ्यो भने लगभग बर्षदिनमा हुने भेटघाटमा राम्रै भलाकुसारी हुन्थ्यो ।
त्यसो त जात्राको मनोरम पक्षको कुरा गर्ने हो भने अझ स्मरणीय छ । जुन जात्रालाई नेतृत्व गर्ने तुलसी सर (तुलसी पालुङ्वा) को भौतिक शरीर आज हाम्रो माझ छैन । तर, प्रत्येक गाईजात्राका भोलीपल्ट आउने द्वितियाका दिन ताप्लेजुङ बजारमा हुने धान रोपाई मनाइरहँदा तुलसी सरको आवश्यकता महशुस गर्छ/गर्नुपर्छ ।
लाखे नाच नचाउने गाइजात्रा प्रदर्शन गर्ने नेवार समुदायले नेतृत्व गरेपनि बहुजातीय बसोबास रहेको ताप्लेजुङमा सबैको सहभागिता हुन्थ्यो । रोपाई लगायत वर्खाको काम सकेर जात्रा हेर्न आएकाहरुलाई लाखेले जिस्क्याएको हेर्न पाउँदा एकातिर डर अर्कोतिर मनोरञ्जनको याद ताजै छ । तोक्मे बजारमा विक्रीका लागि राखिएका काँक्राहरु खोसेर लान्थ्यो, लाखे ढटुवारेले । काँक्रा धनीहरु हो न हो उसले साँच्चिकै लग्यो भनेर गाली गर्थे, लाखेपनि काँक्रो हातमा नचाउँदै लोभ्याउँथ्यो । काँक्रामात्र होइन, ओठमा र गालामा पत्ती रंगबाट बनाइएको रातो लाली, कराईको पिंधको कालोलाई तोरीको तेलमा मुछेर सलाईको काँटीले आँखामा गाजल लगाएका युवतीहरुलाई लाखेले जिस्क्याउँदै मजेत्रो तानेर लान खोज्दा दुवैतर्फबाट तानातान गर्दाको दृष्य निकै रमाइलो हुन्थ्यो ।म गाई जात्राका दिन तोक्मे बजार जाँदिन थे, कारण गाई जात्रामा निकालिने नेवार समुदायका मृतक आफन्तको प्रतिमा (ख्याक भनिन्थ्यो उसबेला स्थानीय भाषामा) को डरका कारण । तर, गाईजात्राको भोलीपल्ट द्वितियाका दिन आयोजना गरिने रोपाईँ जात्रा साँच्चिकै मनै हर्ने हुन्थ्यो । लमतन्न भएर सुतेको बजारका दुइ किनारामा पातला–पातला घर अनि बीचमा बाटो । यस्ता मेला पर्वमा बाटो निकै साँगुरो महशुस हुन्थ्यो ।
भीड हटाउनुपर्ने एकातिर, अर्कोतिर दर्शकलाई देखाउनु पनि पर्ने त्यसका लागि निकै विवेक पुर्याउनु पथ्र्यो । लाखे र ढट्वारे त्यसैको काम गर्थे, झम्लङ्ग जामा, लामो झ्याम्ल्याङ्ग छोडिएको कपालसहितको मुखुण्डो, लामा–लामा दारा निस्किएको मुखुण्डो लगाएको लाखे र ढट्वारे छेउमा पुग्नेवित्तिकै म जस्ता भुराभुरीको सातो नै जान्थ्यो । त्यसमा पनि डोकामा सिस्नु, फलामको चिम्टा बोकेर रोपाइ गर्ने ठाउँमा झुक्याइ–झुक्याई सिस्नु लगाइदिने तुलसी सरको फरक रुप साँच्चिकै डर लाग्थ्यो । हामी साना भारेभुरे कता कताबाट अग्ला घरका बरण्डामा जान्थ्यौं, जहाँबाट परपरसम्मको दृश्य हेर्न सहज होस् । त्यसैले हामीलाई न लाखेले भेट्नु, न त तुलसी सरले डोकामा बोकेका सिस्नु र चिम्टाले नै ।
नौमति बाजा, विभिन्न जातीय पोशाकमा सजिएका रोपाहार र बाउसेहरु, शिरदेखि घुँडामुनिसम्म पाटको बोरा ओडाएर बनाइएका हलगोरु (मान्छेलाई नै हलगोरु बनाइन्थ्यो), डोरीको हरिसमा टिनको हलो, हलि र बाउसेको लवज र भूमिका देख्दा अचम्मै लागेर आउँथ्यो । साँच्चै कृषिप्रधान मुलुकको कृषिकर्मको झल्को मेलामा झल्कन्थ्यो । सँधैभरी कृषिकर्ममै रमाउनेहरु पनि अपनत्व बोध गरेरै हुनुपर्छ–टाढाटाढादेखि मेला हेर्न आएका । त्यसो त जात्रा हेर्न जिल्लाका विभिन्न ठाउँबाट सदरमुकाम आएकाहरुले रोपाईका लागि तयार पारिएको घेरा मिच्न खोज्दा लाखे झम्ल्याङ्ग जामा उचाल्दै पुगिहाल्थ्यो भने छुच्चो ढट्वारेको नाटक बेग्लै हुन्थ्यो दर्शक पाखा लगाउने । त्यो बेला लाखे र ढट्वारे देख्दा यस्ता कसरी भए होलान् भन्ने लाग्थ्यो, मुखुण्डो, जामा, पगरी र मालाका बारेमा थाहा भइदिएको भए सम्भवतः त्यत्ति धेरै डर लाग्दैनथ्यो होला । सँगसँगै गाइन्थ्यो–दोहोरीमा बेठी गीत ।

‘रोप न रोपारे रानी म पजाईदिउँला विऊ
हलिलाई दिउँला एकराते दही, बाउसेलाई दिउला घिऊ ।
‘बाबा र ज्यू को त्यो गैरीखेत दवदवे हिलो छ
छुपु मा छुपु रोपौला भन्थे नारीमा पिलो छ । ’

त्यसो त अरुण उपत्यकाले उत्पादन गरेको असारे गीतमा भाका हाल्ने गायक÷गायीकाहरु, साथमा बाद्यवादकहरु यो सब दृष्य अलौकिक थियो । वेठी रोपाईको झल्को दिने जात्रा आउनु भन्दा झण्डै एक महिना अघिदेखि स्थानीय भानु माविमा अभ्यास नै गराइन्थ्यो भन्ने पनि सुनिन्थ्यो । यद्यपि यो वर्ष कोरोना महामारीका कारण देशका कुनै पनि ठाउँमा लाखे जात्रा, गाई जात्रा र रोपाई जात्रा हुन सकेका सकेनन् ।
साप्ताहिक रुपमा लाग्ने जात्रामा फुङ्लिङ बजारको चहल–पहल वेग्लै हुन्थ्यो । प्राकृतिक सुन्दरताले भरिपूर्ण ताप्लेजुङ त्यसबेला बर्षादको समय भिजेर ओभाइसकेको हुन्थ्यो । न चिसो न गर्मी हुने वातावरणीय मनोरम दृष्य, संस्कृति र परम्पराप्रतिको श्रद्धा र भक्ति सबै शब्दमा वर्णन गर्न सकिदैन झै लाग्छ, जो मन र मस्तिष्कले अनुभव गरोस् । ऊ बेला जात्राको बढी महत्व लिम्बू समुदायमा देखिन्थ्यो । लिम्बू बाहुल्य क्षेत्रमा बसोबास गरेका खस आर्यहरु पनि उनीहरुसंगै जात्रामा रमाउँथे ।
काम सकेर जात्रामा आएका सोल्टी सोल्टीनीहरु धान नाच्ने, पालम भन्ने, पालमकै (गीत) माध्यमबाट खबरको खोजी खबरी हुन्थ्यो । त्यतिमात्र होइन माया पिरतीको भाका समेत बोल्ने धान नाचमा भेटिएका युवायुवतीबीच हित् चित् मिलेमा थुप्रैको घरजम पनि जोडिन्थ्यो ।
एउटा लाखेजात्रामा मात्र सिमित थिएन ताप्लेजुङ । रामदुवाली मेला, पुसे मेला यी पनि त्यहाँका सांस्कृतिक गहना थिए । तमोर र मैया खोलाको दोभानमा लाग्ने पुसे मेला अनि तमोरको गड्तिरै गड्तिर घण्टौंपछि पुगिने तमोर मेवा खोलाको दोभान नजिकै लाग्ने यी मेलाहरु पनि त्यहाँका मौलिक विशेषता बोकेका स्थानहरु हुन् । यी मेलाका आ–आफ्नै विशेषता थिए । दुई दशकदेखि टाडिएका यी मेलाहरु अब मेरा लागि भने इतिहास बनेका छन् ।
समग्रमा फर्केर हेर्दा यस्ता ठाउँ–ठाउँमा लाग्ने जात्रा,मेला र पर्वहरुले स्थान विशेषको झल्को दिनुका साथै जातीय विविधतापूर्ण बसोबास रहेको ठाउँको जातीय मौतिकताप्रति एकापसमा परिचित गराउने मात्र होइन आत्मियता पनि बढाउँथ्यो ।

रामदुवाली मेलामा लेकाली भेगको निगालो, पर्याङ (एकखालको बाँस) का चोयाबाट बनाइएका भकारी, डालो, थुन्चे, घुम, जडिबुटीजन्य मसला(जिम्बू, चिम्फिङ) लगायत विभिन्न सामग्रीहरु पाइन्थ्यो । पुसे मेलामा रमाइलो मेला, जातीय नाच, बदाम, सुन्तला लगायतका खाद्य तथा दृष्य सामग्रीहरुले मानिसलाई आकर्षण गर्दथ्यो ।
त्यतिबेला विसुद्ध मनोरञ्जनका लागि जात्रा आयोजना गरिन्थ्यो । अहिले जात्रा व्यवसायिक बनेको छ । आर्थिक हिसाबले यो सकारात्मक पक्ष हो । तर, जात्रा व्यवसायिक बनेसंगै मेलाको मौलिकतामा पनि विचलन आएको छ रे ! जातजातिहरुले आ–आफ्नो सांस्कृतिक पहिचान र अस्तित्व खोज्दै जाँदा अर्काको संस्कृतिप्रति आस्था घट्नु, स्थानीय स्रोत साधनबाट निर्माण गरिने कलात्मक सामग्रीका ठाउँमा प्लाष्टिकजन्य सामग्रीको प्रयोग बढ्नु आदिले जात्रा, मेला र पर्वहरु मौलिकता प्रदर्शन गर्ने भन्दा बढी व्यवसायिक बन्न थालेका छन् । अनि हिजो आत्मियता, सामिप्यता र रमाइलो हराएर औपचारिकताका लागिमात्र भएका छन रे । यस्ता पर्व, मेला र जात्राहरुलाई व्यवसायिकतामा जोड्नुपर्छ तर, मौलिकता जोगाइराख्न सकेमात्र हामी सबैको सहअस्तित्व कायम रहन सक्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

मनोरञ्जन फर्केर हेर्दा जन्मस्थान र लाखेजात्रा

Most Popular

Recent Comments